logo
२०७९ असार २० सोमवार



वाङ भ्रमणका आयाम

विचार/दृष्टिकोण |


वाङ भ्रमणका आयाम


जुनारबाबु बस्नेत

जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले यो भ्रमण सफल पार्न ठूलो योगदान पु-याउनुभयो । दक्षिण एसियाली मुलुक पाकिस्तान, अफगानिस्तान र भारत हुँदै शुक्रबार उहाँ नेपाल आइपुग्नुभएको हो । चीनको स्टेट काउन्सिलरसमेत रहनुभएका विदेशमन्त्री वाङ चीनको राजनीतिको केन्द्रीय शक्तिशाली जिम्मेवारीको अति सीमितभित्र पर्नुहुन्छ । राष्ट्रपति सी चिङ फिङका विश्वासपात्र वाङको तीन दिवसीय यो भ्रमण समय सन्दर्भले दूरगामी महìव रहने देखिएको छ । भ्रमणको सार उपयोग गर्न सके नेपाल–चीन आर्थिक तथा कूटनीतिक सम्बन्धको आगामी आयाम अझ फराकिलो बन्न सक्नेछ ।

यो भ्रमणमा चीनका चाहना प्रतिविम्बित भएको छ । यो भ्रमणलाई चीनले बढी महìव दिएको किन पनि स्पष्ट हुन्छ भने दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान र अफगानिस्तानमा एक/दुई दिन मात्र सीमित भएको यो भ्रमण नेपालमा तीन दिवसीय रह्यो । चीनजस्तो विशाल मुलुक र त्यसका स्टेट काउन्सिलरले छिमेकी देश नेपाललाई दिएको तीन दिनको समय आत्मीयताको उच्चतम महìव हो । समयले नेपालको राष्ट्रिय हितलाई सम्बद्र्धन गर्ने अनुपम
अवसरसमेत हो ।

निश्चय पनि चिनियाँ विशिष्ट पाहुनाको यो भ्रमण समयका कारणले पनि बढी महìवपूर्ण हुन पुगेको छ । चीनमा राष्ट्रपति सीले सत्ता सम्हाल्नुभएपछि विश्व विकासका लागि नयाँ र महìवाकाङ्क्षी योजना अगाडि बढेको छ । बेल्ट एन्ड रोड (बीआरआई)को नामले परिचित यो विशाल परियोजनाले चीनलाई बाँकी विश्वसँग नयाँ ढङ्गले जोड्दै छ । आर्थिक विकासमा विगत चार दशकमा आमूल क्रान्ति गरेको चीन अहिले अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । अबका केही वर्षमै चीनले अमेरिकी अर्थतन्त्रलाई पछाडि पार्ने देखिँदै छ । आर्थिक परिसूचक सोही दिशामा अगाडि बढेका छन् ।

बीआरआईले भूसतह र जलमार्गबाट चीनलाई युरोप हुँदै एटलान्टिक महासागरका देशसम्म जोड्नेछ । मध्य एसिया हुँदै युरोपको भूयातायात सञ्जालमा जोड्नेछ भने बीआरआईमा समुद्री मार्गको विशाल नेटवर्क छ । दक्षिणपूर्वी एसियाली देश जोड्दै हिन्द महासागरबाट अफ्रिकाको फेरो मार्ने त्यस समुद्री मार्गमा सुविधासम्पन्न बन्दरगाहको निर्माण सहयोगमा चीन सफल हुँदै छ । वर्तमान विश्व व्यवस्थामा चीनले एसियाली नेतृत्वको महìवाकाङ्क्षाका रूपमा समेत पश्चिमी विद्वान्को दृष्टिकोणको आफ्नै चर्चा र बहस छ ।

