logo
२०८१ माघ ९ बुधवार



योगमायाको योगदानको खोजी

विचार/दृष्टिकोण |




घनश्याम कोइराला

कुनै पनि आन्दोलनमा संस्कृतिको प्रभाव र संस्कृति निर्माण तथा विकासमा आन्दोलनको परिणामको प्रभाव यी दुवै महìवपूर्ण पक्ष हुन् । यो नै आन्दोलन र संस्कृतिबीचको द्वन्द्वात्मकता हो । यी दुईको द्वन्द्वात्मक सम्बन्ध नबुझी गरिने आन्दोलन र त्यसको सफलताले खासै अर्थ राख्दैन ।
संसारमा विभिन्न प्रकारका आन्दोलन उठे, उठिरहेका पनि छन् । समाजलाई यथास्थितिबाट माथि उकास्न र सकारात्मक परिवर्तन गर्न आन्दोलनको ठूलो भूमिका हुने गर्छ । अथवा, सकारात्मक सामाजिक रूपान्तरणका लागि जे जति भएका छन्, एक अर्थमा ती सबै आन्दोलन हुन् । आन्दोलनका विषय, रूप र दायरा अनेक हुन सक्छन् । मानव समाज गतिलो भविष्यका लागि सदैव आन्दोलनरत छ । मार्च महिनाको आठ तारिखलाई संसारभरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइँदै आएको छ । सन् १९०८ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको महिलाहरूका लागि उचित पारिश्रमिक र मतदानको अधिकारको मुख्य मागमा आधारित पश्चिमी गोलाद्र्धको आवश्यकताले विकास गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यस वर्ष १११ औँ वार्षिक दिवसको रूपमा मनाइँदैछ ।
संसारको विकासमा हरेक मानिसको सहभागिता छ, महिला र पुरुष दुवैको श्रमशील भूमिकाले नै मानवसमाज अघि बढिरहेको भए पनि यसलाई त्यस रूपमा स्वीकार नगरिएको भूगोलबाट यो आन्दोलन सुरु भएको हो । भूगोलको पूर्वी गोलाद्र्धको तुलनामा पश्चिमी गोलाद्र्ध मानव सभ्यता विकासको दृष्टिले पछि रहेको छ । यसका पछाडि मूलतः यथास्थितिमा मानव बस्तीका लागि त्यहाँको भूभाग प्रतिकूल हुनु मुख्य कारण हो । यसले मानव समाजको विकासका अनेक आयामहरूमा प्रभाव पर्नु स्वाभाविकै हो । पूर्व, खासगरी भारतीय उपमहाद्वीपको तुलनामा त्यहाँको (पश्चिम) मानवबस्ती नयाँ, सोच–चिन्तन र व्यवहार नयाँ, अधिकार र कर्तव्यका सिलसिला नयाँ, संस्कृतिको आरम्भ नयाँ र पछिल्लो हो ।
पूर्वका मानिसले आपूmलाई आवश्यकपर्ने चिन्तन विकास गरेका छन् । आवश्यकतालाई विश्लेषण गर्ने दर्शन विकास गरेका छन् । जीवन र समाज व्यवस्थापन गर्ने आफ्नै शैली विकास गरेका छन् । यस क्रममा यहाँका मानिसहरूले गरेका ससङ्घर्षका स्वरूप अलि भिन्न प्रकारका रेहेको पाइन्छ । श्रम, सीप र पराक्रमसँग प्रत्यक्ष संलग्नताका अनेकौँ सन्दर्भ वेद तथा पुराणहरूमा पाइन्छ । यिनको प्रभाव समाज र संस्कृतिमा रहिरहेको छ । यस्ता कतिपय विषय जीवनोपयोगी शिक्षाको रूपमा, धर्मको रूपमा समेत रहेको अवस्था छ ।
