जुनारबाबु बस्नेत
धितोपत्र बजारलाई चलनचल्तीमा सेयर बजारका रूपमा चिनिन्छ । पुँजीको कारोबार हुने बजार हो यो । केही महिनादेखि नेपालीको पुँजी बजार प्रतिनिधित्व गर्ने सेयर बजार बुलिस ट्रेन्डतिर निरन्तरजस्तै अग्रसर भएको छ । गत बिहीबार छ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपियाँको कारोबार भयो । आइतबार छ अर्ब ९० करोड ६७ लाखको कारोबार भई नेप्से चार अङ्क भन्दा बढीले बढ्यो । नेप्सेले तीन दशकको इतिहासमै नयाँ कीर्तिमान कायम गर्दैछ । २०७६ फागुन ११ गते चार अर्ब ८४ करोड ७६ लाख रुपियाँको कारोबार भएको थियो । कारोबार उच्च भएको दिन नेप्से परिसूचक एक हजार ७७८.१३ पुगेको छ । यसले पुँजी बजार अब लगातार उचाइतिर जाने हो त ? पुँजी बजार उचाइमा जानेगरी अर्थतन्त्रका परिसूचकहरू पर्याप्त छन् ? भन्ने अनेक प्रश्न यतिबेला उठेका छन् । साना लगानीकर्ताको पुँजी बिग्रने डर पनि उस्तै छ ।
गत वर्षको अन्त्यमा देखिएको कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा विश्वभर फैलियो । सुरु भएको केही महिनामै विश्व अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्न थाल्यो । बन्दाबन्दीको प्रभाव प¥यो । युरोप, अमेरिका र अस्टे«लियाको अर्थतन्त्रलाई सबैभन्दा पहिलो प्रभाव पा¥यो । रोजगारी गुम्न थाल्यो । लगानीमा प्रतिकूल प्रभावमात्र परेन, बन्दाबन्दीलगायतका स्वास्थ्य मापदण्ड लागू भएपछि विश्वभर पुँजी बजार तल ओर्लन थाल्यो । बेरोजगारी बढ्यो भने उत्पादनमा प्रतिकूल प्रभाव प¥यो । नेपाल पनि अछुतो रहेन । सेयरका भाउ तल ओर्लिए ।
विश्व पुँजी बजारमा झन्डै ३० देखि ३५ प्रतिशतले सेयरको भाउ झ¥यो । विश्व अर्थतन्त्रको प्रभाव बिस्तारै दक्षिण एसिया पनि प्रभावित भयो । नेपाल झनै प्रभावित भयो । गएको फागुन (२०७६) १५ गते एक हजार ६३२ बिन्दुमा रहेको नेप्से परिसूचक तीन सातापछि चैत ९ गते एक हजार २५१ बिन्दुमा झरेको थियो । कोरोना त्रास बढ्दै गएपछि निरन्तर ओरालो लाग्यो । चैत ११ गते कोरोना भाइरसविरुद्ध लगाइएको बन्दाबन्दीसँगै मुलुकको पुँजी बजार पनि बन्धक बन्यो । झन्डै तीन महिना कारोबार भएन ।
तीन महिनापछि खुलेको पुँजी बजारमा आरम्भमा त्यति आकर्षण बढेको थिएन । असजिलो अवस्थासित जुध्न त्यसैअनुुरूपका नीति तथा रणनीतिको आवश्यक पर्छ । नेपाल स्टक एक्सचेन्जले त्यसअनुरूपको प्रयास अगाडि बढायो । नेप्से कारोबारलाई प्रविधिमैत्री बनाइयो । असारदेखि नै अनलाइन कारोबार सुरु भयो । लगानीकर्ताले घरमै बसेर लगानी गर्न सक्ने भए । घरबाटै लगानी गर्न सक्ने तथा कारोबार पनि हुन सक्ने भएपछि त्यसको प्रभाव बिस्तारै बजारमा देखिन थाल्यो । बजार बढ्न थाल्यो ।
