logo
२०८१ बैशाख ११ मंगलवार



चिकित्सा शिक्षाको परीक्षामा नक्कली विद्यार्थी

शिक्षा |


चिकित्सा शिक्षाको परीक्षामा नक्कली विद्यार्थी
सांकेतिक तस्बीर


काठमाडौँ, चैत २१ गते । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा पटक–पटक नक्कली विद्यार्थी प्रयोग हुने गरेको पाइएको छ । गत शुक्रबार आयोगले लिएको स्नातक तहको परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ परेका थिए । प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी रहेको सूचनापछि महानगरीय अपराध महाशाखाले ‘अपरेसन इको’ सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो । नयाँबानेश्वरस्थित सीसीआरसीसी कलेजबाट महोत्तरी सम्सी–४ का २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा–४ का २२ वर्षीय रामनाथ चौधरी, सप्तरी राजगढ–१ का २६ वर्षीय मधुराम यादव पक्राउ परेका थिए । ललितपुरस्थित किष्ट कलेजमा अध्ययनरत उनीहरू एमबीबीएस पहिलो वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका जेहेनदार विद्यार्थी हुन् ।

एम्बिसन कलेजबाट पक्राउ परेका भारत विहारका २४ वर्षीय इस्तियाक अहमद तथा महोत्तरी सम्सी–५ का २३ वर्षीय सन्नी कुमारले उनीहरूलाई आर्थिक प्रलोभनमा पारी परीक्षामा सहभागी गराएको खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार चिकित्सा शिक्षा आयोगबाट लिइने परीक्षाको फाराम अनलाइनबाट भर्न मिल्ने र त्यसको भरपर्दाे प्रमाणित गर्ने प्रणाली नभएका कारण पटक–पटक नक्कली विद्यार्थी सहभागी हुने गरेको पाइएको छ ।

वास्तविक परीक्षार्थी र नक्कली परीक्षार्थीबीच चिनजान हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “भरेको फाराम प्रमाणित गर्ने प्रणाली वा विश्वासिलो परिचयपत्रको अवस्था नगरिए अवस्था भयावह हुन सक्छ ।” चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा झन्डै २० प्रतिशत विद्यार्थी नक्कली हुन सक्ने आशङ्का महाशाखाको छ ।

शुक्रबार पक्राउ परेका तीन जना सन् २०२२ का लागि लिइएको मेडिकल एजुकेसन कमन इन्ट्रास इक्जामिनेसन (एमईसीईई) परीक्षामा सहभागी भई नाम निकालिदिएबापत दुई लाखदेखि १८ लाख रुपियाँसम्मको प्रलोभनमा परेका थिए । फाराम भर्दा तस्बिर र नागरिकताको तस्बिर अर्कैको प्रयोग गर्ने गरेको खुलेको छ । सहभागी परीक्षार्थीको अनुहार मिल्लोजुल्दो प्रयोग हुनुले यसमा ठूलै सञ्जाल प्रयोग हुन सक्ने प्रहरीको आशङ्का छ । गत माघ ९ गते चिकित्सा शिक्षा आयोगले लिएको डाक्टर अफ मेडिसिन (एमडी) र मेडिकल साइन्स (एमएस)को प्रवेश परीक्षामा सहभागी तीन जना भारतीय नक्कली विद्यार्थीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?