logo
२०८१ मंसिर ८ शनिवार



विकासको मौलिक मार्गचित्र

सफल राजनीतिको प्रमुख ध्येय नै आर्थिक राष्ट्रवाद बन्नुपर्छ

विचार/दृष्टिकोण |


विकासको मौलिक मार्गचित्र


डा. अतीन्द्र दाहाल

लामो राजनीतिक अस्थिरता र सङ्क्रमणको अन्त्यपछि पछिल्लो केही समययदेखि विकास मात्र सबै नागरिकको एउटै अपेक्षा बनेको छ । अपेक्षित विकास हुन नसकेमा निराशासँगै गुनासाहरू व्यापक छन् । प्रत्येक सरकारले देशको विकासमा आफूले सक्दो प्रयास गरेको दाबा गर्ने प्रचलन एक सामान्य तर स्थायी विशेषता नै बन्दैछ । यद्यपि विकास भनेको केवल ठूला घर, घना सहर, सिमेन्ट अनि रडको जङ्गल र फराकिला सडक मात्र होइनन् । आत्मस्वाभिमान, नागरिक संस्कार तथा विचारको सशक्तीकरण विकासका पछिल्ला प्रतिपादित सिद्धान्त भित्र उत्तिकै महìवपूर्ण सूचक मान्न थालिएको छ । देशको आवश्यकता र क्षमताअनुसार गर्नुपर्ने थुप्रै कार्यसूची होलान् तर प्राथमिकता अनि आम उपयोगिताको स्तर समेत फरक हुन सक्छ । आर्थिक राष्ट्रवाद र नागरिक जीवनमा अमनचयनको निरन्तर उन्नयन राज्यको अन्ततः उद्देश्य बन्नुपर्छ । हालसालै सेवा, उत्पादन, वातावरण अनि रीतिरिवाजको सन्तुलित प्रतिविम्बन विकासको नयाँ स्वरूपसमेत प्रतिपादन हँुदैछ । अकल्पनीय विश्वव्यापी महामारी, विराट भूमण्डलीकरण, वातावरणीय विनाश, पर्यावरणीय परिवर्तनजस्ता अन्तर्राष्ट्रिय समस्याविरुद्ध कतिपय देश सशक्त संयुक्त प्रयाससमेत गर्दैछन् । यद्यपि पछिल्लो दशक राजनीतिमा आफैँ पहिलो भन्ने भाव संसारभर सर्वाधिक बलियो देखिँदैछ ।

पछिल्ला अमेरिकी निर्वाचनहरूमा ‘अमेरिका पहिलो’ अवधारणाको लोकप्रियता चुलिँदो छ । ‘आफैँ पहिलो’ लाई मुख्यमन्त्र बनाउँदै बेलायत ‘इयु’बाट बाहिरियो । अस्ट्रेलियाका प्रधानमन्त्रीबाट हरेक सवालमा ‘अस्ट्रेलिया पहिलो’ को नीतिको पक्षपोषण भएको सुनिन्छ  । चीनले ‘बीआरआई’ अनि भारत, जापानले संयुक्त पहलमा ‘एएजीसी’ तथा क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलियाको संयुक्त समूह)ले इन्डोप्यासिफिक नामक परियोजनामा काम गर्दैछन् । यस्ता सबै कदमको उद्देश्य आफ्नो देशको सशक्तीकरण र सफलता हो । वर्तमानमा त्यस्तो सफलता विश्वका हरेक देशको अद्वितीय अविछिन्न खोज बन्दैछ ।
विकासका आयतन र मापक सूचाङ्कहरू देशअनुसार फरक पर्न सक्छ । आर्थिक विकास, गरिबी निराकरण, बेरोजगारी नियन्त्रण, पूर्वाधारको विस्तार तथा विविधीकरण हाम्रा तत्कालका आवश्यकता र अपेक्षाहरू हुन् । आम नागरिकको हितसँगै सभ्य र भव्य समाजसहितको उच्च लोककल्याणकारी राज्य निर्माण विकासका अभियान्ता एवं प्रतीक्षार्थी दुवैको मानसपटलमा निर्मित स्वर्णिम चित्र हो । यद्यपि विकासको प्राप्तिका लागि रामो चित्रसँगै अनुपम राजनीतिक र नागरिक चरित्रसमेत निर्माण हुनुपर्छ । स्वनिर्मित आर्थिक उन्नयन र सभ्यतामुखी नागरिक संस्कार निर्माण विकासका प्रधान आवश्यकता हुन् ।

