प्रकाश अधिकारी
कुनै बेलाको खाद्यान्नमा आत्मनिर्भर नेपाल अहिले आयात गर्छ । पहाडी गाउँहरू खाद्यान्न उत्पादनका लागि आवश्यक पुँजी र श्रमको अभाव र तलतिरबाट आउने सस्तो ‘बोरा चामल’ सँग बजार प्रतिस्पर्धा गर्न नसक्दा परनिर्भर बनेका छन् । जान आउनको कठिनाइ हुने दुर्गम अविकसित स्वरूपको पहाड १० वर्षे द्वन्द्वले मानिस पलायन भएर जनसङ्ख्या घट्नेक्रममा छ । द्वन्द्व र निर्वाहमुखी कृषिले मानिस पहाडमा टिक्न सकेनन् र सुविस्ताले जीवन निर्वाह गर्न सहर–बजारमा बसाइँ सर्ने अहिलेको आमप्रवृत्ति बनेको छ ।
दुर्गमका गाउँबस्तीहरूलाई यातायातले जोड्ने सडक निर्माण विकासको प्रमुख ‘एजेन्डा’ बनेको छ तर यसका लाभग्राही गरिबहरू हैन ‘टाठाबाठाहरू’ नै छन् । आदिवासी, गरिब, दलित, महिला र बालबालिकाहरू त डोजरको विकासले पानीको मुहान सुक्ने, लेदो माटो बग्ने, पहिरो जानेजस्ता वातावरण प्रदूषणले पारेका प्रतिकूल परिणामहरूले पीडित छन् । टाठाबाठाहरू सडक निर्माणको ठेक्काबाट र आफ्नो मालसामानको बजार विस्तार भएर लाभान्वित नै भएका छन् । सडक निर्माणको क्रममा निर्माण सामग्रीले खल्बलाएर र तयार भएपछि त्यसमाथि गुड्ने ठूला सवारीसाधनको दबाबले सडक तल र माथितिरका भिराला पाखाहरू क्रमशः क्षय हुँदै जाँदा सडकले विकास गरेको कथित बजारसँग जोडिन नसकेका सीमान्तकृत वर्ग र समुदाय पीडित छन् र क्षतिपूर्तिको दाबी कतै गर्न पाउँदैनन् ।
भूगर्भसम्बन्धी विज्ञानबमोजिम गङ्गेटिक प्लेटमा भएको हलचलबाट बनेको तुलनात्मक रूपले नरम, कमलो र ‘कमै उमेर’को हाम्रो पहाडी र हिमाली भू–भागको वातावरण र त्यसमा आश्रित समुदायहरूलाई सडक निर्माण गर्दा प्रयोग गरिने बुल्डोजर, एक्स्काभेटर, लोडर्सजस्ता गह्रुँगा मेसिनहरूले अपूरणीय क्षति पु¥याएका छन् । पहाडको भूबनोट भनेको धेरै तहहरू (फोल्डस्), चिरिएका चट्टानहरू (फल्टस्) र माथितिर दबाब दिइरहने (थ्रस्ट सिट) संरचनाले निर्माण भएको भन्ने वैज्ञानिक विश्लेषण छ । भूकम्पजस्ता प्राकृतिक विपत्ति वा गह्रुँगा मेसिनहरूको प्रयोगजस्ता मानवसिर्जित हलचलले यस्तो भूमिलाई सजिलै चिरा पार्ने जोखिम रहन्छ । पहिरोले मानव बस्तीलाई खतरामा पार्छ, बाढी आउँछ, जैविक परिस्थितीय चक्रलाई खल्बल्याउँछ र जलवायु परिवर्तनको जोखिममा रहेका हाम्रा पहाडहरूलाई मरुभूमिकरण गरिदिन्छ । अन्ततः यी सबैबाट जैविक र अनुवांशिक विविधताको विनाश हुन्छ ।
पहाडसँग हाम्रो संस्कृति जोडिएको छ । पहाड वन–जंगलले घेरिएको छ । वन–जंगलमा देवीथान हुन्छ, चौर, चरन, पानीघाट हुन्छ । यी सबै समुदायको हुन्छ, व्यक्तिविशेषको हैन । ग्रामीण भेगका लागि वन अभिन्न स्रोत हो । इन्धनको मुख्य स्रोत हो । पशुको आहारा डालेघाँस र घर निर्माणको सामग्री वनमै आश्रित हुन्छ । देवीथानवरिपरि र पानीको मुहान भएका रूखहरू काट्न निषेधित हुन्छ ।
