डा. प्रकाश बुढाथोकी
कोरोना नेगेटिभ देखिएका काठमाडौँका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयूमा भर्ना भए । पीसीआर गर्दा पोजेटिभ देखियो । पछि उनको उपचारकै क्रममा मृत्यु भयो । मुटु र मिर्गौलामा समस्या भएका बालबालिकालाई कोभिडको बढी जोखिम हुन्छ । तर, अहिले सामान्य बच्चामा पनि कोभिड भइसकेको छ । थाहै नपाई कोभिड भइसकेको तर निको भएका बालबालिकामा कोभिडको एन्टिबडीले गर्दा आ“खा सुन्निने तर कचेरा नआउने, ज्वरो आउने, जिब्रो सुन्निने, छालामा डाबर आउने र एकदमै ज्वरो १०३÷१०४ आउनेजस्ता लक्षण देखिएका छन् । तर पोष्ट कोभिडको अवस्था भएकोले यसलाई नसर्ने वा उपचारबाट निको हुने मल्टिसिष्टम ‘इन्फलामेटरी सिन्ड्रोम’ भनिन्छ ।
पाँच दिनसम्म १०४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कतिपयमा, नीला दाग, नाक र मुखबाट रगत आउनुलाई सामान्य रूपमा मात्र लिन नहुने देखिएको छ । यस्तो अवस्थालाई सामान्यतः हामी मौसमी रुघाखोकी रूपमा लिने गर्छौं । तर, हाल कोभिडका कारण पनि यस्तो हुने देखिएको छ ।
तेस्रो लहरको जोखिममा बालबालिका
राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर दोस्रो लहर ल्याएजस्तै दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्मार्ट लकडाउन, जोर बिजोर गर्दै जीवन सामान्यतर्फ लाग्दै गर्दा विद्यालय खुुल्दा सङ्क्रमणको समस्या निम्तिने खतरा देखिएको छ । हालसम्म देशभर खोपको पहु्ँच पुगेको छैैन । बच्चामा त्यसै पनि इम्युनिटी कम हुन्छ । उनीहरूमा वयस्कजस्तो जनस्वास्थ्यका मापदण्ड लागू गर्न गाह्रो हुन्छ । र, हालसम्म बच्चाका लागि कुनै खोप आएको छैन । त्यसैले तेस्रो लहर आए बालबालिका लक्षित हुने देखिन्छ ।
कोभिड–१९ को तेस्रो लहर अक्टोबरमा आउने आँकलन गरिएको छ भने यो डिसेम्बरमा जान सक्ने अनुमान छ । कोभिडको पहिलो लहरमा प्रभावित भएकामध्ये करिब दुई प्रतिशत र दोस्रो लहरमा १० प्रतिशत बढी बालबालिकाको हिस्सा छ । पहिलो लहरमा बूढापाका, दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरमा खोप नलगाएकाले बालबालिका बढी प्रभावित हुन सक्ने देखिन्छ ।
बालबालिकालाई खोप
बालबालिका जन्मँदैदेखि खोप लगाई दर्जन बढी रोगबाट सुरक्षित रहँदै आएका हुन्छन् । यसले गर्दा उनीहरूलाई कोभिडविरुद्धको खोप लगाउन मिल्ला कि नमिल्ला भन्दै अनेकौँ खोज भइरहेका छन् । अमेरिकाले छ लाखजना १२ देखि १५ वर्षसम्मका बालबालिकामा खोप लगाइसकेको छ । उनीहरूको नतिजालाई हेरी अर्काे वर्ष अझ कम उमेरकालाई खोप लगाउने योजना छ । बेलायत पनि त्यतैतिर बढ्दै छ । तर, के बालबालिकालाई खोप लगाएर समाज सुरक्षित रहला ? यो प्रश्नको कठिन नैतिक र व्यावहारिक आयाम छ । त्यसो त स्वास्थ्यकर्मी वा अन्य गरिब देशका जोखिममा रहेका नागरिकलाई दिइने हो भने अरू धेरै जीवन बच्न सक्छ ।
अरूलाई पनि जोखिम कम
बेलायतमा दुईदेखि १२ वर्षसम्मका बालबालिकालाई नाकमार्फत एउटा स्प्रे दिइने गरिएको छ । जसले कुनै पनि सङ्क्रामक फ्लुबाट उनीहरूका अभिभावकलाई बचाउने गर्छ । यसै सिद्धान्तमा आधारित भएर हर्ड इम्युनिटी बन्नमा मद्दत पुग्नेछ । कोभिडविरुद्धको खोपको पहिलो मात्राले मात्रै पनि सङ्क्रमणको सम्भावना आधाले घटाएको र सङ्क्रमण भइहाले पनि अर्काे व्यक्तिमा फैलाउने सम्भावना कमै भएको देखाएको छ । साना नभए पनि ठूला उमेरका बालबालिका सङ्क्रमित हुने र सङ्क्रमण फैलाउने सम्भावना केही बढी छ । माध्यमिक तहका बालबालिकामा सङ्क्रमण हुने र फैलाउने सम्भावना बढिरहेका प्रमाण छन् । त्यसैले बालबालिकालाई खोप लगाइदिँदा सङ्क्रमण फैलने सम्भावना कम देखिन्छ ।