स्वनिर्मित विकास
आधुनिक प्रजातन्त्र भनेकै विकास प्रजातन्त्र भएकाले सामरिक विकासको खातिर सघन स्वनिर्मित आर्थिक उन्नति हुनुपर्छ । सफल राजनीतिको प्रधान ध्येय नै आर्थिक राष्ट्रवाद बन्नुपर्छ, अरूको भरमा कुनै देशको आर्थिक विकास सम्भव र दिगो हँुदैन । हाम्रो वर्तमानका दुवै मुख्य आर्थिक चरित्रहरू वैदेशिक रोजगारी अनि सहयोग अन्नत र दिगो असल अभ्यास हुन सक्दैन  । यसलाई हामीले व्यवस्थापन मात्र होइन विस्तारै प्रतिस्थापन गर्नुपर्छ । ‘लार्ज स्केल माईग्रयान्ट्स एण्ड रेमिट्यान्स इन नेपाल’ शीर्षकमा प्रकाशित विश्व बैङ्क शोधले संसारभरका लगभग दुई सय ३२ मिलियन वैदेशिक कामदारमध्ये ठूलो सङ्ख्यामा नेपालीहरू रहेको बताउँछ । विप्रेषण पराधनिताको सूचीमा ताजकिस्थान र गणतन्त्र किरगिजपछि नेपाल तेस्रो स्थानमा छ । लगभग ५० लाख युवा अरूको देशको समृद्धिमा अहोरात्र श्रम खर्च गर्दैछन् । त्यस उर्वरा यही भूमिमा सिञ्चित भए सुखद सौभाग्य बन्थ्यो । दुर्भाग्य, वैदेशिक रोजगारीले सामाजिक, आर्थिक, नैतिक, यौनिक, चारित्रिक विचलनताले समाजलाई गाँज्दैछ ।

विदेशिएकाहरूको आम्दानीसमेत उतैबाट उत्पादित विलासिताका आरामदायी सामानको क्रयमा सकिन्छ । उत्पादनसँगै आम्दानी पनि विदेशीकै बढ्दैछ, हामीचाहिँ वैदेशिक श्रमसाधन खपत गर्दैछौँ । विभिन्न काम गर्दैरहेका झन्डै २० लाख नागरिकबाट भारतले विप्रेषण स्वरूप नेपालबाट सातौँ ठूलो रकम लैजान्छ । परिणाममा हाम्रो अर्थतन्त्र झन् जीर्ण बन्दैछ । पछिल्लो २० वर्षमा निर्यात घट्दै गएर बढ्दो आयातले असहज परनिर्भरता चुलिँदैछ  ।
सन् १९५४ मा प्रतिव्यक्ति १५.६ अमेरिकी डलरको वैदेशिक सहायता गएको ७० वर्षमा तीन सय गुणाले बढ्दै आज झण्डै तीन सय अमेरिकी डलर छ । वैदेशिक सहायताको ऋण प्र्रतिव्यक्ति २० हजार रुपियाँ आसपास छ । वैदेशिक निर्भरताले स्वनिर्मित आर्थिक विकास, स्वउत्पादनको सोच, आन्तरिक एकता, सामाजिक संस्कृति तथा सद्भाव अनि मानवीय ऐक्यबद्धतासँगै अधिकार स्थापनामा गम्भीर नकारात्मक असर पार्दैछ । दाताको स्वार्थ सर्वोपरि बन्दा साना मुलुकहरू सार्वभौमिकता कमजोर हुँदै गएका अनेक अध्ययन भएका छन्  । जर्ज म्यासनको पुस्तक ‘डुइङ ब्याड बाई डुइङ गुड’ले वैदेशिक सहायताका स्वदेशी असरहरूलाई राम्रैसँग पस्कँन्छ । ड्यामसिया मोयोको पुस्तक ‘डेड एड’ले वैदेशिक सहायतालाई देशको स्वाभाविक र मौलिक विकासको विरुद्धमा सुस्त विषको संज्ञा दिँदै प्रमाणस्वरूप अफ्रिकाका असङ्ख्य देशको उदाहरण राख्छ । करित तीन सय खर्ब डलरभन्दा बढी वैदेशिक सहायता आइसके पनि अफ्रिकाका विभिन्न देशहरू झन् विपन्न र जर्जर बन्दैछन् ।