प्रकृति र स्थानीय संस्कृति आपसमा अभिन्न र अन्योन्याश्रित छन् । हाम्रो संस्कृतिले प्रकृतिलाई चुनौती दिँदैन । न त प्रकृतिबाट पृथक रहेर जीवन निर्वाह गर्न नै उत्प्रेरित गर्छ । प्रकृतिलाई मित्रका रूपमा अङ्गीकार गरिन्छ । हाम्रो धर्म र संस्कृतिमा प्रकृतिका सबै प्राणीहरूको अस्तित्वलाई स्वीकार गरिएको छ । ३३ कोटी देवीदेवताका रूपमा वा तिनका सहयोगीका रूपमा वा अन्य कुनै न कुनै स्वरूपमा हाम्रा लागि ती पूजनीय छन् । वनदेवी छिन्, सिमसारमा रहने सिमेभुमे भूदेवता छन्, पहाडको अनकन्टार गुफामा बस्ने वनझाँक्री छन् । जैविक विविधता पहाडमा जत्तिको कहीँ छैन । नेपालले विश्वको ०.१ प्रतिशत भू–भाग ओगटे पनि यहाँको प्रजाति विविधता ज्यादै उच्च छ । त्यसैले पहाडको चित्रण एक निरस, एक लय र उराठ लाग्ने डाँडापाखाका रूपमा मात्र गरिनु सर्वथा अनुचित छ । बरु पहाडका जङ्गलले त सिमेन्टको जङ्गलबाट उत्सर्जित कार्बनडाइअक्साइडलाई निरन्तर घटाइरहेको छ । विज्ञानको चमत्कारमा निसास्सिएकाहरूलाई जीवनदान दिइरहेको छ र कार्यसम्पादनमा थप ऊर्जा प्रदान गरिरहेको छ । हाम्रो देशमा झण्डै १५ प्रतिशत उच्च हिमाली भू–भाग, ६८ प्रतिशत पहाडी भू–भाग र १७ प्रतिशत तराई समथर मैदानले ओगटेको छ । एउटा अध्ययनको निष्कर्ष के छ भने मानव जातिलाई पारिस्थितिक प्रणालीबाट प्राप्त सेवामध्ये जलाधार क्षेत्रको संरक्षण, पानीको प्राकृतिक प्रशोधन तथा शुद्धीकरण, पानीको बहावको नियन्त्रण, वायुमण्डलीय मौसमको प्रवद्र्धन, माटोको उर्वरा शक्ति कायम राख्ने प्रक्रिया प्रमुख हुन् । यो प्रणाली खल्बलिने अवस्थामा पुगेको छ ।
हिमाली पहाडहरूको दृश्यावलोकन गर्न र पैदलै फन्को लगाउन संसारभरिका मानिस आउँछन्, त्यसैले पनि त्यहाँका रैथानेहरूका लागि पहाड जीविकोपार्जनको स्रोत बनेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा रहेको छ । अन्नपूर्ण पदमार्ग
(ट्रेकिङ रुट) भएको अन्नपूर्ण संरक्षण क्षेत्र विश्वमै प्राकृतिक दृश्यका आधारमा पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल मानिएको छ । यस संरक्षण क्षेत्रले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा पैदल यात्रा गर्न आउने विदेशी यात्रुहरूसामु अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरू प्रस्तुत गरी नेपालको पर्यटन उद्योगलाई फस्टाउन ठूलो टेवा पु¥याएको छ । हिमाली क्षेत्र भनेको मानवको बस्ती र गतिविधिविहीन निर्जन, नीरव र अनकन्टार भएकाले विकट प्रदेशको जङ्गलीपना (वाइल्डरनेस) खोजीमा रहेकाहरूका लागि यो कौतुकको क्षेत्र पनि रहिआएको छ । हिमाल आरोहण र त्यसैसँग गाँसिएको पर्यटन नेपालको राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बाका रूपमा रहेको कुरा सर्वविदित छ ।
