डा. अतीन्द्र दाहाल
अहिले अधिकांश प्रमुख राजनीतिक दलहरूमा महाधिवेशनको सघन चर्चा छ । महाधिवेशन दलको शक्ति हात पार्ने र आफूलाई दलभित्र अनि बाहिर स्थापित गर्ने औपचारिक माध्यम पनि हो । सत्तासिन नेकपा, प्रतिपक्षी नेपाली काँग्रेस, क्षेत्रीय राजनीतिलाई प्राथमिकतामा राखेको जनता समाजवादी पार्टी सबैमा आगामी महाधिवेशनको व्यग्रता उच्च छ । सत्तासिन दलमा त शक्ति हस्तान्तरणको उक्त औपचारिक अनि वैधानिक पद्धतिलाई पर्खने धैर्यसमेत गुमाएको देखिनेगरी नेतागणबीच पदकेन्द्रित कचहरी, असह्य बेचैनी, आग्रहपूर्ण लफडा र छटपटी देखिन्छ । राजनीतिक इमानदारी अनि सौहार्द संवाद छाडेर पत्रयुद्धको लज्जाजनक अवस्थासमेत चल्दै छ । पद र शक्तिका लागि सबै नेताहरू विभिन्नखालका गणितको अभ्यासमा हुनुहुन्छ । औसत आयु ६९ रहेको देशमा हरेक पार्टीको शक्तिका लागि उत्साही र आकाङ्क्षी अधिकांश यो उमेर समूह हाराहारी अथवा माथिका हुनुहुन्छ । माक्र्सवादी अमेरिकी विश्लेषक नोम चोम्स्की यस्तो अवस्थालाई प्राविधिक हिसाबले मृत मानिसको शासन भनेर उपमा दिनुहुन्छ ।
अर्कोतिर वैकल्पिक शक्तिका रूपमा उदाउन खोजेको भन्नेहरूमा पनि राजनीतिक परिपक्वता अनि देश निर्माणको भिजन (दृष्टि) भने खासै देखिँदैन । केवल पुराना शक्तिहरूले कार्यसम्पादन गर्न सकेनन् भन्ने आग्रह र रोषले मात्र उनीहरूको औचित्य निर्माण हँुदैन । यद्यपि, नागरिकले केही नयाँ चाहेका छन् भन्ने कुरा अविवादित सत्य हो । पुरानै प्रक्रिया र सोचले राजनीतिलाई सशक्त नबनाउने भएकाले नयाँ देश निर्माणार्थ ऊर्जाशील शक्ति आवश्यक रहेको तर्क भने अकाट्य बन्दै छ । तसर्थ, अब सबै पार्टीहरूले आफ्नो अस्तित्व बलियो बनाउन वैकल्पिक सोच भएका ऊर्जाशील नयाँ पुस्तालाई दलभित्र स्थापित गर्नुपर्छ । विगतको अन्योल, विश्व अभ्यास र नागरिकका आशा निराशाका प्रत्येक अवयवहरू केलाउँदै परिवर्तनका लागि अब युवा नेतृत्वको अर्थ र यथार्थ बुझ्नुपर्छ ।
अर्थ र यथार्थ
विगतमा अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति, बेलायतमा ड्याभिड क्यामरून ४३ वर्षमा प्रधानमन्त्री, गणतन्त्र कङ्गोमा जोसेफ काबिला ३० वर्षमा राष्ट्रपति बन्नुभयो । सन् १७८३ माविलियम पिट २४ र १९०४ माजोन वास्टन ३७ वर्षमा बेलायती प्रधानमन्त्री हुनुहुन्थ्यो । अधिक अर्थ सामाजिक परिवर्तनका वाहक भएका लोकप्रिय अमेरिकी राष्ट्रपतिद्वय रूजभेल्ट ४२ र रेगन ४३ मा सत्तासिन हुनुभयो । विकास नमुनामा एउटा अलग सिद्धान्त नै प्रतिपादन गरेकी थ्याचर ५४ मा बेलयाती प्रधानमन्त्री बन्नुभयो । टोनी ब्लेयर ४२ मा प्रधानमन्त्री हुनुभयो । सन्ना मरिन (३४) फिनल्यान्डमा प्रधानमन्त्री, नायव बुकेले
