डा. अतीन्द्र दाहाल
विगत केही दिनदेखि छिटफुट सहरहरूमा देखिएको राजतन्त्रपक्षीय जुलुसको विषयमाथि सामाजिक सञ्जालमा फरक÷फरक चर्चापरिचर्चा देखिएका छन् । देशमा पुनः राजतन्त्रको अभाव र आवश्यकता महसुस भएको भनेर टीका–टिप्पणी गर्न हतार गर्नेहरूको जमघट पनि यदाकदा देखिन्छ । मानवीय चेतनाले कतिपय विषय अनि अवस्थामा फरक÷फरक दृष्टिकोण राख्नु स्वाभाविक एवम् अभिव्यक्ति स्वतन्त्रताको हकसमेत हो । शान्तिपूर्वक नारा जुलुस गर्नु संविधानप्रदत्त मानवअधिकारको उपयोग पनि हो । राजतन्त्रका सवालमा केही अपवादका सिद्घान्त तथा व्यवहार पनि नदेखिएका होइनन् । यद्यपि, प्रजातन्त्रको विकल्प राजतन्त्र हुन सक्ने र त्यसका लागि सडकमा नागरिकको समूह आउनुपर्ने भन्ने कुरा किञ्चित जायज हँुदैन र भएको छैन ।
अपवादका सिद्घान्त तथा व्यवहार
नेपालमा अभैm पनि राजतन्त्रको सम्भवना भएको आत्मरतिमा रमाउने एउटा सानो समूहका लागि तीनवटा अपवादहरूको सूची सन्दर्भ सामग्री बन्न सक्छ । विख्यात राजनीतिक चिन्तकदेखि दार्शनिकसम्मले यदाकदा राजनीतिमा असीमित र असामान्य सम्भावनाहरूको अवस्था रहन सक्ने भनेर दिएको अमूर्त तर्क सायद पहिलो रोमाञ्चकता हो । प्राचीन ग्रीक दार्शनिक अरस्तुले ‘अन पोलिटिक्स’ नामक पुस्तकभित्र सरकारका चक्रिय परिवर्तनको स्वरूप (क्लासिकल टाइपोलोजी) को व्याख्यामा प्रजातन्त्र निष्प्रभावी भएपछि राजतन्त्रको पुनःस्थापना हुने भनेको तर्क दोस्रो पक्ष हुन सक्छ । बिल्कुलै फरक राजनीतिक अवस्थाका परिणामस्वरूप ब्रिटेनमा सन् १६६०, स्पेनमा १९७८ र कम्बोडियामा १९९३ मा विस्थापित राजतन्त्रको पुनःस्थापना भएको अवस्था आत्मसन्तुष्टिको तेस्रो आधार होला ।
तर हाम्रो सवाल त्यति पर पुगेको छैन, गम्भीर कारणमा राजतन्त्रको अवशान भएको धेरै भएको छैन । अपवादबाहेक राजतन्त्रमा चाहिँ उल्लेख्य प्रगति भएको र देशले सफलता अनि समृद्घिको बाटो लिएको भन्ने थिएन । लोकतन्त्र समूल रूपमा अफापसिद्घ भएको अवस्था होइन, कुनै दिन त्यस्तो अवस्था आए पनि राजतन्त्र नभई परिष्कृत, उन्नत र पूर्ण प्रजातन्त्रमात्र त्यसको सही विकल्प हो ।
परिष्कृत विकल्प
प्रजातन्त्रमा पनि कहिलेकाहीँ समस्या देखिन सक्छ, नेतृत्व नचाहेरै चुक्न सक्छन् । हरेक अविकास वा कमजोर प्रगतिमा व्यवस्थालाई दोषी देखाउन सजिलो छ, यद्यपि यसका पनि आफ्नै सीमितता, अप्ठ्यारा अनि असहजता अवश्य र प्रशस्त हुन्छन् । देशमा एक राष्ट्रपति, एक उपराष्ट्रपति, एक प्रधानमन्त्री, केही मन्त्रीहरू, केही सय सांसद अनि राज्यकोषबाट बेतनभोगी केही हजार सरकारका सहयोगीहरू छन् तर नागरिकको सङ्ख्या त्योभन्दा हजारौँ गुणा बढी छ । जसको समूह ठूलो र आयातन फराकिलो छ, स्वभावैले उसले गर्नुपर्ने योगदान र निभाउनुपर्ने भूमिका पनि अनुपातिक हिसाबमा ठूलै हुन्छ । हरेक लोकप्रिय कुरा नै सत्य वा लाभदायकसमेत हुन्छ भन्ने छैन । उत्तेजित जोशले जकडेको भीडबाट वैधानिक लोकतन्त्रको विकल्प खोज्नु केवल भीडतन्त्र (मोबोक्रेसी) हो । यस्ता विषयमा कहिलेकाहीँ अनावश्यक राजनीतिकरण हुन सक्छ । गोटेनवर्ग विश्वविद्यालय, स्वीडेनमातहतको भिडेम इन्स्टिच्युटबाट सार्वजनिक पछिल्लो प्रतिवेदनले अत्यधिक विद्युतीयकरण (एक्सट्रिम डिजिटलाइजेसन) र विषाक्त तथा षड्यन्त्रमूलक राजनीतिकरण (टक्सिक पोलिटिसाइजेसन) लाई लोकतन्त्रका प्रमुख चुनौती भनेको छ । राजतन्त्रको पक्षमा हुने सानातिना प्रदर्शन यही अवस्थाका उपज हुन् ।
