logo
२०८१ बैशाख १७ सोमवार



मर्केल क्रेज

विचार/दृष्टिकोण |




उषा थपलिया

“म किताब पल्टाउने छु तर म सायद निदाइहाल्छु होला, किनकि म धेरै थाकेकी छु,” केही महिनाअघि अवकाशपछिको जीवनमाथि सोधिएको प्रश्नको जवाफमा जर्मनीकी तत्कालीन चान्सलर अङ्गेला मर्केलले दिएको जवाफ हो यो, जुन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चित बनेको थियो । आफ्नो देशको पहिलो र एक मात्र महिला चान्सलरको इतिहास रचेर मर्केल यही डिसेम्बर ८ देखि सेवाबाट बाहिरिनु भएको छ ।

२२ नोभेम्बर २००५ मा देशको कार्यकारी प्रमुख बनेकी मर्केलले जर्मनजस्तो समृद्ध मुलुकलाई निरन्तर १६ वर्ष नेतृत्व दिने अवसर पाउनुभयो । पहिलो साथै दोस्रो, तेस्रो र चौथो (२००९, २०१३ र २०१८) गरी चार पटक चान्सलर पदमा निर्वाचित हुने अवस्थामा आफूलाई उभ्याउनु उहाँको कुशल राजनीतिक व्यक्तित्वकै करामत मान्नुपर्छ । गत सेप्टेम्बरमा जर्मनीको तल्लो सदन बुन्डेस्टागका लागि भएको निर्वाचनबाट उहाँकै सरकारका वित्तमन्त्री तथा भाइस चान्सलर ओलाज सोल्ज गत ८ डिसेम्बरमा चान्सलर बनेपछि उहाँ सत्ताबाट बाहिरिनु भएको हो ।

१७ जुलाई १९५४ मा पश्चिम जर्मनीमा जन्मिएकी मर्केल, अभिभावकका साथ कम्युनिस्ट शासन व्यवस्था भएको पूर्वी जर्मन आउनु भएको थियो । भौतिकशास्त्रमा अध्ययन अघि बढाएर १९७८ मा सोही विषयमा पीएचडी गरेकी मर्केल पूर्व अनुसन्धान वैज्ञानिकका रूपमा पनि चिनिनुहुन्छ । सन् १९८९ मा बर्लिनको पर्खाल ढलेर १९९० मा दुई जर्मन एउटै हुँदा उहाँ ऊर्जाशील युवावस्थामा हुनुहुन्थ्यो । सोही बेलादेखि क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पार्टीमार्फत मर्केल राजनीतिमा होमिनुभयो । १९९४ को निर्वाचनमा विजयी भएपछि महिला तथा युवामन्त्री र त्यसपछि वातावरण तथा न्युक्लिएर सुरक्षामन्त्री बन्ने अवसर उहाँलाई प्राप्त भयो । १९९८ मा पार्टी महासचिव र २००० मा उहाँ पार्टी अध्यक्ष बन्न सफल हुनुभयो । उहाँले राजनीतिमा प्रवेश गरेको अहिलेसम्म जम्मा ३२ वर्ष मात्र पुगेको छ । यस अवधिमा १६ वर्ष त देशको कार्यकारी प्रमुखकै भूमिका निर्वाह गर्नुभयो । १८ वर्ष पार्टीको नेतृत्व गर्ने अवसर उहाँलाई प्राप्त भयो । छोटो अवधिमै उहाँले हासिल गरेको उच्च राजनीतिक उपलब्धिका यी केही प्रतिनिधिमूलक दृष्टान्त हुन् ।

लोकप्रियताको कसीमा उहाँको समग्र कार्यकाल नै उपलब्धिपूर्ण रहेको मानिन्छ । यद्यपि मन्त्री बनेको सुरुवाती कालमा उहाँको व्यक्तित्वलाई कम आँकेर हल्का टिप्पणी नभएका हैनन् । चान्सलर बनिसकेपछिका केही वर्षसम्म पनि उहाँको क्षमतामा विश्वास नगर्ने जमात ठूलै थियो । हालै उहाँ पदबाट बाहिरिँदासमेत जर्मनीमा ‘मर्केल नेतृत्वको रूढीवादी शासनको अन्त्य र एक नयाँ राजनीतिक युगको सुरुवात’ भनेर टिप्पणी गर्नेहरू पनि देखिए । प्रजातान्त्रिक परिपाटीमा यस्ता टिप्पणीलाई उहाँ प्रतिवादयोग्य विषय पनि ठान्नुहुन्न । १६ वर्षसम्म सत्ताको बागडोर सम्हाल्दा जे–जे कदम चाल्नुभयो, ती सबै देश र जनताकै हितका लागि थिए । उहाँका प्रयत्नहरूले जर्मन नागरिकका साथ र समर्थन पाई नै रह्यो, जसका कारण उहाँलाई निरन्तर चार कार्यकाल चान्सलर पदमा तिनै नागरिकले पु-याए ।

