logo
२०८१ मंसिर १३ बिहीवार



नेपाल कम्युनिस्ट पार्टीको कार्यभार

हिजोका राजा महाराजाको आसनमा आज नेकपाकै नेता छन्

विचार/दृष्टिकोण |


नेपाल कम्युनिस्ट पार्टीको कार्यभार


खिमलाल देवकोटा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक ऐतिहासिकपाराले भएछ । महाधिवेशन त हुने नै भयो । केन्द्रीय समिति पनि ऐतिहासिक, स्थायी समिति झन् ऐतिहासिक सचिवालयको कुरा गर्न परेन । अझ त्यसमाथि दुई अध्यक्षको बैठकको ऐतिहासिकताको चर्चा धेरै नै छ ।
नेकपा बैठक भए बसे वा नबसे पनि चर्चा र ऐतिहासिक दुवै हुनेछ । यतिबेला स्थायी समितिले निर्धारण गरेको र आगामी महाधिवेशनको कार्यसूची पारित गर्ने भनेर बोलाइएको केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ । त्यसरी स्थगित बैठकको चर्चा, त्यसको कार्यभार र चुनौतीका बारेमा चर्चा गर्ने यस आलेखको आसय हो । त्यसो त नडाक्ने र डाके बस्दै नबस्ने, बसे निर्णय गर्न नसक्ने, निर्णय गरे कार्यान्वयन गर्दै नगर्ने बैठकको चर्चा किन भन्ने पनि प्रश्न उठ्न सक्छ । सत्तासीन विशेषता बोकेका कारणले नेकपा बैठकको चर्चा आवश्यक छ ।

बैठकको दर्शन
माक्र्सवादीहरू बैठकविना अरू कार्य सम्भव नै छैन भन्ने मान्यता राख्छन् । बैठक, छलफल, बहस र निष्कर्ष सोको कार्यान्वयन र अन्त्यमा रिपोर्टिङ माक्र्सवादीहरूका तरिका हुन् । विनाबैठक गरिएका निर्णयहरू माक्र्सवादीहरू निर्णय नै मान्दैनन् । विनाकमिटी, विनाजिम्मेवारी र विनालेबी (मासिक शुल्क) भुक्तानी माक्र्सवादीहरू आफूलाई पार्टीको सदस्य नै मान्दैनन् । अमेरिकी मनोवैज्ञानिक मानवशास्त्री हेलेन स्वार्टम्यानका अनुसार बैठकहरूले सङ्गठनमा भावना जगाउँछ, सङ्गठनलाई सदस्यहरूका सामुन्ने पारदर्शी बनाउँछ र सदस्यहरूलाई उनीहरूको उद्देश्य, कार्यहरू र अन्य सदस्यहरूसँगको सम्बन्धका बारेमा सचेत गराउँछ । उनको यो भनाइलाई आत्मसात् गर्ने हो भने बैठकको अभावमा सङ्गठन के हो ? कस्तो हालतमा गुज्रेको छ ? उनीहरूको उद्देश्य के हो ? कार्यभार के हो ? इत्यादि बारेमा नमिठो रिक्तता छाउने कुरा बुझ्न सकिन्छ ।
यत्तिका रिक्तताका अभावमा के पार्टी, के सदस्य, के नेता, के कार्यभार । सबै बेवारिसे बन्ने खतरा पैदा हुने कुरामा कुनै अनुसन्धान गरिराख्न पर्दैन । माक्र्सवादी र मानवशास्त्रीय मान्यताका आधारमा नेकपा कहाँ छ ? नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूको असली हालत के छ ? देश र जनताप्रतिको कार्यभारको अवस्था के हो भन्नेबारेमा गम्भीर समीक्षा गर्न जरुरी छ ।

