logo
२०८१ माघ ९ बुधवार



स्वस्थानी व्रत कथाको परम्परा र संस्कृति

विचार/दृष्टिकोण |




घनश्याम कोइराला

स्वस्थानीपरमेश्वर्या विधिवत् व्रतमाचर । तेन स्वस्थानलाभस्ते भविष्यति न संशय ः ।। यसको भाव हो– विधिपूर्वक स्वस्थानी परमेश्वरीको व्रत गर्नाले निःसन्देह स्वस्थान लाभ हुनेछ । यो व्रत गर्नाले, कथा सुन्नाले मोक्ष प्राप्त हुने वा स्वर्गको ढोका खुल्ने, ईश्वरसँगै वास हुने आदि नभनिएबाट यो आफ्नै पारिवारिक, भौतिक लाभका निम्ति गरिने विषय हो भन्ने बुझिन्छ । यसको तात्पर्य आफू र आफन्त मिलेर आफू, आफन्त, आफ्नो स्थान, सबैको सुख–समृद्धिका लागि सङ्कल्प लिने कार्य हो ।
स्वस्थानीको व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्छ । यो स्कन्धपुराण, केदारखण्डको माघ महात्म्यका रूपमा रहेको एउटै अध्यायमा समेटिएको कथा हो, जसलाई यहाँ ३१ अध्यायमा विस्तार गरिएको छ । नेपाली समाजमा कथा परम्पराको एउटा सनातन र लोकप्रिय परम्परा स्वस्थानी व्रतकथा निर्विवादित र आलोचनारहित भने छैन । अधिकारमुखी चेतनाको विकाससँगै साँस्कृतिक चेतना नहुर्केको हुनाले यस्तो भएको हुनुपर्छ । सार ग्रहण गर्ने, आधारको संरक्षण र सम्मान गर्ने, आफूलाई विकसित र परिमार्जन गर्ने विषयलाई त्यस रूपमा बुझ्न नसक्दा केही अलमल, द्विविधा रहनु स्वाभाविकै हो ।
यस कथामा अनेकौँ उपकथा छन् । दोस्रो अध्यायमा पृथ्वीको सृष्टि भएको विषय पत्यारलाग्दो देखिँदैन तर यसमा चौध भुवन, सात समुद्र, सात द्वीप, आठ पर्वतका विषयमा उल्लेख गरिएको छ । सबै समुद्र र द्वीपका विशेषता उल्लेख गरिएको छ । सृष्टिसम्बन्धी प्राचीन बुझाइबारे बुझ्का लागि यो महŒवपूर्ण सामग्री हो यो ।
स्वस्थानीबारे बुझ्न ‘स्वस्थानी व्रतकथा’को शाब्दिक अर्थ र यसमा वर्णन गरिएका पात्रहरूबारे जान्न आवश्यक देखिन्छ । यसका मुख्य पात्रहरू ब्रह्मा, विष्णु, महादेव, पार्वती–सती, दक्ष प्रजापति, विरणी, शिव शर्मा, गोमा हुन् । यिनकै कथा वर्णनभित्र अन्य पात्र र उपकथाहरू छन् ।
कथामा वर्णन गरिएका पात्र (व्यक्तित्व)बारे घोत्लिँदामात्र यसलाई ठीक ढङ्गले बुझ्न सकिन्छ । विष्णु भनेका श्रीसम्पन्न व्यक्तित्व हुन् । त्यसैले विष्णुलाई भगवान् (ऐश्वर्ययुक्त) भनिएको हो । विष्णुको अर्थ व्यापक हो भने विष्णुको पर्यायवाची शब्द हो– सनातन । सनातन भनेको सीमारहित, अनादि, अविनाशी (वीजतŒव), धर्म आदि हो । सर्वव्यापकतामा नै ऐश्वर्य सम्भव हुन्छ । ऐश्वर्यको कुनै खास वा सीमित स्थान हुँदैन । ऐश्वर्य प्राप्त गर्न कुनै स्थान, कुनै समय, कुनै खास वस्तु निर्धारित हुँदैन । ऐश्वर्यको स्थान, काल, विषय असीम हुन्छ । यसै भएकाले विष्णु (व्यापक) र लक्ष्मी (ऐश्वर्य, श्री)