ऋग्वेदको यस ऋचाले हाम्रो पूर्वीय गोलाद्र्धको विषयमा फरक ढङ्गले सोच्न सघाउँछ ः चरित्रं हि वेरिवाच्छेदि पर्णमाजा खेलस्य परितक्म्यायाम् । सद्यो जङ्घामायसीं विश्पलायै धने हिते सर्तवे प्रत्यधत्तम् अर्थात् हे अश्विनीकुमारहरू हो, खेल नाम गरेका राजाको युद्धमा विश्पलाको खुट्टो काटिएर चराको प्वाँख खसेझैँ खसेको थियो । रातको समयमा फलामको खुट्टो राखिदिएर भोलिपल्ट आक्रमण गर्नका लागि तिमीहरू दुईले तयार बनाइदियौ । सन्दर्भ श्रमिक महिला दिवसको हो । दृष्टिकोण श्रमिक पक्षधरता हो । यस मन्त्रमा महिला र श्रम दुवै विषय एकसाथ प्रकट छ । महिला विश्पला नामकी योद्धा छन् । उनी योद्धा हुन् र उनको श्रम युद्धकेन्द्रित रहेको छ । पुरुष अश्विनीकुमारहरू स्वास्थ्य क्षेत्रका बौद्धिक श्रमकर्ता हुन् । संसारको सर्वप्राचीनमध्येको प्राचीनतम मानिएको ऋग्वेद पूर्वीय संस्कृति, मूल्य–मान्यता र दर्शनको आधार ग्रन्थ हो । यो प्राचीन जनजीवनसँग जोडिएको मौलिक श्रुति–गायन हो । यसमा इतिहास, आविष्कार, परम्परा, प्रकृति, संस्कृति आदि मानवजीवनका सबै पक्ष समेटिएको छ । युद्ध, उत्पादन र व्यवस्थापन यसको मूल विषय रहेको छ । यसमा महिला र पुरुष दुवैका ससङ्घर्ष र समन्वयका अनेकौँ सन्दर्भ छन् । यसलाई केही हिन्दु र उनीहरूका संस्थाले मात्र नभई संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक उपक्रम युनेस्कोले विश्व सम्पदाको रूपमा सूचीकृत गरेको छ ।
हाम्रो यस गोलाद्र्धको संस्कृति मूलतः सनातन संस्कृति हो । सनातन भनेको हुँदै हुँदै, गर्दै गर्दै, बढ्दै बढ्दै आएको हो । यसकै विकासका क्रममा यहाँ अन्य संस्कृति जन्मे–हुर्केका छन् । महिला परापूर्व कालदेखि श्रममा संलग्न छन् । विभिन्न रूप र प्रकारले अधिकारका विषयमा अघि बढिरहेका हुन् । महिलाहरू कहिले उच्च सम्मानसाथ देवीका रूपमा पूजित भएका र कहिले पराजयको पीडासहित दासत्वमा बाँचेका अनेकौँ सन्दर्भ छन् । श्रमिक महिलाहरूको आन्दोलनलाई पछिल्लो १११ वर्षको विषयमा सीमित पार्नु भनेको त्यसपूर्वका महिला जागरणका सबै सन्दर्भलाई नकार्नु र उनीहरूको अस्तित्वलाई, उनीहरूको इतिहासलाई ‘इतिहास विहीन इतिहास’ मा सीमित गर्नु हो ।
हामी अनमेल विवाहको सन्दर्भ खोतल्दा स्कन्दपुराणको स्वस्थानी कथामा वर्णित गोमा र शिवशर्माको विषय सम्झन्छौँ । पुरुष राजाले आफ्नी श्रीमतीलाई गरेको अन्यायका लागि रामद्वारा अग्निपरीक्षा गरिएकी र वनवास पठाइएकी सीताको प्रसङ्गलाई जोडतोडका साथ उठाउँछौँ । पुरुषको छली चरित्रलाई चित्रित गर्न विष्णुले वृन्दालाई झुक्याएको विषय उठाउँछौँ, यस्ता अन्य अनेकौँ प्रसङ्ग कोट्याउँछौँ तर जब महिलाहरूका विषयमा, श्रमिकका विषयमा, सचेतनता र ससङ्घर्षको विषय उपस्थित हुन्छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसको विषय आउँछ । हामीले आफ्नोपन, आफ्नो भूगोल र आफ्नो इतिहास सर्लक्क बिर्सिदिन्छौँ ।
