डा. प्रकाश बुढाथोकी
कोभिड–१९ विरुद्ध लगाइएका खोपले स्तनपान, गर्भवती महिला र गर्भलाई असर नगर्ने अनुसन्धानबाट पुष्टि भएपछि अमेरिकी सरकारले गर्भवती महिलालाई खोप लगाउन अगस्टमा स्वीकृति दिएको छ । गर्भवतीमा सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले डेल्टा भेरियन्टको उच्च जोखिम न्यूनीकरण गर्न खोप अनिवार्य छ । कोरोना सङ्क्रमणका कारण प्री–इक्लाम्प्सिया, बच्चा छिटो जन्मने, गर्भमै बच्चाको मृत्युको सम्भावनाजस्ता समस्या बढाएको छ । सङ्क्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कमतौलको बच्चा जन्मिन सक्छ । दुर्लभ सम्भाव्यता भए पनि कोरोना भाइरस भ्रूणमा प्रसारित हुनसक्छ । तथापि गर्भपतनको जोखिम कम छ अर्थात् खोप लगाएका र नलगाएकामा १३ प्रतिशत बराबर छ । अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिड–१९ विरुद्धको खोप प्रयोग भइरहेको छ । अमेरिकामा २३ प्रतिशत बढी गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाएका छन् । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समय तालिका बनाई सुरु गर्न असारमै अनुरोध गरिएको हो । छुट्टै कार्यक्रम नभए पनि जोखिम समुह, उमेरअनुसार भने खोप लगाइरहेका छन् ।
५० प्रतिशतमा एन्टिबडी
सेन्टर फर डाइनामिक नेपाल, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले ७७ जिल्लाका १३ हजार सात सय नागरिकमा गरेको संयुक्त नमुना परीक्षणको प्रतिवेदनअनुसार करिब आधामा एन्टिबडी विकास भएको तथ्य सार्वजनिक भएको छ । छ महिनादेखि माथिको उमेर समुहमा यो अध्ययन गरिएको थियो । यसअघि २०७७ असोजमा पाँच महिनामाथिका छ हजार पाँच सय जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा गरिएको सो परीक्षणमा १३ प्रतिशतमा एन्टिबडी विकास भएको देखिएको थियो । क्यान्सर उपचार गराइरहेका, अङ्ग प्रत्यारोपण गरेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खाइरहेकालाई खोपले प्रभावकारिता नदेखाउनसक्छ । यद्यपि, रोग प्रतिरोधात्मक क्षमता कम भएका वा रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधि खाइरहेकाले पनि एन्टिबडी परीक्षण गराउँदा राम्रै हुन्छ ।
महामारीबाट बच्न खोप अनिवार्य
सामूहिक प्रतिरक्षा प्राप्त गर्न ७० प्रतिशत बढीमा एन्टिबडी विकास हुनपर्छ । महामारीबाट बच्न अन्तिम विकल्प खोप नै हो । यद्यपि, नागरिकको स्वास्थ्य सचेतना सबैभन्दा महìवपूर्ण हुन्छ । नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्छ । आवश्यक नभई घरबाट ननिस्कने, मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, साबुनपानीले हात धुनेजस्ता बानीले महामारी नियन्त्रणमा सहयोग पुग्छ । यद्यपि, सरकारी तथा स्वास्थ्यकर्मीको अनुरोधलाई बेवास्ता गर्दै निषेधाज्ञाकै बीच सभा–सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालिम, जात्रा तथा महोत्सवहरू चलिरहेका छन् । यस्ता कार्यमा जनप्रतिनिधि, सरकारका जिम्मेवार पदाधिकारी, कर्मचारी नै सहभागी हुने गरेको सामाजिक सञ्जालमा देख्न पाइन्छ ।
खोप लगाउन सर्वाेच्चको आदेश