पहाडमा जैविक विविधता सँगसँगै जातीय विविधता पनि मौलाएको हुन्छ, भाषिक र साँस्कृतिक विविधता पनि छ, विभिन्न जनजातिहरूको बसोवास छ । उनीहरूको मौलिक भाषा र संस्कृति, खानपान र रहन–सहन छ । औषधोपचारको आफ्नै पद्धति छ । यी सबै पहाडमा आश्रित छन् । यो विशिष्टतालाई सडकको जथाभावी विकासले चुनौती दिनुहुँदैन । प्रकृति आश्रित जैविक प्रणालीलाई खतरामा पार्न‘हुँदैन । ‘जल, जमिन र जङ्गल’ मानव समुदायलाई प्रकृतिले दिएका अमूल्य निधिहरू हुन् । यीउपर स्थानीय समुदायको प्राथमिक हक रहन्छ । सडक बनाउन रूख काटिएका छन् । वर्षांै लगाएर हुर्किएका र जोगिएका जडीबुडी बाहिरियाहरूको पहुँचले निख्रने भय छ । बाहिरियारहरू तत्कालको फाइदा हेर्छन् तर त्यसको नराम्रो दीर्घकालीन असर स्थानीयले बेहोर्न‘पर्छ । पहाडी जनजीवन पहाडका वन, बुट्यान, नदी, खोला एवम् खोल्सा तथा पखेराहरूमा आश्रित छ । पहाडको ‘उकालो, ओरालो, हलो, कोदालो’ पहाडमा बसोवास गर्नेका लागि वैद्य, डाक्टर हुन् । औषधीय महŒव भएको भीरमौरीले बनाएको मह दुर्लभ छ । शिलाजित पहाडमै पाइने चीज हो, चिराइतो पहाडी बुट्यान हो र यार्सागुम्बाले पहाडी जनजीवनलाई स्वावलम्बी बनाउन मद्दत गरेको छ । वनजङ्गल भनेको रूखको सङ्ख्या वा रूखको बाक्लोपना हैन वनमा रहेका विभिन्न प्रजाति वा प्रकार, वासस्थान तथा वंशानुगतका रूखहरूको विविधता हो । यसमा रहेको पारिस्थितिक प्रणालीको दिगो उपयोग तथा जीवनचक्रमा निरन्तरता रहेको हुन्छ । यी विशेषताहरू भएको वन पहाडमा मात्र पाइन्छ ।
धेरै मानिसको होस् वा सवारीसाधनहरूको आवतजावत ओहोरदोहोरलाई पहाडको भूसंरचनाले थेग्न सक्दैन, पहाडमा गरिने विकासका गतिविधिहरू त्यहाँको वातावरणमैत्री हुनुपर्छ । हिमाली पहाडहरूले सस्ता कथित पर्यटकहरूको घुइँचो हैन, खर्च गर्न सक्ने नियन्त्रित सङ्ख्याका पर्यटकको मात्र माग गर्छ । भुटानबाट यस कुराको सिको गर्न सकिन्छ । पहाडलाई जति अक्षत (भर्जिन) राख्न सक्यो त्यति नै हाम्रा सर्तमा जिज्ञासु पर्यटकहरूलाई आकर्षित गर्न सक्छौँ । सरकारी निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहाडको वातावरण बिग्रनुमा सडक, सिँचाइ, जलविद्युत्का साना–ठूला निर्माणलाई मुख्य कारण ठानेको छ ।
पहाडमा सडक सञ्जाल कसरी विकास गर्ने भन्ने सरकारको कुनै नीति देखिन्न । सडकको ‘इन्जिनियरिङ’ पालना गरेर सडक बनाइन्न । मोड नपुग्दा, होचो अग्लो सतह नमिल्दा र बढी यात्रु तथा सामान बोकेका कारण पहाडी सडकमा सवारीसाधन दुर्घटना नभएको दिन हुँदैन, सवारी दुर्घटना नियमित आकस्मिकता बनेको छ । केही व्यक्तिहरूको तत्कालको लाभ र लहडमा अर्थात् मर्जीमा सडक बनाइन्छ । सबै सरकारी नीतिहरू विज्ञानले पृष्ठपोषण गरेको हुनुपर्छ, तिनलाई सार्वजनिक छलफलमा ल्याइनुपर्छ । वातारणसम्बन्धी प्रचलित कानुनले वातावरण जाँच गर्न‘पर्छ भनी गरेको कुरा केवल देखाउने दाँत भएको छ । वातावरण जाँचको प्रक्रिया कागजी घोडा दौडाएर हुँुदैन, व्यवहारमा पालना गरिनुपर्छ ।
(लेखक चितवन जिल्ला न्यायाधीश हुनुहुन्छ ।)