logo
२०८१ जेष्ठ ७ सोमवार



तातो हुन खोज्दा चिसिएला

विचार/दृष्टिकोण |




डा. प्रकाश बुढाथोकी

हिउँदको चिसोबाट जोगिन घरकोठा तातो पार्न खोज्दा काठमाडौँ गोकर्णेश्वर–२, नयाँपाटीमा गत हप्ता बिहान दोर्जे शेर्पाको परिवारमा एकै परिवारका तीन सदस्यमध्ये महिना दिनकी सुत्केरी २७ वर्षीया पेम्बासहित दुई जनाको मृत्यृ भयो भने एक घाइते भए । राति हिटर र कोइला एकसाथ बालेर सुतेका कारण यस्तो दुर्घटना भएको बताइँदै छ । विगतमा राजधानीको कपनमा दुई युवा कोठा न्यानो पार्न बालिएको बायोबिक्रेटबाट निस्केको ग्यासले निस्सासिएर मृत्यृवरण गरे । सुकेधारामा एक महिलाको बाथरुममा नुहाउँदा मृत्यु भयो । नगरकोटको होटलमा दुई चिनियाँ नागरिक मृत अवस्थामा पाइए । पार्टी प्यालेसमा जेनेरेटर चलाएकै कोठामा सुतेका दुई कामदारको मृत्यृ भयो । नेपालमा शङ्कास्पद सीओ (साइलेन्ट किलर) अर्थात् मौन हत्याराका कारण मृत्यु हुने सयौँ भए पनि तथ्याङ्कले वार्षिक तीन दर्जन देखाउने गरेको छ ।
बढेको चिसो मौसमले इन्फ्लुयन्जा, क्षयरोग र निमोनियाजस्ता सरुवा रोगका बिरामी बढेका छन् । क्षयरोगका जीवाणु मात्र नभई श्वासप्रश्वास र सम्पर्कबाट सर्ने अनगिन्ती रोगहरू भीडभाडमा सर्छन् । जब चिसो सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगासमेत राम्रोसँग लगाउन नपाउने गरिब जनता त्यसैमा अझ बूढाबूढी, बालबालिका र महिला वर्गका लागि चिसो
अभिशाप बन्दछ ।
लामो समय भाइरल लोड बढी हुने, नाक, मुख र घाँटीका कोषिकाहरू सुक्खा रहने भएकाले भाइरस फैलिनसक्ने चिसोमा देखिने फ्लु, निमोनिया, ब्याक्टेरियल सङ्क्रमणले कोभिडमा थप जटिलता निम्तिन सक्छ । झ्यालढोका बन्द गरी गुम्सिएर बस्ने समूहमा हिटर, आगो ताप्दै गफिने, रोग प्रतिरोधात्मक क्षमतामा कमीले कोरोना जटिल र मृत्युवद्र्धक बन्नसक्छ । बालबालिका, वृद्धवृद्धा, प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगी विशेषतः मुटु र दम रोगीलाई चिसोले सताउने भएकाले त्यसैमा कोभिड सङ्क्रमण भए झन् खतरनाक हुनसक्छ ।

किन र कसरी
जाडोमा तातोको सहारा लिनका लागि प्रयोग गरिने धूमपान, मद्यपान, आगो ताप्नका लागि बालिने हिटर तथा झ्यालढोका बन्द गरी मकल बाल्दा हुने क्षति ठूलो छ । बिजुली (हिटर), कोइला, दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सँुघ्न र महसुस गर्न सकिँदैन, त्यो कार्बन मोनोअक्साइड हो जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा पनि भनिन्छ । बिनाकुनै सङ्केत र लक्षण कसैको ज्यान लिनसक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ । सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटु, श्वाससम्बन्धी, रगतको कमी भएका बिरामी, गर्भावस्था, गर्भका शिशु र वृद्ध पर्दछन् । सीओ ग्यास सामान्यतः सही रूपले बल्न नसकेको स्टोभ, हिटिङ सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा पाइन्छ । ग्यास गिजरमा पानी तातिरहँदा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ । गिजर प्रयोग हँुदा प्रोपेन ग्यास भारी हुने भएकाले भुइँमा बस्छ र अक्सिजन कम भएर सीओ ग्यासको निर्माण हुन्छ । सीओ श्वासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरीरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउँछ । यो प्रक्रियाले शरीरलाई हानि नोक्सानी मात्र पु¥याउँदैन मृत्युसमेत हुन सक्छ । त्यसैले तातो हुन खोज्दा सधैँका लागि चिसिनबाट बच्न कोठामा हावाको चलखेल खुला राख्नुपर्छ ।

