logo
२०७९ असोज १६ आईतवार



आसन्न भारत भ्रमणबाट भरोसा

भ्रमणबाट हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, बजार तथा व्यापार विस्तारलाई बढाउने प्रयास गर्नुपर्छ

विचार/दृष्टिकोण |


आसन्न भारत भ्रमणबाट भरोसा


डा. अतीन्द्र दाहाल
प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । विभिन्न कारणले गर्दा भ्रमणको उच्च चर्चा साथै पृथक् अलौकिक महत्व पनि छ । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । त्यसो त सन् २०१४ अगस्टमा पहिलोपटक नरेन्द्र मोदी भारतमा सुविधाजनक बहुमतसहित प्रधानमन्त्री निर्वाचित हुनुभएपछि उहाँबाट चार पटक नेपालको भ्रमण भइसकेको छ ।

सन् १९४७ बाट राज्यस्तरीय रूपमा औपचारिक सम्बन्धसँगै आपसी दूतावास स्थापना अगावै नेपाल–भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक अनि व्यापारिक हिसाबले घनिष्ठ सम्बन्ध थियो । उपहारको आदानप्रदान र भ्रमणसमेत हुन्थे । भारतबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिकलगायतका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त छ । भारतको स्वतन्त्रता अनि हाम्रो प्रजातन्त्र स्थापना र सबलीकरणका अभ्यासमा एकअर्काप्रति आवश्यक सहयोग पनि भएको हो । यस्तो हितकर मित्र र प्रगाढ पारस्परिक सम्बन्ध भएको देशमा भ्रमण हुनु स्वाभाविक हो र निरन्तर रहनुपर्छ । यस्ता भ्रमण बहुआयामिक हुनुपर्छ अनि देशको हितलगायत अन्तर्राष्ट्रिय जगत्मा पहिचान तथा परिचयको एक आयाम बन्नुपर्छ ।

यो केवल छिमेकी मित्रराष्ट्रको भ्रमणमात्र होइन, संसारको सबैभन्दा ठूलो प्रजातन्त्र र एक उदीयमान सामरिक शक्तिसम्पन्न देशको भ्रमणसमेत हो । विविध आयाममा विश्व सर्वेक्षण गर्ने विख्यात पत्रिका फोब्र्सले अहिले चीनका वर्तमान राष्ट्रपति सी जिनफिङ्पछि क्रमशः भ्लादिमिर पुटिन, जो बाइडेन, एन्जेला मर्केल हुँदै मोदीलाई ९ आँै शक्तिशाली व्यक्ति देखाउँछ । संसारका शक्तिशाली मानिसको सूचीमा भारतका प्रधानमन्त्रीहरूमा सबैभन्दा माथि पुग्ने व्यक्तिसमेत स्वयं मोदी नै हुनुहुन्छ । तसर्थ यो भ्रमण छिमेकी प्रधानमन्त्रीसँगै विश्वका एक शक्तिशाली व्यक्तिको सादर निमन्त्रणामा आयोजित भ्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रथम प्रधानमन्त्रित्वसँगै छिमेकीहरू साथमा लिएर विश्व शक्ति बन्न चाहेको आशय देखिन्थ्यो । शपथ समारोहमा सबै सार्क सदस्यलाई निम्त्याइयो । लगत्तै २०१४ जुन १५ मा भुटानबाट शुरू भएको मोदीको विदेश यात्राले तीव्र रफ्तार लियो । भारतीय सरकारी तथ्याङ्कले आमन्त्रित औपचारिक र अन्तर्राष्ट्रिय सभा सम्मेलनका विषयमा समेत गरी नरेन्द्र मोदीबाट ६२ देशमा झण्डै ११३ भ्रमण भएका देखिन्छन् । ३६ देशमा एक, १५ देशमा दुई, तीन देशमा तीन, चार देशमा चार, तीन देशमा पाँच र एक देशमा सात भ्रमण भएका छन् । उत्तिकै सङ्ख्यामा र पुनरावृत्तिमा अन्य देशका उच्च पदाधिकारीहरूलाई भारत भ्रमण गराइएको छ । अन्तर्राष्ट्रिय स्तरमा बलियो सम्बन्ध र उपस्थितिका लागि भारतले सकेको प्रयास गर्दैछ । पछिल्लो परिवर्तित विश्व अवस्थाका कारण अरू देशसँग नयाँ आयमको सम्बन्ध स्थापित गर्र्न यस्ता भ्रमण निमन्त्रणाको निरन्तरता भारतको एक रणनीतिक अभ्याससमेत हो । हामीले पनि उक्त सदाशयता र सौभाग्यलाई भरपुर सदुपयोग गर्दै भ्रमणलाई देशको भलाई अनि हितकेन्द्रित बनाउन यथासम्भव प्रयास गर्नुपर्छ ।