नेपाल पाँच वर्षअघि नै बीआरआईमा प्रवेश गरिसकेको हो तर योबीचमा बीआरआई सम्बद्ध परियोजनाको प्रगति लगभग शून्यजस्तै देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)को अवरोध त छँदै थियो, त्यसमा नेपालको राजनीतिक अस्थिरताले पनि बीआरआई परियोजना अगाडि बढाउन सहयोग पुगेन । नेपालको तयारी पनि राम्रो हुने सकेन । नेपालले हालै मात्र मिलेनियम च्याजेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको विद्युत् प्रसारण लाइन र सडक विस्तारको झन्डै ६० अर्ब रुपियाँको अमेरिकी अनुदान सहयोग स्वीकार गरेको छ । यसलाई कतिपयले चीनविरुद्ध भन्ने सन्देश दिने गरी प्रचार गर्दा दुई देशबीच आशङ्का पैदा हुने खतरा थियो । यो भ्रमण भ्रम र आशङ्का समाप्त गर्न सफल भएको सन्देशसमेत हो ।

यो अवस्था त्यसै आएको छैन । धेरै वर्षको बहस र अन्योलका बीच प्रतिनिधि सभाबाट एमसीसी पारित भएका कारण पनि भ्रम छर्न खोज्नेले काम पाएका थिए । अब एमसीसी कार्यान्वयनमा गइसकेको छ । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ र आफ्नो भूमि कसैविरुद्ध प्रयोग हुन दिने छैन भन्ने विश्वास वाङको भ्रमणका अवसरमा दिलाएको छ । नेपालले आर्थिक तथा सामाजिक विकासका लागि पूर्वाधार विकासलाई जोड दिन चिनियाँ सहयोगको आगामी मार्गचित्र बनाउन सहयोग पु-याएको छ ।

नेपालका लागि बाहिरी सहयोग चाहिन्छ तर ऋण वहन गर्न सक्ने अवस्था छैन । नेपाले भरसक अनुदान सहयोगलाई पहिलो प्राथमिकतामा राख्नु राष्ट्रिय हित अनुकूल हुन्छ । नेपालले एमसीसीमा जोड दिएका कारण पनि त्यही हो र बीआरआईमा पनि भरसक अनुदान सहयोगमा नेपालको जोड हो र रहनुपर्छ । नेपालले वाङ भ्रमणको अवसरमा यही सन्देश दिएको छ । पाकिस्तान र श्रीलङ्काको ऋण अवस्थाबाट नेपालले पाठ सिक्नुपर्छ ।

नेपाल–चीन जोड्ने रेलमार्गलगायतमा नेपालले बीआरआईबाट यस्तै सहयोगको अपेक्षा राख्नु अन्यथा होइन । चीनले नेपालको पूर्वाधार विकासमा लामो समयदेखि सहयोग पु¥याउँदै आएको छ । राजधानीको चक्रपथ निर्माण चिनियाँ सहयोगबाटै भएको हो । आधा शताब्दी अगाडि नै बनेको चक्रपथ पछिल्लो दशकमा फराकिलो बनाएर यसले काठमाडौँ उपत्यकाको शान नै बढाएको छ । यसैगरी चीनले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको पावर स्टेसन र प्रसारण लाइन निर्माणमा सहयोग गरेको छ । त्यसमै बीआरआई अवसर भएर आएको थियो तर काममा सुस्तता भने देखिएकै हो ।

अनेक अवरोधले बीआरआईका परियोजना अगाडि बढ्न सकेका छैनन् । विदेशमन्त्री वाङको यो भ्रमणले बीआरआईका परियोजना अगाडि बढाउन सहयोग गर्ने विश्वास गरिएको छ । समझदारीको रेलमार्ग अध्ययन त्यसैको प्रारूप हुन सक्छ । सम्झौताका मुख्य आकर्षण नै अन्तरदेशीय रेलमार्गको अध्ययन हो । काठमाडौँलाई चीनको स्वशासित क्षेत्र तिब्बतसित जोड्न काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले नेपाललाई प्राविधिक सहायता सहयोग गर्ने समझदारी भएको छ । यो समझदारी प्रत्यक्ष बीआरआईको होइन तर पूर्वाधार अवश्य हो । सम्झौता बिस्तारै कार्यान्वयनमा आएसँगै भूपरिवेष्टित देश नेपाल रेलको नयाँ युगमा प्रवेश गर्न अग्रसर हुनेछ । यसैगरी चीनले नेपाल–चीन विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ ।