सँगै हुन्छन् । सृष्टि वर्णनमा आउने अर्को नाम हो– मधुकैटभ अर्थात् मधु र कैटभ । यसरी उल्लेख गरिएका नामहरू उनीहरूको गुणविशेषता हुने हुँदा तदनुसारकै अर्थमा बुझ्न आवश्यक छ । उनीहरू समुद्रमा रहेको त स्पष्ट नै छ । मधु भनेको मीठो हो भने कैटभ भनेको विषाक्त वा कीटाणु भक्षण गर्ने भनिएको हो । सृष्टि मधु (अमृत) र कूट (विष) अर्थात्, सकारात्मक–नकारात्मक, अनुकूल–प्रतिकूलको योग हो । सृष्टिका सबै कुरा सबैलाई उस्तै नहुन सक्छ भन्ने आसय व्यक्त भएको देखिन्छ ।
सृष्टिका आधारलाई कर्ताका रूपमा
‘ब्रह्मा’ देखाइएको छ । ब्रह्मालाई चार मुख टाउका भएको देखाइएको छ । चार टाउकाको तात्पर्य हो– चार जातको सृष्टि । ‘जात’ या ‘ज’ भनेको भएको वा जन्मेको हो । जस्तै ः आत्मज, वंशज आदि । सृष्टि सजातीय छ र ती चार जातका छन् । ती हुन् ः उद्भिज (भुँइमा उम्रने), स्वेदज
(पसिनाबाट), जरायुज (गर्भाशयमा बढेर, सालनालसमेत जन्मने), अण्डज (अण्डा, फुलबाट) । यिनै चार जातको सृष्टिका आदि व्यक्तित्वका रूपमा ब्रह्मा देखाइएको छ र उनका चार टाउका देखाइएको बुझ्न सकिन्छ । सृष्टि स्वजातीयमात्र हुन्छ भनिनुको कारण पनि यही नै हो । यी चार जातबाट ती–ती मात्र जन्मन्छन् भन्ने जानकारी हुन्छ । प्रकृतिको नियम यही नै हो । कतिपयलाई चार जात भनेको सामाजिक वर्ण ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो भन्ने भ्रम छ । शास्त्रहरूमा जन्मजात कुनै अपरिवर्तनीय वर्ण (चलन चल्तीमा जात भनिने) हुने भनिएको छैन, कर्मका आधारमा यसमा परिवर्तन भएका अनेकौँ उदाहरण पुराणमा पढ्न सकिन्छ ।
सतीदेवीको बाबु हुन्– दक्ष प्रजापति । ‘दक्ष’ भनेको बाठो हो । ‘प्रजापति’ भनेको जनताको अगुवा वा नाइके हो । दक्ष हुनु राम्रो हो तर दक्षताको घमण्डले निष्ठालाई बाधा पर्न गयो । दक्षताको घमण्डले निष्ठाको समाप्ति हुन्छ । निष्ठाको समाप्तिको परिणाम ध्वंशको वा अकल्याणको बाटो हो भन्ने विषय स्वस्थानीको कथाबाट बुझ्न सकिन्छ । नियमविपरीत र आवश्यकताभन्दा बाठो हुँदा के हुन्छ भन्ने परिणाम दक्षलाई बाख्राटाउके देखाइउनुले स्पष्ट पारेको छ ।
सतीदेवीकी आमा दक्ष प्रजापतिकी श्रीमती हुन्– विरणी । विरणी भनेको रण वा युद्ध, झगडा आदि गर्न नचाहने भन्ने बुझिन्छ । उनकी छोरी, महादेवकी पत्नी हुन्– सती । सती भनेको निष्ठा हो । निष्ठाको जन्म शान्तिबाट हुन्छ । युद्ध, कलह, झगडाबाट निष्ठा जन्मदैन । निष्ठाको कोख शान्तिमात्र हुन्छ भन्ने दृष्टान्त हो ः विरणीबाट सतीको जन्म । ‘शिव’ भनेको कल्याण हो । कल्याण गर्ने ‘देव’ हुन् भने विपरीत कर्म गर्नेलाई ध्वंशको स्थितिमा पु¥याउन त्योभन्दा ठूलो शक्ति देवलाई पनि नटेर्ने ‘महादेव’ प्रकट हुन्छन् भन्ने राम्रो दृष्टान्त