प्रकाश अधिकारी
यौन, सदाचार, प्रजनन र विवाह मानव सभ्यताका कुनाकाप्चासम्म फैलिएका सत्य हुन् । यसको नियमनमा उल्लेख्य स्रोत, साधन र समय खर्च भएको छ । समुदाय विशेषमा प्रचलित यौन नैतिकताको रक्षा गर्नु र व्यक्तिको यौन अधिकार सुरक्षित गर्नु राज्यको प्राथमिक जिम्मेवारीभित्र पर्छ । मानिसले आविष्कार गरेका राज्य र विवाहका संस्था अनादिकालदेखि अखण्डित रहिआएका छन् । तीमध्ये विवाहबारे विचार गर्दा यसका आधारभूत प्रश्नमा छलफल भएको छ, वादविवाद गरिएको छ र यसप्रति समर्थन जनाइएको छ । कतिपय अवसरमा यसलाई ध्वस्त पारिएको पनि छ र यति हुँदाहुँदै पनि वैवाहिक संस्था सार्वभौम छ ।
विवाह र राज्य, दुवै मानिसका सहज प्रवृत्ति हैनन् । एक पतिपत्नी भएको पितृसत्तात्मक समाज सर्वत्र छ । विवाहको उद्देश्य यौनलाई वैधता दिनु, यौन सदाचार सुरक्षित गर्नु, सन्तान उत्पादन हो । अन्य यौन सम्बन्ध र विवाहमा के तथ्यको फरक छ भने विवाह कानुनद्वारा स्थापित संस्था हो । विवाहबाटै जीवनको प्रारम्भ हुन्छ भन्नु अत्युक्ति नहोला । विवाह सर्वकालीक हुनुको कारण यसले छोराछोरीलाई ‘वैधानिकता’ दिने भएकाले हो । विवाहबिना छोराछोरीमाथि बाबुको कुनै अधिकार हुँदैन, आमाको मात्र हुन्छ । भावनात्मक रूपमा आमा र बच्चाको सम्बन्धलाई सत्य भनिन्छ । भौतिक हिसाबमा दूध चुसाउन नछोडुञ्जेल बच्चासँग आमाको परस्पर गहिरो शारीरिक सम्बन्ध रहन्छ तर पितासितको सम्बन्ध ज्ञानको सम्बन्ध हो, पत्नीमार्फत गाँसिएको । यो सम्बन्ध अप्रत्यक्ष हुन्छ, काल्पनिक पनि र अनुमानमा आधारित । महिलाको सहज प्रवृत्ति पितृसत्तात्मकताको महिला सदाचारको विपक्षमा महिला–पुरुष दुवैलाई बराबरीको स्वतन्त्रता हुनुपर्छ भन्नेमा रहन्छ ।
विवाहले पितृत्वको मनोवैज्ञानिक तथ्यलाई मान्यता प्रदान गर्छ । अक्षत योनीको पुरुष चाहना यसले पूरा गर्छ । जब पिता बच्चालाई आफ्नो ‘अङ्कुर’ हो भनेर मान्दछ, उसको बच्चाप्रतिको मनोभावलाई दुईवटा तìवले बल पु¥याइरहेको हुन्छ ः शक्तिको प्रेम र मृत्युपछि पनि जीवित रहने लालसा । कुनै पनि पुरुषलाई सन्तानको उपलब्धि एक हदसम्म आफ्नो उपलब्धि लाग्छ र उनीहरूको जीवन उसैको जीवनको प्रवाह हो भन्ने विश्वास हुन्छ । पितृसत्तात्मकताले मानव समाजलाई प्रतिस्पर्धी, बढी ऊर्जाशील, गतिशील र धपेडीयुक्त बनाइदिएको विश्वास गरिन्छ ।
विवाह उप्रान्त प्रायःले सदाचारमा रहेर सुखी दाम्पत्य जीवन गुजारेको देखिन्छ । हिमाली भेगका केही जातिमा प्रचलित बहुपति प्रथाले मातृसत्तात्मकतालाई कायम गरेको देखिन्छ । यो समुदायको विवाह र सम्बन्ध विच्छेदमा महिलाको अग्राधिकार रहन्छ । मामाचेला–फुपूचेलामा विवाह हुने मगर, ठकुरी, गुरुङ समुदाय छन् । यो प्रचलन पनि मातृसत्तात्मकताको अवशेष हो । यसलाई कानुनले पनि मान्यता दिएको छ ।
नेवारी समुदायमा कन्याको मासिक धर्म सुरु हुनुभन्दा अघि बेलसित ‘इही’ गराइन्छ । इहीको शाब्दिक अर्थ विवाह हो । बेललाई स्वर्णकुमार वा अमर पुरुषका रूपमा ग्रहण गरिन्छ । बेलसित विवाह भएपछि फूर्सदका समयमा कुनै कुमारसित विवाह गरिदिनुले धार्मिकभन्दा व्यावहारिक कारण पुष्टि गर्छ । तामाङ समुदायमा छोराछोरीबीच कुनै विभेद गरिँदैन । यो जातिमा विवाह र सम्बन्ध विच्छेद दुवै ज्यादै सरल छ । विवाहित जोडीले अलग हुन चाहेमा पञ्च भेला गरेर पतिपत्नीको कम्मरमा एउटा धागो बाँधेर त्यसलाई बीचमा छिनालिदिएपछि सम्बन्ध विच्छेद भएको मानिन्छ ।
