logo
२०८१ मंसिर ८ शनिवार



अपराध र अपराधका समाचार

विचार/दृष्टिकोण |




प्रकाश अधिकारी

नेपाली समाजले राजनीतिक स्थायित्वको विकास भइरहेको अनुभव गरेको छ । तथापि महामारीको हैरानीले मानिस पीडित छन् र यो ‘हैरानी’मा राजनीतिक कुरोले विगतमा जस्तो नाटकीय मोड नलिँदा नेपाली सञ्चारमाध्यमहरूले अपराधसम्बन्धी समाचारलाई प्रमुखताका साथ प्रकाशन, प्रसारण गरिरहेको पाइन्छ । सञ्चारमाध्यमले अपराध एवम् अपराधीको डरलाग्दो स्वरूपलाई मात्र आममानिसबीच चित्रण गरिरहेको देखिन्छ । अपराधबारे छलफल गर्दा दुईटा कुरा सँगसँगै आउँछन्, त्यो हो मानिसको मूल प्रवृत्ति अपराध गर्ने चाहना हो वा कानुनको पालना गर्ने ? एउटा मतमा मानिसको जन्मजात स्वभाव भनेको अपराध गर्ने हो, ऊ खराब हो । मानिसको यो ‘दुष्ट’ स्वभावले नै ‘प्राकृतिक अवस्था’मा ‘मत्स्य न्याय’ थियो ।
प्रत्येक मानिस स्वतन्त्र जन्मेको हुन्छ र ऊ कानुनको उल्लङ्घन गर्न पनि स्वतन्त्र हुन्छ । अपराध गर्नु मानिसको सामान्य व्यवहारभित्रकै कुरा हो । कुनै मानिसले अपराध गर्छ भने असामान्य अवस्थामा बाहेक त्यसको औचित्य खोजिरहन पर्दैन । त्यसैले कानुनको आवश्यकता परेको हो ।
अर्को मतमा कानुनको पालनाचाहिँ मानिसको सहज प्रवृत्ति हो । स्वभावले नै मानिस शान्तिप्रिय प्राणी हो । उसको अभ्यन्तरको चाहना समाज र परिवारका सदस्यसँग मिलेर बस्ने हुन्छ । शान्तिपूर्ण सहअस्तित्वमा मानिसले विश्वास गर्छ । यदि कसैले अपराध गर्छ भने त्यसको पछाडिका कारण खोजिनुपर्छ, त्यो मानवीय स्वभावको व्यतिक्रम हो । मानिसको बाल्यवस्था र युवाकाल जस्ता रचनात्मक वयमा उसलाई के गर्न हुन्छ, के गर्न हुँदैन र यी दुईबीच के अन्तर छ भनेर सिकाउन परिवार, विद्यालय एवम् समाज–समुदायले लगानी गरेको हुन्छ । यदि मानिसको मूल प्रवृत्ति कानुनको पालना गर्ने हुँदैनथ्यो भने सबैले अपराध गरेको हुनुपर्ने ! त्यस्तो भएको छैन ।
उल्लिखित दुईटै प्रवृत्तिहरूको पृष्ठभूमिमा अहिलेसम्मको मानवीय प्रवृत्तिलाई नियाल्दा देखिएको छ– मानिसले कानुनको पालना वा उल्लङ्घनमध्ये कुन चाहिँ आफ्ना लागि फाइदाजनक वा आकर्षक छ, घटना विशेष वा परिस्थितिपिच्छे त्यसको मूल्याङ्कन गरिरहेको हुन्छ र अपराध गर्ने वा नगर्ने निक्र्यौलमा पुग्छ । कानुनको उल्लङ्घन गरेबापत सम्पत्ति पाइने वा आफ्नो मानसिक वा शारीरिक सन्तुष्टि हुने र त्यस्तो सम्पत्ति वा सन्तुष्टि कानुनको पालनाबाट सम्भव छैन भन्ने मानिसलाई लागेमा उसले अपराध गर्छ । अपराध गर्दा सामाजिक मान्यता र हैसियत हासिल हुँदा पनि मानिस अपराध गर्न प्रेरित हुन्छ । अपराध गर्दा केही जोखिम छ भने पनि अपराध गर्छ । पहाडको कन्दरा वा एकान्तजस्तो ठाउँमा कुनै बस वा हवाईजहाज दुर्घटना हुँदा वा दैवीविपत्तिमा पर्दा त्यसबाट पीडित यात्रुहरूका नगद र गरगहनाजस्ता किमती वस्तुहरू त्यहाँ सबैभन्दा पहिला पुग्ने आसपासका मानिसले लैजाने गरेका दृष्टान्तले मानिसको यही प्रवृत्तिलाई स्थापित गर्छ ।