मोर्डनाको खोप १२ देखि १७ वर्षका करिब चार हजार बालबालिकामा गरिएको परीक्षणमा दुई मात्रा लिएका बालबालिकामा सतप्रतिशत र एक मात्रा मात्र लिएकामा बालबालिकामा ९३ प्रतिशत प्रभावकारी देखिएको छ । भारतले दुईदेखि १८ वर्षसम्मका लागि कोभ्याक्सिन खोपको क्लिनिकल परीक्षण गरिरहेको छ । अमेरिकी कम्पनी फाइजरले सतप्रतिशत प्रभावकारीसहित १२ वर्षदेखि माथिका लागि खोप तयार गरेको छ । चीनमा तीन वर्षमाथिकालाई खोप परीक्षण हुँदै छ । पश्चिमी देशमा बुस्टर डोज दिने चर्चा पनि चलिरहेको छ ।
सरकारको तयारी
खोप लगाएकामा सङ्क्रमण र गम्भीरता कम हुने गर्छ । यसैले खोप नलगाएका बालबालिकामा सङ्क्रमणको जोखिम झन् बढी हुने शङ्का छ । तर, म्युटेसनका कारण यसै हुन्छ भन्न गाह्रो छ । जुन मेकानिज्मले वयस्कलाई असर गर्छ अर्थात् रेसिपेन्ट, फोक्सोमा गएर भाइरस छिर्ने र असर पु¥याउने बालवालिकामा त्यति विकास भएको हँुदैन । बच्चामा भाइरस नियन्त्रण मेकानिज्म फरक भएकाले ९० प्रतिशत लक्षण नदेखिने र १० प्रतिशतमा लक्षण देखिन्छ । तथापि
तयारी गर्नुपर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई आफ्नो स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत शøया सङ्क्रमित बालबालिकाका लागि छुट्याउन जेठ १४ गते अनुरोध गरिसकेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवा सङ्क्रमित भएकाले व्यवस्थापनसम्बन्धी तयारी पनि यही समूह लक्षित भए । पुनः तेस्रो र चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि अक्सिजनको व्यवस्थासमेत तयारी अवस्थामा राख्न भनेको छ ।
देशभर रहेका स्वास्थ्य संस्थामा रहेको शøया, एनआईसीयू, पीआईसीयू तथा संलग्न जनशक्तिको तथ्याङ्क सङ्कलन हुँदै छ । करिब तीन सय बाल रोग विशेषज्ञ चनाखो भई सीप र काम हस्तान्तरण गर्न ढिलो भइसकेकाले तालिम केन्द्रमार्फत भर्चुअल माध्यमबाट १० हजार बढीलाई तालिम सञ्चालनको तयारी छ । आवश्यक सरसामानको सूची तयार र खरिद तथा वितरण अन्तिम चरणमा छ । पोस्ट कोभिड समस्याका लागि पनि प्रोटोकल बनिसकेको छ । बिरामी व्यवस्थापनका लागि हब, स्याटेलाइटको पहिचान, टेलिमेडिसिनको विस्तार तथा होम आइसोलेसनमा बसेकालाई परामर्श दिनेलाई अभिमुखीकरणको तयारी छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामी परेका बालबालिकाको उपचारका लागि पेडियाट्रिक आईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपियाँ सुनिश्चित गरेको छ । त्यस्तै तेस्रो लहरका लागि चुची फाउन्डेसन र बैङ्कर्स एसोसिएसनले सहयोगको हात बढाएका छन् ।
अन्त्यमा, बालबालिकामा कम सङ्क्रमण, देखिएको सङ्क्रमण निकै सामान्य वा कुनै लक्षणविनाको अर्थात् ठूला उमेरकामा देखिएको असरभन्दा ठीक उल्टो छ । विश्वका सात देशमा गरिएको एक खोजले महामारीमा कोरोना भाइरसबाट सङ्क्रमित बालबालिकामध्ये हरेक १० लाखमध्ये दुई वा त्योभन्दा कम बालबालिकाको मृत्यृ भएको छ । बालबालिकाको खोप नेपालमा तत्कालै आउने सम्भावना देखिँदैन । आए पनि हजारौँ गुणा जोखिम समूहलाई छोडेर बच्चालाई खोप दिनु त्यति वैज्ञानिक देखिँदैन । घरमा सबैले खोप लिए बच्चा त्यसै जोगिन्छन् । रोकथामका लागि घर, समुदाय र विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनैपर्छ ।
(लेखक स्वास्थ्य सेवा विभागका वरिष्ठ कन्सल्ट्यान्ट हुनुहुन्छ ।)