प्रकाश अधिकारी
संविधानमा बालबालिकाका सम्बन्धमा विशेष व्यवस्थाहरू गरिएको छ । मानवअधिकार विधिशास्त्रमा विकसित बालअधिकारका पछिल्ला अवधारणाहरू, जस्तो, बालबालिकाले राज्यबाट विशेष संरक्षण र सुविधा पाउने, राज्यविहीन नहुने, संरक्षक–अभिभावकविहीन ‘अनाथ’ नहुने, आपराधिक मनसाय नहुने, सिकाइ वा अन्य बहानामा बालबालिकालाई शारीरिक दण्ड दिन नहुने, बालबालिकासँग सम्बन्धित राज्यका सबै कामकारबाही बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखेर गर्नुपर्ने आदिलाई स्वीकार गरिएको छ ।
कुनै पनि कार्यको पहिलाबाट परिणामको अन्दाज गरी सो परिणाम हासिल गर्न काम गरिन्छ भने त्यसलाई मनसायपूर्वक गरिएको कार्य भनिन्छ । दोषी मनोभावना राखेर गरेको कार्यको फलस्वरूप कुनै अपराध हुन्छ भने आपराधिक मनसायले गरेको निश्चित गरी सजाय गरिन्छ । बालवय मानव जीवनको एउटा खास अवस्था हो । बालबालिकामा प्रौढको जस्तो कुन राम्रो वा नराम्रो भनी छुट्याउने विवेकको (ज्ञान) विकास भइसकेको हुँदैन । अन्य स्तनधारीको शिशुको तुलनामा मानिसको शिशु धेरै समयसम्म खानपान, आवासजस्ता बाँच्ने उपक्रमका लागि सामान्यतः बाबु–आमाको भर पर्नु पर्छ । शारीरिक र मानसिक परिपक्वतासँगै बालबालिकाले भाषाको माध्यमले र छोएर, देखेर, कुनै प्रकारले स्वाद लिएर, सुनेर र खेलेर ‘ज्ञान’ प्राप्त गर्छन् ।
बालबालिकाले गरेको कुनै कानुन र समाज विपरीतको कामलाई कसूर नभनेर बालबिज्याँइ र बालबालिकालाई ‘अभियुक्त’ नभनेर कानुनको द्वन्द्वमा परेको भन्ने गरिन्छ । क्रिश्चियन धर्मशास्त्रमा सात वर्षको उमेरबाट ‘व्यावहारिक बुद्धि’ विकास भइसक्ने र यसपछि ‘पाप गर्न’ सक्ने विश्वास गरिन्थ्यो । हाम्रो कानुनले १० वर्ष नपुगुञ्जेलसम्मकाले अपराध गर्न नसक्ने र त्यसपछिमा १० वर्षदेखि १४ वर्ष मुनिकाले जरिवानाको सजाय हुने कसूर गरेकोमा सम्झाइ बुझाइ र कैदको सजाय हुने कसूर गरेकोमा एक वर्षसम्म बालसुधार गृहमा बस्नुपर्ने सजाय हुने व्यवस्था छ । त्यसपछिको उमेर समूहमा १४ वर्षदेखि १६ वर्षसम्मकाले कसूर गरेमा भने उमेर पुगेकालाई हुने सजायको आधा र १६ वर्षदेखि १८ वर्ष नपुगेकालाई उमेर पुगेकालाई हुने सजायको दुईतिहाई सजाय हुने व्यवस्था रहेको छ । १८ वर्ष उमेर नपुगेकालाई कैदको सजाय हुने भएमा बालसुधार गृहमा बसेर भुक्तान गर्नुपर्छ ।
बालबालिकामा हुने शारीरिक र मानसिक विकासका आधारमा एक वर्षसम्मका शिशु (इन्फ्यान्ट), एकदेखि तीन वर्षका टुकटुके (टोडलर), चारदेखि छ वर्षका विद्यालय पूर्व उमेरका, छ वर्षदेखि १२ वर्षका विद्यालय उमेरका र १२ माथि १९ वर्षका किशोरवय (टिनएजर) भनी बालविकासका चरणहरू रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले किशोरावस्थालाई बाल्यावस्थापछि र वयस्क अवधि अघिको मानव वृद्धि तथा विकास हुने समयावधि भनी परिभाषित गरेको छ । किशोरावस्थालाई पूर्व, मध्य र उत्तर गरी तीन चरणमा बाँडेर हेर्ने गरिन्छ । जैविक प्रक्रियाले यो उमेर समूहमा विभिन्न शारीरिक