logo
२०८१ मंसिर ८ शनिवार



वृद्धवृद्धालाई खोप र सुरक्षा

विचार/दृष्टिकोण |




डा. प्रकाश बुढाथोकी

२०७७ फागुन २४ गते खोप लगाउनुभएकी हरिमाया कहिले काठमाडांैँ त कहिले विदेशमा रहेका आफन्तसँग फोनमा कुरा गर्दै दोस्रो मात्रा खोप लगाउन नपाएरै मरिन्छ कि के हो भन्दै गुनासो गर्नुहुन्छ । जिल्ला स्वास्थ्य कार्यालयमा फोन गर्दा खोप नै नरहेको उत्तर पाउँदा जगेडा नै नराखेर सबै डाक्टरले सके होलान् र ! भन्दै विश्वास गर्नुहुन्न । एक मात्रा खोपले कोभिड–१९ बाट बचाउनेमा एकरत्ति विश्वास नमान्दै उहाँ आधा औषधि खाएर के रोग आधा वा पूरा निको हुन्छ र भन्दै हुनुहुन्थ्यो । खोपको पहिलो मात्राले आत्मविश्वास बढाए पनि दोस्रो मात्राको टुङ्गो नलागेपछि हरिमायाजस्तै साढे १३ लाख ज्येष्ठ नागरिक निराश बनेका छन् ।
स्वास्थ्य सेवा तथा सुविधाहरूमा भएको वृद्धि, आधुनिक चिकित्सकीय उपचार पद्धति, विभिन्न घातक र सङ्क्रामक रोग निर्मूललगायत मानिसकै जीवनशैलीमा आएको फेरबदललगायतका कारणले गर्दा औसत आयु उच्च हुन गई वृद्धवृद्धाको सङ्ख्या दिनानुदिन थपिइरहेको छ । विश्वमा सन् २०५० मा कुल जनसङ्ख्याको २१ प्रतिशत पुग्ने अनुमान छ । ६० वर्षमाथिका नेपाली वृद्धवृद्धाको सङ्ख्या सन् २००७ मा १६ लाखभन्दा बढी थियो भने २०२१ भित्रमा २४ लाख ३४ हजार पुग्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको सिद्धान्तमा खाना, पानी, आवास, लुगा, स्वास्थ्य, स्याहार, काम तथा अन्य आय आर्जनका अवसर शिक्षा तथा तालिम प्राप्त हुने व्यवस्था सुनिश्चित गरिनुपर्ने छ । नेपालको धार्मिक आस्था तथा सामाजिक मूल्य र मान्यताअनुसार वृद्धलाई आदर तथा सम्मान गर्ने परम्परा छ । अनि सन्तानले वृद्ध बाबुआमाको लालनपालन तथा स्याहारसुसार गर्नुपर्दछ भन्ने कर्तव्यबोध पनि हाम्रो धार्मिक र सामाजिक मूल्य तथा मान्यताले प्रस्ट्याएको छ । सन्तान साना छउञ्जेल तिनको संरक्षक बाबुआमा हुने र सन्तान हुर्केर सक्षम भइसकेपछि वृद्ध बाबुआमाको संरक्षक तिनको सन्तान हुने सामाजिक प्रचलनले गर्दा नेपालमा वृद्धहरूको अवस्था विदेशको जस्तो दयनीय भइसकेको छैन ।

कोरोनाको जोखिम
वृद्धावस्थामा शारीरिक अवस्था कमजोर हु“दै जाने भएकाले रोगविरुद्ध लड्नसक्ने क्षमता घट्दै जान्छ । रोगस“ग लड्ने क्षमता कम हुनमा प्रत्यक्ष–अप्रत्यक्ष सामाजिक तथा मानसिक कारण हुन्छन् । रोगको आक्रमणमा वृद्धि भई विभिन्न रोगले दुःख दिन्छन् । उमेर बढ्दै जा“दा ९० प्रतिशतमा सुन्ने तथा देख्ने शक्ति घटेर जान्छ । प्रतिरोधात्मक क्षमता घट्दै जा“दा सङ्क्रामक रोग लाग्ने र रोग लागिहाले बढी नै च्याप्छ । उमेरस“गै क्यान्सरको खतरा बढ्छ, पाचन प्रणाली, हाड, मिर्गौला, फोक्सोको काम गर्ने क्षमता घट्छ । मधुमेह, उच्च रक्तचाप, बाथ र अन्य वंशाणुगत रोग पनि उमेर बढ्दै जा“दा बढी मात्रामै देखिन्छ । वृद्धावस्थामा शारीरिक, मानसिक र रोगस“ग लड्ने क्षमता तथा दा“त हल्लिने तथा दाँत नभएकाले पोषणस्तरलाई प्रभाव पार्छ ।
उमेर बढेसँगै प्रतिरोधात्मक क्षमता घट्ने, अन्य दीर्घकालीन रोगहरू रहने भएकाले अन्य सङ्क्रमणजस्तै कोरोनाको जोखिम बढी छ । त्यसैमा कोरोनाले फोक्सोमा आक्रमण र जटिलता गराउने भएकाले श्वास–प्रश्वाससम्बन्धी समस्या भएकाहरू बढी सचेत रहनुपर्छ । जोखिमको सम्भावना भए पनि कोरोना फैलिएका देशको तथ्याङ्कमा १५ प्रतिशत मृत्युदर र ८५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन आत्तिए झनै कमजोर हुने भएकाले मृत्यु भएका तीन प्रतिशतभन्दा निको भएका ९५ देखि ९७ प्रतिशतको तथ्याङ्क र समाचार आउन जरुरी छ । यसले आममानिसको मानसिक अवस्थाको सुधारमा बढी उपयोगी हुने देखिन्छ ।

