logo
२०८१ माघ ९ बुधवार



इतिहास र संस्कृतिको उपयोग

विचार/दृष्टिकोण |




घनश्याम कोइराला

मानिसको जन्म सामाजिक घटना होइन, प्राकृतिक घटना हो । तर, मानिसलाई सामाजिक प्राणी मानिन्छ र भनिन्छ । प्रकृतिको विषय सामाजिक बन्न सक्छ । प्राकृतिकबाट सामाजिक हुने विषय रूपान्तरणको विषय हो कि होइन ? अवश्य हो । वनमा हुर्किएको सालको रूख सामाजिक हो कि होइन ? रूखकै हिसाबले होइन तर उपयोग र स्वामित्वका हिसाबले हो, किनभने वन सामाजिक सम्पत्ति हो । यो दृष्टिकोणको प्रभाव हो कि होइन ? अवश्य हो ।
प्रकृतिमा जन्मेको, उम्रेको, हुर्केको ‘वस्तु’ त सामाजिक हुन सक्छ भने समाजको प्रयासले बने–बनाइएका विषय वा वस्तु त सामाजिक नियन्त्रण र प्रभाव क्षेत्रको हुने नै भए । यो पनि प्रकृति र समाजको सहअस्तित्वको विषय हो । यस्तैप्रकारले मानिसले प्रकृतिबाट धेरै कुरा भौतिक रूपमा उपयोगमात्र गरेको छैन, सिकेको पनि छ । यी सिकाइलाई जीवनोपयोगी बनाएको छ । यिनैका अन्तर्वस्तुलाई धर्म र संस्कारको विषय बनाएको छ । यस्तै संस्कारबाट संस्कृति निर्माण र विकास गरेको छ । मानवीय वा सामाजिक र प्रकृतिमा रहेको सानो आधारभूत भिन्नता के हो भने प्रकृतिमा ‘हुन्छ’ र सामाजिक वा मानवीयमा ‘बनाइन्छ’ । वनलाई, अन्य प्रकृतिमा रहेका भौतिक वस्तु वा पदार्थलाई सम्पत्तिका रूपमा सामाजिक, सामुदायिक, निजी वा राष्ट्रिय बनाउने दृष्टिकोण र पहल मानिसको हो, समाजको हो । यस्तो बन्नुमा दृष्टिकोण र पहलको भूमिका छ ।
यी विषयबाट के बुझ्न सजिलो हुन्छ भने परिवर्तन वा रूपान्तरण दृष्टिकोणको विषय हो । दृष्टिकोण जस्तो हुन्छ, रूपान्तरणको प्रक्रिया त्यसरी नै अघि बढ्छ । त्यसैले, केही हुन्छ, केही गर्नुपर्छ, मैले नै गर्नुपर्छ, अहिले नै गर्नुपर्छ, यहीँ गर्नुपर्छ भन्ने दृष्टिको राखेर अघि बढ्ने हो भने गुनासा, आलोचना, विरोध, निन्दा क्रमशः घट्दै जान्छ र सकारात्मक रूपान्तरणको दिशा स्पष्ट हुँदै जान्छ र यसको गति तीव्र हुँदै जान्छ ।
हामी देशबाहिरका भौतिक संरचना राम्रो देख्छौँ र लोभिन्छौँ । अन्यत्रको व्यवस्थापनका विषय देख्छौँ, सरसफाइको अवस्था देख्छौँ र लोभिन्छौँ । अन्यत्र उद्यान–उपवन देखेर आल्हादित हुन्छौँ । अन्यत्रका मठमन्दिर, सांस्कृतिक, धार्मिक सम्पदा देखेर उस्तै आकर्षित हुन्छौँ । पटक–पटक त्यस्ता स्थल हेर्न जान मन गर्छौं र जाने पनि गर्छौं । अरू देशका साधुसन्तको अनुयायी बनेका छौँ । आफ्ना पौराणिक, ऐतिहासिक महŒवका स्थल हेर्दैनौँ । अन्यत्रका लेखकको लेखाइ रूचाउँछौँ, गीत–संगीत, नृत्य, अभिनय, कलाका अन्य विधा र प्रस्तुति पनि अरूको साह्रै रुचाउँछौँ । अन्यत्रका नेताका बोली÷भाषणका टुक्रा सूक्तिका रूपमा प्रयोग गर्छौं । तर, आफ्नोतिरको विषयमा न विश्वास गर्छौं, न आफैँ अघि सर्छौं ।