(३९) सल्भादरको प्रधानमन्त्री, जसिन्दा अर्डेन (४०) न्युजिल्यान्डकी प्रधानमन्त्री, इम्यानुएलम्याक्रो (४२) फ्रान्सको राष्ट्रपति यस शृङ्खलाका वर्तमान उदाहरणहरू हुनुहुन्छ । ती देशहरूमा औसत आयु ८० माथि छ । जीवनको मध्य समय र सशक्त ऊर्जा भएकाहरूको नेतृत्व रहँदा फरक सोच, जाँगर, क्षमता प्रस्फुटित हुन्छ । ऊर्जावान समयमा देशका लागि उच्च रचनात्मक योगदानको अभिप्राय तथा अभ्यास सम्भव रहन्छ । स्टेफन बक्लेयीको पुस्तक ‘द प्राइममिनिस्टर एन्ड क्याविनेट’ले भन्छ– युवाको सघन वर्चस्व तथा नेतृत्व भएको राजनीति गतिशीलमात्र हैन, सकारात्मक अनि उत्पादकसमेत देखिन्छ । जनसेवाका अनुपम क्षमता, सोच, अठोट अनि नागरिक समर्थन पनि रहन्छ । अफसोस यहाँ युवालाई राजनीतिले आकर्षण गरिरहेको छैन । लजर हेम्सको पुस्तक ‘प्रेजिडेन्ट, पाइममिनिस्टर एन्ड चान्सलरस’ले पश्चिमा प्रजातन्त्रमा युवा र प्रौढहरूको नेतृत्वको तुलनात्मक विवरणसहित त्यसको विवेचना गर्छ । अब दलहरूले पनि युवाको बाहुल्य रहने राजनीतिक अभ्यास गर्नु स्वागतयोग्य हुनेछ । प्रधानमन्त्री केपी ओलीले भन्नुभएको नयाँ पुस्तामा शक्तिको हस्तान्तरणले राजनीतिलाई बढी उत्पादक बनाउँछ ।
राजनीतिमा विभिन्न सेवा÷समूहका विज्ञ मानिसको संलग्नता अर्को सकारात्मक कदम हो । विकासोन्मुख गतिविधिहरूको सघनतालाई प्राविधिक ज्ञानको पर्याप्तताका लागि राजनीतिमा विभिन्न क्षेत्रका विज्ञ मानिसको पदार्पण आवश्यक छ, विश्वइतिहासमा यस्ता प्रशस्त उदाहरण छन् ।
न्युयोर्कमा सन् २००० का प्रख्यात मेयर माइकल ब्लुम बर्ग, इटालीका सिल्भियो बर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युईएईका खालिफा बिनजायद अलनायन व्यापार र उद्यमका क्षेत्रबाट राजनीतिमा आएर सफल हुनुभयो । विज्ञानमा ग्य्राजुएटेड भारतका ११औँ राष्ट्रपति अब्दुल कलाम एरोनेटिक अनुसन्धानको जागिर छाडी राजनीतिमा लाग्नुभयो । सन् १९९१ कारूसी राष्ट्रपति बोरिस योल्तसिन निर्माण कम्पनीमा संलग्न हुनुहुन्थ्यो । फ्राङ्कलिन डी रूजभेल्टमा पत्रकारिता अनि कुनै बेला मिन्नोसोट्टाका गभर्नर जेसस भेन्तुरामा फिल्म निर्देशनको गहिरो अनुभव थियो । अमेरिकाको राजनीतिक अभ्यासमा पछिल्लोपटक वकिलको सङ्ख्या अधिक छ ।
आर्थिक विकासमा द्रुत गति लिएका चीन, जापान, कोरिया, भियतनाममा प्राध्यापक विद्वान्हरूको सघन राजनीतिक संलग्नता देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान क्रिकेटको अनुभवसँगै राजनीतिमा आउनुभएको हो । युक्रेनका बक्सिङ खेलाडी भित्ली क्लक्स अनि लाइबेरियाका फुटबल टिम प्रमुख जर्जवोयको राजनीतिक पदार्पणसमेत राम्रै भएको थियो ।
जे ब्लोन्डेलको पुस्तक ‘वल्र्ड लिडरस’ले निष्कर्ष दिन्छ कि कुनै अन्य पेशागत क्षेत्रमा विज्ञ अनुभवी मानिस राजनीतिमा आउँदा कम्तीमा दुईवटा फाइदा हुन्छ । उनीहरूले आफ्नो जीविकोपार्जनका लागि देशको ढुकुटी दुरूपयोग गर्नुपर्दैन अनि उनीहरूसँग आफ्नो क्षेत्रको द्रुतत्तर अभिवृद्धि गर्न प्रशस्त अनुभव र कौशल रहन्छ । तसर्थ, विभिन्न क्षेत्रबाट चामत्कारिक पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ । नेपालमा पनि सोच समुन्नत राष्ट्रको, समृद्धि फाउन्डेसन, प्रबुद्ध सङ्घलगायतले यस्तो बहस चलाउँदै छन् । दलहरूले राजनीतिमा पुस्तान्तरणका प्रयासको भूराजनीतिक आवश्यकता र वास्तविकतालाई गहिरिएर मनन गर्नुपर्छ ।
वास्तविकता र आवश्यकता
