logo
२०८१ मंसिर ९ आईतवार



युट्युब च्यानलको ज्यादती

विचार/दृष्टिकोण |




उषा थपलिया

केही महिनाअघि दुई वर्षे छोरालाई आफूले लगाएकै कमिजले पिठ्युँमा बाँधेर रिक्सा चलाएका कारण अर्जुन विक एकाएक भाइरल बन्नुभयो । विकलाई रातारात ‘हिरो’ बनाउन युट्युबहरूले हदैसम्मको हर्कत गरे । यस सम्बन्धमा एक राष्ट्रिय दैनिकले गरेको अध्ययनअनुसार अर्जुनको उक्त दृश्यलाई विश्वव्यापी बनाउन २९ युट्युब च्यानलले २४ दिनको अवधिमा दुई सय ७३ भिडियो पोस्ट गरे, तीन करोड ११ लाख ३५ हजारभन्दा धेरै दर्शकसमक्ष पु¥याए अनि एक लाख ३१ हजार छ सयभन्दा बढी कमेन्ट–टिप्पणी)मार्फत अर्जुनलाई कर्तव्यपरायण र महान् बाबु अनि उनकी पत्नी लक्ष्मीमाथि घृणित टिप्पणी, अश्लील गालीगलौज, चरित्रहत्या र चरम मानमर्दनको वर्षा गराए । लक्ष्मीको वास्तविक अवस्था के हो ? एक पटक बुझ्नसमेत जरुरी ठानिएन । यो अहिले निक्कै आकर्षणको केन्द्र बनेको युट्युब च्यानल कुन हदको सतही प्रचारमा उत्रिन्छन् भन्ने राम्रो उदाहरण हो ।
हाल युट्युबमार्फत अफवाह र भ्रम छरेर भए पनि सामाजिक सञ्जालको ‘ट्रेन्डिङ’मा पर्ने यस्ता अनेक कामहरू हुन थालेका छन् । विकको घटना ट्रेन्डिङमा परेपछि अन्य पक्षको खोज गरिँदैन, जो ट्रेन्डिङमा पर्छ उसकै पल्ला भारी हुन्छ, उसकै एकतर्फी कुरा मात्र बिकिरहन्छ भन्ने गतिलो उदाहरण पनि हो यो ।
लक्ष्मीउपर अर्जुनका असत्य आरोप गौण बन्दै ‘नेम’, ‘फेम’ र ‘मनी’ अर्जुनमाथि ओइरिनु त्यसैको परिणाम थियो । बच्चा बोकेर पहिलो पटक रिक्सा हाँक्न निस्किएका अर्जुनले युट्युबमार्फत छ महिनादेखि श्रीमती माइत बसेको झुठो अभिव्यक्ति दिएका थिए । अलिपछि चार महिने छोरालाई आमाले छोडेदेखि आफूले दुःख गरी हुर्काएको भन्नसमेत भ्याए, जबकि पहिलो पटक उनले ती अभिव्यक्ति सार्वजनिक गरिरहँदा लक्ष्मी उनीसँगै काठमाडौँको डेरामै थिइन् ।
उनका गलत दाबी र एकतर्फी कुरालाई अतिरञ्जित र कारुणिक बनाउन ‘सन्सनाहट थम्बनेल’ राख्दै भिडियो पोष्ट गर्ने युट्युबरको बाक्लो प्रतिस्पर्धाले लक्ष्मीमाथि घृणा, अपमान, चरित्रहत्यासहित गाली गर्न दर्शकलाई ठूलो बल पु¥यायो । काठमाडौँदेखि कैलालीसम्म अर्जुन र उनको परिवारका एकतर्फी कुरा समेट्न जुर्मुराउने युट्युबरले लक्ष्मीको कुरा सुन्न आवश्यक ठानेनन् । उल्टै, कतिपयले लक्ष्मीको चरित्रमाथि धावा बोलेर गलत समाचार फैलाउने ‘बहादुरी’ देखाए । भिडियो निर्माणमा काठमाडौँबाट कैलाली पुग्ने युट्युब च्यानलका महिला सदस्यलेसमेत यसतर्फ विवेक नपु¥याउनु अझ आश्चर्यको कुरा थियो ।
भएभरको लाञ्छना र चरित्रहत्या गरिसकेपछि जब लक्ष्मीका कुरा बाहिर आउन थाल्यो, अर्जुनका आरोप र दाबी बल्ल खण्डित हुन सुरु भयो । असत्य दाबीका भरमा अर्जुन चर्चाको शिखरमा चढिरहँदा त्यसैबाट उत्पन्न विक्षिप्तताको कारण लक्ष्मी भने आत्महत्याको निर्णयमा झरिसकेकी थिइन् । तर, आफूमाथिको आरोपविरुद्ध जुध्नु पर्छ भन्ने चेतले उनलाई निराशाबाट माथि उठायो र एकछत्र फैलिरहेको उनीविरुद्धको आरोपलाई वास्तविकताको कसीमा घोटिन बाध्य गरायो । हावामै अन्धाधुन्द बेग मारिरहेका युट्युबरले अन्तिममा आएर आफूबाट गल्ती भएको सकारे तर लक्ष्मीले खेपेको त्यो हदको मानसिक आघात र मानहानीबाट भएको क्षति के गल्ती सकारेकै भरमा पूर्ति हुन्छ ? तिनले कुनै सजायको भागिदार हुनुपर्दैन ?