स्वस्थानी कथामा रहेको छ । अब शब्दार्थ र शब्दसामथ्र्यको चर्चा गरौँ ः शब्दका हिसाबले ‘स्वस्थानी’ अर्थ यसप्रकार गर्न सकिन्छ ः ‘स्व’ भनेको आफू हो । यसले आफू, आफ्नो, आफन्त, धन–सम्पत्ति र सुख–ऐश्वर्य, सम्पूर्ण चराचर जगत् भन्ने पनि जनाउँछ । ‘स्थानी’ शब्दको अर्थ हुन्छ– स्थानको । समष्टिमा स्वस्थानी भन्नाले ‘आफ्नो र आफन्तको’ भन्ने अर्थ वहन गर्छ । ‘व्रत’ भनेको अठोट र सङ्कल्पसहित निष्ठापूर्वक गरिने कर्म हो । कथा भनेको इतिहासको जानकारी र अनुमानमा सुन्दर कल्पनाको मिश्रण हो ।
‘कथा’ केही ऐतिहासिक विषय, पात्र र घटनालाई आधार बनाएर कल्पित वर्णन हो । यसमा जीवन र जगत्का प्रेरणादायी मधुरता समेटिएको हुन्छ । यसरी हेर्दा ‘स्वस्थानी व्रतकथा’ आफू, आफ्नो स्थान, आफन्तको सहभागितामा उनीहरूकै हित–कल्याण तथा धन–सम्पत्ति र सुख–ऐश्वर्यका लागि गरिने व्रत र सुन्ने–सुनाइने कथा हो । स्वस्थानी व्रतकथा साहित्य पनि हो भन्ने बिर्सनुहुँदैन र साहित्यमा प्रयोग गरिएका शब्दलाई उनीहरूको शक्तिका आधारमा बुझ्नुपर्ने हुन्छ । साहित्यको त्यस्तो शब्दसामथ्र्यलाई अभिधा, लक्षणा र व्यञ्जना भनिन्छ । यसरी बुझ्न सक्दामात्र उचित निष्कर्षमा पुग्न सकिन्छ ।
यद्यपि, स्कन्दपुराण वेदव्यासरचित १८ पुराणमध्ये एक हो तथापि नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायबाहेक अन्यले यो व्रत बस्ने, कथा सुन्ने गरेको पाइँदैन । यो व्रतकथा नेपाल र नेपालीका बीचमा मात्र बस्ने, सुन्ने हुँदा यो हाम्रो कथा सुन्ने मौलिक परम्पराको निरन्तरताका रूपमा रहेको छ । यसमा प्रयोग गरिने वस्तु र स्थानको वर्णनले पनि यसको मौलिकता देखिन्छ । यी जानकारीबाट नेपाली समाजमा स्वस्थानी एउटा पारम्परिक पर्व हो भन्न कुनै गाह्रो पर्दैन ।
नेपाली समाजमा साहै्र लोकप्रिय रहेको स्वस्थानी व्रतकथाका केही प्रसङ्ग आलोचित छन् । ती विषयमध्ये मुख्य विषय लैङ्गिक न्यायसँग सम्बन्धित छन् । सात वर्षकी गोमा र ७० वर्षका शिव शर्माबीचको अनमेल विवाहको विषय नेपाली समाजमा आलोच्य रहेको छ । हुन त कथामा यो एउटा प्रसङ्गलाई स्वाभाविक रूपमा स्वीकार गरिएको भए पनि सर्वत्र यसैप्रकारको विवाहलाई प्रोत्साहित गरिएको छैन । विवाहयोग्य उमेरका स्त्री–पुरुषका शारीरिक विकासका प्रसङ्गले यो विषय स्वतः एउटा घटनामात्र रहेको पुष्टि हुन्छ । त्यतिबेलाको समाजमा पनि विवाहको उमेर यौवनावस्था नै हो भनिएका धेरै उदाहरण पाइन्छन् ।
