logo
२०८१ बैशाख २२ शनिवार



बढ्यो विदेशी मुद्राको तस्करी

सूचनाको कमीले फस्छन् पर्यटक सम्बद्ध निकायद्वारा अनुसन्धान

मुख्य समाचार |


बढ्यो विदेशी मुद्राको तस्करी


काठमाडौँ, चैत ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गत शुक्रबार १९ हजार ६०० अस्ट्रेलियन डलर बरामद ग-यो । कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अस्ट्रेलिया उड्न लागेकी गोरखा बोर्लाङ–८ की रन्जिता श्रेष्ठको साथबाट उक्त डलर बरामद भएको हो ।

बिहीबार नेपाल वायुसेवाको उडानमार्फत दुबई जान लागेकी काठमाडौँ महानगरपालिका­–२ की सहनशीला वज्राचार्य शाक्यको साथबाट सात हजार ७०० युरो, एक हजार ९०० क्यानेडियन डलर तथा १३ हजार साउदी रियाल र ३३ ओमानी रकम बरामद भयो ।

गत फागुन २६ गते अस्ट्रेलियन एयरलाइन्स भिस्टारामार्फत दिल्ली जान लागेका थाई महिला वान्विसा जन्तासन र वारापोर्न खुन्सोम्बत नेपालमा प्रतिबन्धित भारतीय रुपियाँ दुई हजार र पाँच सयका झन्डै तीन लाखका नोटसहित पक्राउ परे । गत फागन १७ गते सिङ्गापुर एयरलाइन्समार्फत सिङ्गापुर हुँदै जापान जान लागेका स्याङ्जा मिर्मी–६ का रेस्मराज भट्टराईको साथबाट जापानी येन १५ लाख ९० हजार बरामद भयो ।

हिमालय एयरलाइन्सबाट फागुन ११ गते मलेसियाको क्वालालाम्पुर उड्न लागेका भारतीय नागरिकको साथबाट ३८ हजार ९०० मलेसियन रिङ्गेट बरामद भयो । विदेशी मुद्राको अवैध कारोबारका यी केही घटना हुन् । यसले नेपालबाट विदेशी मुद्राको अवैध कारोबार बढेको देखाउँछ । यी घटनाबारे राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले विदेशी मुद्राको ओसारपसारका घटना बढ्न थालेपछि निगरानी बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धान भइरहेकाले कुन प्रयोजनका लागि उक्त रकम बाहिर जान लागेको हो भन्नेबारे खुल्न बाँकी छ । दुबई, मलेसिया, कतारलगायतका ट्रान्जिट हुने उडानबाट मुद्रा तस्करीको सामान खरिदमा प्रयोग हुने गरेको प्रहरीको आशङ्का छ । राजस्व अनुसन्धान विमागका निर्देशक कृष्णप्रसाद पाण्डेले अवैध रूपमा विदेश लैजान लागेको विदेशी मुद्रा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा समेत प्रयोग भएको पाइएको बताउनुभयो ।

सूचनाको कमी
विदेशी मुद्राबारे विभिन्न देशमा फरक–फरक प्रावधान छ । नेपालमा आउने र जाने पर्यटकले पाँच हजारभन्दा माथि नेपाली मुद्रा बोक्न निषेध गरिएको छ । नेपाल आउँदा पाँच हजारभन्दा बढी विदेशी मुद्रा बोक्दा स्वघोषणा गर्नुपर्छ । विदेश फर्किंदा सो घोषित रकम लैजान रोक लगाइएको छैन । यसबारे त्रिभुवन विमानस्थलमा प्रभावकारी सूचना जारी नगरेको कतिपय पक्राउ परेका गुनासोसमेत गर्ने गरेका छन् ।

तोकिएभन्दा धेरै विदेशी मुद्रा बोकेको पाइए विमानस्थल प्रहरीले नियन्त्रण लिने र राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने गरेका छन् । प्रभावकारी सूचनाको कमीले कतिपय विदेशी पर्यटक र नेपालीसमेत आफैँले विदेशबाट ल्याएको रकम फिर्ता लैजाँदा पक्राउ पर्ने गरेका छन् ।

जापानी येनसहित पक्राउ रेस्मराज भट्टराईले जापानबाट आफैँले बोकेर ल्याएको रकम फिर्ता लैजाने क्रममा पक्राउ परेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले कतिपय अवस्थामा अज्ञानताका कारणसमेत विदेशी मुद्रासहित नेपाली र विदेशी पक्राउ पर्ने गरेको गुनासो आएको र यसबारे सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?