अमेरिकी परिवेशमा त्यहाँका महिलाहरूले अधिकार नपाएको महसुस गरे, त्यस विरुद्ध ससङ्र्घको आवश्यकता बुझे, आन्दोलन गरे । मानवीय नाताले त्यस आन्दोलनप्रति सबैले समर्थन जनाउनु, सहानुभूति जनाउनु र ऐक्यबद्धता व्यक्त गर्नु सकारात्मक विषय हो ।
तर, के हामी जागेकै त्यतिबेला हो ? त्यसअघि यस उपमहाद्वीपका महिलाहरूमा केही जागरण नै थिएन ? संयुक्त राष्ट्रसङ्घ, त्यसका उपक्रमहरूको संरचनामा पाश्चात्य प्रभाव रहेको छ । उनीहरूकै प्रभावमा त्यतातिर सुरु भई विकास भएका आन्दोलनहरू मात्र ‘अन्तर्राष्ट्रिय’ भएका छन् । यस उपमहाद्वीपका चेतना, सङ्घर्ष, भोगाइले ‘अन्तर्राष्ट्रिय’ हुने हक राख्दैनन् र ? सिङ्गो भारतीय उपमहाद्वीपको कुरा नगरौँ, हाम्रै नेपालको मात्र विषय लिँदा पनि संसारमै हाम्रो महिला आन्दोलनको ज्येष्ठता छ ।
अधिकार र अधिकारका लागि गरिने आन्दोलन र त्यसप्रतिको समर्थन, सहानुभूति, सहयोग र ऐक्यबद्धताका लागि सङ्कोच मान्न र सङ्कुचित हुनुपर्दैन, तर हाम्रा आफ्ना पीडा छन्, बुझाइ छन्, भोगाइ छन्, सिकाइ छन्, उपलब्धि छन्, जय–पराजय छन् । यिनलाई सम्बोधन गरेर विश्वव्यापी बनाउन मिल्दैन र ? हाम्रा आफ्ना पीडा, बुझाइ, भोगाइ, सिकाइ, उपलब्धि, जय–पराजयको अनुवाद र संस्करणको यथार्थ पनि अरूले भनिदिनुपर्छ र ? नेपालमा सङ्गठित आन्दोलनको सुरुआत गर्ने योगमाया र त्यत्रो ठूलो सङ्ख्यामा उहाँको नेतृत्वमा भएको जलसमाधिभन्दा ठूलो महिला आन्दोलनको इतिहास संसारभरिमा कुनै छ र ? त्यस्तो देखिँदैन । यद्यपि, यो १९०८ भन्दा पछिको घटना हो तर यसको पृष्ठभूमि योभन्दा जेठो छ ।
मानिसले मानिसलाई गर्ने थिचोमिचो, हेला–होचोविरुद्ध हुने संसारको जुनसुकै भूभागको आन्दोलनप्रति, जुनसुकै भूगोलका मानिसले समर्थन सहयोग गर्नु स्वाभाविकै हो । तर, आन्दोलनको उठान हुने भूगोलको सामाजिक–सांस्कृतिक चेतना, सामाजिक प्रथा–पद्धतिहरू अर्को भूगोलमा ठ्याक्कै मिल्ने हुँदैन । धेरै जनाले एउटै कल–कारखाना, मानिसहरूको बाक्लो बस्ती रहेको सहर वा गाउँहरूमा धेरै मानिस एकसाथ एकै ठाउँमा भेला भएर गर्न सकिने हुन्छ भने कम जनसङ्ख्या भएको, छरिएर रहेको गाउँबस्तीका मानिसहरू ठूलो सङ्ख्यामा एकसाथ एकैपटक जुट्न सम्भव हुँदैन ।
