logo
२०७९ असार २० सोमवार



अर्थतन्त्र फेरि जोखिमतिर

विचार/दृष्टिकोण |


अर्थतन्त्र फेरि जोखिमतिर


जुनारबाबु बस्नेत

विश्व अर्थतन्त्र फेरि जटिल मोडमा पुग्ने देखिएको छ । झन्डै दुई वर्षअघि चीनको वुहानबाट निस्किएको कोरोना (कोभिड–१९)ले विश्व अर्थतन्त्रलाई थला पारेको थियो । यात्रा प्रतिबन्ध, बन्दाबन्दीलगायतले विश्व अर्थतन्त्रका सबैजसो आयामलाई प्रभाव पा¥यो । अति कम विकसित मुलुक नेपाल पनि त्यसबाट पर बस्न सकेन । अर्थतन्त्र ऋणात्मकसम्म बन्न पुग्यो । खोपको अन्वेषण, विकास र प्रयोगले बिस्तारै यो एक वर्षमा विश्व अर्थतन्त्र उक्सन थालेको थियो । यसलाई विश्वले ‘न्यूननर्मल’का रूपमा चिन्न थालेको थियो । खोपको पहुँच बढ्दै गएपछि यताको चार–पाँच महिनामा नेपाली अर्थतन्त्र पनि सुधारको दिशामा भएको हामीले देखे–भोगेकै हो । फेरि ओमिक्रोनको चुनौती विश्वसामु आएको छ । विश्वका ३५ भन्दा बढी देशमा ओमिक्रोनले फँणा फैलाएको छ । यात्रामा प्रतिबन्ध लाग्न थालेका छन् । विश्व अर्थतन्त्रमा आमिक्रोन सिन्ड्रोम देखिन सक्ने आकलन हुँदै छ । यो सङ्कटको समयमै विवेचना, सचेतना र अर्थतन्त्रलाई जोगाउने नीति, योजना र कार्यक्रम आउन सकेनन् भने अर्थतन्त्र फेरि ओरालो लाग्ने जोखिममा छ ।

डेढ साताअघि २०७८ मङ्सिरको ८ गते (२४ नोभेम्बर) दक्षिण अफिकाका स्वास्थ्य वैज्ञानिकले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको कुरा बाहिर ल्याए । यो कुरा उनीहरूले तत्कालै बाहिर ल्याए । डब्लूएचओको भाइरस मूल्याङ्कन गर्ने प्राविधिक परामर्श समूहले २६ नोभेम्बर २०२१ मा नयाँ भेरियन्टको बी.१.१.५२९ हो । नाउँ ओमिक्रोन राखेका छन् । डब्लूएचओका अनुसार यो भेरियन्टले गतिशील उत्परिवर्तन गर्छ । एकअर्कामा सजिलै सर्छ । बिरामी मानिसमा अझ छिटो सर्छ । जोखिममा परेका समूह, चिकित्सक तथा स्वास्थ्यकर्मी झनै जोखिममा पर्न सक्छन् । मूल कुरा त कोरोनाविरुद्ध खोप लगाएकालाई पनि छोड्दैछन् तर हालसम्म यो भाइरसबाट मानिसको ज्यान गएको खबर भने आइसकेको छैन ।

कोरोना भाइरसको खोप विकास गरेसँगै संसारभर एक प्रकारको आशा पलाएको थियो । खोप कोरोनाको दबाइ त थिएन तर खोप लगाएकोमा कम आक्रमण गर्ने देखियो । कोरोना सङ्क्रमण नै भइगए पनि खोप लगाएकामा कम प्रभाव देखियो । यसका लागि टाढा जानै पर्दैन । नेपाल नै अब्बल उदाहरण हो । साउन–भदौयता खोपको व्यापक प्रयोगपछि नेपालमा कोरोना सङ्क्रमण दर एकदमै घट्न थाल्यो । बन्दाबन्दीको अवस्थाबाट अर्थतन्त्र माथि उठ्न थाल्यो । कोरोना घटेसँगै आर्थिक चहलपहल बढ्न थाल्यो । सरकारी र गैरसरकारी क्षेत्रमा चहलपहल बढेर गयो । अघिल्ला वर्षहरू ऋणात्मक र न्यून आर्थिक वृद्धिमा रुमलिएको अर्थतन्त्रले बिस्तारै गति लिन थाल्यो । यसले आय, उत्पादन र रोजगारी बढाउन थालेको थियो । आउँदा दिनमा अर्थतन्त्र सुध्रने स्पष्ट मार्गचित्र देख्न सकिने भएको थियो ।