अर्कोतिर देशको समग्र समृद्घि तथा सभ्यता उन्मुख परिवर्तनचाहिँ नेतृत्वको कौशलसँगै आमनागरिक चरित्र तथा चिन्तनबाट अभिप्रेरित हुन्छ । नागरिकले समेत आफ्नो भूमिकामा व्यापक परिवर्तन र संशोधन गर्नुपर्छ । हामी अरू सबैलाई सल्लाह दिन र आलोचना गर्न व्यस्त रहन्छौँ तर आफ्नो काम गर्नचाहिँ जान्दैनौँ । यहाँ शिक्षक÷प्राध्यापकहरू आफ्नो काम छाडेर राजनीति गर्छन् र दोष सरकारलाई दिन्छन् । सरकारी वेतनधारी कर्मचारी आफू नागरिकप्रति असहयोग र सेवा प्रवाहमा सुस्तता देखाउँछन् तर कमजोरी व्यवस्थामा देख्छन् । देश बनाउन योगदान गर्नुपर्ने युवापुस्ता रैतीसरहको आत्मसम्मानविहीन जीवन बिताउन जुनसुकै हालतमा पनि विदेश भासिने कुरामा अलिकति पनि असहजता अनुभव गर्दैनन् तर आक्रोशचाहिँ लोकतन्त्रमाथि पोख्छन् । व्यापारी, व्यवसायी, पेशाकर्मी, समाजसेवीलगयात सबका सब यहाँ आफ्नो क्षेत्रलाई लथालिङ्ग छाडेर अरूलाई सुझाव दिन अथवा गणतन्त्रमाथि प्रायोजित विरोध गर्न उत्साहित रहन्छन् । यस्तो भड्किलो नागरिक समूह रहँदासम्म केवल व्यवस्थाको नाम लोकतन्त्र राखेकै भरमा चाहिँ अपेक्षित प्रगति गर्न सम्भव रहँदैन । व्यवस्था असफल भन्नेहरू सबैले आफूलाई र आफ्नो जिम्मेवारी भएको ठाउँ कति सुधार्न सकियो भन्ने आत्मसात् किन
गर्दैनन् ? व्यवस्थालाई उत्पादक वा अनुत्पादन बनाउन राम्रो व्यक्ति निर्माण गर्ने नागरिक भूमिका अहम् हुने कुरा किन गरिँदैन ?
खराब नेताको ठाउँमा राम्रो नेतामात्र प्रजातन्त्रको विकल्प हो । नैतिकवान अनि इमानदार नेतृत्व नभएको अवस्थामा त्यस्तो नेतृत्व कौशलको विकास नै प्रजातन्त्रको अनुपम आकर्षण हो । हामी बिरामी भएर अस्तपालमा गएको बखत चिकित्सकले राम्रो उपचार तथा शल्यक्रिया गर्न नसकेको महसुस भएमा त्यसको विकल्पका रूपमा गैरचिकित्सकीय अप्राविधिक अन्य मानिसको छनौट र खोजी गर्दैनौँ । कुनै पाइलटले हवाईजहाजलाई राम्रो उडान गराई यात्रुलाई सहज, भयरहित अनि सुरक्षित तवरबाट गन्तव्यमा अवतरण गर्न नसके उसको सट्टा कुनै बस चालकलाई करारमा लिने कुरा हुन सक्दैन । उसको अलावा अर्को दक्ष, अनुभवी र इमानदार अझै गुणस्तरीय पाइलटमात्र अदक्ष पाइलटको विकल्प हुन सक्छ । त्यस्तै राजनीतिकर्मीबाट अपेक्षित कार्यसम्पादन नभएको अथवा प्रजातन्त्रले आशातीत सफलता र नतिजा प्रदान गर्न नसकेको महसुस हँुदा त्यसको विकल्प राजतन्त्र कदापि हुन सक्दैन । आमाबाट कहिलेकाहीँ असल अभिभावकत्व प्रदान नभएमा उहाँको विकल्प सौतेनी आमा कहिल्यै होइन, भएकी आमालाई जिम्मेवार र मायालु बनाउनेमात्र हो । यथार्थमा, खराब नागरिकबाटै खराब नेताको जन्म हुन्छ । अधिकांश समय हामी नागरिक पनि नेतृत्वलाई आमसमुदायको अनि सम्पूर्ण जनसरोकारको भन्दा आफ्नो व्यक्तिगत अथवा परिवारका लागि लाभदायी हुनेमात्र काममा बढी प्रयोग गर्न खोजिरहेका हुन्छौँ । आफूलाई फाइदा हुने काम गर्दा सबै ठीक, नभए बेठिक देख्छौँ ।