त्यस्तै, व्रत समापनका दिनमा १०८ गणनाको रोटीको प्रसादको विषय पनि आलोचित छ । यसमा यो १०८ सङ्ख्याको रोटी श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितका छोरालाई, मितका छोरा पनि नभए नदीमा बगाइदिने प्रावधानले समाजमा रहेको पुरुषप्रधानतालाई निकै महŒव दिएको पाइन्छ । सन्तानको लिङ्ग फरक हुनु स्वाभाविक हो, लिङ्गका आधारमा सन्तानबीच गरिने विभेद आज स्वीकार्न सकिँदैन । यसका पछाडि पनि ऐतिहासिक प्रसङ्ग रहेको छ । स्कन्दपुराण, स्वस्थानी आदि धार्मिक ग्रन्थहरूमा नलेखिँदा पनि, मातृप्रधानताबाट पितृप्रधानताउन्मुख समाजको ऐतिहासिक अध्ययन गर्दा पनि यस्ता विषय भेटिन्छन् । कहाँ लेखियो ? भनेर विरोध वा समर्थन गर्नेभन्दा पनि इतिहास, प्राचीन प्रबन्ध र परम्पराका विषयलाई त्यहीँ–त्यहीँ सुरक्षित गर्दै न्यायपूर्ण मानव समाज निर्माण गर्दै अघि बढ्नु नै बुद्धिमानी हुनेछ ।
एउटा हिसाबले हेर्दा एक महिना लामो व्रतकथाले समाजका मानिसलाई भक्ति, पूजा, पाठ आदि धार्मिक कर्मको माध्यमबाट सबै समस्या समाधान हुने विषयको वर्णनले आलसी, अनुत्पादनशील, परजीवी प्रवृत्ति हुर्काउने खतरा देखिन्छ । तर, यो कथा सुन्ने–सुनाउने विषय कामको समयमा हुँदैन, रातमा हुन्छ । घरपरिवारका सबै सदस्य घरबाहिरका काम सकेर घर आएपछि कथा सुन्ने प्रचलन छ । श्रमशीलको ज्ञानको माध्यम बन्न सक्छ । कथा सुनाउन छुट्टै पुरोहितको आवश्यकता पर्दैन, घरकै मानिसले पढेर सुनाउने गरिन्छ । वाचक–श्रोताबीच लैङ्गिक विभेद छैन । कथा सुन्न भोकै बस्नुपर्ने वा अन्य झन्झटिला सर्त छैनन् । अझ विद्यालयमा पढ्दै गरेका छोराछोरीलाई पढ्न लगाइनुले उनीहरूको पठन क्षमतासमेत बढ्ने हुन्छ । यी त केही पक्ष हुन् । सपरिवार भेला भएर स्वस्थानको विषयमा सुन्ने सुनाइने हुनाले धन–सम्पत्ति, सुख–ऐश्वर्य वृद्धिमा योगदान हुन सक्छ । यो
अर्को पक्ष हो ।
स्वस्थानी व्रतकथा बहुआयामिक विषय हो । व्रतमा अपनाइने ‘पवित्रता’ले स्वच्छ वातावरण र शरीर स्वस्थ राख्न मद्दत गर्छ । यसै कारण व्रतको समयावधिभरि साŒिवक भोजन र संयमित जीवनचर्याले आरोग्य प्राप्त हुन्छ । सदाचारले सहज जीवन जिउने सकारात्मक ऊर्जा प्रदान गर्छ । स्वस्थानीमा परिवारकै सदस्यले व्रत लिने, कथा भन्ने र सुन्ने गरिन्छ । यस परम्पराले पारिवारिक जमघट, एकता र मेलमिलाप बढाउन विशेष भूमिका निर्वाह गरेको छ ।
भौतिक विषयमा तथ्यहरूको महŒव भएजस्तै संस्कृतिमा मान्यताको विषय प्रबल हुने गर्छ । अर्को दर्शन र मान्यताबाट हेर्दा र बुझ्दा यथार्थ बोध गर्न सकिँदैन । वनचरको, नभचरको विद्या पढेर जलचरबारे ज्ञानी बन्न सकिँदैन । त्यसैले, गूढार्थको खोजी र विश्लेषण गर्ने हो भने स्वस्थानी व्रत कथाबाट धेरै शिक्षा लिन सकिन्छ । तर, मान्ने र नमान्ने अति र अन्धविश्वासले गर्दा यसलाई हेर्ने गतिशील दृष्टिकोण बन्न सकिरहेको छैन ।
