logo
२०८१ बैशाख १६ आईतवार



दीर्घजीवन पाउन हाँसो

विचार/दृष्टिकोण |




डा. प्रकाश बुढाथोकी

बालबालिका सय पटक मुस्कुराउँछन् भने उमेर बढ्दै जाँदा कम हँुदै जान्छ । त्यसैमा ओठ खोली हाँस्ने सायदै होलान् । किनभने जति पढ्यो, पैसा कमायो, ठूलो भयो त्यति नै आफूलाई गम्भीर अनुहार बनाउनुपर्छ देखाउनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ । व्यस्त जीवनशैली र कामले हाँस्ने फुर्सद छैन, पैसा कमाएपछि हाँस्ने प्रक्रिया कम हुँदै जान्छ । दिल खोलेर हाँस्ने, मरिमरी हाँस्ने, पेट मिचिमिची हाँस्ने, मुर्छा पर्ने गरी हाँस्ने वा आँसु आउने गरी हाँस्ने व्यक्ति चामलमा ढुङ्गा खोजेजस्तै पाउन गाह्रो छ ।

विश्वमा ७० प्रतिशत मानिसको अनुहार गम्भीर हुन्छ । मानिस हाहा, हुहु, हिहि, मुसुक्क थरीथरी किसिमले हाँस्छन् । हाँसो मात्र थरीथरीका होइन, उद्देश्य पनि फरक फरक हुन्छन् । खुसी हुँदा, अनौठा देख्दा, मन परेको वस्तु पाउँदा, मानिस देख्दा हाँसिन्छ । त्यस्तै अरूलाई अप्ठेरो पर्दा खुच्चिङ भन्दै हाँस्ने पनि कम हुँदैनन् । प्रसिद्ध दार्शनिक ओशो भन्छन्, “हाँसोभन्दा ठूलो आनन्द केही छैन ।” चिकित्सा विज्ञानमा गरिएका अनुसन्धानले पनि हाँसोले विभिन्न रोगमा औषधिकै काम गरेको चित्रण छ । विज्ञानले हँसिलो व्यक्तिलाई गम्भीर रोग लाग्ने सम्भावना पनि कम हुन्छ भन्ने मान्छ ।

चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घटेर जान्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजताको विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढेर जान्छ । त्यस्तै प्रेमी–प्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई घोलिदिन्छ, पगाली दिन्छ र अगाध प्रेममा नाफा गाँसिदिन्छ । मुस्कान प्रेमको मुटु, जीवनको प्राण, स्वास्थ्यको बाटो तथा सुखको ढोकाको रूप हो, जसले नोक्सान होइन फाइदै फाइदा दिन्छ ।

मुस्कान र हाँसो सर्वमान्य भाषा हुन्, जुन सबै भाषीले, सबै उमेरका मान्छेले तथा केही जनावरले समेत बुझ्न सक्छन् । मानसिक तनाव, रिस, घमण्ड, भोक, पीर तथा चिन्ता कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । यदि मुस्काउँदा अनुहारका जम्मा १३ वटा मात्र मांसपेशी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेशी उपयोग हुन्छन् । हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हँुदा ज्यादा जोड पर्दछ, धेरै मांसपेशी प्रयोग हुन्छन्, धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानि–नोक्सानी पु¥याउँछ तर त्यही मुस्कानले सफलता दिन्छ, साथी दिन्छ, सुख दिन्छ अनि मुस्कानै मुस्कान दिने भएकाले मुस्कान दान गर्नु उच्चतम दान पनि हो ।