भलाइ केन्द्रित पक्ष
पछिल्लो दशक चीन नयाँ आर्थिक शक्ति भएर आक्रामक रूपमा उदायो । अब विगतमा जस्तो विश्वयुद्ध नभई देशहरूबीच व्यापार युद्ध हुने भनेर विश्लेषकहरू ‘थुसिडाइड ट्रयाप’को सम्भावना देखाउँदैछन् । सन् २०१७ मा प्रकाशित माइकल ए ग्राहामको पुस्तक ‘डेस्टाइन्ड फर वार ः क्यान अमेरिका एण्ड चाइना इस्केप थुसिडाइड ट्रयाप’ले समेत यस्तै प्रक्षेपण गर्छ । चीन प्रक्षेपित अति महत्त्वाकाङ्क्षी व्यापार योजना बीआरआई जस्तै उद्देश्यसहित असमानान्तर व्यापार प्रगतिका लागि भारतले पनि ‘एसिया–अफ्रिका ग्रोथ कोरिडोर’, ‘नर्थ–साउथ ट्रेड कोरिडोर’ नामक उच्च महत्त्वाकाङ्क्षाका व्यापारिक परियोजना ल्याउँदैछ । सन् २०१६ नोभेम्बरमा भारतका प्रधानमन्त्री मोदी र जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेबीच यस्तो सत्सङ्ग भयो । लगत्तै विभिन्न स्तरका छलफलबाट ३० पृष्ठको अवधारणा पत्र बनाइयो । चीनको ओबर समिट लगत्तै भारतको गुजरातमा अफ्रिकन विकास बैङ्कको ५२ आँै वर्षगाँठ २५ मे २०१७ मा भारत र जापानका प्रधानमन्त्रीहरूबाट एएजीसी सार्वजनिक भयो ।

एएजीसीले भारत र जापानको संयोजनामा विकासमा सबै देशको विशाल साझेदारी कल्पन्छ । आफनो विकासलाई बिकाउन र टिकाउन नभई सबै देशको समानान्तर समृद्धि भन्दैछ । गुणात्मक संरचना निर्माण, अन्तरसम्बन्धको विकास, क्षमता अभिवृद्धि र जनता–जनताबीच सम्बन्ध प्रवर्धन मुख्य चार उद्देश्य छन् । विशेष परियोजना थालनी, कार्यालय स्थापना वा वित्तीय गतिविधिहरू शुरू हुँदैछन् । अवधारणालाई सुदृढ बनाउँदै केही ठोस परियोजना तत्कालै शुरू हुने भनिएको छ । जापानले परियोजना सफल पार्न उसको मुख्य नेतृत्वका एसियाली विकास बैङ्क र जापान इन्टरनेशल कोअपरेटिभ एजेन्सी (जाइकालाई) प्रयोग गर्दैछ । ती संस्थाको नियमित धनराशीबाहेक अतिरिक्त दुईसय अर्ब अमेरिकी डलर विनियोजित देखिन्छ । भारतले पनि छिट्टै नयाँ रणनीतिहरू सार्वजनिक गर्ने सुनिन्छ । समाजशास्त्री जीन बद्रिलार्डको पुस्तक ‘द सिमुलाक्रा एण्ड सिमुलेशन’ले कल्पनालाई सम्भाव्यताको आधार वा सशक्त सत्य मान्दछ । भारतले कल्पना गर्दैछ, एकदिन विश्व बजारमा उसको भव्य उपस्थिति हुनेछ ।

एएजिसीले एसिया र अफ्रिकाका ७८ देश समेट्नेछ । केही एसियाली देशहरूले उच्च आर्थिक वृद्धि गर्दै बाघ अर्थतन्त्र बने । हामीचाहिँ अझै अफ्रिकालाई भोकमरी र महामारीको देश सम्झन्छौँ । यद्यपि पछिल्ला तथ्याङ्कमा अधिकांश अफ्रिकी देशमा उच्च विकास देखिन्छ । इथियोपियाले केही समयदेखि १०, आइभोरीकोस्ट र तान्जानियाले नौ, रूवान्डाले र कङ्गोले आठ प्रतिशतको वृद्धि हासिल गर्दैछन् । एसिया र अफ्रिकामा द्रुत विकास छ, भारत र जापानको संयुक्त परियोजनाले यी सबल आर्थिक क्षेत्रलाई रोज्दैछ । सन् २०२५ सम्ममा योजनालाई निष्कर्षमा पु¥याउन ‘इन्डिया–जापान भिजन २०२५’ तयार गरिँदैछ । अमेरिका निर्देशित एसिया प्यासिफिक परियोजनासमेत यसमा मिसिँदैछ ।