खोपको पर्खाइमा
सरकारसँग भएको कोभिसिल्ड खोपको २४ लाख ६६ हजार मात्रामध्ये अनुदान १० लाख, सेनालाई एक लाख, बहराइन राजकुमारले ल्याएका २० हजार, खरिद २० लाखमध्ये १० लाख र कोभ्याक्स तीन लाख ४६ हजार मात्रा हो । कोभ्याक्स सुविधाले कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् एक करोड ३० लाखमध्ये पहिलो चरणमा २२ लाख ४६ हजार मात्रा सार्वजनिक भए पनि तीन लाख ४६ हजार मात्रा कोभ्याक्स तथा खरिदको १० लाख नदिँदा खोप अभियानमा असर परेको हो । राष्ट्रप्रमुखले चैत २ गते तथा तत्कालीन सरकारप्रमुखले फागुन २३ मै खोप लिइसकेका छन् । भारतमा कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाले स्वदेशमै आवश्यक पर्ने भन्दै भारत सरकारले खोप निर्यातमाथि अस्थायी रोक लगाएपछि खोप निर्यातमा असर
परेको हो ।
फागुन २३ देखि २८ गतेसम्म १४ जिल्लाका ५५ वर्षमाथिका र अन्य जिल्लाका ६५ वर्षमाथिका करिब साढे १३ लाख नागरिकले खोप लिएका थिए । जेठ तेस्रो सातामा अर्को मात्रा खोप लगाइसक्नुपर्ने भए पनि अझै मिति निश्चय हुन सकिरहेको छैन । पहिले चार, त्यसपछि आठ र पछि १२ हप्ता गर्दै सारिएको खोपको दोस्रो मात्राको समय भारत सरकारले पछिल्लो समय १६ साताभित्र दोस्रो मात्रा लगाउने नीति बनाएपछि नेपाललाई थप राहत पुगे पनि खोप अझै आएको छैन । पहिले जुन खोप लगाएको हो, त्यही नै दोस्रो मात्रा लिनुपर्छ र भारतले दिन नसक्ने भए उही खोप उत्पादक राष्ट्र बेलायत, कोरिया आदिबाट ल्याउने पहल जारी छ । जापान सरकारले एक महिनामा एस्टा«जेनिका १६ लाख मात्रा तथा भर्खरै अमेरिकाले जोन्सन खोप दिएपछि ज्येष्ठ नागरिकमा आशा पलाएको छ । किनभने भेरोसेल खोप ६५ वर्ष माथिकालाई दिन मिल्दैन ।
दुई मात्रामा भएको खोपमा पहिलो मात्राले बी–एन्टिबडी बनाउने र दोस्रो मात्राले टी सेल–भाइरस चिन्ने र मार्ने एक्टिभेट गरी एन्टिबडी बनाउने भएकाले दोस्रो मात्राको खोपले दिगो एन्टिबडी बनाउँछ । खोप लगाएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै तीन चौथाइमा सङ्क्रमण नहुने र भएमा पनि जटिल समस्या र मृत्यु नहुने तथा अन्यमा सङ्क्रमण सार्ने सम्भावना कम हुन्छ ।

खोपले शतप्रतिशत सुरक्षा दिँदैन
२३ फागुनमा खोप लगाएका ७२ वर्षीय पुरुषमा कोभिड पोजेटिभ देखिएपछि चैत ९ मा टेकु अस्पतालमा निमोनियाको उपचारका लागि आइसोलेसनमा भर्ना हुनुभएथ्यो । उहाँलाई परिवारसँगै फागुन २७ मा सङ्क्रमण देखिएको थियो । नया“दिल्लीमा अस्पतालमा कार्यरत नर्समा खोपको दुवै मात्रा लगाएको एक महिनापछि कोरोना देखिएको थियो । उत्तर प्रदेशको लखनऊका चिकित्सकमा पनि पूर्ण खोप लगाइसकेपछि सङ्क्रमण देखिएको थियो ।
क्यालिफोर्नियाको १६ डिसेम्बरदेखि ९ फेब्रुअरीसम्म मोर्डना र फाइजर खोपको पहिलो मात्रा ३७ हजार र दुवै मात्रा २८ हजारले लगाएकोमा गरिएको एक अध्ययन तथा न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्टमा खोपपछि पनि एक दशमलव १९ प्रतिशतमा पुनः कोभिड सङ्क्रमणको सम्भावना रहन्छ । कुनै पनि खोप शतप्रतिशत प्रभावकारी छैनन् । जस्तै– कोभिसिल्ड लगाएकाहरूमा प्रभावकारिता ७२ प्रतिशत भएकाले बाँकी २८ प्रतिशतलाई सङ्क्रमण हुनसक्छ ।
मर्निङ वाक, पूजा, भजन, भेटघाट, समारोहमा नजाने, ज्वरो र रुघाखोकी लाग्दा नआत्तिने, शरीरको प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त सुत्ने, घरभित्रै व्यायाम गर्ने, सकारात्मक सोच राख्ने, झोलिलो र पौष्टिक पदार्थ यथेष्ट सेवन गर्नेलगायतका कर्म गरिनु जरुरी छ । खोप लगाउनुलाई सञ्जीवनी बुटी ठान्नु हुँदैन । हातको सरसफाइ, मास्कको उचित प्रयोग, दुई मिटरको भौतिक दूरी, स्वास्थ्यमैत्री खानपिन र जीवनशैलीमा निरन्तरता दिएर मात्र सुरक्षित रहन सकिन्छ ।
(लेखक स्वास्थ्य सेवा विभागका वरिष्ठ कन्सल्ट्यान्ट एवं नेपाल चिकित्सक सङ्घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?