गएको असार १५ गते तल्लो बिन्दुमा कारोबार पुगेको थियो । बन्दाबन्दी अघिभन्दा पनि तल पुगेको त्यस दिनको कारोबार एक हजार १८८.७१ बिन्दुमा रहेको थियो । प्रविधिमा सुधार आएसँगै बिस्तारै कारोबारमा सुधार हुन थाल्यो । लगानीकर्ताको विश्वास बढ्दै गयो । एक सातापछि असार २३ गते नेप्से परिसूचक एक हजार ३३६ बिन्दुमा पुग्यो । बन्दाबन्दीले अर्थतन्त्र थिलथिलो भएको थियो । समयमा बैङ्कको व्याजदर बुझाउन सक्ने अवस्था उद्यमी व्यवसायीको थिएन । चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटले केही सुधारहरूको मार्गचित्र अगाडि सा¥यो र त्यसका लागि नेपाल राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिले मार्गनिर्देश गर्ने आश्वासन थियो । बजेटसँगै मौद्रिक नीतिले उद्यमी तथा व्यवसायीलाई व्याज तिर्ने समयावधि थप ग¥यो ।
कोरोनाकै बीचमा पनि अर्थतन्त्रमा केही सुधार र विश्वासको वातावरण बन्दै गयो । अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन भयो । डा. युवराज खतिवडाले संसद् सदस्यको निरन्तरता नपाएपछि उहाँ कूटनीतिक सेवाको मार्गमा हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महासचिवसमेत रहनुभएका विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय सम्हाल्नुभएपछि अर्थतन्त्रले केही सहज अनुभूत गर्न थाल्यो । खासगरी पुँजी बजार चलायमान हुन थाल्यो । व्याजदर तल ओर्लन थाल्यो भने बजारमा लगानीयोग्य पुँजी तरलता थुप्रिन थाल्यो । झन्डै दुई खर्ब रुपियाँ पुग–नपुग तरलताले व्याजदर तल्लो बिन्दुतिर जानु स्वाभाविक थियो ।
पुँजी बजार लगातार बढ्नुमा तरलता र न्यून व्याजदर त हो नै तर त्यतिमात्र कारण छैन । विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरसविरुद्धको खोपप्रति जगाएको आशा पनि हो । अमेरिका तथा बेलायतमा विकसित खोपले ९० देखि ८५ प्रतिशतको सफलता हासिल गरिरहेका छन् । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको गलत नीतिले अहिले पनि कोरोना बढिरहेको विश्लेषण आइरहेको छ । निर्वाचनमा सोही कारणले ट्रम्पले पराजय भोग्नुप¥यो । डेमोक्रेटिक पार्टीका जोय बाइडेन विजयी भए पनि औपचारिक रूपमा ट्रम्पले पराजय स्वीकार गरिसकेको अवस्था छैन । आगामी सन् २०२१ को जनवरी २० देखि राष्ट्रपतिको पद हस्तान्तरण अघि धेरै औपचारिकताहरू बाँकी नै छन् तर बाइडेनको विजयले कोरोनाविरुद्धको लडाइँमा विश्वले चाँडै सफलता पाउने विश्वास बढेको छ । यसको प्रभाव सेयर बजारमा परिरहेको छ । पुँजी बजार आशा भरोसाकै लगानी हो । भविष्यमा राम्रो हुने आशाले नै मानिस मुनाफाका लागि पुँजी बजारमा लगानी गर्छन् । वर्तमानमा नराम्रो भए पनि भोलि राम्रो हुने आशाका लागि पुँजी बजार अगाडि बढ्छ । पुँजी बजारमा अहिलेदेखिको प्रवृत्ति त्यस्तै भएको ठम्याइ पनि छ । चार वर्ष अघिदेखि मुलुकको पुँजी बजार निरन्तर ओरालो लागेको थियो । गत वर्षदेखि पुनः माथि फर्किएको बजारलाई बीचमा कोरोना भाइरसको त्रासले फेरि तल झारेको थियो । नेपालमा मात्र होइन, विश्वभर नै बजार तल गएको थियो ।