सर्वाेच्च अदालतले साउन २९ गते खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक र अशक्तलाई घर–घरमा पुगेर खोप दिन सरकारलाई अन्तरिम आदेश दिएको छ । असमर्थ ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्नेहरूको वडास्तरमा लगत सङ्कलन गरी घर–घरमा पुगी कोभिड–१९ विरुद्धको खोप सेवा उपलब्ध गराउन भनेको छ । कोरोनाको महामारीसँगै शिशुहरू स्तनपानबाट वञ्चित भएका समाचार आएका थिए । सबैभन्दा पहिले आफू तब अरू बाँच्ने बचाउने कुरा पनि आए तर समय क्रमसँगै भएका खोजखबरले स्तनपानको फाइदाका अगाडि कुनै पनि महामारी टिकिरहन सकेन । अमेरिकाको सीडीसीले जो महिला कोरोना पोजिटिभ देखिएका छन, तिनका शिशुलाई आइसोलेट गरेर राख्ने, छ फिटको दूरीमा पर्दा लगाएर बच्चालाई छुट्टै राख्ने, हात राम्ररी धुने, पञ्जा तथा मास्क लगाएर आमाले स्तनपान तथा स्याहार गराउन सक्छन् भनेको छ । तथापि स्तनपानबाट भाइरस सरेको तथ्याङ्क छैन । जनस्वास्थ्यका मापदण्ड कायम राख्दै स्तनपान गराउन सकिने भन्दै विश्वभरका विशेषज्ञहरूले बताउँदै आएका छन् ।
शिशुलाई फाइदा
आमाको दूध शिशुका लागि तयारी खाना पनि हो । आमाको दूध प्रचुर मात्रामा छ महिनासम्म खुवाउँदा पानीको समेत आवश्यकता पर्दैन । समय सीमा र मात्रा नभएको खाद्यवस्तु पनि आमाको दूध हो । आमाको दूध स्वच्छ, सुपाच्य, हानिकारक कीटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तìवनिहित भएकोले घाँटीको सङ्क्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फ्लुएन्जा र दमजस्ता रोगबाट बचाउँछ । शिशुको बढ्दो उमेरको आवश्यकताअनुसार दूधको संरचनामा पनि परिवर्तन हुने हुँदा आठ महिना बढीसम्म स्तनपान गराइएका आठ–नौ वर्षका शिशुहरू बढी तीक्ष्ण भएको अध्ययनहरूले देखाएका छन् । आमाको दूधमा रहने इम्युनोग्लोविन ‘ए’ रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने सङ्क्रमण रोक्छ । यिनै कुरालाई मनन गरेर शिशुलाई बट्टाको दूध सेवनमा कानुनी रूपमै रोक छ । बट्टाको दूध खानेमा भन्दा स्तनपान गरेकामा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई कुपोषण हुने सम्भावना रहँदैन । स्तनपान नगराइएकामा शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिँडडुल गर्न नसक्ने, दूध पचाउन नसक्ने, बान्ता हुने, आँखा कमजोर हुने, पछि रतन्धो हुने, बौद्धिक क्षमता कम र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न नसक्ने समस्या आउन सक्छ ।
आमाको सुरुको दूध ७–१० दिनभित्रको अलि बाक्लो, पहँेलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोस्ट्रमसहित हुने बिगौती दूधमा हानिकारक सङ्क्रामक जीवाणु र कीटाणुलाई नष्ट पार्ने, सङ्क्रामक रोगसँग लड्न सक्ने तìवहरू भएको, कार्बोहाइटे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तìवले भरिपूर्ण भएकोले बिगौती दूधलाई पहिलो खोप भनिन्छ । आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगविरुद्ध विकसित एन्टिबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनुपर्दछ ।
महिलाले स्तनपान गराउने गरेको आँकडा धेरै भए पनि समयावधि, प्रक्रिया पूरा गर्ने ज्यादै न्यून छन् । छ महिनासम्म स्तनपान गराउने ५८ प्रतिशत छन् । एनडीएचएस २०१६ अनुसार इक्सक्लुजिभ छ महिनासम्म ६६ र एक घण्टाभित्र बिगौती दूध खुवाउने ५५ प्रतिशत छन् । त्यस्तै शिशुलाई ० देखि एक महिनामा ८० प्रतिशत, दुईदेखि तीन महिनामा ७२ प्रतिशत, चारदेखि पाँच महिनामा ४१ प्रतिशतले स्तनपान गराउँछन् । एनएमएससीएस २०१९ मा बिगौती दूध एक घण्टामै खुवाउने ४२ प्रतिशत, छ महिनासम्म स्तनपान गराउने ६२ र पूर्ण स्तनपान गराउने ८७ दशमलव ६ प्रतिशत छन् ।