थारू समुदायमा प्रचलित विवाह र सम्बन्ध विच्छेदका प्रचलनमा केटाकेटी बराबरीको हैसियतमा हुन्छन् । यो समुदायमा सम्बन्ध विच्छेद र जारी प्रथा सरल छ । विधवा भाउजूसित देवरको पुनःविवाह हुनसक्ने र देवर नभएमा सासू–ससुराले केटो खोजेर विधवा बुहारीको विवाह गराइदिई केटालाई छोरासरह बनाएर राख्ने चलन पनि छ ।
लिम्बू समुदायमा पनि सम्बन्ध विच्छेदको प्रचलन रहेको छ । लोग्नेले स्वास्नीसित सम्बन्ध विच्छेद गर्नुलाई ‘सिन्दुर तुक्मा’ अर्थात् ‘खेमोजोङ’ र स्वास्नीले लोग्नेलाई छाडेमा ‘नाजोङ’ भन्दछन् । लोग्नेले स्वास्नीलाई छाड्दा कुनै रीत दैदस्तुर लाग्दैन तर स्वास्नीले ‘नाजोङ’ गरेकोमा लोग्नेले पहिले दिएका गरगहना सबै फर्काउनुपर्छ ।
उल्लिखितबाहेकका नेपालमा बसोबास गर्ने अन्य आदिवासी जनजातिहरूमा अहिले अरूको देखासिखी गरेर पुरुष अग्रताको प्रचलनहरू अभ्यास गर्न थालिए पनि यी समुदायमा महिलाको स्थान पुरुष बराबरीकै हुन्छ । विवाहमा भोजभतेर र गरगहनाबाहेक अन्य कुनै कुराको लेनदेन नहुने दुवै परिवारको बराबरीको, युवायुवतीको स्वतन्त्र सहमति र स्वेच्छाको तथा सम्बन्ध विच्छेदमा समेत सोहीबमोजिम हुने गरेको देखिन्छ । स–साना बालबच्चा भएकी महिला बालबच्चासहित अर्कोसँग जाने र नयाँ पतिले पनि ती बालबच्चालाई सजिलै स्वीकार गर्ने गरेको पनि देखिएको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना समुदायमा यो प्रचलन देखिन्छ ।
ब्राह्मण धर्म वा सनातन भनिने हिन्दु धर्म कुनै एक सम्प्रदाय, पन्थ वा मत नभएको र कुनै एक ऋषि मनीषी वा महापुरुषद्वारा अनुप्राणित पनि नहुँदा विवाह र सम्बन्ध विच्छेदमा अनेकता र अस्पष्टता सर्वविदित छ । पतिसित धर्मकर्म गर्न पाउने धर्मपत्नी, विधिपूर्वक विवाह गरेर ल्याइएकी पत्नी, पतिले भरणपोषण गर्नुपर्ने भार्या, सन्तानका लागि विवाह गरिएकी जाया, सुवास छर्ने (सुवासिनी) स्वास्नी, पाणिग्रहण गरिएकी दारा, कमाइ भएकी जोई, आधा जिउ समानकी अर्धाङ्गिनी, सौभाग्यशाली श्रीमती र ल्याइते वा ब्याइते स्त्रीजस्ता शब्दावलीहरूले स्थान र कालविशेषमा महिला र पुरुषबीचको सम्बन्धका विभिन्न प्रचलन रहेको तथ्य प्रकाशित हुन्छ ।
दाराबाट जन्मिएका सन्तानलाई दारक भनिनु, जाया सन्तानोत्पत्ति गरेपछि (जायजन्म) पुरुषलाई त्याग गर्न स्वतन्त्र हुनु र आफ्नो घरद्वार गरी बसेकी वा कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीको घरमा बस्ने वा उसको कमाइमा निर्भर हुने गरी कुनै पुरुष जोइल जानसक्ने प्रचलनले सनातनी परम्परामा कुनै बेला मातृसत्तात्मकताको पनि अभ्यास भएको कुरालाई पुष्टि गर्छ । रोमन क्याथोलिक धर्ममा जस्तै हिन्दु धर्ममा सम्बन्ध विच्छेद हुँदैन । विवाहिता महिलाले सन्न्यासिनी हुन चाहेमा पतिलाई परित्याग गरेको दृष्टान्तबाहेक एकचोटि विवाह गरिसकेपछि त्यो जन्मजन्मान्तरको सम्बन्ध मानिने प्रचलन थियो, सम्बन्ध विच्छेदको कुनै अवसर दिएको देखिँदैन । पुरुषहरू पत्नी त्याग गर्न वा बहुविवाह गर्न स्वतन्त्र थिए ।