स्वनिर्भर विकास नै अब्बल मार्ग हो । व्यावसायिक कर्जाको सुनिश्चितता साथ कृषिको व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ । रोजगारी वितरणमा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ । व्यावसायिक सोच र रोजगारीको व्यापक अभिमुखीकरण गर्नुपर्छ । पूर्वाधार विस्तारले विकासको जग खान्छ । पर्यटन विकासको आधार भए पनि कोरोनाका कारण सुस्ताएको छ । स्वदेशी वस्तुको उपभोगमा जोड दिँदै श्रमको सम्मान गर्नुपर्छ । निर्यातमुखी उद्यममा जोड दिनुपर्छ । बहुमुल्य खनिजको उत्खनन र उपभोगमा जोड दिनुपर्छ । हामीकहाँ पाइने युरेनियमको मात्र उत्खननको सम्भावना छ । स्वनिर्मित आर्थिक विकासलाई सशक्त बनाउने कार्यदिशा अब छोड्नु हुन्न ।

नागरिक संस्कार
अहिले नागरिकमा पनि जिम्मेवारी निर्वाह गर्नेभन्दा अरूको कमजोरी देखाउँदै गाली÷गलौजमार्पmत आत्मरति अनुभव गर्नेे होडबाजी चल्दैछ । सरकार विरोधी र नकारात्मक मनोविज्ञान हाबी छ । सदैव अरूका कार्यसम्पादनमाथि गलत प्रचारबाजी गर्ने र सामान्य मानवीयता प्रदर्शन गर्नसमेत चुक्ने समाजलाई संस्कारी कसरी भन्ने ?
वैदेशिक रोजगारीमा जानेले शुल्क तिर्नु नपर्ने भएकोमा वैदेशिक रोजगारी व्यवसायीको विरोध गुञ्जन्छ । बजार अनुगमनमा व्यापारीको अवरोध आउँछ । नयाँ र प्रगतिमूलक शिक्षा नीतिमा शैक्षिक क्षेत्रका सङ्घसंस्थाको रोदन देखिन्छ । प्रगतिशील चिकित्सा–शिक्षा विधेयकमा चिकित्सकको अनि सवारी नियमनमा बस व्यवसायीकै विरोध हुन्छ । सामाजिक सञ्जालमा कुन्ठा, क्रोध र कटाक्षहरूको विस्फोटन हुन्छ । यहाँ सबैलाई नागरिक भलो र सामाजिक कल्याणभन्दा अनुचित हिसाबले आफ्नो फाइदा र स्वार्थ प्राप्ति प्रिय बन्दैछ । प्राचीन दार्शनिक अरस्तुको पुस्तक ‘पोलिटिक्स’ अनुसार नेता र समाजको बनावट नागरिक संस्कारमा आधारित रहन्छ । खराब नागरिकको बहुमतले खराब नेता नै जन्माउँछ । त्यसैले, अब विकासको व्यग्र प्रतीक्षामा रहेको नागरिकले समेत नयाँ सत्चरित्र निर्माणमा ध्यान दिनुपर्छ ।

