खिमलाल देवकोटा
भूमिका : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसलाई राष्ट्रिय धान रोपाइँ दिवसका रूपमा पनि मनाउने चलन छ । कृषिप्रधान देश नेपालमा असार १५ का दिनमा हिलो कुल्चने भन्ने नाममा पनि हरेक मानिसले धान रोपाइँमा सामेल हुने परम्परा रहिआएको छ । असार १५ लाई मानो खाएर मुरी उब्जाउने मौसमको उत्कर्षका रूपमा पनि मनाउने गरिन्छ । असार १५ को उत्सवका रूपमा खेतमा प्रवेश गर्नुभन्दा पहिले नेपाली परम्परागत पोसाकमा सजिएर चाडपर्व मनाउने रूपमा नाचगान र बजानका साथ खेतमा प्रवेश गर्ने प्रक्रियाबाट रोपाइँको आरम्भ हुन्छ । १ डिसेम्बर २००४ मा नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा घोषणा गरेदेखि भने यो दिनले चर्चा पाएको छ । किसान नियमित कामका रूपमा, गैरकिसान दिवस मनाउने औपचारिकताका रूपमा र पर्यटक मनोरजनका रूपमा यो दिवसलाई मनाउने गरेको पाइन्छ । सङ्घीय संरचनाको आरम्भले विभिन्न प्रदेशले आफ्नो विशेषताका आधारमा आ–आफ्ना दिवस मनाउने गरिआएकोमा कर्णाली प्रदेशले भने असार १५ लाई सार्वजनिक बिदाका रूपमा पनि घोषणा गरेको पाइन्छ । कुल गार्हस्थ उत्पादनमा धानको योगदान जम्मा सात प्रतिशत छ, यद्यपि नेपालले पच्चीस अर्ब रुपियाँको चामल आयात गर्छ । आजको डिजिटल अर्थतन्त्रमा धान दिवसको महŒव र योगदानका बारेमा चर्चा गर्ने यो लेखको आसय रहेको छ ।
डिजिटल अर्थतन्त्र :
आजको विश्वको परिदृश्य बदलिँदो छ । विश्वलाई बदल्ने विभिन्न साधनमध्येको एक यो डिजिटल अर्थतन्त्र पनि हो । विज्ञान र प्रविधिको चामत्कारिक विकासले मानिसले पत्याउनै नसक्नेगरी नयाँ–नयाँ अन्वेषण गरेका छन् । नयाँ–नयाँ अन्वेषणले मानिसको दिनचर्या बदलिदिएको छ । यो बदलावको रफ्तार अत्यन्त तीव्रत्तम बन्दै गएको छ । त्यसैले हामी धान दिवस पनि मनाउँदै छौँ, सँगसँगै डिजिटल अर्थतन्त्रको प्रभाव धान उत्पादनमा के परेको छ वा पर्नेवाला छ भन्नेबारेमा पनि चर्चा गर्न त्यत्तिकै आवश्यक छ ।
वास्तवमा डिजिटल अर्थतन्त्र एक आर्थिक गतिविधि हो, जुन अनलाइनका माध्यमबाट दैनिक अर्बौं, खर्बौं परिमाणमा मानिसका व्यवसाय र तिनका तथ्याङ्कको प्रयोग र प्रशोधनका माध्यमबाट हुने गर्छ । डिजिटल इकोनोमी अर्थ व्यवस्थाको एक उच्चतम स्वरूप पनि हो, जसमा मानिस, उद्योग र मेसिन इन्टरनेट वा प्रविधिमार्फत एकै साङ्लोमा बाँधिन्छन् र परिणाम गुणात्मक उत्पादन दिने गर्छन् । प्रविधिको माध्यमबाट उपलब्ध तथ्यको आक्रामक प्रयोगको माध्यमबाट व्यवसायका मोडेल परिवर्तित भएका छन्, नयाँ–नयाँ सेवा र सुविधा उपलब्ध भएका छन्, जसले व्यवस्थापनमा नयाँ संस्कृतिको प्रवेश त गराएको छँदै छ । त्यसका अलावा नयाँ–नयाँ चुनौती थपिदिएको छ । यो डिजिटल इकोनोमी यस्तो साधन बन्यो, जसले केवल प्रविधिमात्रै प्रयोग गर्छ र प्रविधिको प्रयोगमार्फत व्यवसायमा आमूल परिवर्तन गराइदिन्छ । ऊ आफँै