हत्या, बलात्कार, महिला तथा बालबालिका बिक्री गर्नु वा शोषण गर्नु, लागूऔषधको सेवन तथा ओसारपसार, आतङ्कवादी कार्य, कुटपिट, आगजनी, ठगी, जालसाजीजस्ता कुकार्य गर्ने मानिस भनेको एकदमै खराब, हेर्दै डरलाग्दो दुष्ट र बदमास खलनायक हुनुपर्छ भन्ने पनि आममानिसको बुझाइ हुन्छ । तर, हामीले समातिएको अपराधी नै पक्राउ नपरेको र आधिकारिक रूपले अपराधी ठहर पनि नभएको तीतो यथार्थ अनुभव गरेका हुन सक्छौँ । जीवनभर कुनै न कुनै प्रकारको कानुनविपरीत काम नगर्ने मानिस सायदै भेटिएला । एउटा अनुसन्धानको निचोड के छ भने एक चौथाइ पुरुषले र दसमध्ये एक महिलाले जीवनभर पाँच वा छवटासम्म कानुनविपरीतका कार्य गरेका हुन्छन् । खासगरी युवाले अपराध गर्छन् तर पक्राउ पर्दैनन् र प्रौढतासँगै अपराध गर्ने उनीहरूको यो बानी आफैँ हराउँछ । त्यसैले प्रहरीले मास्क लगाएर, अनुहार छोपेर टेलिभिजनको पर्दामा देखाइने सशङ्कित वा अभियुक्त हामी वा हाम्रै मानिस हो भन्ने बुझ्न सक्नुपर्छ ।
कुनै पनि सामाजिक तथ्य वा घटनाबारे मानिसको विज्ञता उसको अनुभवद्वारा प्रभावित हुन्छ । अपराधबारे मानिसले कसुरदार वा पीडितबाट थाहा पाउँछ । त्यो नभए प्रहरी वा प्रहरीद्वारा सम्प्रेषित सूचनाद्वारा वा परिवार, साथीभाइ, सहकर्मी वा समाजबाट र कसैबाट नहुँदा सञ्चारमाध्यमबाट जानकारीहरू प्रवाह भई अपराधबारे आममानिसको बुझाइले एउटा स्वरूप लिने गर्छ । यो जानकारी सञ्चारमाध्यमबाट ५२ प्रतिशत मानिसले थाहा पाउँछन् भन्ने एउटा अनुसन्धानको निष्कर्ष छ । त्यसैले अपराधबारे अनुसन्धान गर्ने वा नियन्त्रणमा लागिपर्ने पेशागत निकायका अतिरिक्त अन्य सरोकारवाला निकायहरू आमसञ्चारमाध्यममा अपराधलाई आममानिसको मनोवृत्तिलाई यथासम्भव प्रभावित गर्नेगरी प्रस्तुत गर्न चाहन्छन् । आमसञ्चारका माध्यमहरूले पनि अपराधलाई विभिन्न दृष्टिकोणबाट तथ्यपरक रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । कथा, नाटक र चलचित्रजस्ता कलात्मक माध्यमद्वारा पनि घटित अपराधका घटनालाई आख्यानात्मक रूपमा निर्माण गर्ने ‘एजेन्सी’हरू पनि सँगसँगै क्रियाशील रहिआएका छन् ।
सञ्चारमाध्यमका लागि अपराध आकर्षक विषयवस्तु किन बनेको छ भने यसलाई पाठक, दर्शकले अत्यधिक मन पराउँछन् । किनभने आपराधिक कार्य समाजको ऐना पनि हो । कुन समाचार
‘प्रकाशनयोग्य’ छ वा छैन भन्ने कुराले पनि महŒव राखिरहेको हुन्छ । समाजको सर्वस्वीकार्य मूल्यमा अतिक्रमण हुँदा त्यसको समाचारीय महŒव हुन्छ । जानकारीमूलक, मनोरञ्जनात्मक र त्यो सञ्चारमाध्यमलाई पाठक, श्रोता, दर्शकमाझ अझ लोकप्रिय बनाउनेखालको छ, जसलाई धेरैभन्दा धेरै ‘समाचारका उपभोक्ता’ले रुचाउँछन् । ज्यानसम्बन्धी, यौन हिंसाका र चोरीका अपराधसँग सम्बन्धित समाचार धेरैले पढ्ने, हेर्ने गरेको पाइन्छ । यस्ता सामग्रीका ‘उपभोक्ता’को हेर्ने, पढ्ने उत्सुकताको सीमा हुँदैन, जति हे¥यो, पढ्यो उत्सुकता झन्झन् बढ्छ । विकास, सकारात्मक विषयमा नेपाली पाठक÷श्रोताको त्यति रुचि देखिन्न ।
यसैबेला के पनि उल्लेख गर्न आवश्यक छ भने जुन अपराधबारे समाचार प्रकाशन, प्रसारण भइरहेको छ, के त्यो अपराध त्यो समाजमा सामान्यतः भइरहने अपराध हो त ? के सबै अपराधका घटनाको अनुसन्धान भएर सशङ्कित वा अभियुक्त समातिने, अभियोजन गरिने र अपराधी ‘ठहर’ हुने हुन्छ त ? धेरै अपराधका घटनाहरूको सूचना नै पर्दैन, जतिको पर्छ ती सबैमा सशङ्कित वा अभियुक्त पक्राउ पर्दैनन्, जति पक्रिन्छन् ती सबै अपराधी ‘ठहर’ हुँदैनन् वा गलत मानिस पनि अपराधी ठहर हुन सक्छ ।