हुन पनि खोपका पहुँच विस्तार भएपछि देशभित्र पर्यटकीय गतिविधिमा राम्रै चहलपहल सुरु भयो । खासगरी आन्तरिक पर्यटनमा राम्रो सुधार भयो । राजनीतिक पार्टीका भेला, सम्मेलन र अधिवेशनहरू गाउँ तहसम्म होटल तथा रेस्टुराँहरूमा चहलपहल बढ्यो । त्यसले स्थानीय तहमा कृषि उपजले बजार पाउन थाल्यो । मौद्रिक विस्तार गाउँतहसम्म हुन थाल्दा सेवा अर्थतन्त्रले गति लिने अवस्था आएको थियो । त्यसैगरी खोप प्रभावकारितामा बढोत्तरीसँगै बाह्य पर्यटकको आवागमनमा केही सुधार र आशा पलाउन थालेको थियो । आगामी दिनमा अर्थतन्त्रमा सुधार आउने आशा बढ्ने यो मूलभूत आधार थियो । नेपालको मात्र होइन, विश्वभर नै यो आठ÷दस महिनामा अर्थतन्त्र राम्ररी चलायमान हुँदा कोरोनाविरुद्धको लडाइँ बलियो हुँदै गएको थियो ।

अफ्रिकामा उत्परिवर्तन भएको कोरोनाको ओमिक्रोन रूपले संसारलाई झसङ्ग बनाउन थालेको छ । ओमिक्रोन देखिएको यो बीचमा विश्वका धेरै देशमा ओमिक्रोन प्रवेश गरेको समाचार आउन थालेको छ । अमेरिकामा ओमिक्रोन देखिएपछि आरम्भमै उच्च सतर्कता अवलम्बन गरिएको छ । न्युयोर्कमा सङ्कटकाल नै लगाइयो । जापानले एक महिनाका लागि यात्रा बाह्य मुुलुकसँगको सम्पर्क विच्छेद गरेको छ । युरोप, अस्टे«लिया तथा एसिया प्रशान्त क्षेत्रका मुलुकमा यो भाइरस पुगेपछि यात्रा प्रतिबन्ध लाग्न सुरु गरेको छ । हवाई सेवा कतिपय मुलुकमा बन्दै भएका छन् भने कति मुलुकमा खुम्चिएका छन् ।

दक्षिण अफ्रिकाका सरकारले यात्रा प्रतिबन्ध नै समस्याको समाधान नभएको भन्दै विकल्पका लागि हारगुहार गरिरहेको छ । सबै जस्तो देशको हवाई सेवा बन्द गरेपछि अफ्रिकाको अर्थतन्त्र नाजुक अवस्थामा पुग्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विश्लेषण छ । दक्षिण अफ्रिकासँगै अफ्रिकी मुलुकहरूमा ओमिक्रोन प्रभाव निरन्तर बढिरहेकाले त्यस क्षेत्रमा गरिबी अझ बढ्न सक्ने भएको छ । यात्रा प्रतिबन्धहरू लागिरहेकै छन् । कोरोना भाइरसको मौजुदा खोपले यो नयाँ भाइरसलाई काम नगर्ने डब्लूएचओको भनाइले पनि उच्च सतर्कता जरुरी हो तर यो नयाँ चुनौतीमा अर्थतन्त्रलाई बचाउने जिम्मेवारी पनि विश्वसामु रहेको छ । अर्थतन्त्र बचाउने नीति, योजना कार्यक्रममा समयमै ध्यान दिनुपर्ने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यात्रा प्रतिबन्ध मात्र उपाय नभएको भन्दै खोप लगाउन, मास्क प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न भनिएको कुरा विश्व अर्थतन्त्रका लागि मननीय छ ।

ओमिक्रोनको प्रभाव बढेपछिको यो बीचमा विश्व अर्थतन्त्रका कतिपय परिसूचकले अर्थतन्त्रको विस्तारलाई रोक्ने अवस्था देखिएको छ । कच्चा तेलको मूल्यमा प्रतिब्यारेल १० डलरले कमी आएको छ । कोरोना भाइरसले थिलथिलो पारेको एक वर्षअघि तल्लो बिन्दुमा आएको थियो । प्रतिब्यारेल ४८ डलरसम्म आएको कच्चा तेलको मूल्यले तेल उत्पादक मुुलुकको अर्थव्यवस्थालाई दिक्क बनाएको थियो । यो एक वर्षमा तेलको भाउ निरन्तर उकालो लाग्यो । सामान्यतया अर्थतन्त्र विस्तार हुँदै जाँदा औद्योगिक सम्भावनाहरू बढ्छन् । इन्धनको मूल्यमा विश्वभर वृद्धि हुन्छ । त्यसले अर्थतन्त्रलाई चलायमान बनाउँदै आय, उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पार्छ । यताको केही दिनमा प्रतिकूलताका सङ्केत देखा पर्न थालेपछि अत्तालिने अवस्था आइसकेको छ ।

