डा. प्रकाश बुढाथोकी
व्यस्तताका नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्याबाट हामीहरू जेलिइरहेका छौँ । त्यसैमा कोरोनाको महामारी थपिएको छ । पाहुनापात, साथीभाइ घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनौँ, बिहान चाँडै उठेर व्यायाम तथा घुमफिर गर्न पनि छोड्छौँ । त्यस्ता नियमित र स्वस्थकर कुरालाई महŒव नदिँदा स्वास्थ्य समस्या आउँछ ।
खानपान
दसैँ, तिहार तथा अनेकन चाडबाडमा धेरै मानिस बिरामी भएर चिकित्सककहाँ वा अस्पतालमा पुग्छन् । चाडबाडको बेला खानेकुरामै बढी ध्यान केन्द्रित हुन्छ । बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभर नै अब अर्काेपटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौँ । अस्वस्थकर तयारी वा जङ्क (पत्रु) खाना र नास्ता नै प्राथमिकतामा पर्छन् । भोजमा दिइने खानेकुरा तथा जङ्क खानामा प्रशस्त चिल्लो र नुन हुन्छ । भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र खाने आदिले गर्दा विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता अनेकन रोगहरू लाग्ने गर्छन् ।
चाड मनाउने भनेको कतिपयका लागि एकदमै रक्सी खाने, धूमपान गर्ने, मासु खाने एकसाथै आउँछन् । खानेकुराको परिमाण पनि बढ्छ । रक्सीसँगै सेवन गरिने खानेकुरा पनि नुन र तेल बढी भएका तयारी खानाकै प्रचुरता बढ्छ । निष्क्रिय धूमपान गर्न बाध्य भइन्छ । रक्सी सेवनपश्चात्को यात्रामा दुर्घटनाले अस्पतालका आकस्मिक कक्षमा पु¥याउँछ । ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप, मोटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्य ३० देखि ५० प्रतिशत माथि जान्छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ, जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिङ्गटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । उपभोग गर्ने मासु अस्वस्थ भए १६० प्रकारका रोगले आक्रमण गर्न सक्छन् ।
कोरोनाको भय
नेपालीका ठूला चाडहरू चलेका छन् । महामारी सङ्क्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भन्नेमा सर्वत्र चिन्ता व्यक्त छ । चाडबाडकेन्द्रित गतिविधि ह्वात्तै बढेपछि सामाजिक (भौतिक) दूरी मिचिएको छ । सरकारले चाडबाडकेन्द्रित व्यक्तिगत तहमा लागू हुने अत्यावश्यक, अनिवार्य एसएमएस तथा आधारभूत जनस्वास्थ्य मापदण्ड नागरिक अनुशासनका रूपमा जारी गरेको छ । अत्यावश्यक र अनिवार्य मापदण्डमा एसएमएस छ भने आधारभूत मापदण्डमा धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा २५ जनामात्रै, आपसमा अभिवादन गर्दा भौतिक दूरी कायम, शरीर छुनेगरी अभिवादन तथा कुनै काम नगर्ने, रेलिङ बार, मूर्ति तथा धेरै व्यक्तिले प्रयोग गर्न सक्ने सामग्री नछुने गर्न जरुरी छ ।
घरपरिवार बाहेकका व्यक्ति सहभागी हुने भेलामा ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका, ६० वर्ष बढीका र १५ वर्षमुनिका बालबालिकालाई सहभागी नगराउने, गर्भवती, सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका, दम तथा दीर्घरोगीलाई सार्वजनिक स्थलमा पठाउन हँुदैन । त्यस्तै, अङ्ग प्रत्यारोपण गरेका, शरीरमा मेडिकल उपकरण राखेका, हालै सर्जरी गरेका तथा १५ दिनभित्र सबै प्रकारका उपचारबाट निको भएकालाई पनि सार्वजनिक कार्यक्रममा नजान भनिएको छ । आयोजकलाई कार्यक्रम छोटो, जनस्वास्थ्यका मापदण्ड अपनाउन, धूमपान र मद्यपानमा निषेध, सरसफाइ तथा निःसङ्क्रमणका सबै उपाय अपनाउन भनिएको छ ।
यातायात सुरक्षा
प्रहरीको आँखा छलेर टनाटन यात्रु कोच्ने यातायात सञ्चालक तथा जसरी पनि पुग्नु छ भनेर कोचाकोच गरेर चढ्ने यात्रु दुवैले आफ्ना बानी सुधार्नुपर्छ । केही समयपहिले निस्कने र खाली बस केही समय कुरेर एसएमएस अपनाएर यात्रा गर्ने बानी बसाल्नुपर्छ ।
सहचालक जोडसँग नकराउने, धेरैले समाउने ह्यान्डल, चुकुल, डन्डी पटक–पटक स्यानिटाइज गर्ने, भाषण, गीत गाउने, नारा लगाउने काममा संलग्न नहुने, जुठो नखाने, अङ्कमाल नगर्ने, गुम्म परेको कोठामा नबस्ने, कुनै पनि सतह, शंकास्पद ठाउँ, शौचालय, भ¥याङका डन्डी, टेबल, सोफा नछुने, यदि छोइहाले आँखा, नाक र मुख नछुने र हात धुनेजस्ता नियम पालना गर्ने गर्नुपर्छ । पैसामा थुक लगाएर नगन्ने, यात्रुले फुटकर मिलाएर भाडा दिने गर्नुपर्छ । यातायात व्यवस्था विभागले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै ‘फेस सिल्ड’ वा ‘भाइजर’को प्रयोग अनिवार्य गरेको छ ।
विशेषतः रात्रिबसमा झ्यालढोका बन्द गर्दा हावा ओहोरदोहोर नहुने, एसी चलाउने, मास्क नलगाएर सुत्ने गर्दा थप सङ्क्रमणको सम्भावना बढ्छ । माइक्रोबसलगायतका साना गाडीमा लामो यात्रा झन् जोखिमपूर्ण रहन्छ ।
एकजनाले रात्रिबसमा भएका ९० प्रतिशतसम्म व्यक्तिमा कोभिड सार्न सक्छ । किनभने १५ मिनेटभन्दा बढी घण्टौँको निकटता, झ्यालढोका थुनिएको, एसी सञ्चालन आदिले सङ्क्रमण बढाउने हो । दसैँमा काठमाडौँ उपत्यकामा सङ्क्रमण कम देखिए पनि तिहारपछि फर्कनेको लर्काे, जाडोको सुरुवातले सङ्क्रमणको दोस्रो लहर देखिने प्रवल सम्भावना छ ।
जो जहाँ छौँ, त्यहीँ सुरक्षित भएर बसौँ । भेटघाट, घुमफिर र सामूहिक चाडबाड मनाउन बन्देज गरौँ । सकेसम्म यात्रा नगर्ने, यसपटकको चाडहरू भौतिक रूपमा भन्दा पनि भावनात्मक रूपमा मनाउने, सम्झौता गरी स्थिति जटिल भएकाले पोहोरजस्तै सबै कुरा नखोजौँ । चाडबाड मनाउँदा कोरोनालाई नहेपौँ, यो महामारी हो, व्यथाले च्यापेर, अप्ठेरो भएर पनि अस्पतालमा आईसीयु या भेन्टिलेटर नपाउँदाको दुःख, आफन्तको परम्परागत रूपमा सद्गत गर्न नपाउँदाको पीडा सम्झेर पनि चाडबाड, खानपान र जीवनशैलीमा
सतर्क बनौँ ।
(लेखक नेपाल चिकित्सक सङ्घकाकेन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)