सेवाकर्मी, व्यवसायी, पेसाकर्मी, समाजसेवीलगायत सबै प्रकारका काममा संलग्नहरूले समाजको विकास र नागरिक हितलाई शिरोपर राख्ने संस्कार आजको आवश्यकता हो । केवल अरूलाई सल्लाह÷सुझाव दिने भन्दा आफ्नो कार्यशैली र कार्यक्षेत्रको सुधारमा समय आवश्यक छ । घर मात्र ठूला र सफा होइन, बाटासमेत त्यस्तै बनाउन सहयोग गरौँ । राम्रो शिक्षा चाहनेले शिक्षणलाई मर्यादित र सम्मानित हिसाबले हेरौँ । सरकारी शिक्षामा सुधार आवश्यक छ र त्यसैगरी सरकारी अस्पतालमा पनि । त्यहाँको सेवालाई सम्मान दिने गरी सुधारेर देखाऔँ । परिवर्तित समाज चाहनेले परिवर्तन आफूबाटै हुनुपर्छ । सन्ततिलाई त्यही सिकाऔँ । शक्ति होइन, सत्यता रोजौँ । अरू मात्र सही अनि कर्तव्यनिष्ठ भए÷नभएको खोज्नुसट्टा आफूसमेत सही र चरित्रवान बन्न थालौँ ।
सरकारी तथा सार्वजनिक पदमा रहेकाले सेवाग्राहीलाई विश्वसनीय, सहज तथा सुलभ सेवाप्रवाह गरौँ, सेवाग्राही प्रताडित होइन कि प्रभावित बनोस् । निर्माण व्यवसायीले गुणस्तरीय संरचना बनाऔँ । राज्यका हरेक अङ्गमा कार्यरत प्रत्येक अधिकारीले नागरिकबाट अगाध आस्था र प्रशंसा आउने गरी कार्यसम्पादन गरेर देखाउनु जरुरी छ । सञ्चार जगत्ले सूचनासँगै सम्भावना देखाउने हो । सबैले आफ्ना कामलाई जीविकापालन तथा जागिर मात्र नभई देश निर्माणसँग जोडिऔँ । सतत्कर्मीय श्रमकोे सम्मान र बेइमानीको बहिस्कार गरौँ । विविध शोधहरूले पछिल्ला केही दशकदेखि विशेषत चीन र जापानमा यस्ता अलौकिक र अनुकरणीय नागरिक संस्कारको विकास उच्च रहेको देखाउँछन् ।

प्रसिद्ध शास्त्रीय दार्शनिक कन्फुसियस भन्नुहुन्थ्यो,‘‘ अरूलाई पढ्ने ज्ञानी हुन्छन् तर आफूलाई पढ््नेहरू चाहिँ अन्र्तयामी हुन्छन् ।’’ सुधारले मात्र समृद्धिकोे गन्तव्यमा पुिगन्छ । नागरिकले समेत अरू मात्र सु्ध्रिएको हेर्न चाहनुभन्दा आफ्नै संस्कार, व्यवहार तथा आचरण सुधार्दै सचेतना र सतकर्म अभिवृद्धिमा लाग्नुपर्छ ।
सबैको साझा र प्रमुख आशा बनेको विकास सरकारले दिने अनि नागरिकले निःसर्त लिने उपहार होइन बरु विकासमा सबै नागरिक सरकारका सहयात्री र सारथि बन्नुपर्छ । सरकारलाई स्वनिर्मित अविछिन्न आर्थिक विकासको प्रयासमा उत्पे्ररित गराउँदै नागरिकबाट सभ्यतामुखी आमसंस्कार निर्माणको प्रयासका सुमिश्रणबाट मात्र विकासको अभ्यासको सार्थक सुरुवात हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?