अनि, राज्यका विरुद्ध गरिने आन्दोलन जुलुस–जनप्रदर्शनको रूपमा सङ्गठित गर्न सकिने हुन्छ । जहाँ विभेद घरभित्र छ, परिवारमा हरेकको श्रेणी विभाजन छ, समाजमा उत्पीडनमा परेका मानिसहरू पनि विभिन्न श्रेणीमा बाँडिएको अवस्था छ, त्यहाँको आन्दोलनको स्वरूप भिन्न हुन्छ । त्यसैले उद्योग, सहर, बाक्लो बस्ती भएका, परिवार र समाजमा विभााजित श्रेणी कम भएका ठाउँमा आन्दोलनको स्वरूप ठूलो र प्रभावकारी हुन्छ । अन्यत्रको सामाजिक आन्दोलन र नेपालको आन्दोलनको स्वरूपको सन्दर्भमा यो भिन्नता बुझ्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय महिला आन्दोलनको १११ औँ वर्ष मनाइरहँदा हाम्रो संस्कृतिमा महिलाहरूको स्थानबारे बुझ्न र सम्झन आवश्यक छ । हाम्रा प्राचीन शास्त्र र प्रबन्धहरू महिलामैत्री त छँदैछन्, त्योभन्दा महìवपूर्ण कुरा उनीहरूले पुरुषभन्दा बढी प्राथमिकताको पक्षपोषण गरेका छन् । यस सन्दर्भमा स्कन्दपुराण, माहेश्वरखण्डको यो
श्लोक मनन गरौँ ः
दशपुत्रसमा कन्या दशपुत्रान् प्रवद्र्धयन् । यत्फलं लभते मत्र्यः तल्लभ्यं कन्ययैकया ।।
अर्थात्, एउटी कन्या दश पुत्रहरू समान हुन्छिन् । दश पुत्रको लालन पालन गर्नाले जुन फल प्राप्त हुन्छ, त्यति फल केवल एउटी कन्या पालन गर्नाले नै प्राप्त हुन्छ ।
स्त्रीशक्ति यसरी महिमामण्डित छ । सारा वेद, पुराणमा सिङ्गो सृष्टिको, स्थितिको र प्रलयको प्राकृतिक शक्तिको रूपमा स्त्रीशक्तिलाई स्वीकार गरिएको छ । अहिले विभिन्न बहानामा यस्ता प्रबन्धहरूलाई बिर्साउने प्रयत्न भइरहेको छ । यसलाई अलि द्वन्द्ववादी भएर हेर्न र बुझ्न आवश्यक छ ।
हाम्रो संस्कृतिमा नियन्त्रण र उत्प्रेरणा दुवै छ । यहाँको संस्कृतिले कतिपय अवस्थामा बन्देजहरू लगाएको जस्तो देखिन्छ भने त्यसलाई सही अर्थमा बुझ्दा अधिकारका लागि प्रेरित गरेको देख्न सकिन्छ । कहिले नियन्त्रण बढी प्रभावी भएको छ । यस्तो अवस्थामा अधिकार तथा मान–सम्मान कटौती भएका छन् । कहिले उत्प्रेरणा प्रबल भएको छ र यसको अतिशयोक्तिले अतिसम्मान भएको पनि देखिन्छ । यसका पछाडि रहेका कारणहरूबारे पनि थप विमर्श आवश्यक होला ।
अघिल्ला पङ्क्तिहरूमा चर्चा गरिएझैँ हाम्रो भूगोल, यहाँको सांस्कृतिक आधारहरूले शासक–शासित सबैलाई उत्तिकै प्रभाव पारेको हुनाले यहाँको सङ्घर्षको एउटा पक्ष ‘आत्मसङ्घर्ष’ को रह्यो । यो भनेको आफँैभित्र जागरण ल्याउने विषय हो ।
योगमायाको आन्दोलनको अन्तर्वस्तुमा यो पक्ष पहिलो पक्षको रूपमा रहेको देखिन्छ । वि.