विशेषगरी परमाणु ऊर्जाको न्युनीकरण, सन् २००८ को वित्तीय सङ्कट समाधान, सन् २०१५ मा सिरियाली शरणार्थीको हकमा लिइएको दरिलो अडान, सबै शक्ति राष्ट्रहरूसँग संयम र सन्तुलित सम्बन्ध कायम राख्नु तथा कोभिडपछिको राहत र आर्थिक उद्धारमा उहाँको निर्णय र कार्यान्वयन क्षमतालाई विशेष उपलब्धि मानिन्छ । यसबाहेक युरोपका २७ मुलुक संलग्न युरोपेली युनियनमा समेत उहाँले अर्थपूर्ण भूमिका निर्वाह गर्नुभयो । युनियनभित्र रहेका मुलुकमध्ये जनसङ्ख्याले मात्र हैन, अर्थतन्त्रको हिसाबले पनि जर्मनीलाई ठूलो मानिन्छ । गत अक्टोबर २२ मा ब्रसेल्समा भएको युनियनको सेमिनारमा नेताहरूले जसरी उहाँको प्रशंसा गरे, त्यसैबाट उहाँले युनियनमा निर्वाह गरेको भूमिका प्रस्ट हुन्छ । जर्मन चान्सलरको हैसियतले त्यो मर्केलको अन्तिम सेमिनार थियो, जहाँ युनियन प्रमुख र अन्य देशका प्रमुखहरूले उहाँमाथि प्रशंसाको चाङ लगाउँदै युरोपियन युनियनको उच्च धरोहर मात्र भनेनन्, उहाँबिनाको सेमिनार ‘भेटिकनबिनाको रोम वा आइफल टावरबिनाको फ्रान्स’झँै हुनेसमेत बताए ।

अन्तर्राष्ट्रिय व्यापार तथा युरोपियन कर्पोरेसनको श्रीवृद्धिका लागि उहाँको वैदेशिक सम्बन्ध निर्धारित हुने भनिए पनि विशेषतः आफ्नो राष्ट्रको हितलाई केन्द्रमा राखेर मर्केलले वैदेशिक सम्बन्ध तय गर्ने गरेको जानकार बताउँछन् । तैपनि सबैसँग मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध राख्न उहाँ सफल देखिनुभयो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो पदावधिभर नै उहाँलाई ‘क्लोेजेस्ट इन्टरनेसनल पार्टनर’ भन्नुका साथै युरोपियन युनियनको अन्तिम सेमिनारमा मर्केलको प्रशंसा र बिदाइका लागि भिडियो सन्देश नै पठाएका थिए । उता अमेरिकाको ‘प्रतिद्वन्द्वी’झैँ मानिएको चीनसँगको सम्बन्धलाई पनि उहाँले सन्तुलित बनाउनु भएको थियो । अरू युरोपेली मुलुकको दाँजोमा चीनबाट निर्यात/आयातलगायत आर्थिक तथा व्यापारिक गतिविधि जर्मनीले धेरै गरेबाट यो पुष्टि
हुन आउँछ ।

आफ्नो पदावधिमा दर्जनौँ पटक भ्रमण गरेर चीनसँगको सम्बन्धलाई उहाँले नयाँ आयाम दिनुभएको थियो । अमेरिकासँगको सम्बन्ध नखल्बल्याई चीनसँग पनि व्यापारिक सम्बन्ध कायम राख्न सक्नु उहाँको विशेष क्षमता हो । “अन्य मुलुकजस्तै चीनसँग पनि विकासको अधिकार छ, चीनको विकास प्रगतिमा बाधा सिर्जना हुँदैन” भन्ने स्पष्ट दृष्टिकोण हुँदाहुँदै चीनमा उईगुर मुसलमान तथा अल्पसङ्ख्यकमाथि भएको अमानवीय व्यवहारको भने आलोचना गर्न उहाँ चुक्नुभएन । यसबाट वैदेशिक सम्बन्धप्रति उहाँमा भएको निर्भिकता प्रस्ट हुन्छ ।

विश्व राजनीतिमा उहाँको क्रेज यथावत् रहँदारहँदै पनि उहाँले गत वर्ष नै यो वर्षको निर्वाचनमा नउठ्ने घोषणा गर्र्नुभएको थियो, सोहीअनुसार यस वर्ष चुनाव नलडी ६७ वर्षको उमेरमै स्वतस्फुर्त राजनीतिक जीवनबाट अवकाश लिएर विश्वलाई नै सकारात्मक सन्देश दिनुभएको छ । पदमुक्त हँुदै गर्दासमेत उहाँले नयाँ चान्सलर सोल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिएर निष्ठाको राजनीति र उदार भावनालाई एकैसाथ अभिव्यक्त गर्नुभएको छ ।

झन्डै दुईतिहाइ बहुमतसहित पाँच वर्ष शासन सञ्चालन गर्ने म्यान्डेट पाएको नेपालको राजनीतिक पार्टी अवधि पूरा नहुँदै प्रतिपक्षमा खुम्चिन आइपुगेको छ । मर्केलले गठबन्धन सरकारमार्फत आठ करोड ३७ लाख जनसङ्ख्या भएको युरोपको एक शक्तिशाली राष्ट्र जर्मनीमा कसरी प्रभावकारी ढङ्गले यति लामो अवधि सत्ता चलाउनुभयो ? यसबाट उचित शिक्षा नेपालका राजनीतिक दलले पनि लिनु जरुरी छ । मर्केलको बहिर्गमनपछि चान्सलर बनेका सोल्ज पनि तीनदलीय गठबन्धनबाट सत्तामा पुगेका छन् । १६ वर्षमा मर्केलले स्थापित गरेको विधि, पद्धति र उपलब्धिलाई सोल्जले कसरी अघि बढाउँछन्, जर्मन जनताको ध्यान अब त्यता केन्द्रित हुन पुगेको छ । त्यसैले मर्केल क्रेजलाई विस्थापन गर्नतिर लाग्नुभन्दा उहाँले अपनाएको विधि र पद्धतिलाई अनुसरण गर्नसके सोल्जलाई समेत त्यसले पक्कै सफलतातिर डो-याउने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?