परिवर्तन, वृद्धि तथा विकास हुन्छ । किशोरावस्थाका निर्धारक तŒवहरू सार्वभौम हुन्छन् भने यो अवधिका चारित्रिक गुणहरू समय, संस्कृति तथा सामाजिक एवं आर्थिक अवस्थाले फरक पार्ने भएकोले स्थानीय हुन्छन् । १२ वर्षदेखि ३० वर्ष उमेर समूहमा गरिएको एक अध्ययनको निष्कर्ष पुरुषहरूमा १४ देखि २१ वर्ष उमेर समूहकाले सबैभन्दा बढी अपराध गर्ने गरेको र त्यसमा पनि १८ वर्ष उमेरकाले सबैभन्दा बढी ‘अपराध’ गर्ने गरेको पाइएको थियो भने युवतीको हकमा यस्तो उमेर १४ वर्षको थियो । त्यसपछिका वयस्कहरूले बलियो वैवाहिक सम्बन्ध र पेसा–व्यवसाय भएमा अपराध गर्ने प्रवृत्तिमा कमी हुँदै जाने र ६० वर्ष उमेरपछि मानिसले अपराधकर्म बिरलै गर्ने गरेको पाइएको छ ।
किशोरावस्था जीवनचक्रको सङ्क्रमणकाल हो । बाल्यावस्थाबाट वयस्क हुने यो काल शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक आयामले परिपक्वतातिरको लम्काइ भएकाले स्वपहिचानको खोजी उनीहरूको लक्ष्य हुन्छ । स्वायत्तता, सिर्जनशीलता, जिज्ञासुपन एकातिर हुन्छ अर्कोतिर समवयी, परिवार, शिक्षा र समाजको ‘वातावरणीय’ प्रभाव हुन्छ । किशोरावस्थामै शारीरिक ढाँचा–काँचामा परिवर्तन आउँछ । यौन र सम्बन्धकाबारे अन्योल हुन्छ । किशोरहरू आफूलाई दृढ र बलवान देखाउन चाहन्छन्, किशोरीहरू सहनशील हुन थाल्छन् ।
सङ्क्रमणमा रहेको हाम्रो समाजमा परिवारको ‘गठन’ र ‘विघटन’ को क्रम तीव्र छ । विवाह स्वाभाविक छ तर पारपाचुकेको ‘ग्राफ’ अस्वाभाविक रूपले निरन्तर बढिरहेको छ । बाबुआमा बीचको पारस्परिक वैमनश्य, कलह र अनैतिक क्रियाकलापका बीच आश्रित भएर बाँच्नुपर्ने बाध्यता तथा रुढिवादी संस्कारजस्ता अवाञ्छित गतिविधिहरू दैनिकी भएका परिवारमा किशोरकिशोरीहरूको मन बेचैन हुन्छ र आक्रामक हुने सहज प्रवृत्तिको विकास हुन्छ । यो सहज प्रवृत्तिको मनोविज्ञान उनीहरूलाई कानुन विपरीतको काम गर्नतिर ‘धकेल्ने’ आन्तरिक तत्व हो । गरिबी वा कुनै जात–समुदाय विशेषको भएको कारणले विद्यालयमा राम्रो प्रदर्शन गर्न नसक्दा आफ्नो शैक्षिक भविष्य स्पष्ट नदेख्ने र दौँतरीहरूको दबाब बाह्य तŒव हो, जसले उनीहरूलाई समाजविरोधी गतिविधिहरूमा संलग्न हुन ‘आकर्षण’ को काम गर्छ ।
जनसङ्ख्याको ठूलो हिस्सा ग्रामीण भेगबाट सहर–बजारतिर बसाइ सरिरहेको छ । निर्वाहमुखी कृषिमा आश्रित ग्रामीण समाजमा मानिस एक अर्कासित परिचित र अन्तरनिर्भर हुन्छन् । सहर भनेको सानो क्षेत्रफलमा धेरैतिरका विभिन्न प्रथा, परम्परा, जातीय समूह, भाषिका र संस्कृति भएका मानिसहरू जम्मा भएर विकसित बस्ती भएकोले मानिसहरू एक आपसमा अपरिचित हुन्छन् । यी समूहहरू बीचमा कुनै संस्कृतिले प्रभुत्व कायम गर्नसकेमा बाहेक नयाँ संस्कृतिको सुरुवात हुन्छ । यस्तो संस्कृति प्रभावशाली भएर सबैलाई समेट्न नसकेका किशोरहरूले आफ्नै उपसंस्कृतिको विकास गर्छन् । यो विशेष गरेर सुविधाबिहीन परिवारका किशोरहरूले गर्छन् । यसपछि उनीहरूमा उपसंस्कृतिमा रमाउने र ‘दिशान्तर’ हुने सम्भावनाहरू बढेर जान्छ, किशोर–किशोरी विद्यालय कक्षाबाट पलायन गर्छन् ।