सं. १९२४ (सन् १८६७) मा जन्मेकी योगमायाको उमेर सन् १९०८ मा ४० वर्षको थियो । यो ४० वर्षमा योगमाया सामाजिक उत्पीडन व्यहोर्दै चुपचाप बसिन् होला ? कदापि बसिनन् । योगमायाको सङ्घर्ष उनी १४ वर्षको हुँदादेखि सुरु भएको हो । सात वर्षको उमेरमा विवाह गरिदिएकी योगमाया नौ वर्षकी हुँदा विधवा भइन् । यो अबोध बाल्यकालदेखि १४ वर्षको किशोर उमेरसम्म घरमै बसिन् । यस बसाइँमा अकल्पनीय लाञ्छना र प्रताडना खप्नुप¥यो । विवाह गरेकी छोरी, त्यसमाथि विधवा । धार्मिक अन्धविश्वास र सामाजिक रुढिका बीच उनी १४ वर्षको उमेरमा माइत गएपछि घर फर्कन मानिनन् । यो त्यतिबेलाको ठूलो विद्रोह थियो । २१ वर्षको उमेरमा भारतको आसाम प्रवास र दोस्रो विवाह अर्को अझ ठूलो विद्रोह हो । ती श्रीमान्को पनि मृत्युभएपछि पुनः विवाह यो थप विद्रोह थियो ।
प्राप्त लिखतअनुसार आफ्नै जन्मभूमिमा रहेर समाजका लागि केही गर्ने सामाजिक चेतनाको कारण छोरी मात्र लिएर वि.सं. १९७३ (सन् १९१७ ?) मा माइतमा आएपछि उनको विद्रोह आन्दोलनमा विकसित भयो । शास्त्रार्थ गर्ने, प्रवचन दिने, छुवाछूत, बाल विवाह, सती प्रथाको, दास प्रथाको, सानो पाथी–ठूलो पाथी, चर्को ब्याज आदिको विरोधमा योगमायाले आफूलाई उभ्याएको पाइन्छ । त्यतिबेला समाजमा प्रचलित यस्ता प्रथाहरूको विरुद्धमा बोल्नु चानचुने विषय थिएन । हाम्रो भूगोलको श्रमको क्षेत्र नै फरक रहेको हुनाले कारखानामा काम गर्नेभन्दा फरक अवश्यक रह्यो तर योगमायाको आन्दोलन सबै प्रकारका शोषण–उत्पीडनका विरुद्ध लक्षित रहेको हुनाले समग्र सामाजिक रूपान्तरणको आन्दोलन थियो, जसभित्र श्रमिक आन्दोलन
अटाउन नसक्ने हुँदैन ।
योगमायाको आन्दोलन शोषणको अन्त्य भई कर्तव्य परायणता र मानव हितकारी धर्मराज्यको पक्षमा थियो । तत्कालीन शासकहरूले यस्ता मागहरूमा चासो नदेखाएपछि आत्मदाह गर्ने योजना बनाएकी योगमायाको पक्षमा अग्निदाहका लागि २४० जना अनुयायी तयार भएका थिए । यो सफल हुन सकेन । त्यसपछि असार २२, १९९८ मा ६८ जना अनुयायीसहित अरुण नदीमा जलसमाधि लिएको इतिहास छ । ठूला सहरमा नारा–जुलुस सहितको प्रदर्शन भएन तर यतिसम्मको यो विद्रोह कत्रो आन्दोलन हो ? यता ध्यान दिन आवश्यक छ ।
आत्मसङ्घर्ष, सामाजिक सङ्घर्ष हुँदै शासनका विरुद्ध विकास भएको राजनीतिक आन्दोलनको यो जेठो आन्दोलनका सन्तानले अहिले पछि विकसित भएका नाम कहलिएका सहरको राज्यविरुद्ध केन्द्रित आन्दोलनलाई शिरोपर गर्नैपर्छ भन्ने केही छ र ? त्यस्तो केही छैन ।
वेद, पुराण, महाभारत आदिका महिला पात्रहरूको विद्रोहको सांस्कृतिक आधार र योगमायाजस्तो क्रान्तिकारी योद्धाको भूमिमा योभन्दा कान्छो आन्दोलनलाई नेता मान्नपर्ने केही आधार देखिन्न । आठ मार्च होइन, अन्तर्राष्ट्रिय महिला आन्दोलनको हक योगमायाको आन्दोलनले पाउनुपर्छ । यसो हुँदा मात्र आन्दोलनले संस्कृति निर्माण र विकासमा क्रान्तिकारी अन्तर्वस्तु फेला पार्न सक्छ ।
(लेखक संस्कृति अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?