डा. अतीन्द्र दाहाल
हरेक परिस्थितिसँग मिलाउन वरिष्ठ अर्थशास्त्री, दार्शनिक वा राजनीतिज्ञ भन्दै बहुधारमा चिनाइने हस्ती कार्ल मार्क्सले सन् १८६७ देखि १८८३ बीच ‘दास क्यापिटल’ नामक पुस्तकका तीन शृङ्खला लेखे । उनले १८४८ मा लेखेको ‘कम्युनिस्ट मेनिफेस्टो’ शीर्षकको राजनीतिक घारणा–पत्र विश्वभर चर्चित भयो । भौतिक सम्पत्तिलाई मानिसबीचको अन्याय, शोषण, दमनको कारण बताए । अडाम स्मिथले १७७६ मा ‘वेल्थ अफ नेसन’ लेख्दै आर्थिक–भौतिक सम्पन्नतालाई देशको सबलता सम्झन्थे । सम्पत्तिमाथि मार्क्सले विरोध र स्मिथले मोह देखाए । विपरीतार्थक यी दुवै अवधारणाले मानिसलाई भौतिक सम्पन्नता र धनको खास महत्त्व हुने आभाष दियो । फलस्वरूप आममानिसले अद्भुत शान्ति, बन्धुत्व अनि भाइचारा बिर्सदै सम्पत्ति मोहमा फस्ने प्रचलन समाजको स्थायी परिचय बन्यो । सर्वहारामा समर्पित भनिएका थुप्रै साम्यवादी आन्दोलनको उत्कर्ष यहीँनेर शिथिल र स्खलित बन्दै सम्पत्तिमा अन्त्यहीन मोहको विकास भयो ।
सम्पत्ति मोहको विकास
आदिम सभ्यता अथवा ‘प्रिमिटिभ कम्युनिजम’मा सबैबीच सहकार्य थियो । मानिसमा स्वार्थ थिएन, वर्गविहीन उक्त समाजमा मानवबीच पुरापुर समानता र एकता थियो । जङ्गली युगमा भएका थुपै्र असहजता तथा अभावका कारण मानिसहरू विस्तारै खेतीपातीमा लागे । परिवारको विकास भयो, स्वार्थसँगै सामीप्य बढ्यो । निश्चित मानिसले खेती गर्न जग्गा जमिन कब्जा गर्दै बाँकीलाई खेताला बनाए । वर्गको बीजारोपण भयो, स्वार्थ र फाइदा/बेफाइदा हेर्न थालियो । औद्योगिक क्रान्तिसँगै कोही मालिक र अरू मजदुर भए । आज प्रविधिको आधिपत्यबाट अधिक मानिस निकम्मा हुँदैछन् । हेबु्र विश्वविद्यालय जेरुसलमका प्राध्यापक युवल नोभा हरारीले प्रख्यात दुई पुस्तक ‘सेपियन्सः ए ब्रिफ हिस्ट्री अफ ह्युमन काईन्ड’ र ‘होमो दिअसः ए ब्रिफ हिस्ट्री अफ टुमरो’मा मानिसको सम्पत्ति तथा स्वार्थमा आधारित अनियन्त्रित यात्रा अनि अन्धकार उन्मुख भविष्यको कहालीलाग्दो वर्णन गरेका छन् ।
मार्क्सले सम्पूर्ण अन्याय–अत्याचार तथा सामाजिक द्वन्द्वको आधार भौतिक सम्पत्ति रहेको भन्दै सम्पत्तिको क्षयीकरण गर्नुपर्नेे भन्थे । तर तत्कालीन समयका केही सम्भ्रान्तको भौतिक अधिकतालाई भत्काउन उत्पे्ररणा दिने माक्र्सको दर्शनले बाँकी सामान्य मानिसमा अथाह धन कमाउने अनियन्त्रित र उत्कट अभिलाषा थोपरिदियो । भौतिक सम्पत्ति र आर्थिक सम्पन्नताको तृष्णा अतृप्त रूपले जागृत गराइदियो । निषेधित भनिएको कुरामा मानव चासो झन् सघन हुँदा मार्क्सवादको सान्दर्भिकता यहाँ नराम्ररी चुक्यो । तसर्थ सर्वहारा भन्ने नेताहरूमा सर्वभोगी बन्ने दौडाहा चल्यो र मार्क्सवादको सिद्धान्त तथा उपयोगिता घोर असामान्जस्यमा फस्यो ।
असामान्जस्य वर्तमान
कुनै–कुनै प्रस्तुतिमा भन्न नखोजेको कुरा चाहिँ बढी प्रमाणित हुन्छन् । दार्शनिक फ्रेड्रिक नित्सेले भगवान्को अस्तित्व नकार्दै हेरक कुरामा विज्ञान संवत् कारणसँगै वैज्ञानिक र सिलसिलेवार प्रमाण हुन्छन् भन्ने बुझाउन एउटा किताबमा ‘द गड इज डेड’ भनेर लेखे । तर अरू थुपै्रले व्याख्या गरिदिए ‘भगवान् हुँदैन भन्नेले भगवान् मरे भनेर किन लेख्नुपथ्र्याे ? त्यसैले ऊ भगवान् थियो भन्ने सम्झन्छ र मान्छ ।’ यस्तै, नियतिको अर्को चरणमा मार्क्सवादको सिद्धान्त अनि आजको मानव जीवन पर्दैछ ।