व्यवसायमा प्रवेश गर्दैन । उदाहरणका लागि विश्वको सबैभन्दा ठूलो ट्याक्सी कम्पनी उवरसँग कुनै पनि गाडीको स्वामित्व छैन । सामाजिक सञ्जालको राजा मानिएको फेसबुकले कुनै सामग्री उत्पादन गर्दैन, सबैभन्दा ठूलो रिटेलर अलिबाबाको आफ्नो कुनै उत्पादन छैन । विश्वको प्रमुख आवासप्रदायक कम्पनी एयर बीएनबीसँग कुनै पनि आवासको स्वामित्व छैन । अर्थात् विश्वका प्रख्यात व्यवसायी कम्पनीहरूले केवल प्रविधिको प्रयोग गर्छन् र डिजिटल प्रविधिको माध्यमबाट उपलब्ध सबै सामग्रीको व्यापारमा आमूूल परिवर्तन गर्दै राष्ट्रिय र विश्व अर्थतन्त्रको आकारप्रकारमै परिवर्तन ल्याइदिन सफल भएका छन् ।
डिजिटल इकोनोमीका कारण आगामी दिनका क्रियाकलाप अनुमान गर्नै नसकिनेखालको बनाइदिएको छ । डिजिटल वल्र्डमा भएको विकासको प्रवृत्तिको आँकलनविना कुनै पनि व्यवसायको र अर्थ व्यवस्थाको भविष्य आँकलन गर्न नसकिने भएको छ । अबको कामको भविष्य विगतको जस्तो हुने छैन । कार्यालयहरू कार्यालय परिसरबाट हैन, प्रविधिको सहारामा अनलाइन प्लेटफर्मबाट सञ्चालित हुनेछन् । महामारीको प्रकोपको सामना गर्न भौतिक हैन, अनलाइनको माध्यम प्रभावकारी बन्न पुगेको छ । परिवर्तित यो परिवेशमा आगामी दिनका दिनचर्याको निर्धारण गर्न, आगामी व्यवसायको स्वरूप अवलम्बन गर्न र आगामी दिनको जीवन पद्धति बदल्न पनि डिजिटल इकोनोमीले उत्प्रेरित गरिरहेको छ ।
कृषिमा डिजिटल इकोनोमी :
डिजिटल कृषि भनेको खेतदेखि उपभोक्तासम्म कृषि उत्पादनलाई संयोजन गर्न प्रयोग गरिने डिजिटल टेक्नोलोजी नै कृषिमा डिजिटल इकोनोमीको प्रभावका रूपमा बुझ्न सकिन्छ । यी प्रविधिले कृषि उद्योगलाई प्रविधि, उपकरण र सूचनाको माध्यमबाट उत्पादकत्वमा वृद्धि गर्न सकिने कुरा सहज अनुमान गर्न सकिन्छ । यस तथ्यलाई मध्यनजर गर्दै धान दिवसका अवसरमा हिलो छ्याप्ने र किसानसँग सुकिलामुकिला मानिसको लैबरी आजको आवश्यकता हैन, बरु डिजिटलाइज धान उत्पादन र यसको उत्पादकत्वमा गुणात्मक वृद्धि आजको खाँचो हो ।
कृषिमा डिजिटल प्रविधि परिचालनको माध्यमबाट डेनमार्कजस्तो सानो मुलुकले चीनजस्तो विशाल जनसङ्ख्याका लागि गोरुको मासु सप्लाई गर्न मन्जुर भएको छ । यसैगरी, नर्वेजस्तो सानो मुलुक संसारभर आफ्नो लोकप्रिय उत्पादन साल्मन्ड माछाको आपूर्ति गर्न भ्याइनभ्याई छ । अस्टे«लियाको सानो सहर भिक्टोरियाका किसानले अस्ट्रेलियाको खाना र फाइबरको निर्यातको एकतिहाइ योगदान पु¥याउँछन् । भिक्टोरियाले उत्पादन गरेको खानाको माग बढ्नका लागि सेट गरिएको छ किनकि विश्वको जनसङ्ख्या आगामी केही वर्षमा नै विश्वको जनसङ्ख्यामा वृद्धि भई सात अर्बबाट बढेर लगभग १० अर्बमा जान्छ भन्ने प्रक्षेपण जनसङ्ख्याविद्हरूको छ । सोबमोजिमको खाद्य उत्पादन पनि हुन अनिवार्य छ । अनुसन्धानहरूले बताएअनुसार विश्वको आधा जनसङ्ख्या खानाका रूपमा भात खान्छ । अहिले यो सङ्ख्या साढे तीन अर्ब छ भने जनसङ्ख्या वृद्धिको आगामी वर्षमा धानको माग स्वतः बढेर जाने कुराको अनुमान गर्न सकिन्छ ।