सहरमा धेरै अवसर हुन्छन् । चोरी र कवाडी सङ्कलन गरी बिक्रीबाट प्राप्त आम्दानीले बालबालिका–किशोर–किशोरीलाई स्वावलम्बी बनाउँछ । किशोरहरूलाई लक्षित गरी लागू औषधको बेचबिखन गरिन्छ । उनीहरूलाई लागू औषधको कारोबार ओसारपसार गर्नमा सिकाउन सहयोगी बनाइन्छ । लागू औषध, मदिरा सेवन र धूमपान सिकाउने गरिन्छ । यस्ता किशोर–किशोरीहरू विद्यालयबाट भागेर आउने वा जाँदै नजाने गरेका हुन्छन् । यिनीहरू उपर बाबु–आमाको नियन्त्रण र रेखदेख विभिन्न कारणले कसिलो हुँदैन । समवयका साथीहरूको दबाब हुन्छ । साथीहरूको लहलहैमा लागेर गलत सङ्गतहरू यिनीहरूको दिनचर्या हुन्छ ।
यौनजन्य अनुभव लिन पाएका किशोर–किशोरीले बिज्याँइ गर्ने सम्भावना झनै बढी हुन्छ । किशोर किशोरीहरू विपरीत लिङ्गीप्रति आकर्षित हुन्छन्, मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वाभाविक हुन्छ । त्यसैलाई ‘प्रेम’ ठानेर ‘एकैछिनमा’ सँगै मर्ने–बाँच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्ति उनीहरूमा हुनसक्छ । विवाहइतर सम्बन्धबाट गर्भ रहँदा असुरक्षित गर्भपतन गर्नु परी किशोरीले शारीरिक र मानसिक ठूलो क्षति र कष्ट बेहोर्नुपर्छ । किशोर–किशोरी लक्ष्यमा अचुक, दृढ र नवीन तरिका अपनाएर अपराध गर्ने हुनाले समाजमा समस्या बढ्छ र सार्वजनिक चासोको विषय बन्ने हुँदा खासगरी कानुन र व्यवस्थाको जिम्मा लिएका निकायहरूका लागि यो ठूलो टाउको दुखाइ विषय हुन्छ । बालबिज्याइँको निहितार्थ अपराधसित मात्र छैन, यसको आर्थिक र सामाजिक मूल्य पनि छ । बालबिज्याइँ वृद्धि हुनु समाजमा विसङ्गति र विकृतिहरू बढेको सूचक हो, समाजको शान्ति–व्यवस्था र समृद्धिमा खतराको घण्टी बज्नु हो । यदि अहिले नै बालबिज्याइँको गम्भीरतालाई ‘बुझेर’ यसलाई रोक्न सकियो भने भोलिको समाज अपराधविहीन बन्न सक्छ, अपराध नियन्त्रणमा रहनसक्छ । ‘बुझ्नु’ पर्ने कुरा भनेको बालबिज्याँइ गर्नेलाई सजाय गरिनु हुँदैन, कारावासमा पठाउन हुँदैन, सामाजमा पुनर्मिलन गराउने उद्देश्य हुनुपर्छ, अन्यथा ऊ पटके हुनसक्छ, आजीविका अपराध बन्नसक्छ ।
विद्यालयको नीति–नियम उल्लङ्घकन गर्नेलाई विचलित व्यवहार गरेको भनी निष्कासन गरिँदा ऊ आफ्नो समूहबाट ‘बहिष्कृत’ हुन्छ । किशोरावस्था आत्मपरिचयको अवस्था भएकाले निरन्तरको उपेक्षा र कारबाहीले ऊ जब्बर बन्छ र उसलाई बिज्याँइकर्ताको छाप लाग्छ । यस्ता किशोर–किशोरीलाई झन् बढी गैरसामाजिक र गैरकानुनी गतिविधितर्फ अग्रसर गर्ने उत्साहित बनाउँछ । न्यून आर्थिक स्तर हुनुले पनि बिज्याँइकर्ता भनी छाप लाग्छ ।
परिवारमा आमाको भूमिका मियोको हुन्छ । खोज र व्यवहारबाट बिज्याँइमा लागेका अधिकांश बालबालिका मातृवात्सल्यबाट वञ्चित पाइएको छ । द्वन्द्व र दैवी विपद्जस्ता प्राकृतिक कारण परी वा परिवारमा आमा वा बाबुको मृत्युले मूलथलो छाडी कथित बेवारिसे भएका वा पारपाचुके र बाबु वा आमाले परिवार परित्याग गर्नाले बालबालिकालाई गहिरो आघात पु¥याउँछ । बालबालिका हिंसा पीडित हुने वा बिज्याँइकर्ता हुनेजस्ता दुवै सम्भावनाका लागि विखण्डित परिवार उतिनै जिम्मेवार हुन्छ । बाबु–आमाको यथोचित नियन्त्रण र रेखदेखमा हुर्केको बालबालिका असामाजिक क्रियाकलापमा संलग्न हुने सम्भावना कम रहन्छ ।
