logo
२०८१ बैशाख २२ शनिवार



विप्लवसहितका दलको विरोध शान्तिपूर्ण

भीडलाई उत्तेजित बनाउने समूह सक्रिय लाठी र इँटा प्रहार भए पनि प्रहरी निकै संयमित

मुख्य समाचार |


विप्लवसहितका दलको विरोध शान्तिपूर्ण


मित्र भण्डारी

काठमाडौँ, फागुन १३ गते । सरकारले अमेरिकी अनुदान सहायता (एमसीसी) सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा पेस गरेपछि त्यसविरुद्ध काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनमा सत्ता साझेदार दलका भ्रातृ संस्थासमेत सहभागी छन् । शान्तिपूर्ण रूपमा सुरु हुने विरोध हरेक दिन साढे १ बजेपछि भने भड्किन थाल्छ ।


बिहीबार पनि बानेश्वरमा भएको प्रदर्शन त्यस्तै भयो । बिहान ११ बजे सुरु भएको प्रदर्शनमा सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), अखिल क्रान्तिकारीलगायतका सङ्गठनले शान्तिपूर्ण विरोध गरे । ती सङ्गठनको विरोध कार्यक्रम चलिरहेकै बेला भीड उत्तेजित हुन थाल्यो । प्रदर्शनकारीले प्रहरीमाथि त्रिशूल, लाठी, इँटा प्रहार गर्न थाले । निषेधित क्षेत्र तोड्ने प्रयास भयो ।


फागनु ८ गतेसमेत शान्तिपूर्ण रूपमा सुरु भएको विरोध कार्यक्रम दिउँसो २ बजेको आसपासमा भड्किएको थियो । पूर्वयोजनाअनुरूप प्रदर्शनकारी ढुङ्गा, इँटा, पेट्रोल बमसमेतको प्रहारबाट झन्डै ३५ प्रहरी घाइते भएका थिए । प्रदर्शनकारीतर्फ समेत १२ जना घाइते भएका थिए । गत आइतबारजस्तै बिहीबार पनि साढे १ बजेदेखि प्रदर्शन भड्कियो । प्रहरीमाथि लाठी र इँटा प्रहार भए पनि प्रहरी निकै संयमित थियो ।

उत्तेजक समूह सक्रिय
प्रदर्शनमा अधिकारकर्मीका नामका केही व्यक्ति आन्दोलन उत्तेजित बनाउन लागिपरेको प्रहरीले दाबी गरेको छ । महानगरीय प्रहरी परिसरका एक अधिकारीलाई गत आइतबारको विरोध भड्काउपूर्ण हुने पूर्वसूचना नै आएको थियो तर योजनाबद्ध आक्रमण नै होला भन्नेबारे प्रहरीले पूर्वअनुमान नगरेको ती अधिकारीले बताउनुभयो । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भीडलाई उत्तेजित बनाउन केही समूह लागे पनि प्रहरीले निकै संयमितता अपनाएको बताउनुभयो । “केही समूह भीडलाई उत्तेजित पार्न प्रहरीमाथि आक्रमणसमेत गरेको पाइएको छ । हामी नै संयमित भएपछि ती प्रयास आफैँ असफल हुन्छन् ।” मैनालीले प्रदर्शनमा हुनसक्ने सबै प्रकारका सम्भावनाबारे पूर्वतयारी भइरहेकोसमेत जानकारी दिनुभयो ।

सात दलको शान्तिपूर्ण विरोध
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) समाजवादीको प्रदर्शनमा घुसपैठ हुन नदिन युुवा सङ्गठन नेपालले मानवसाङ्लो बनाएर कार्यक्रमलाई व्यवस्थित पारेका थिए ।

काठमाडौँको नयाँबानेश्वर, माइतीघर, बबरमहल, मीनभवन, तीनकुनेलगायत स्थान दिनभर तनावग्रस्त बनेका थिए । बिहीबारको प्रदर्शनमा प्रहरीतर्फ एक जना र प्रदर्शनकारीतर्फ तीन जना घाइते भएको मैनालीले बताउनुभयो । बिहीबारको प्रदर्शनलाई नियन्त्रण गर्न पानीका फोहोरासहित प्रहरीले १६३ सेल अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारी डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थीको प्रदर्शनकारीले नै हानेको ढुङ्गा लागेर टाउकामा गम्भीर चोट लागेको छ । घाइते अवस्थीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनकारी तथा सुरक्षाकर्मी दुवैलाई संयमित हुन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?