मुस्कानमा केही खर्च लाग्दैन, यद्यपि मुस्कानबाट धेरै प्राप्त हुन्छ । मुस्कानलाई पाउने व्यक्ति मालामाल हुन्छ भने दिने पनि दरिद्र हुँदैन । क्षरणभरमा यसको आदान–प्रदान हुन्छ, यद्यपि मुस्कानको स्मरण कालान्तरसम्म रहन्छ । धनी होस् वा गरिब; कुनै पनि व्यक्ति मुस्कानको धनी बन्नसक्छ । मुस्कान जति बाँड्न सकिन्छ, त्यति नै बढ्छ । मुस्कान मित्रताको हस्ताक्षर पनि हो । मुस्कानलाई खरिद गर्न वा चोर्न सकिँदैन, माग्न वा उधारो दिन वा लिन सकिँदैन तर महìव धेरै हुन्छ । कुनै पनि कुरा बुझाउन वा सिकाउन प्रोत्साहन वा उत्साह दिन वा जगाउन मुस्कान प्रेरणादायी हुन्छ, यसको प्रभाव दण्डभन्दा धेरै गुणा बढी हुन्छ तर गलत समय र परिस्थितिमा मुस्कुराउनु घातक सिद्ध हुने कुरा भने बिर्सनु हुँदैन ।

दिल खोलेर हाँस्न पाउनुभयो भने तपार्इंको शरीर हलुको भएकोजस्तो अनुभव हुन्छ र मानिस तनावबाट मुक्त हुन्छ । हाँसो पनि मानिसको आरोग्य र उपचारको एउटा विधि भएको कुरालाई विचार गरेर पूर्वीय दर्शनमा आधारित योग्याभ्समा यसलाई पनि एउटा महìवपूर्ण योग विधिका रूपमा परापूर्वकालदेखि नै स्वीकार्दै आएको पाइन्छ । हाँसो मानसिक स्वास्थ्यका लागि निकै महìवपूर्ण पक्ष भएको कुरा पूर्वीय दर्शनमा स्वीकारिएको भए पनि यस विषयमा वैज्ञानिक खोज भने भएको थिएन तर अहिले विभिन्न मुलुकमा भएका खोजले हाँस्नु स्वास्थ्यका लागि निकै लाभदायक भएको र हाँसोबाट पनि कतिपय रोग निको पार्न सकिने तथ्य पत्ता लागेका छन् । कम लागतमा धेरै रोग निको पार्ने औषधि बनेको छ हाँसो । एक मिनेटको हाँसोले ४५ मिनट आराम गरे बराबरका ऊर्जा दिन्छ ।

अमेरिकाको स्ट्यान्फोर्डको खोजमा २० सेकेन्डको उन्मुक्त हाँसो बराबर तीन मिनेट पौडी खेलेबराबरको शारीरिक व्यायाम हुन्छ । हाँस्दा शरीर र मस्तिष्क दुवैको व्यायाम हुन्छ । दिनमा कुनै बेला हाँसियो भने रातमा मीठो निद्रा लाग्छ । शरीरमा इम्युनोग्लोबिनको वृद्धि हुन्छ । विषाणुु तथा कीटाणुसँग लड्नसक्ने क्षमताको विकास हुन्छ र सङ्क्रमण हुन सक्दैन । अनुहारलाई सधैँ चम्किलो बनाउँछ । आफूलाई मात्र नभई अरूलाई समेत सकारात्मक ऊर्जा मिल्छ । हाँसोपछि शरीरमा सकारात्मक परिवर्तन आउँछ, अक्सिजन बढ्छ, धमनी सङ्कुचन गर्ने हर्माेन कम गर्छ, सङ्कुचन घटाउँछ । हाँसोले आन्तरिक शक्ति बलियो बनाउछ, रोगसँग लड्ने शक्ति बढाउँछ ।