विषयवस्तुको चुरो नपक्डी सतही अफवाह फैलाउने मात्र हैन, धेरैको निजी जीवन छताछुल्ल हुने गरी सार्वजनिक गर्न पनि युट्युबर सधैँ उद्दत देखिन्छन् । आजभोलि केही सेलिबे्रटीको विवाहको प्रसङ्गलाई लिएर युट्युब च्यानलहरू त्यसैगरी तातेका छन् । प्रखर वक्ता रमेश प्रसाईं, नायिका श्वेता खड्कालगायतका सेलिब्रेटीको विवाहसम्बन्धी दृश्य, समाचार र टीका टिप्पणी सार्वजनिक गर्न युट्युब च्यानलबीच निकै ठूलो प्रतिस्पर्धा चलिरहेको छ । बिहे भएको सात–दस दिन बितिसक्दासमेत बिहेसम्बन्धी फरक–फरक समाचार र दृश्य आउन रोकिएका छैनन् । कतिपय च्यानलले बिहेको मामिलामा रमेश प्रसाईं र उनको जोडीको दृष्टि विहीनता र श्वेता खड्काको दोस्रो विवाहमाथि विश्लेषण चलाइरहेका देखिन्छन् । जुन सरासर गलत हो ।
सामान्य हुन् या फरक क्षमता भएका व्यक्तिहरू, हरेकलाई आफ्नो जिन्दगीसम्बन्धी सम्पूर्ण निर्णय गर्ने स्वतन्त्रता छ । विवाह पनि जिन्दगीको एक स्वभाविक प्रक्रिया हो । कानुनले निषेध गरेको बिहे कसैले गरिरहेको छ र कोही त्यसबाट अन्यायमा परेको छ भने त्यसविरुद्ध सञ्चारजगत्ले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ तर यसबाहेक सामान्यतया कुनै व्यक्तिले विवाह किन ग¥यो, किन गरेन, कोसँग ग¥यो, कहिले ग¥यो जस्ता उसका नितान्त निजी मामिलामाथि आवश्यकताभन्दा बढी बहस र छलफलको कुनै तुक देखिँदैन । सार्वजनिक छवि भएका व्यक्तिहरूका गतिविधि केही हदसम्म सञ्चार र आममानिसका चासोभित्र त पर्छन् नै तर व्यक्तित्व जति चर्चित भए पनि उनीहरूका निजी र पारिवारिक सवालहरू सार्वजनिकीकरणका पनि निश्चित सीमा हुन्छन्, त्यो सीमालाई अतिक्रमण गर्ने अधिकार कसैलाई हुँदैन ।
त्यस्तै अर्का सेलिब्रेटी हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर अहिले युट्युबमा उत्तिकै भाइरल बनिरहेको छ । तीन वर्षअघि पत्नी मीना ढकालसँग कानुनसम्मत सम्बन्ध बिच्छेद गरेर एकल जीवन बिताइरहनुभएका गजुरेलले अर्को विवाह गर्नु गैरकानुनी ठहर्दैन किनकि उहाँले सबै प्रकारका कानुनी दायित्व पूरा गरेर अघिल्लो वैवाहिक सम्बन्धलाई रितपूर्वक बिट मारिसक्नुभएको छ । सन्तानको लालन–पालन, संरक्षकत्व उहाँले नै गरिरहनुभएको छ । दोस्रो विवाह सम्बन्धमा हुर्किसकेका सन्तानको समेत सहमति जुटेको छ भने उहाँको पारिवारिक सवालमा अरूले आपत्ति जनाउनुपर्ने देखिन्न ।
तर, यो अवस्थामा समेत