नेपालले चीनसँग निर्यात गरेर फाइदा लिन सकेको छैन । शून्य भन्सारका लागि अवसर दिए पनि काम हुन सकेको छैन । नेपालबाट चीन निर्यात हुने घाँसको स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल अगाडि बढ्नेलगायतका काम यो भ्रमणका अवसरमा भए । त्यसले व्यापार घाटा घटाउन सहयोग पुग्ने देखिन्छ । अरनिको राजमार्ग कुनै बेलाको महìवपूर्ण मार्ग भए पनि अहिले बिग्रिएको छ । मर्मत सम्भार गर्ने सहमतिले पूर्वाधार विकासमा जोड दिनेछ ।

चिनियाँ मेडिकल टिमलाई नेपालमा काम गर्न पठाउनेलगायतका विषय समझदारीमा परेका छन् । यो भ्रमण ठूलो काम गर्न भएको थिएन तर हजार पाइला यात्रा पहिलो पाइलाबाटै सुरु हुने चिनियाँ भनाइलाई बिर्सनु हुन्न ।
विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभयो । राजनीतिक पार्टीका नेतासित भेटवार्ता गरी राजनीतिक विकासक्रमको पछिल्लो अवस्थाको अद्यावधिक गर्नुभयो ।

खासगरी वामपन्थी पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विभाजनमा चीनलाई चित्त बुझेको छैन । यो राजनीतिक पार्टी तहको कुरा पनि हो । वाङले विभाजनका कारण बुझ्नुभयो होला । केही सुझाव रहन्छ भने त्यो अन्यथा पनि होइन तर निर्णय गर्ने नेपालीले नै हो । चीनले व्यक्ति, पार्टीसँगभन्दा सरकारसित अटल सम्बन्ध राख्न चाहन्छ । नेपालको आर्थिक विकास हुँदा चीन खुसी हुन्छ । त्यसैले पनि महान् नेता माओत्सेतुङकै समयदेखि नेपालको पूर्वाधार विकासमा चीनको सहयोग रहँदै आएको छ ।

नेपाल र चीनबीच नयाँ मित्रता होइन, दुई देशबीच अति पुरानो र आत्मीयताले परिपूर्ण सम्बन्ध रहेको छ । दुई देशबीचको सम्बन्ध साँच्चै बहुआयामिक छ । पाँचौँ शताब्दीमा बौद्ध भिक्षु बुद्धभद्रले चीनको भ्रमण गरेसँगै दुई देशबीच सम्बन्ध आरम्भ भयो । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको स्रङचङ गम्पोसित विवाह अनुपम परिघटना हो । चिनियाँ भिक्षु तथा यात्रीको नेपाल भ्रमण र तिनको यात्रा वृत्तान्तले इतिहास निर्माण गरेको छ ।
इतिहास नेपाल र चीनबीचको युगीन सम्बन्धका अमूल्य आधार हुन् । नेपाल र चीनबीच १ अगस्त १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि मित्रताका नयाँ आयाम निरन्तर अगाडि बढिरहेका छन् । काठमाडौँलाई चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासासम्म जोड्न कोदारी राजमार्ग चीनको सहयोगमा निर्माण भएको हो । भारतसित मात्र यातायात र व्यापार निर्भरतालाई कोदारी राजमार्ग निर्माणले काठमाडौँलाई नयाँ अवसर सिर्जना गरेको छ ।

चीनसितको व्यापार बढेको छ तर भारतसँग जस्तै आयात व्यापार मात्र बढ्नु भने विडम्बना हो । नेपालले चिनियाँ पर्यटक नेपाल ल्याएर बढी लाभ लिन सक्छ । कृषि क्षेत्रमा प्रविधि र अनुभव लिन सक्छ । पोखरा विमानस्थल निर्माण नेपाल–चीन पर्यटन विकासका ठूलो आधार हो । विदेशमन्त्री वाङको यो बहुआयामिक भ्रमणलाई नेपालले आर्थिक, पूर्वाधार विकासलगायतका क्षेत्रमा कसरी प्रभावकारी सदुपयोग गर्ने भन्ने विषय भने हाम्रै दूरदर्शितामा
निर्भर रहन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?