असर तथा लक्षण
सीओको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिङ्गटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिन सक्छ । त्यस्तै निर्णय क्षमता, स्मरण शक्ति र अङ्गमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । प्रारम्भिक लक्षणमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोशीको अवस्थामा जान्छन् तर कहिलेकाहीँ बिनाकुनै लक्षण बेहोश हुन सक्छन् । न्यून मात्राको सीओको निरन्तर सम्पर्कमा रहँदा वा एकैपटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्नसक्ने सीडीसीको तथ्यपत्रमा उल्लेख छ । ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ टयाब्लेट खाएझैँ लट्ठ पर्छन् र अन्ततः तिनको मृत्यृ हुन्छ ।
रङ्गहीन र गन्धहीन सीओ ग्यासले शरीरमा अक्सिजन पु¥याउने रातो रक्तकोषमा असर पार्छ । अक्सिजन परिवहन प्रणालीमा प्रभावित पार्छ । अक्सिजन नपाउनाले शरीरका कोषहरू मर्न थाल्छन् र कार्बन डाइअक्साइडभन्दा बढी खतरनाक हुन्छ । टाउको दुखेको दुख्यै गर्नु, सोच्ने क्षमतामा असर हुनु, सास फेर्न असजिलो हुनु, हडबडाउन थाल्नु, आँखा र हातको तालमेल हुन छाड्नु, मुटुको चाल बढ्नु, शरीरको तापक्रम कम हुनु, पेटमा समस्या उत्पन्न हुनु, रक्तचापमा कमी हुनु कार्बन मोनोअक्साइड विषाक्तताका लक्षण हुन् । विषाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी हुन्छ । रगतमा सीओ नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ, तुरुन्तै निस्किहाल्छ । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सीओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोशी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।

रोकथाम
सुत्ने समयमा बालेको आगो, हिटर निभाउनुपर्छ । हिटर वा अन्य उपकरण बाल्दा त्यसको नजिकै पानी र बच्चाबच्चीको पहुँचभन्दा टाढा राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउन हुँदैन । दाउरा, गुइँठा र ब्रिकेट बाली कोठा तताउँदा, न्यानो पार्दा झ्याल ढोका खुला राख्नुपर्दछ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा झ्याल वा भेन्टिलेसन खुलै राख्नुपर्छ । ग्यास गिजर बाथरुमबाहिर राख्नुपर्छ । तातोपानी पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नुपर्छ । भेन्टिलेसन ठूला र खुला राख्नुपर्छ । दम, सीओपीडी (क्रोनिक अब्सट्रक्ब्टिभ पलमनरी डिजिज) (फोक्सोसम्बन्धी)का रोगी धुवाँ नजिक बस्न हुँदैन । यस्तो अवस्थामा टाउको दुख्ने तथा उल्टी होलाजस्तो हुनासाथ भ्mयालढोका खोलिहाल्नुपर्छ । लक्षण देखिएको अनुभूति हुनासाथ तुरुन्त ताजा हावामा निस्केर सास फेर्नुपर्छ । स्टोभ, ओभन, हिटरजस्ता उपकरण बन्द गरेर घरबाहिर निस्कनुपर्छ । लक्षण वा बेहोशी देखिए तुरुन्त अस्पतालमा लग्नुपर्छ जहाँ श्वास र रगतमा सीओको स्तर नापी छिटै उपचार गरिन्छ ।
(लेखक वरिष्ठ चिकित्सक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?