डा. प्रकाश बुढाथोकी
जहाँं भीड, त्यहाँं कोभिड भन्दै कोभिड–१९ को उकालो मानचित्रलाई मध्यनजर गरी सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आँकलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति नौ बजेपछि कडाइसाथ बन्द गर्न तथा सङ्क्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्न मन्त्रालयको सिफारिसपछि सीसीएमसीले तीन साता विद्यालय बन्द गर्ने सिफारिस क्याबिनेटमा पठाएको छ । यसप्रति प्याब्सनले आपत्ति जनाइसकेको छ । गतवर्ष जस्तै सबैतिर एउटै रणनीति लगाउने भूल नगरी भीड हुने सहर र नहुने सहरमा फरक–फरक रणनीति अपनाउने नीति लिइँदै छ ।
आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको पूर्वनिर्धारित परीक्षा सक्ने तयारीमा सरकार रहेको शिक्षा मन्त्रालय बताउँदै छ । असारबाट नयाँ शैक्षिकसत्र प्रारम्भ गर्ने निर्णय छ । सङ्क्रमण फैलिने ठाउँ विद्यालय देखिएका छन् । गत चैत २७ गते सङ्क्रमितमा १७ प्रतिशत बढी बालबालिका छन् । नयाँ भेरियन्ट तीव्र गतिमा विद्यार्थीमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न र अनलाइनबाट सञ्चालन गर्न अनुरोध गरिएको छ । यद्यपि, लक्षित दुई करोड १७ लाख ५६ हजार सात सय ६३ नागरिकमध्ये १८ लाखले खोप लिइसकेकाले लक्षित कुल जनसङ्ख्याको आठ प्रतिशत भ्याक्सिनेट भइसकेका छन् ।
पहिलो प्राथमिकताका लागि माघ १४ देखि फागुन १० सम्म तथा दोस्रो प्राथमिकताका पहिलो चरणमा ६५ वर्षमाथिका लागि फागुन २३ देखि चैत ३ सम्म खोप कार्यक्रम चलेको थियो भने ५५ वर्षदेखि ६४ वर्षका लागि चैत ५ गते सञ्चालन गरिने भनिएको खोप अभियान स्थगित छ । पहिलो प्राथमिकतामा परेकालाई दोस्रो मात्रा वैशाख ७ देखि ११ गते लगाइँदै छ । सरकारले चीन सरकारले अनुदानस्वरूप दिएको आठ लाख चिनियाँ खोप भेरोसेल गत चैत २५ गतेदेखि अत्यावश्यक सेवामा संलग्न व्यक्तिका साथै हिमालय सीमापार व्यापार गर्ने व्यापारी, चीन सरकारको छात्रावृत्तिमा चीनमा अध्ययनरत वा जाने विद्यार्थीलाई लगाइँदै छ ।
उच्च जोखिममा विद्यार्थी
कोरोना महामारीको ‘हटस्पट’ बनिरहेका शैक्षिक संस्था खोले सङ्क्रमण झनै फैलिने, मृत्यृदर बढ्ने र कोभिडको दोस्रो लहर ल्याउने उच्च जोखिमको आँकलन छ । विद्यालय खोल्दा घर–घरमा हजुरबुवा र आमा, बूढापाका, दीर्घरोगीलगायतमा सङ्क्रमण गई जटिल बन्न सक्छ । किनभने जनस्वास्थ्यका मापदण्ड अपनाउन नसक्ने स्कुल जाने बालबालिका सङ्क्रमित हुँदा आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । छिटो संक्रमण फैलाउने, कम उमेरकामा बढी जटिलता ल्याउने नयाँ भेरियन्ट (स्वरूप)ले अस्पतालमा भर्ना हुने, अक्सिजन आवश्यकता बढी पर्ने र मृत्यृ बढ्नेमा बालबालिका र युवा नै बढी देखिएका छन् ।
त्यसैले शिक्षा मन्त्रालयले सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तय जनस्वास्थ्य सुरक्षा मापदण्ड र विद्यालय सञ्चालन कार्य ढाँचा–२०७७ पूर्ण अनुशरण गर्न पुनः अपील गरेको छ । त्यसो त मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका स्थानीय तहमा शैक्षिक संस्था सञ्चालनमा छन् । सरकारले अनुमति दिएपछि माघ ४ गतेदेखि उपत्यकाका विद्यालय भौतिक रूपमा पठनपाठन गर्नेगरी खुल्दै र सञ्चालन हुँदै गर्दा सुरक्षा, स्वास्थ्य मापदण्ड, नियम कानुन सबै