 नेकपाको अवसर
नेपालमा राणा र राजाहरूको शासन अधिनायकवादी एकतन्त्रीय र निरङ्कुश थियो । त्यसैले देश र जनताको हित र कल्याण सम्भव भएन । नेकपाकै अगुवाइमा निरङ्कुशताको अन्त्य र गणतन्त्र प्राप्ति भएको छ । यसअघि अस्थिरता थियो । आज स्थिरता पनि प्राप्त भएको छ । हिजो एक देशसँग मात्रै परनिर्भरताको बाध्यता थियो, आज त्यो अवस्थाको पनि अन्त्य नेकपाकै पहलमा भएको छ । हिजोका राजा महाराजाको आसनमा आज नेकपाकै नेताहरू छन् । अब देश र जनताका लागि केही गर्नका लागि केही पनि अवरोध छैन । अवरोध होला त केवल सीमित साधन स्रोत र समयको होला । यसो अनुमान गर्न कुनै अनुसन्धान गरिराख्न पर्दैन । त्यही अवसर र अनुकूलताको उपलब्धताका कारण नेपाललाई पाँच वर्षमा विकासशील राष्ट्र बनाउने, दस वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याउने, २०९९ सम्म समुन्नत राष्ट्र बनाउने, खाद्यान्न, माछा, मासु, अण्डा, दूधमा दुई वर्षभित्र आत्मनिर्भर बनाउने, कृषि उत्पादन दस वर्षमा दोब्बर पु¥याउने, तीन वर्षमा काठमाडौँमा विद्युतीय सवारी, १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन, घर–घरमा बिजुली–जनजनमा सेयर नीति अपनाइएको थियोे ।
पाँच वर्षमा पूर्व–पश्चिम विद्युतीय रेल, पाँच वर्षमा निजगढ विमानस्थल, समुद्रमा पानीजहाज, नयाँ शिक्षा नीति, सरकारी स्वास्थ्यकर्मीलाई निजीमा रोक, मिडियामा विदेशी लगानी निषेध, सरकारी संरचना निर्माणमा स्वदेशी सामग्री प्रयोग गर्ने भनियो । घरबारविहीनलाई पाँच वर्षमा घर दिने कुरा प्रतिबद्धता आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो । यसका लागि नेकपाका लागि अतुलनीय अवसर ऐतिहासिक रूपमा प्राप्त भएका कारणले नै आफ्नो चुनावी घोषणापत्रमा यत्तिका कुरा लेख्न सम्भव भएको हो ।

 गर्नुपर्ने काम
अब गम्भीर समीक्षा गर्नैपर्छ कि तोकिएको समयमा वाचा गरेका कुरा किन पूरा भएनन् । तोकिएको समयमा मात्रै हैन, कतिपय विषय त अर्को अवधिमा पनि पूरा हुने सम्भावना देखिँदैन । यस्तो अवस्था किन आयो ? यो प्रश्नको जवाफ खोज्न जरुरी छ । लेखिएका कुरा विनाआधार, विनाअनुसन्धान लेखिएका थिए ? वा फगत चुनावी नारा बनाउनका लागि मात्रै थिए ? वा बहुमतको सरकार थिएन ? या संसद्ले सहयोग गरेन ? या पार्टीले सहयोग गरेन ? या पार्टी काम व्यवस्थित हुन नसक्दा पूरै पार्टी पङ्ति परिचालित भएन ? पार्टीले त एकीकरण गर्ने र केन्द्रीय समितिको एक पूर्ण बैठक र कार्यान्वयन नहुनेखाले स्थायी समिति र सचिवालयका केही बैठकहरूबाहेक अरू केही–केही गरेकै छैन ।
कामको रक्षा प्रतिरक्षा र प्रचारको खासै अर्थ रहँदैन । कुरा सरकारका कामको हो । सरकारका काममा पार्टी पङ्ति किन परिचालन भएन ? सरकारका कामको प्रचार रक्षा र प्रतिरक्षा गर्ने काम किन पार्टी पङ्तिले गरेन भन्ने प्रश्न गम्भीर छ, यसको गम्भीर समीक्षा गर्न जरुरी छ ।
कुरा प्रस्ट भयो कि पार्टी पद्धतिमा पार्टी परिचालन नभएसम्म पार्टीले प्रतिरक्षा नगरेसम्म सरकारका कामको प्रचारसम्म पनि हुँदैन । पार्टी जेसुकै होस्, सरकार अगाडि बढ्छ भन्ने तवरले सरकार एक्लै हिँडेर पुगिने कहीँ होइन रहेछ भन्ने कुरा पनि प्रस्ट भइसकेको छ । तसर्थ, अब गर्ने काम भनेको पार्टीको केन्द्रीय समितिको बैठक आयोजना गर्ने सो बैठक आयोजना गर्ने अझै एक महिना बाँकी छ । यो अवधिमा पार्टी बैठकका आगामी कामको राम्रो तयारी गर्ने अघिल्लो बैठकले निर्धारण गरेको महाधिवेशनका बारेमा गर्न सम्भव भए सोको कार्ययोजना तयार गरी पार्टी बैठकमा पेस गर्ने सम्भव छैन भने कहिले सम्भव हुने हो, सोको वस्तुनिष्ठ तयारीका आधारहरू निर्माण गर्ने काम पार्टी नेतृत्वको हुनेछ ।
कम्युनिस्ट पार्टीमा पार्टी भनेको कमिटी हो । जतिसुकै आदरणीय र आदर्श भए पनि नेता जहिले पनि कमिटीमातहत नै हुन्छ । पार्टी कमिटीलाई बाइपास (बेवास्ता) गरेर कोही पनि नेता हँुदैन र पार्टी कमिटीले चाह्यो भने पार्टी कमिटीलाई बेवास्ता गर्ने नेतालाई कमिटीले बेवास्ता गर्न सक्छ । कमिटीले नेता जन्माउन सक्छ । त्यसैले जस्तोसुकै अवस्थामा पनि कमिटी नेताको पछि दौडन जरुरी छैन ।
तर, नेता कमिटीको पछि दौडनुको विकल्प छैन । त्यसैले कम्युनिस्ट पार्टीमा सदस्य हुनु नै पर्याप्त हो । पद त केवल कार्यविभाजनसम्म हो । त्यसैले नेता कार्यकर्ता कोही कसैको अधिनमा छैनन् तर सबै नेता कार्यकर्ता पार्टी कमिटीको अधिनमा छन् भन्ने मान्यतालाई दह्रोसँग आत्मसात् गर्ने कुरा नै यतिबेलाको आवश्यकता हो ।