जसरी सितार÷गितारको तार एउटा औँलाले मात्र चलाउँदा वरपरको वातावरण झङ्क्रित हुन्छ, त्यसैगरी जोडजोडले हा...हा...हा... शब्द निकाली हा“स्दा शरीरको टाउकोदेखि पैतालासम्मको अङ्ग र कोषिका फुर्तिला बन्दछन् । हाँस्दा छाला, मांसपेशी, नसा, रक्तनली आदिमा प्रशस्त रक्त सञ्चार हुन्छ । अक्सिजन पूर्ति भई शरीरमा स्फूर्ति बढ्छ । अनुहार चम्किलो हुन्छ । मानसिक तनावमा कमी, कोलेस्ट्रोलमा सन्तुलन ल्याई हृदयाघातको प्रतिशतमा समेत कमी ल्याउँछ । एन्जाइटी न्युरोसिस, साइकोसिस, सुस्तः मनस्थिति, डिप्रेसन, मधुमेह, उच्च रक्तचापबाट पीडितलाई पनि उपयोगी हुन्छ । जोडले हाँस्दा शरीरमा इन्डोर्फिनको मात्रा बढी सन्धी रोग, बाथरोग, स्पोन्डोलाइसिस तथा हाडजोर्नीका रोगको दुखाइमा कमी आउँछ । श्वासप्रश्वास गतिशील बनाई फोक्सो, घाँटीका मांसपेशीमा समेत रक्तसञ्चार बढी अनुहार रातो र चम्किलो हुन्छ । शारीरिक व्यायम जत्तिकै लाभ हुन्छ ।

हाँसो साइड इफेक्टरहित उपचार पद्धति पनि हो । अनुसन्धानमा एउटा मधुमेहीलाई पट्यारलाग्दो भाषण सुनाउँदा र प्रख्यात हाँस्य कलाकारको प्रदर्शन देखाएर रगतमा चिनीको मात्रा नाप्दा हाँस्य कार्यक्रमपश्चात्को परीक्षणमा धेरै कम चिनीको मात्रा पाइएको छ । भविष्यमा चिकित्सकले बिरामीलाई औषधि किनेर खानुको साटो हाँसो उठाउने खालका फिल्म वा चलचित्रका क्यासेट किन्न सल्लाह दिनेछन् । वृद्धमा देखा पर्ने रोगको उपचार तथा रोग लाग्नबाट बचाउन हाँसो उपचार पद्धति निकै उपयोगी भएको छ जापानमा । हाँस्नु पनि एउटा योग हो । योगाभ्यास वा आनन्द दिने खालका अभ्यासबाट दमका रोगीलाई धेरै फाइदा पुगेको पाइन्छ । योगाभ्यासले दिमागलाई पूर्ण वा तिखो किसिमले जागरुक बनाइराख्छ ।

मुस्कान यति बलियो हतियार हो, जसले जमेको बरफ पनि टुक्र्याउन सक्छ, भाँचिएका मनलाई समेत जोडिदिन्छ । त्यसकारण सार्थक मुस्कानले टुक्रने, छुट्ने, झुक्याउने गर्न सक्दैन । ‘जो मुस्काउँछ, अझ अप्ठेरो अवस्थामा पनि नरिसाई मुस्काउँछ, ऊ सधँै बलियो हुन्छ’ भन्ने जापानिज भनाइ तथा ‘नरुनुस् किनकि कारण गइसक्यो, बितिसक्यो तर हाँस्नुस् कारण भएको छ वा हँुदैछ’ भन्ने सत्यतालाई आत्मसात् गर्दै हरेक दिन, हरेक बिहान, हरेक भेट वा घटनालाई विशेष अलग्गै फरक तथा अति उत्तम रूपमा लिनुस्, मनलाई ढाडस दिनुस् अनि स्वच्छ मनले, सकारात्मक सोचले स्वास्थ्य तथा सफलता र दीर्घजीवनका लागि हाँस्नुस् ।
अन्त्यमा, निर्धक्कसाथ हाँस्दा विशेष आर्थिक बोझ नहुने तथा शारीरिक र मानसिक अवस्थालाई लाभ मात्र हुने यस्तो प्रक्रिया हाहाहा गरी जोड जोडले हाँस्ने तपाईं–हामी सबैले किन अवलम्बन नगर्ने ? तथापि दाँत तथा मुख स्वास्थ्य भने स्वच्छ रहनैपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?