logo
२०८१ बैशाख ८ शनिवार



मेलम्चीको हेडवक्र्स खुल्यो

मुख्य समाचार |


मेलम्चीको हेडवक्र्स खुल्यो


काठमाडौँ, चैत ८ गते । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।

पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवक्र्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले सफाइको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवक्र्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ । मुख्य हेडवक्र्सको ढोका खुलेको र मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको जानकारी कुँवरले दिनुभयो ।

सरकारले बाढीले पु-याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य राखेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअगावै चैत तेस्रो सातासम्म काठमाडौँमा पानी ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

सफाइको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइको काम गरिरहेको छ । सरकारको लक्ष्य पहिले पानी काठमाडौँ ल्याउने मन्त्री चौधरीको निर्देशनपछि सिनो हाइड्रोले तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरणमा गरी चौबीसै घण्टा गेग्य्रान तथा सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?