मार्क्सले धनको कारणले वर्गविभेद भएको बताउँदै बुजुर्वाहरूको धन खोस्नुपर्ने बताए । यद्यपि, उनले भनेजस्तो वर्गविहीन समाज कहिल्यै बनेन, बरु वर्गका नयाँ–नयाँ धार बने । केही लेखकले त उनको सोचलाई युटोपिया अथवा काल्पनिक रामराज्यसमेत भने । १९७० को दशकको संसारमा निकै लोकप्रिय कम्युनिजम आज पाँच देशमा खुम्चदैछ । सर्वहाराका नेता भनिने नै सर्वभोगी हुँदैछन् । साम्यवादी देशका प्रमुख नै संसारका धनाढ्यहरूको सूचीमा पर्छन् । साम्यवाद त साम्राज्यवादउन्मुख चरित्रमाथिको नरम लेपन हुँदैछ । २०२० को ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्याङ्कअनुसार शून्य भ्रष्टाचार मूल्याङ्कनमा नेपाल ३३, रुस ३० र उत्तरकोरिया १८ मात्र अङ्क ल्याउँदै संसारमा उच्च आर्थिक भ्रष्टाचार हुने देशमा गनिन्छन् । चीनमा वर्षैपिच्छे हजारौँलाई भ्रष्टाचारको कसुरमा मृत्यदण्ड दिएका समाचार बाहिरिन्छन् । यी सबैको कारण सम्पत्ति मोह नै हो ।
मार्क्सवादले सबै मानव समान हुने कल्पना गरायो । यसले कहिल्यै कसैलाई खुसी बनाएन । मानव स्वभावैले अरूभन्दा विशिष्ठ बन्न र फरक हुन चाहन्छ । भौतिक सम्पन्नता र व्यक्तिगत स्वतन्त्रता रोज्ने मानिसका स्वाभाविक प्राकृतिक अपरिवर्तनीय विशेषता हुन् । भलै नागरिकले सङ्र्घषबाट अनि नेतृत्वले गैरन्यानिक तथा अनैतिक दोहनबाट गर्लान् । मार्क्सवादले धनप्रतिको मानिसको मोहलाई व्यवस्थित बनाउनेभन्दा तिरस्कार गर्न खोज्यो । नेतृत्वले अधिक राम्रो काम गर्ने र उक्त अनुपम कार्यको उत्कृष्ट श्रम लिने भन्ने वैधानिक अभ्यासको सट्टा निरपेक्ष समर्पण र त्यागलाई महत्त्व दियो । प्रेम, सामीप्य तथा मायाजस्ता मानिसका जैविक गुणलाई व्यवस्थित गर्नेभन्दा बन्देजको नीति बोक्यो । तसर्थ, बाहिर–बाहिर सिद्धान्तप्रति ताली पिट्नेहरूमा नै भित्रचाहिँ त्यसको अस्वीकार्यता बढ्दै गयो । मार्क्सवादी अनुसरणको कटाक्ष गर्नेहरूले यदि कसैले मार्क्सवादमा विश्वास गर्छ भने उसको बिहे गरिदिनु, त्यसपछि विश्वास गर्दैन भन्थे । अझ एउटा मानिस २५ वर्ष नपुग्दासम्म कम्युनिस्ट भएन, अनि २५ वर्ष पुगेपछि पनि फेरि कम्युनिस्ट नै भइरह्यो भने ऊ स्वस्थ र सन्तुलित मानिस भए/नभएको परीक्षण गर्नुपर्छ भनिन्थ्यो । मानिसले मार्क्सवादलाई त्यो तहमा अनुपयोगी देखाउने गर्थे । सायद त्यसैको आत्मसात्ले होला साम्यवादी नेताहरू प्रजातान्त्रिक खेमाका भन्दा धेरै अझ व्यापारी र उद्योगीभन्दा धनी बन्ने कुराको विरासत नै बन्न थाल्यो ।
मार्क्सले औद्योगिक समाजको आधारमा बनाएको अवधारणा धेरै ठाउँमा मेल खाँदैन । अहिले उद्योगभन्दा सेवा, प्रविधि र मनोरञ्जनको व्यापार बढ्दो छ । समाजमा केवल दुई वटा मात्र वर्ग छैनन् । सबै सर्वहाराबीच न त एकता सम्भव छ, न त विद्रोहको शक्ति । उद्यमशीलताको पनि मूल्य हुन्छ, जसलाई उनले नजरअन्दाज गरे । सदाकाल पुँजी र प्रजातन्त्रको विरोध गरे पनि मार्क्स स्वयंले पुँजीवादी मित्र एङ्गल्सको सहयोगमा जीवन बिताए । आफ्नै देशले निकाला गर्दा प्रजातन्त्रको जननी बेलायतमा शरण लिए । स्वयं मार्क्सकै जीवन र सिद्धान्तमा अनुपालन थिएन ।