धानमा प्रविधिको प्रयोग :
धान रोप्न पानीको जरुरत पर्छ । नेपालजस्ता आकाशे वर्षाको भरमा रोपाइँ गर्नेका लागि प्रविधिको प्रयोगका विविध आयाम हुन सक्छन् । जलवायु परिवर्तनका कारण बढेको तापमान, यसैको प्रभावस्वरूप वर्षा बान्कीमा आएको परिवर्तन, अत्यधिक र बारम्बार चरम मौसमी दुर्घटनामा भएको बढोत्तरी र पानी उपलब्धतामा भएको कटौतीजस्ता समस्याले किसान मारमा परेका छन् भने धान खेतीले सङ्कट भोगिरहेको छ । यस्ता सङ्कटको सामना गर्न धान खेतीका लागि प्रविधिको उपयोगमार्फत किसानलाई सूचना उपलब्ध गराउने र उपयुक्त प्रविधि र साधनको प्रयोगका लागि उत्प्रेरित गर्ने कुरा गर्न अब ढिला गर्नुुहुँदैन । डिजिटल टेक्नोलोजीसँग किसानलाई जानकार बनाइराख्ने र आइलाग्ने चुनौती सामना गर्ने क्षमता र विकासको अवसर लिन सक्ने सक्षमता प्रदान गर्ने दायित्व पनि हरेक जिम्मेवार सरकारको हो । समस्या केवल किसानको मात्र होइन । उपभोक्ता उनीहरूले किनबेच गरेका उत्पादनका बारेमा सूचना र प्रविधिको माध्यमबाट जानकार हुँदै छन् । तिनीहरू उच्च गुणस्तर र दिगो रूपमा उत्पादन गरिएको खाना र फाइबरको माग गर्छन् र उनीहरूका उत्पादन कहाँबाट आउँछन् भन्नेबारे बढी जानकारी राख्न चाहन्छन् । डिजिटल टेक्नोलोजीले कृषि उत्पादनमा सुधार गरिएको उत्पादनको खपत गर्न सक्षम छन् भन्ने सुनिश्चित गर्न, उपभोक्ताका लागि सन्तुष्टि प्रदान गर्न र किसानका लागि उचित मूल्य प्रदान गर्न राज्यहरू सक्षम छन् भन्ने प्रमाणित गर्न पनि ढिला भइसकेको छ ।
हामी कृषि प्रविधिमा अनुसन्धान गर्न, अनुसन्धानबाट प्राप्त नतिजालाई सार्वजनिकीकरण गर्न र जनताको पहुँचमा पुराउन राज्यहरू दृढसङ्कल्पित छन् भन्ने प्रमाणित गर्न पनि जरुरी भएको छ । डिजिटल टेक्नोलोजीसँग किसानलाई परिचित गराउन र कृषि क्षेत्रमा आएका चुनौती सामना गर्ने क्षमता छ भन्ने सुनिश्चित गर्न पनि सरकार चुक्न हुँदैन ।
अन्त्यमा :
डिजिटल इकोनोमीसँगै डिजिटल कृषि लगानी योजना आरम्भ गर्न जरुरी छ । यसका लागि डिजिटल प्रविधिको माध्यमबाट कृषिको अनुगमन, मौसमको अनुगमन, माटो परीक्षण र तदनुकूलको परियोजना विकास सो परियोजना कार्यान्वयनका लागि आवश्यक पुँजी र प्रविधिको व्यवस्थापन र सोका लागि उत्प्रेरणा, परिवर्तित मौसमको भविष्यवाणीका आधारमा कृषिमा आधुनिकीकरणसहितको प्रविधियुक्त कृषि उत्पादनको आरम्भविना धान दिवस मनाउनुको कुनै अर्थ हुने छैन । उत्पादन र बजार व्यवस्थापनका साथै उपभोक्ताको उपभोगको प्रवृत्तिको पहिचान गर्दै सोबमोजिमको उत्पादनको व्यवसायीकरण गर्नतर्फ पनि किसान र राज्यका जिम्मेवार निकायको ध्यान केन्द्रित हुन सके असार पन्ध्र र राष्ट्रिय धान दिवसको औचित्य साबित हुनेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)