यदि अपराधसँग राजनीति वा कुनै ‘सेलब्रेटी’ पनि जोडिएको अवस्थामा त्यसको महŒव÷चर्चा अझ बढ्छ । सामान्यतः पटके अपराधी वा अपराधबारेको समाचार बन्दैन । प्रदूषणले मानिसलाई कसरी अप्रत्यक्ष रूपले ‘मारिरहेछ’, ‘विनाइन्जिनियरिङ’ बनेका सडकका कारण पहाडका बस्ती पहिरो जाने, लेदो माटो बग्नेजस्ता ‘प्रकोपहरू’ले जोखिममा परेका छन्, खानेपानीका मुहान सुकिरहेका छन् र त्यस्ता सडकमा गुड्ने सवारीसाधन मोड नपुगेका कारण, होचो–अग्लो सतह नमिलेका कारण दुर्घटनाको सिकार भई खासगरी परिवारको कमाउने सदस्य मृत्युको मुखमा पुग्ने वा अपाङ्गता हुनुपर्ने र परिवार बिचल्लीमा पर्नेक्रम चलिरहेका छन् । यस्ता समाचारमा खोइ सार्वजनिक चासो ? बरु हत्या र यौन हिंसाका त्यस्ता समाचारले प्रमुखता पाउँछन्, जसमा क्रूरता छ, सुन्ने–पढ्ने–देख्नेलाई स्तब्ध पार्छ, लोमहर्षक छ, शुष्क छ र शान्तिकामी समाजमा तरङ्ग ल्याउँछ । यस्तो गर्न समाचारलाई कल्पनाको जलप लगाएर नाटकीय तरिकाले चतुरताका साथ प्रस्तुत गरिन्छ यहाँँ ।
पीडितको अति संवेदनशीलताले पनि समाचारलाई आकर्षक र फरक पारिरहेको हुन्छ । अति वृद्ध, बालक वा ‘फोटोजेनिक’ युवती पीडित हुँदाका समाचारमा मानिसको विशेष रुचि हुने गर्छ, महिलाले गरेको अपराधले पनि प्राथमिकता पाउँछन् । आमसञ्चारमाध्यमको प्रस्तुतिले मानिसको मौजुदा धारणामा परिवर्तन ल्याउनेभन्दा पनि अपराध र अपराधीप्रति न्यायिक प्रणालीलाई अझ कठोर र दन्डमुखी बनाउनुपर्छ भन्ने जोडबल गरेको देखिन्छ । तर, अपराधीलाई कडाभन्दा कडा सजायँले दण्डित गरेर अपराधको निर्मूल हुन्छ र समाज सुरक्षित बन्छ भन्ने सफल र कुशल दृष्टिकोण होइन । अपराधले समाजलाई विशृङ्खलित गर्छ भन्ने स्थापित मान्यता छ । तर, अपराधको दर थोरै हुनु पनि समाजका लागि राम्रो होइन भन्ने समाजशास्त्रीहरूको मत छ । राज्य छ त्यसैले अपराध पनि छ । समाजले स्वीकार गर्न सक्ने आचरणको हदको सीमा निश्चित गर्न अपराधीले सघाउ पु¥याउँछ । फौज्दारी न्याय प्रशासनको मूल उद्देश्य भनेको अपराधीलाई पुनः अपराध गर्नबाट हतोत्साहित पार्नु र उसको कार्यलाई समाजमा प्रदर्शन गरेर समाजका बहुसङ्ख्यक सदस्यलाई कानुन पालनाका लागि सतर्क गराउनु हो । यसबाट कानुन पालनकर्ताबीच सामाजिक ऐक्यबद्धताको विकास हुन्छ । सामाजिक मूल्य र मान्यतालाई दिइने चुनौती र उल्लङ्घनबाट समाजले नयाँ कुरालाई ग्रहण गर्छ र यसमा निखार पनि आउँदै जान्छ भन्ने गरिन्छ । तथापि, ‘स्तरीय’ सञ्चारमाध्यमले घटनाविशेष अपराधको प्रकाशन गर्नुभन्दा अपराध नियन्त्रणका लागि जिम्मेवार पेशागत सङ्गठनहरूले आपराधिक क्रियाकालापहरूलाई शमन गर्न
के–कस्ता उपायहरू गरिरहेका छन् भनेर पाठक, दर्शकलाई जानकारी दिनुपर्छ । घटनाको वस्तुगत विश्लेषण गरेर न्याय प्रणालीका कथित कमीकमजोरीलाई देखाउने रचनात्मक काममा आमसञ्चारमाध्यमको
ध्यान जानुपर्छ ।
(लेखक चितवन जिल्ला अदालतका न्यायाधीश हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?