अब पुरानै सोच र पद्धतिबाट दलहरूले औचित्य स्थापित गरिराख्न सहज छैन । राजनीतिमा नयाँ विवेकको उच्च आवश्यकता छ । विश्राम लिनुपर्ने उमेर समूहका मानिसले निरन्तर, पटक–पटक अनि अवैधानिक हिसाबले शक्तिमा आशक्ति देखाउँदा र बाँकी पुस्ता निष्क्रिय बन्दा दलीय शक्तिहरूको महŒवसमेत क्षीण हुनेछ । देशको सामु सकारात्मक परिवर्तनको योजना तथा जनताका समस्या हल गर्ने अठोट र अभ्यास भएका युवालाई दलले नेतृत्वमा सहजीकरण गर्नुपर्छ । ‘बुढ्यौली र नेृतत्व’ शीर्षकमा शोधार्थीद्वय क्यार्थिन रोजिङ र फ्रान्जिका जनम्यानको अनुसन्धानमा विभिन्न देशका ७७ प्रतिशत सहभागीले युवा नेतृत्व नै सक्षम तथा विश्वासिलो भनेका छन् । यहाँसमेत वैकल्पिक शक्तिकोमा होल निर्माणमा अभिरुचि देखाएका केही दलहरूले विकासका लागि युवाको नेृतत्व भन्ने नारा तय गर्न थालेको देखिन्छ ।
आज हाम्रानजिकका छिमेकीहरू उदीयमान अर्थतन्त्र भइसके । सन् १९८० ताका हामीभन्दा चार गुणा कमजोर आर्थिक अवस्था भएको थाइल्यान्ड आज हामीभन्दा चार गुणा मजबुत छ । जापानको मुद्रा विनिमय स्तर पछिल्लो २० वर्ष झन्डै १० गुणा सबल भएको छ । कोरियाको अवस्था अनुकरणीय छ । कतार तथा साउदी अरेबियाका देशहरूका विकास हाम्रा लागि ईष्या गर्नलायक छन् । त्यहाँको विकासलाई मानवनिर्मित स्वर्ग भनिन्छ । छिमेकी चीन र भारत दुवै विशाल महŒवाकाङ्क्षी व्यापारिक परियोजना लिएर आएका छन् । एसियाका अधिकांश देशहरूले राजनीतिक विविधताका बाबजुद दु्रत आर्थिक विकास गरे । आज उनीहरू संसारका सामरिक शक्ति बने ।
हामीले हेयपूर्वक भन्ने विहार आज भारतमा नमुना अर्थत्रन्त बन्दै छ । सिङ्गापुर सुवर्ण छ तर हामी झन्झन् समस्यामा फस्दै छौँ । युवाजति सबै हतार–हतार खोरिया र खेत बेचेर कोरिया अनि कतार जाँदै छन् । हुनेखाने युरोप र अमेरिका लाग्छन् । नागरिकले अबको नेतृत्व यस्तो खोजी गरेका छन् कि उनीहरूसँग यो चरम निराशा चिर्दै युवामा आशा जगाउने र देशकै माटोमा पसिना बगाएर पौरख खन्याउन उत्प्रेरित गर्ने क्षमता होस् । कम्तीमा १० वर्षभित्र औसत आय पाँच हजार डलर र औसत आयु ८० बनोस् । रोजगारी प्रत्याभूति होस्, शिक्षाले चेतना र कौशल सिकाओस् । नेताले नौतिकता देखाऊन् । गरिबी, बेरोजगारी, अन्याय, अत्याचारजस्ता शब्दहरू इतिहासको पाद–टिप्पणीमा थन्किऊन् । विप्रेषणमा नभई, आफ्नै सामथ्र्यमा अर्थतन्त्र धानियोस् । देशभर कलकारखाना खुलून्, मागेर हैन, कमाएर खान सकियोस् । राज्यका कर्मचारी नागरिकप्रति सहयोगी बनून् । भ्रष्टाचारमुक्त सूचीमा १३६ औँबाट पहिलो १० मा परोस् । देशका प्रत्येक क्षेत्रमा आर्थिक प्रगति र सामाजिक जिम्मेवारी उच्च बनोस् । यस्ता सपना सम्भव बनाउने ल्याकत राख्ने युवाले अब दलभित्र नेतृत्व स्थापित गर्नुपर्छ ।
युवालाई नेतृत्व जिम्मा दिएर उपल्लो पुस्ताले मार्गदर्शन र आशीर्वाद दिँदै अभिभावकीय अथवा सल्लाहकारको मात्र भूमिकामा रहनुपर्छ । नयाँ सोच र शक्ति निर्माण गर्ने अभ्यास नगर्ने हो भने अब नागरिकले यी दल तथा त्यसका सबैलाई बिस्तारै बिर्सनेछन् । पछुताउनुपहिले पुनःनिर्माणको अभ्यासमा लाग्ने अठोट राख्नुपर्छ । अब हस्तान्तरणमात्र हैन, पुस्तान्तरण सबै दलको राजनीतिको प्रधान अभ्यास बन्नुपर्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)