लगानीको वातावरण नहुुँदा अर्थतन्त्रमा अनौठा प्रवृत्ति देखापर्छन् । महँगा धातु बजारमा लगानीकर्ताले पुँजी जम्मा पार्छन् । कोरोना भाइरसको प्रभाव बढेसँगै सुनको मूल्यमा चामत्कारिक रूपमा आकर्षण बढेको थियो । पेट्रोलियम पदार्थको भाउ नराम्ररी खस्किएको थियो । अमेरिकी डलरमा पुँजी राख्नेहरू बढेका थिए । खोप आउने आशासँगै एकै दिन प्रतिऔंस ८२ डलरसम्म सुनको भाउमा कमी आएको थियो । नेपाली बजारमा पनि प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य तल झरेर ९४ हजार रुपियाँ हाराहारीमा आइसकेकोे छ । लगानीका अन्य बाटोहरू खुल्दै जाँदा पहेँलो तथा सेतो धातुको बजार बढ्दैन ।
पुँजी बजार उकालोतिर जाँदै गर्दा सर्वसाधारण लगानीकर्ता भने सजग हुनैपर्छ । नेपाली अर्थतन्त्रका सबैजसो परिसूचक अहिले राम्रो अवस्थामा छैनन् । आर्थिक वृद्धिलाई मुद्रा स्फीतिले तल धकेलेको छ । निर्यात बढ्न सकेको छैन । औद्योगिक गतिविधि क्षमताको आधामात्र छ । खासगरी सेवा क्षेत्रको अर्थतन्त्रमा निकै प्रतिकूल प्रभाव परेको छ । पर्यटकहरूको सहज आवागमन सुनिश्चित हुन सकेको छैन । यातायात सेवा असाध्य धिमा गतिमा चलिरहेको छ । युरोप र अमेरिकामा नयाँ लहरको कोरोना फैलिरहेको छ । यस्तो बेलामा पुँजी बजारमा लगानी गर्नेहरूले अर्थतन्त्रको यथार्थ अवस्थामा विश्लेषण गरेरमात्र लगानी बढाउनुुपर्छ ।
नेपाली पुँजी बजारले अर्थतन्त्रको वास्तविकतालाई प्रतिनिधित्व गर्दैन भन्ने विश्लेषण पनि छ । यो अर्थतन्त्रका खास ऐना हुन सकेको छैन । सीमित ठूला लगानीकर्ताले कृत्रिम तवरले बजार बढाउने र घटाउने गर्छन् भन्ने विश्लेषण समेत गरिन्छ । सीमित लगानीकर्ताले बजारबाट ह्वात्तै सेयर उठाउने र भाउ माथि पुगेपछि ह्वात्त बजारमा केही भाउ कम गरेर सेयर छाड्ने प्रवृत्तिले साना तथा मझौला लगानीकर्ता मारमा पर्ने शङ्का छ । त्यसका केही उदाहरणहरू पनि छन् । विगतमा खासगरी बैङ्किङ क्षेत्रको सेयरमा त्यस्तो प्रवृत्ति देखिएको हो । अहिले पनि बैङ्किङ क्षेत्रको परिसूचक एक हजार ३२२ हाराहारीमा मात्र छ । विगत चार–पाँच वर्षदेखि लगानी गरिरहेका लगानीकर्ता अहिले पनि पुँजी डुबाएरै बसेका छन् । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएसँगै जलविद्युत् कम्पनीहरूको सेयरमा छाल आयो । तर, त्यसको सही विश्लेषण हुन सकेको छैन, हुनु जरुरी छ ।
भोलिको आशा ठिकै हो तर पुँजी बजारमा लगानीकर्ताले जोशमा होश राख्नु जरुरी छ । अर्थतन्त्र अझै सही दिशामा नरहेको अहिलेको अवस्थामा पुँजी बजारमा मात्र छाल आउँदा दुई माना दूध उम्लिएर एक पाथी भएजस्तो हुन्छ । सीमित ठूला लगानीकर्ता मालामाल हुन सक्छन् र आमसाना तथा मध्यम तहका लगानीकर्ता मारमा पर्न सक्छन् । सस्तो व्याजदरमा अल्पकालीन तरलतालाई व्यवस्थापन गर्न पुँजी बजार साधन बन्नुहुँदैन । एक÷दुई महिनामै ठूलो चलायमान हुने पुँजी बजारले आर्थिक स्थायित्वको सङ्केत गर्दैन । त्यसैले लगानीकर्तामा जोशसँगै संयम पनि वाञ्छनीय छ ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)