खोपको पहुँच विस्तार भएसँगै विश्व पुँजी बजारमा बढोत्तरी देखिएको थियो । सेयरको भाउमा उछाल आएको थियो । अर्थतन्त्रमा ओमिक्रोन प्रभावसँगै पुँजी बजारमा सेयरका भाउहरू घट्न थालेको छ । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । खासगरी पर्यटन अर्थतन्त्रमा निर्भर मुलुकको अर्थतन्त्रमा फेरि कालो बादल मडारिन सक्ने अवस्था देखिएको छ । यसले विश्वभर आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पर्न सक्नेछ भने उत्पादनमा प्रतिकूल प्रभावले मूल्यमा चाप पर्नेछ । मुद्रा बजारमा त्यसको प्रत्यक्ष र परोक्ष असर पर्नेछ । रोजगारी, आय र उत्पादनमा परेको प्रतिकूल प्रभावले मानिसको क्रयशक्तिमा प्रतिकूल प्रभाव पर्न सक्ने छ । न्यून, मध्यम र विपन्न वर्ग समस्यामा पर्न सक्नेछ ।

कोरोना भाइरसको प्रभाव चरम् परेका बेला युरोप, अमेरिकालगायतका धेरैजसो देशले नागरिकलाई भत्ताको व्यवस्था गरेका थिए । छिमेकी भारतले समेत यो व्यवस्था लागू ग¥यो । नेपाल सरकारले त्यतिबेला केही दिन नसके पनि मौजुदा सरकारले कोरोनाका बेला रोजगारी गुमाएका विपन्न परिवारका मानिसलाई १० हजार रुपियाँ सहयोग गर्न ल्याएको कार्यक्रम कार्यान्वयनमा छ । फेरि ओमिक्रोनको प्रभावले अर्थतन्त्र धराशयी हुँदा विश्वभरकै सरकारहरूमाथि भार पर्नेछ । त्यसले करका दरमा थप चाप पर्न सक्ने भई लगानीमा प्रतिकूल प्रभाव पर्नेछ । अर्थतन्त्र महँगीले सताउन सक्नेछ ।

डब्लूएचओले नै यो भाइरसलाई उच्च जोखिम मानेपछि संसारभर सचेतना त बढेको छ तर अझै पर्याप्त छैन । स्वास्थ्य मापदण्डको प्रभावकारी परिपालना छैन । खोप कम्पनीहरूले नयाँ खोपका लागि अन्वेषण आरम्भ गरेका छन् । यसले अवश्य समय लिनेछ तर पनि समयकै सतर्कताले भाइरस फैलनबाट रोक्न ठूलो काम गर्नेछ । भारतको कर्णाटकमा यो नयाँ भाइरस आइपुगेको भनिएको छ । भारतको दक्षिणी राज्य कर्णाटक लगायतबाट सवारीसाधनबाट स्थलमार्ग हुँदै पशुपति लगायतको दर्शन गरेर फर्कने परम्परा छ । नेपालले अफ्रिका लगायतका कतिपय मुुलुकका यात्रुलाई नेपाल प्रवेशमा त रोक लगाएको छ । भारतबाट निर्वाध आउने अवस्था हुँदा हवाई रोकावटले मात्र केही हुँदैन । हवाई मार्गमा रोकावट समयकै सतर्कता हो तर खुला सीमाका कारण भारतबाट आउने यात्रुमाथि स्वास्थ्य मापदण्डमा कडाइ गर्न सकिएन भने डेढ वर्षअघि कोरोना सलल फैलिएजस्तै हुन सक्नेछ । त्यतातिर समयमै ध्यान दिनु जरुरी छ ।

भाइरस नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको प्रभावकारी परिपालना महìवपूर्ण पक्ष हो । एक मिटरको भौतिक दूरी, भाइरस रोक्न सक्ने मास्क, हावा खेल्ने कोठा, भीडभाडबाट बच्ने, हात मिचिमिची धुने, हाछ्यु गर्दा हातले छोप्ने, खोप लगाउने र स्वास्थ्य मापदण्डमा कुनै पनि सम्झौता हुनु हुँदैन । राजनीतिक पार्टीका मौजुदा गतिविधिलाई पनि स्वास्थ्य मापदण्डभित्र ल्याउनैपर्छ । बन्दाबन्दी नै सबै समस्याको समाधान होइन । बन्दाबन्दीको अवस्था आउँदा अर्थतन्त्र धराशयी हुन्छ । त्यसअघि नै ओमिक्रोनको जोखिमका लागि नीतिगत तहमा गृहकार्य जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?