आमालाई फाइदा
शिशुले दूध चुस्दा अक्सिटोसिनले दूध पगार्ने भएकोले आमाको पाठेघर खुम्चन मद्दत पु¥याई पाठेघरमा लाग्ने रोगहरू न्यूनीकरण गर्दछ । प्रसवपछि हुने रक्तश्रावलाई रोक्दछ । आमालाई पछि गएर हुने डिम्बासय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ । स्तनपान गराउँदा प्रोजेस्ट्रोन हर्मोनको वृद्धिले छ महिनासम्म सतप्रतिशत गर्भनिरोधकको काम गर्दछ । डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । स्तनपान गराउँदा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ । बच्चाले आफूलाई सुरक्षित ठान्दछ । स्तनपान गराउँदा आमाले पूर्णता पाउँछ । गर्भावस्थामा सञ्चित बोसोसमेत घटाउँदछ । आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले सुत्केरी महिलालाई ९८ दिन तलबी र छ महिना बेतलबी बिदा दिने गरेको छ ।
आमाको दूध पुगे नपुगेको थाहा पाउन शिशुको तौल बढे नबढेको हेरेर ः शिशु जन्मेको १५ दिनसम्म उही तौल रहन्छ र त्यसपछि प्रत्येक महिना शिशुको तौल कमसेकम पाँच सय ग्राम बढेको हुनुपर्दछ । यदि यसो नभए प्रशस्त मात्रामा आमाको दूध खान नपाएको ठहर्दछ । पहिलो पाँच महिनामा दैनिक २० ग्राम त्यसपछि १५ ग्रामका दरले शिशु बढ्दै जानुपर्दछ । शिशुले २४ घण्टामा पिसाब फेरेको हेरेर ः प्रशस्त दूध खान पाएको शिशुले २४ घण्टामा कमसे कम छदेखि आठ पटक सफा पिसाब फेर्दछ । यदि एक दिनमा छ पटकभन्दा कम पिसाब भए, पिसाबको रङ गाढा पहेंँलो, बाक्लो र एकदम गन्हाउने भए आमाको दूध पुगेको छैन भन्ने थाहा पाउनुपर्छ तर ज्यादा स्तनपान गराउँदा शिशुको पाचन प्रणालीमा नकारात्मक असर परी फाटेको दूध जस्तो बान्ता हुन्छ, नपचेको गिलो दिसा हुन्छ ।
स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएकाले र काम व्यस्तताले पहाडी र तराई क्षेत्रमा दूध खुवाइँदैन । सहरबजारमा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ भन्ने गलत मानसिकतामा आधुनिक नारी छन् । विश्व स्वास्थ्य सङ्घका अनुसार शिशुलाई जन्मेको छ महिनासम्म आमाको दूध मात्रै खुवाए पुग्ने र त्यसपछिको शारीरिक र मानसिक विकासका लागि दूधको साथै अन्य ठोस खानेकुरा दुई वर्षसम्म खुवाउनुपर्दछ । त्यसैले उचित समयअनुसार उचित मात्रामा, स्तनपान गराउँदा र शिशुको खाद्य पदार्थमा ध्यान दिँदा कुपोषण हुन सक्दैन । समयअगावै दुई महिनामै अतिरिक्त खाना दिने र ज्यादै ढिलो १९ महिनासम्म थप खाना नदिने दुवै गलत प्रवृत्तिले कुपोषण र बालमृत्युदर बढाएको देखिन्छ ।
अन्त्यमा : स्तनपानलाई शिशुको नैसर्गिक अधिकार वा बालअधिकारका रूपमा स्थापित गराउनुपर्छ । आमा र शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न विद्यालयमा प्रजनन् स्वास्थ्यको ज्ञानसँगै स्तनपानबारे जानकारीमूलक शिक्षा र सचेतना कार्यक्रम चलाइनुपर्दछ । हानि र फाइदाका आधारमा सचेतनाका साथ स्तनपानलाई जस्तोसुकै सङ्क्रामक र महामारीका अवस्थामा पनि निरन्तरता दिइनुपर्छ ।