सरकारभन्दा नागरिक जहिल्यै पनि उपल्लो स्थानमा हुन्छन् । प्रजातन्त्रको परिभाषा तथा भाषिक संरचना दुवैले जनतालाई प्राथमिकतामा राखेको छ । ‘डेमो’को अर्थ जनसङ्ख्या अनि ‘क्रेसी’ भनेको पावर अथवा शक्ति हो । अब्राहम लिङ्कनको परिभाषामा त जनताका लागि जनताले जनतालाई नै गर्ने शासन प्रजातन्त्र हो । यसरी हेर्दा सफल प्रजातन्त्रका लागि जनता सबैभन्दा बढी निर्णायक र प्रभावकारी देखिनुपर्छ । एउटा गलत कामको प्रत्युत्तर अर्को गलत कदम कदापि हुन सक्दैन । कुनै पनि अभिभावकले बिरामी परेको आफ्नो सन्तान अस्पतालमा लगेर त्यहीँ छाडी अर्को कोहीलाई टिपेर हिँड्छु र सन्तान सुखको आभास गर्छु भन्नु एक शानदार भ्रम अनि आपराधिक कर्म दुवै हुन्छ । आफ्नो अपनत्व भएको वैधानिक सन्तानलाई नै सकेसम्मको प्रयास लगाएर स्वस्थ बनाउँदामात्र सन्तोष मिल्छ, सङ्गतिपूर्ण पनि हुन्छ ।
प्रजातन्त्रमा कहिलेकाहीँ नेृतत्व कमजोर देखिन अनि अल्मलिन सक्छ । हाम्रो सवालमा पनि त्यस्तो भएको छ । आन्तरिक टकराबले सत्तासीन तथा प्रतिपक्ष दुवै दल केही हदमा ग्रसित भएको कुरा सर्वज्ञात छ । नेतृत्वले नागरिक अपेक्षाका काममा जोडबल तथा अतिरिक्त प्रयास गर्नुपर्ने स्पस्ट छ । यद्यपि, अब त्यसको विकल्प अर्कै तन्त्र भन्ने होइन । यही तन्त्रको उपचार र परिष्कृत अभ्यासचाहिँ यसको विकल्प हो । प्रजातन्त्र जति नागरिकलाई अधिकार तथा महŒव दिने, सार्वभौमसत्ता सुम्पने अन्य कुनै व्यवस्था नै छैन । फुटबल खेल्न मैदानमा उत्रिएका खेलाडीले तोकिएको समयभित्र कुनै समूहबाट पनि गोल भएन, खेल त नसकिएलाजस्तो छ, कुनै पनि नतिजा आएन भनेर खेल टुङ्ग्याउन अनि नतिजा दिनकै लागि आफ्नै पोस्टमा गोल हान्न सुहाउँदैन । प्रजातन्त्रको विकल्पमा अन्य तन्त्रको वकालत यस्तै आत्मघाती कदम हुनेछ । विजयका लागि खेलाडीले अझै राम्रो खेल्नुपर्छ, प्रशिक्षकले राम्ररी प्रशिक्षित गर्नुपर्छ । आफू हारेर अरूलाई जिताउने अभिप्राय (म्याच फिक्सिङ) जानी‐नजानी आफैँलाई धोका अनि देशमाथि समेत बेइमानी हो । घर चुहियो भने छाउनुपर्छ, भत्काएर सडकमा सुत्ने अस्वाभाविक बहुलठीपना देखाउनुहँुदैन ।
राम्रा, असल अनि अभैm इमानदार नेतृत्व निर्माणमा जोड दिनुपर्छ, अरूले गर्न नसकेको भए त्यस्तो आँट र विश्वास भएको नागरिक पङ्ति अगाडि आउनुपर्छ । शक्ति हस्तान्तरण र पुस्तान्तरणको समेत अभ्यासमा लाग्नुपर्छ । वैकल्पिक नेतृत्व तयार हुनुपर्छ । प्रजातन्त्रलाई नै सर्वाधिक हितकारी र परिणाममुखी बनाउन नागरिकले समेत नेृतत्वलाई दबाब अनि सहयोग बढाउनुपर्छ । प्रजातन्त्रको विकल्प केवल उच्चतम, उन्नत अनि परिष्कृत प्रजातन्त्रमात्र हो, अन्य व्यवस्था होइन ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)