युट्युब च्यानलले आफ्नो सीमा बिर्सेर हदैसम्मको हर्कत देखाइरहेका छन् । तिनै च्यानलको धरपकडमा परी पूर्वपत्नी मीना ढकाल, उहाँको दोस्रो बिहेको विरुद्धमा दर्जनौँ भिडियोमा बोल्न अभिशप्त देखिनुहुन्छ । यस मामिलामा युट्युब च्यानलहरूले मीनामार्फत मनोजविरुद्धमा एकपछि अर्को गालीगलौज, आक्रोश जसरी बाहिर फैलाइरहेका छन् न त्यो सञ्चारजगतको क्षेत्राधिकारभित्रको विषयवस्तु हो न त पूर्वपत्नी मीनाको टिप्पणीको विषय नै । युट्युबरले ‘अफर’ गरे भन्दैमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषयमा बोल्नैपर्छ, विरोध जनाउनै पर्छ भन्ने बाध्यता कसैसँग हुँदैन ।
सँगै बस्ने अवस्थाको अन्त्य भएको स्थितिमा एक अर्कोबाट स्वतन्त्र हुनकै लागि कानुनी रूपबाट सम्बन्ध बिच्छेद गरिने हो । त्यसपछि महिला–पुरुष दुवै आफ्नो जिन्दगीको निर्णय गर्न स्वतन्त्र हुन्छन् । तर, युट्युब च्यानलले आचारसंहितालाई धज्जी उडाउँदै ‘एनि हाउ कमाउ’ प्रति लिप्त रहेकै कारण व्यक्तिका निजी मामिला यसरी अतिक्रमण गरिरहेका छन् । युट्युब च्यानलबाट भइरहेका यी र यस्तै ज्यादती रोक्न नियामक निकायले अझै आवश्यकता नदेख्नु ठूलो बिडम्वना हो । आफ्नो च्यानलको दर्शक र ‘सब्स्क्राइबर’ (उपभोक्ता) बढाएर पैसा कमाउने ध्यानमा युट्युब च्यानल हदैसम्मको जिम्मेवारहीन भइरहेका छन् । विषयवस्तुलाई जतासुकै मोडेर दर्शक आकर्षित गर्न उनीहरूलाई कुनै बन्देज छैन । यसबाट पीडितलाई पर्ने असर र त्यसले निम्त्याउन सक्ने नकारात्मक परिस्थितिप्रति ती एकरत्ति गम्भीर छैनन् ।
सिनेजगत् लगायत मनोरञ्जन क्षेत्रका केही महिलालाई युट्युबहरूका यस्तै गैरजिम्मेवार हर्कतले आत्महत्यातर्फ धकेलिसकेको छ । अब पनि यस्ता कार्यशैलीमाथि अङ्कुश नलगाए त्यस्तै अप्रिय घटना भविष्यमा नहोलान् भन्न सकिन्न । कुनै विवाद सतहमा आएपछि दुवैतर्फका कुरा बुझेर मात्र समाचार बनाउनु पत्रकारिताको सामान्य धर्मभित्रै पर्ने कुरा हो ।
तर, वास्तविकता बुझ्नतिर नलागी जसरी हुन्छ कमाउनेतर्फ मात्र सोझिँदा युट्युबको ज्यादतीबाट मानसिक पीडा सँगाल्नेहरु क्रमशः थपिँदै छन् । व्यक्तिका निजी जीवन हदैसम्म सार्वजनिक भइरहेका छन् । पत्रकारितासम्बद्ध सङ्घसंस्थाहरूले पनि यसतर्फ चासो दिएको पाईंदैन न त राज्यको तालुकवाला निकाय नै यसतर्फ सम्वेदनशील देखिन्छ । तसर्थ जतिसक्दो छिटो सम्बन्धित सबै निकायको ध्यान युट्युब च्यानलहरूको विकृतिलाई नियमन गर्नतिर लाग्नु अत्यन्तै जरुरी
भइसकेको छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?