कागजी बन्यो । कक्षाकोठा र फर्निचरको व्यवस्थापनसँगै प्रवेशद्वारमा स्यानिटाइज र ज्वरो नाप्ने, बसमा भौतिक दूरी, सिफ्ट वा आलोपालोमा पढाउने, नर्सदेखि आइसोलेसनको व्यवस्था गर्ने व्यावहारिक भएनन् । अनिवार्य मास्क, एक बेन्चमा दुईजना र कोठामा आधा, पकेट स्यानिटाइजर बोक्ने, खाजा र पानीको आफैँले व्यवस्था गर्ने नभए क्यान्टिन र क्याफेटेरियाको स्वस्थता, बीचमा ब्रेक नगर्नेजस्ता मापदण्डमा ध्यानै नदिँदा शैक्षिक संस्था कोरोनाको हब (केन्द्र) हँुदै गरे र नयाँ भेरियन्टबाट प्रताडित बनिरहेका छन् ।
विद्यालय सञ्चालनको बाध्यता
जाँचै नदिएर विद्यालयले दिएको अंक नै अन्तिम हुने भएपछि बारम्बार स्कुललाई सोर्स र फोर्स लगाउन जिद्दी गर्ने बच्चा बाबाले नमानेपछि दुई हप्ताजति चिन्तित बस्यो र आफ्नो मेहनतलाई भाग्यसँग जोडेर मन शान्त पार्न यसरी परीक्षा नै दिन नपर्ने भए त पीएचडीसम्म पढ्ने इच्छा जाहेर ग¥यो ।अनलाइन कक्षा सकिनेबित्तिकै छोराले भन्यो– बाबा, मैले त स्कुलका साथीहरू र शिक्षकको अनुहार बिर्सिसकें, जाने बाटो नै बिर्सिसकें, स्कुल कहिले खुल्छ ?
अनलाइन र दूरशिक्षा भनिए पनि सामाजिक सञ्जाल, भिडियो गेम, मोबाइलमा व्यस्त भए । मनोवैज्ञानिक कोभिडको सङ्क्रमणभन्दा अन्य घटनाको जोखिम उच्च भएको छ । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।
सावधानीसाथ सञ्चालन
दैनिक जीवनयापन कोरोनासँगसँगै चलायमान बनाउनपर्ने आजको बाध्यता र जरुरत हो । नेपालजस्तो भौगोलिक विकटता, आर्थिक विपन्नता, अभिभावक र विद्यार्थीका लागि अनलाइन कक्षा विकल्प बन्न सकिरहेको छैन । बालबालिकाको शैक्षिक सत्रमै असर पर्ने देखिएपछि सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिनेमा सबै सकारात्मक रही अन्तर्राष्ट्रिय तथा मुलुककै निर्देशिकालाई सर्वाेपरि गर्दै स्कुलमा बालबालिकाअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन जरुरी छ । प्री स्कुलका बालबालिकालाई सानो समूह बनाएर एक शिक्षिकाले मात्र पढाउने र कम्तीमा तीनदेखि छ फिट दूरीमा राख्न सकिन्छ । विद्यालय बसाई समय घटाउन सकिन्छ । अनावश्यक ‘भिजिटर’ नल्याउन, कोठाभित्रभन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ ।
प्रयोग भएका मास्क, पीपीई, स्यानिटाइजर बोतल, पञ्जाजस्ता सङ्क्रमित फोहोर छुट्टै झोलामा सङ्कलन गरेर तीन दिनसम्म राखेरमात्र बाहिर पठाउनुपर्छ । सङ्क्रमणबाट सुरक्षित बनाउन कक्षाकोठामा मात्र नभई स्कुलबस, लबी, क्यान्टिन, हलमा भीडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
नर्सको व्यवस्था, दैनिक स्वास्थ्य जाँच, घर फर्केपछि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, पत्थ्य खाना, रोग प्रतिरोधी क्षमता विकास र अन्य सङ्क्रमणबाट बचाउन सक्ने पोषिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनुपर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठ्यसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नुपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्यजाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ । विद्यालयमा भौतिक दूरी र स्वच्छता कायम गर्न बढी शिक्षक र कर्मचारीको जरुरत पर्न सक्छ । á
(लेखक स्वास्थ्य सेवा विभागमा कार्यरत हुनुहुन्छ ।)