मार्क्सले महत्त्व दिएको धनकै कारण मानिस भौतिक सम्पन्नताको तृष्णामा नैतिक र अनैतिक कामसमेत गर्न हिचकिचाउँदैन । आर्थिक सम्पन्नताका लागि सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक रूपमा क्षयीकरण हुँदैछ । सामाजिक सद्भाव, सदाचारिता, आपसी सहयोग, एकतामा खलल पुग्दैछ । मार्क्सवादी नेताहरू नै भौतिक सम्पन्नतालाई मुख्य लक्ष्यमा राख्छन् र भ्रष्टाचारको अग्रपङ्क्तिमा भेटिन्छन् । सबैको ध्येय अवाञ्छित आर्थिक लाभ गर्नु हो । सन् १९६७ बाट १९९८ सम्म इन्डोनेसियाका राष्ट्रपति रहेका महम्मोद सुर्हातो लगभग ३५ अर्ब डलर भ्रष्टाचार गरेकामा दण्डित भए । २०१२ मा फिजीका पूर्व प्रधानमन्त्री लाइसेनिया क्वारिजलाई भ्रष्टाचारवापत जेल चलान गरियो । ब्राजिलमा भएको एक घोटालामा २०१२ मा त्यहाँका शक्तिशाली नेता जोस डिरेकु दण्डित भए । २०१२ मा नै क्रोएसियाका पूर्वप्रधानमन्त्री इभो सनादर १० वर्षका लागि जेल पठाइए । केही पहिले इजरायलका पूर्वप्रधानमन्त्री इहुद अर्लमर्टलाई ६ वर्षको जेल सजाय भयो । हामीकहाँ भ्रष्टाचारीको फेहरिस्त सायद निकै लामो बन्छ । व्यापारी व्यावसायी, पेसाकर्मीलगायत सबैको एउटै र अन्तिम ध्येय कुनै पनि तवरले धन आर्जन गर्र्नेे बन्दैछ । कन्ज्युमरिष्ट इकोनोमीको यो समयमा मानिसको परिचय उसको काम अनि कर्तव्यपरायणता नभई उसले उपभोग गर्ने बजारी सेवासुविधाको आयतनमा मापन गरिन्छ । यसमा माक्र्सवादको वकालत गर्ने नेतृत्वकै जोडबल सबैभन्दा तेज गतिको बन्दैछ र सिद्धान्तको तेजोबध हुँदैछ ।
सिद्धान्तका पुस्तक निलेर अनावश्यक तर्क/विर्तक ओकल्नमा माक्र्सका विचारहरू कैद हुँदैछन् । यसका प्रशिक्षार्थीहरू हरेक ठाउँमा समस्या देखाउन, प्रत्येक पक्षमा अत्याचार र शोषण देख्न उकासिन्छन् । आफ्नो काम निपूर्णता र इमानदारिता साथ समाजको भलाइको निमित्त सम्पादन गर्नेभन्दा अरूको विरोध गरेर आफूलाई राम्रो ठान्ने प्रवृत्तिमा रमाउँदैछन् । समृद्धिको स्वदेशी सङ्कथनलाई छाडेर भड्किला बहसमा उत्रने चलन बढ्दैछ । यथार्थमा मार्क्सवाद मिसन कम र फेसन बढी बन्दैछ । आफूले न्यायोचित आर्जन गरेर होइन, अर्काको हडपेर वा अरूलाई शोषण गरेर वा राज्यको अनुचित दोहनमार्फत सम्पत्तिमा आधिपत्य जमाउने अभ्यास बढ्दैछ । मजदुर र मालिकका अनेकन रूप देखिँदैछ र शोषण आर्थिक मात्र नभएर मनोवैज्ञानिकसमेत बन्दैछ । सम्भ्रान्तबाट भएको शोषणमा मुक्ति खोज्नेभन्दा आफू पनि सम्भ्रान्त भएर अरूलाई शोषण गरी रमाउनेतिर समाज धकेलिँदैछ । मार्क्सवादको व्याख्या गर्ने नेतृत्व स्वयंले त्यसको नयाँ रेकर्ड राख्दैछ । मार्क्सका सिद्धान्तहरू असफल र असन्तुलनतिर उन्मुख मात्र देखिएनन्, प्रायः औचित्यहीन भइसके । अब मार्क्सवादी सान्दर्भिकताको पुनर्व्याख्या र फरक प्रयोगको अभ्यास आवश्यक छ ।