 दुई महŒवका कार्यभार
पार्टी एकतापछिको आगामी बैठक तेस्रो पूर्ण बैठक हुनेछ । त्यो बैठकले दुई महŒवपूर्ण कार्यभार सामुन्ने रहेको हेक्का राख्नुपर्छ । पहिलो, पार्टी महाधिवेशन सम्पन्न गर्ने । दोस्रो, आगामी चुनावमा फेरि पनि जनताका सामु श्रेष्ठता हासिल गर्ने । दुवै काम कम चुनौतीपूर्ण छैनन् । महाधिवेशनका लागि पर्याप्त तयारी गर्न जरुरी छ । पार्टी सदस्यता नवीकरणदेखि पार्टीको निर्वाचन पद्धतिको टुङ्गो लगाउने र तदनुकूल स्थानीय प्रदेश र केन्द्रीय कमिटीको निर्वाचन वा छनोट सम्पन्न गर्ने काम त कम्तीमा गर्नैप¥यो ।
राज्य सङ्घीय छ तर पार्टी एकात्मक र केन्द्रीकृत हुने ? यो पटक्कै मिलेको छैन । यो बेमेलका कारणले पनि थुप्रै समस्या आइपरेका छन् । आगामी महाधिवेशनमा पार्टीलाई सङ्घीयकरण गर्न जरुरी छ । त्यसको तयारी यसै केन्द्रीय समिति बैठकबाट गर्नुपर्नेछ । यसैगरी, आगामी निर्वाचनमा जाँदा हिजो गरेका वाचा के थिए ? कति पूरा भए ? कति पूरा गर्न सकिएन ? र, के कारण ? जनताले पत्याउने फेहरिस्त प्रस्तुत गर्न जरुरी छ ।

 अन्त्यमा,
पार्टी र सरकार दुवै मोर्चाको नेतृत्व सम्हालेका कारणले देश र जनताको आशा र भरोसाको केन्द्र भएका कारणले सो आशा र भरोसाको केन्द्रको पार्टी बैठक सबैको चासोको विषय हुनु स्वाभाविक हो । देशभित्र मात्रै नभएर, देशबाहिरका शुभचिन्तक, समर्थक र प्रतिस्पर्धीहरूको समेत चासो र तारोको विषय बनेको कुरा छ यो । यसलाई हेक्का राख्दै आफ्ना कार्यभारको निर्धारण गर्नुपर्नेछ । नेकपा व्यवस्थित होओस् । पर्याप्त, व्यवस्थित ढङ्गले चलेमात्रै ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेछ । 
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?