मोदीको मेक इन इन्डिया नामक ब्यानरमा करिब २५ मुख्य योजनामार्पmत भारतले समृद्धि खोज्दैछ । गाडीदेखि कपडासम्मको अत्यधिक उत्पादन गर्ने, त्यो उत्पादनको वृद्धिले देशमा व्यापक रोजगारी सिर्जना गर्ने अनि उत्पादित वस्तुलाई विश्व बजारमा लैजाने उद्देश्य छ । आक्रामक व्यापार विस्तारकोे आकाङ्क्षामा भारतले अर्को सशक्त वाणिज्यमार्ग अनि क्षेत्र पहिल्याउँदैछ । इरान, काजकिस्तान हुँदै रूसको सेन्ट–पिटर्सबर्गसम्मलाई लक्ष्य गरेर ‘नर्थ–साउथ ट्रेड करिडोर’ नामक अर्को एकल योजना तयार पार्दैछ । उक्त योजनाहरूबाट सकेको व्यापारिक फाइदा लिनु नेपालका लागि लाभदायक हुनेछ । यस्ता भ्रमणबाट हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, बजार तथा व्यापार विस्तारलाई अधिक बढाउने कोशिस गर्नुपर्छ ।

भारत निकट भविष्यमा नै संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्य बन्न चाहँदैछ । त्यस्तो मत निर्माण गर्न छिमेकलगायत अरूलाई विश्वासमा लिनुपर्ने देखिन्छ । यस्ता थुपै नयाँ आवश्यकताले गर्दा भारतले आफ्नो नेपाल सम्बन्ध अझ परिस्कृत बनाउन चाहेको अवश्य हुनुपर्छ । आसन्न भ्रमणमार्पmत हामीले पनि कूटनीतिको नयाँ र अग्रगामी अभ्यास शिरोपर गर्नुपर्छ । फेरिएको परिस्थितिलाई फरक हिसाबले नै लिनुपर्छ र सोही अनुसार कुशल अनि निपुण हार्दिकता प्रदर्शन गर्नुपर्छ ।

कुशल हार्दिकता
भारतसँग असमान सन्धिहरू पुनरवलोकनको काम बाँकी छ । सीमा विवादहरू छन्, व्यापार घाटा उच्च छ । यस्ता कुरामा राष्ट्रिय स्वार्थ अभिपे्ररित हुनेगरी नयाँ सहमति लिने प्रयास गर्नुपर्छ । भारतीय लगानीका थुपै्र आयोजना अलपत्र छन् । पछिल्लो लगानी सम्मेलनमा घोषणा गरिएको सहयोग आइसकेको छैन । हुन त अरूको सहयोगले विकास र समृद्धि सम्भव हुँदैन तर जे प्रतिबद्धता गरिसकिएको छ त्यो ल्याएर देश तथा जनताको हितमा खर्च गर्नुपर्छ । सकेसम्म धेरै फाइदा लिन भ्रमणलाई उपयोग गर्नुपर्छ । यस भ्रमणले हामीलाई अन्तर्राष्ट्रिय सञ्चारमा स्थान दिनेछ । सम्बन्ध सुधारको स्पष्ट सन्देश जानेछ, भारतप्रति नेपालको सम्मानसमेत देखिनेछ । बलिया छिमेकीसँग दरिलो ओत अनि उसको माध्यम भएर अन्यसँग सघन उपस्थिति खोज्नुपर्छ ।

अन्तर्राष्ट्रिय कूटनीतिका हिसाबले पनि समुन्नत र समृद्ध नेपाल भारतको समेत एक अनिवार्य आवश्यकता हो । नेपाल र भारतबीच खुला सिमानाका कारण अस्थिर, असहज नेपाल हुँदा भारतविरोधी शक्तिहरूले नेपालबाट खेल्न सक्छन् । त्यसैले भारतले समेत नेपालको सुरक्षा, आर्थिक, राजनीतिक तथा अन्य सबलीकरणलाई सकारात्मक सहयोग गर्नुपर्छ । हामी पनि भारतको लागि उत्तिकै महŒवको रणनीतिक देश हौँ, भारत सातौँ ठूलो आयतनको उच्च विप्रेषण पठाउने राष्ट्र हाँै । भारतले सदैव गलत मोक्सद नै राखिरहन्छ भन्ने पनि छैन । माइक्रो म्यानेजमेन्टलाई त्यागेर फ्रेन्डली रेस्पोन्स गर्न चाहेको पनि हुनसक्छ । हाम्रा आवश्यकता, अडान र आधारहरू स्पष्ट पार्नुपर्छ । संविधानको भावना अनि नागरिक आत्म–सम्मानमा तथा छिमेकी सौहार्दता र हार्दिकतासमेत सबैको सन्तुलन हुने गरी यस भ्रमणले देशको अधिक भलाइलाई अझ मलजल गर्नुपर्छ । भ्रमण यसरी सम्पन्न होस् कि स्वाभिमान नझुकोस्, अभिमान नदेखियोस् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?