कुनै पनि वस्तु, स्थान र घटनामा रहेका असल पक्षलाई नकार्नु र बुझ्ने प्रयास नै नगरी मान्नु दुवै अन्धविश्वास हुन् । मानिसका क्रियाकलापद्वारा नै समाज विकसित हुन्छ । समाजका आवश्यकताअनुसार नै संस्कृतिको पनि विकास भएको हुन्छ । समाजमा भएका विभिन्न किसिमका क्रियाकलाप र संस्कृतिहरूले समाजलाई एकताको सूत्रमा बाँध्न सक्छ । समाजमा परम्परादेखि आएर रहेका विभिन्न संस्कृतिभित्र रहेका वैज्ञानिक र व्यावहारिक पक्षको संरक्षण गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
स्वस्थानीको सार भनेको सनातनलाई स्वीकार गर्नु, कपट नगर्नु, आपसमा मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर आर्जन गर्नु, समाजमा र आपसमा केही अनमेल भए आपसमा मिलाउनु, निष्ठाको रक्षा गर्नु, युद्धमुखी नहुनु, कल्याणकारी बाटोमा लाग्नु, प्रकृतिको रक्षा गर्नु आदि हो ।
हामीले सुन्ने कथाभित्रै देखिने अर्को पक्ष हो, महिना दिन लामो व्रतका कर्ताहरू महिलामात्र किन त ? यसलाई सही वा गलत भन्नुभन्दा पनि यसपछाडिका कारण केलाउनु आवश्यक हुन्छ । कष्टकर नै भए पनि कुनै गतिलो कामको मुख्य कर्ता महिला हुनुले महिलाको भूमिकाको महŒव प्रकट हुन्छ । अर्को, महिला आमा हुन्, मातृशक्ति हुन् । सन्तानका लागि आमाहरू जस्तोसुकै कष्टसाध्य काम गर्न र जोखिम वहन गर्न सक्छन् भन्ने उदाहरण पनि हो । कार्यविभाजनका हिसाबले परिवारको पालनपोषणका लागि घरबाहिर श्रम गर्ने पिता–पुरुषभन्दा घरभित्रको जिम्मेवारीमा रहेका आमा–महिला सन्तानको पालनपोषण र सुरक्षाका दृष्टिले बढी नजिक हुन्छन् । यो भावनात्मक संवेदनशीलताका कारण महिला कठोरव्रती देखिन्छन् । अर्थात् सन्तानका लागि कष्ट सहन गर्छन् ।
आजको आँखाले हेर्दा र गूढार्थमा नपुग्दा देखिने कमजोरी र भइरहेका आलोचनालाई स्वाभाविक रूपमा स्वीकार गर्न सकिन्छ । तर, ‘स्वस्थानी’को नाममा पूजा गरिने देवी नारी नै छन् । ‘स्वस्थानी’ देवीलाई अष्टदल कमलको फूलको आकरमा बीचमा राखेर पूजा गरिन्छ र उनका चारैतिर वैष्णवी, ब्राह्मी, महेश्वरी, कौमारी, वाराही, इन्द्राणी, चामुण्डा, महाकाली नाम गरेका आठवटी देवीकै पूजा गरिन्छ । स्वस्थानीको मूल पक्ष नारीशक्तिको पुजनीयतालाई स्वीकार गर्नु नै देखिन्छ ।
परम्परा, नसुधारिएको संस्कृति हो भने संस्कृति, सुधारिएको परम्परा हो । स्वस्थानीमात्र होइन, हाम्रो संस्कृतिमा कथा, काव्य, गीत, नाटकको निकै ठूलो प्रभाव रहँदै आएको छ । कथा सुन्ने विषयलाई त ज्ञान यज्ञ नै मानिएको छ । मानिसको जीवनमा नैतिकता, सामाजिक जागरण, उत्प्रेरणा, भक्ति, करुणा जगाउन कथा, काव्य, गीत, नाटकले ठूलो सघाउ पु¥याएका छन् र पु¥याइरहनसक्छन् । यी मानिसको जीवनका आन्तरिक शक्तिका स्रोत हुन् । संस्कृति निर्माणका सशक्त
माध्यम हुन् ।
(लेखक संस्कृति अध्येता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?