विवाहका सम्बन्ध जेजस्ता प्रथा परम्परा र प्रचलनहरू रहे पनि कानुनले निषेध गरेको व्यवहारबाहेक अन्यलाई मान्यता दिएको छ । सम्बन्ध विच्छेद गर्नुपर्दा भने अदालतमै गएर मात्र गर्न सकिन्छ, अन्यत्र गरिएको सम्बन्ध विच्छेदले मान्यता पाउँदैन । अदालतमा यसको अभिलेखीकरण गर्नुपर्ने अनिवार्यता छ । औद्योगिक क्रान्तिले पाश्चात्य समाजमा यौनको नैतिकतामा परिवर्तन ल्यायो । महिलाको पुरुषसितको आर्थिक निर्भरता घटेर गयो । शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढेर आयो । चिकित्सा विज्ञानको प्रगतिले आमा र बच्चाको मृत्युदर घटेर गयो । परिवार नियोजनका साधनहरूको प्रयोग बढेर गयो । रति रोगहरू नियन्त्रणमा रहे । विवाह नगरी वा विवाहइतर यौन सम्बन्ध राख्नु पापसित सम्बन्धित हुन छाड्यो । महिलाको चाहनाविपरीत र उमेर नपुगेकासँग यौन सम्बन्ध राख्न वर्जित गरियो । यी सबैको बाछिटा हाम्रो समाजमा परेको छ तर हाम्रोजस्तो पछौटे समाजमा विवाहको महìव घटेर गएको छैन ।
विवाह पितृसत्तात्मकतालाई मजबुत बनाउने पद्धति भएकाले यो महिलाको परतन्त्रताको श्रीगणेश पनि हो । महिलाको सतित्वलाई अक्षुण्ण राख्ने योभन्दा गतिलो अरू ढङ्ग अहिलेसम्म आविष्कार भइसकेको छैन । पुरुषको हकमा यो लागू हुँदैन । विवाहले प्रेमलाई भत्काइदिएको छ । यो बराबरीमा आधारित छैन । प्रेम बराबरीको सम्बन्ध हो । पति–पत्नीका बीच साथी–साथीको सम्बन्ध हुँदैन । पतिको पत्नीप्रति अनुकम्पा र अधिकार हुन्छ, महिलाको कर्तव्य मात्र । प्रेम इच्छाको अधीन नहुनाले प्रेम कर्तव्य हुनसक्दैन । प्रेम स्वर्गीय उपहार हो । हामीलाई ईश्वरले दिएको उत्तम उपहार हो । यो स्वतन्त्र र सहज हुँदा प्रस्फुटित हुन्छ । प्रेम मात्र हैन, महिलाले सभ्यतालाई दिनसक्ने योगदान पनि विवाहले अवरुद्ध पारिदिएको छ ।
कानुनका दफाहरूद्वारा विवाहमा दुवैलाई बराबरीमा राखिए पनि प्रथा, परम्परा र चलनमा ठूलो अन्तर छ । कानुनमा विवाह गर्ने दुवै स्वतन्त्र भएजस्तै सम्बन्ध विच्छेद गर्न पनि स्वतन्त्र हुन्छन् तर विवाहजत्तिकै सम्बन्ध विच्छेद पनि सरल भइदिएको भए धेरै विवाह विच्छेदमा टुङ्गिने थिए । विवाह यौन, अर्थ र धर्मको सम्मिश्रण भएकाले यसलाई टुटाउनमा पनि यौन, अर्थ र धर्म नै कारण हुन्छन् ।
पतिको पुर्खौली सम्पत्तिमा पत्नीको पहुँच सहज छैन । विवाहपछि पत्नीको बासस्थान पतिको घर हुन्छ । पतिको अनुकूल पत्नी भइदिनुपर्छ, पतिले पत्नी अनुकूल हुन पर्दैन । वर्तमानमा अभ्यास गरिरहेको विवाह प्रणालीमा एकैचोटि कसैको पनि एकभन्दा बढी पति वा पत्नी हुनसक्दैन । कुनै अविवाहित जोडीबाट कुनै सन्तानको जन्म भएमा यसरी सन्तान हुनु नै विवाह हुनु हो, सार्वजनिक समारोह आदि गरेर विवाहको घोषणा गरिरहन पर्दैन तर विवाहित पुरुषले अविवाहित महिलाबाट कुनै सन्तानको जन्म गराएमा ती महिला पुरुषका बीच विवाह कायम नहुने तर बच्चाको जन्मदर्ता भने हुन्छ, बाबु–आमा कायम हुन्छ, बच्चाको अंश हक क्रियाशील हुन्छ । बाबुको टुङ्गो नलागेको बच्चाको आमातर्फको मात्र सम्बन्धलाई औपचारिक मान्यता दिने कुरा टुङ्गोमा पुगिनसकेको हाम्रो समाजले पितृसत्तात्मकलाई औपचारिक मान्यता दिइरहेको भन्नुपर्छ ।