बाबु–आमाको आफ्ना सन्तानकाप्रति दायित्वको बोध हुनुपर्छ । परिवारका सदस्यहरूको आपसी सम्बन्धको गुणवत्ताले बालबालिकालाई असामाजिक कार्यबाट बिरत गराउँछ । बालबालिका माथि अभिभावकको न्यून नियन्त्रण, माया ममताको अभाव रहेको सम्बन्ध, अभिभावकसँग कमै मात्रामा कुराकानी, छलफल र भावना–विचारको आदानप्रदानले पारिवारिक सम्बन्ध कसिलो बनाउन मद्दत गर्दैन । हालै गरिएका कानुनको परिमार्जनले विवाहको उमेर बढाइएको छ, यौन सम्पर्क गर्ने उमेर बढाइएको छ । बाल्यावस्थाबाट वयस्क अवस्थामा पुग्ने किशोरकिशोरी शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक, हरेक आयाममा परिपक्वतातिर लम्किरहेका हुन्छन् । किशोरकिशोरी बालबालिका जस्तो अवोध हुँदैनन् नतः उमेर पुगेका जस्तो परिपक्व र सुझबुझ नै हुन्छन् । उनीहरूले आफूभित्र र शरीरमा रूपान्तरण भइरहेको, आफ्नो ज्ञान र अनुभवमा परिवर्तन भइरहेको महसुस गर्छन् र समाजमा आफ्नो भूमिकाको खोजी गर्छन् ।
परिवारबाहेक किशोर किशोरीबारे विद्यालय र कानुन कार्यान्वयन गर्ने निकायहरू सरोकार राख्ने राज्यका संरचनाहरू भए पनि यिनको भूमिका ‘कर्मकाण्डी’ छ । बालबालिकालाई बालबिज्याँइबाट बिरत गराउन अनिवार्य शिक्षाको कार्यान्वयन र बालमैत्री विद्यालयको ठोस भूमिका हुन्छ । परिवारपछिको बालबालिकाको उचित मानसिक र बौद्धिक विकास गर्ने थलो विद्यालय हो । कक्षाकोठामा बालबालिकालाई ‘टिकाउन’ शिक्षण संस्था र सिकाइ विधि बालमैत्री हुनुपर्छ, सिकाइको माध्यम मातृभाषा हुनुपर्छ । अनुशासित बनाउने नाममा बालबालिकालाई डर देखाउने, कुट्ने, पिट्नेजस्ता कार्य भएमा बालबालिकाको संवेगात्मकतमा आघात पुग्छ । बालबालिकाले पढ्न सकेनन्, अनुशासनहीन भए भनेर शारीरिक सजाय दिने परिपाटी घर र विद्यालयमा अझै अभ्यास गरिन्छ । यदि परिवार र समाजको सामाजिकताको विद्यालयको ‘सामाजिकता’ सँग टकराव भयो भने त्यसले किशोरहरूमा मानसिक द्वन्द्व हुन्छ र उनीहरू अलमलमा पर्छन् । हाम्रा विद्यालयमा बालबालिकाको बोधको क्षमता, मनोविज्ञान र आर्थिक–सामाजिक पृष्ठभूमि अनुरूप शिक्षण विधि अवलम्बन गर्न पूर्वाधारहरू छैनन् । त्यसैले बालबालिका–किशोर–किशोरीले ‘स्कुल बङ्क’ गर्ने र स्कुल छाड्ने समस्या कायम छ ।
बालबालिकासँग सम्बन्धित कामकारबाहीहरू कानुनी मात्र भएर पुग्दैन, नैतिक पनि हुनुपर्छ । प्रजनन स्वास्थ्य शिक्षा भनेर प्रजनन अङ्ग र शारीरिक परिवर्तनबारे मात्र होइन, मानवीय सम्बन्ध, प्रेम, यौन र यौनिकताका विषयमा पनि किशोरकिशोरीलाई बुझाउनु जरुरी छ । आजका बालबिज्याँइकर्ता नै भोलिका कठोर र दृढ अपराधी हुनसक्छन् ।
(लेखक न्याय क्षेत्रमा आबद्ध हुनुहुन्छ ।)