नेपालका कतिपय नेताहरू पनि विदेशी साधुसन्त, महात्माको शरणमा जान्छन् । त्यहाँ पुगेर उस्तै रङमा रङ्गिन्छन्, उस्तै ढङ्गमा सजिन्छन् । उस्तै मन्त्र गुनगुनाउँछन्, उस्तै भजनमा राग मिसाउँछन् । आफ्नो देशका साधुसन्तप्रति उचित आदरभाव राख्दैनन्, चासो पनि राख्दैनन्, उदासीन रहन्छन् । यहाँका कलाकारका सन्दर्भमा पनि
यस्तो देखिन्छ ।
यस्तो किन हुन्छ ? किन गरिन्छ यस्तो ? यो एकप्रकारको क्रिया–प्रतिक्रियाजस्तो देखिन्छ । यहाँका साधुसन्त, महात्मा पनि विदेशी नेता, विदेशी दाता, विदेशी वस्तुप्रति बढी लालायित भएको पाइन्छ । तर, साधुसन्त, महात्मा अथवा नेता, सबै उस्तै छन् भन्ने होइन । जस्ता भए पनि स्वदेशी रुचाउने, जो भए पनि स्वदेशीलाई प्राथमिकतामा राख्ने पनि सबै क्षेत्रमा नभएको भने होइन ।
हामी दृष्टिकोण, चिन्तन र व्यवहारमा अघि बढ्न सकेनौँ भने हाम्रो समाज अगाडि बढ्न सक्दैन । प्राकृतिक मान्छे सामाजिक प्राणी बन्न सकेको छ, प्रकृतिका बोटवृक्ष, ढुङ्गा, माटो, पानी सामाजिक सम्पत्ति बन्न सक्छ भने हामी सबैले आफ्नालाई रुचाउने, हुर्काउने, बढाउने, अपनाउने गर्ने संस्कृति निर्माण गर्न सकिँदैन र ? अवश्य सकिन्छ ।
प्रविधिको विकास नभएको, पूर्वाधारको विकास नभएको, आवागमनको दृष्टिले जटिल भूबनोट रहेको अवस्था भएको बेला साह्रै पातलो मानव बस्तीमा रहेका हाम्रा पुर्खाले कति धेरै जीवनोपयोगी विषय पत्तो लगाए होलान् ? कसरी देशको भूगोलका हरेक खण्ड–खण्डको नामकरण गरे होलान् ? कसरी नाता–सम्बन्धको नामकरण गरे होलान् ? कसरी काम कर्तव्य छुट्ट्याएर विभाजन गरे होलान् ? कसरी सामाजिक मेलमिलापका विषय नियम विकास गरे होलान् ?
उनीहरूको अवस्था प्रकृतिबाट मात्र सिक्ने थियो । संस्कृत भाषाको यो श्लोकबाट पनि यो कुरा पुष्टि गर्छ : सिंहादेकं वकादेकं शिक्षेच्चत्वारि कुक्कुतात् । वायसात्पञ्च शिक्षेच्च षट् शूनस्त्रिणी गदर्भात् ।। अर्थात्, सिंहबाट एउटा, बकुल्लाबाट एउटा, कुकुराबाट चारवटा, कागबाट पाँचवटा, कुकुरबाट छवटा र गधाबाट तीन कुरा सिक्नू ।
यसरी शिक्षा लिँदारहेछन् हाम्रा पुर्खा ।
यसरी हेर्दा हाम्रो इतिहास र पुर्खाको विरासत गौरवशाली छ । यी सबै कुरा हामीले हाम्रा पुर्खाबाट परम्परादेखि सनातन रूपमा पाएका छौँ । तर, के आज पनि हामी काग, कुखुरा र सिंह, बकुल्लाबाट मात्र सिक्ने अवस्थामा छौँ त ? यसरी उपभोक्तामात्र भएर हुँदोरहेनछ । मानव जातिले आफ्नो सहजताका लागि धेरै विकास गरेको र गरिरहेको छ । समग्र मानव जातिको कुरा गर्दा त सन्तोष गर्ने ठाउँ छ तर मानव जातिको यस प्रयासमा हामी नेपाली जातिको भूमिका के–कति छ र के–कति थप्न सकिन्छ भनेर सबैले सोच्नुपर्दैन र ? पुर्खाको पराक्रमले मात्र पुग्छ र ? हामी आफ्नै बलबुतामा अगाडि बढ्न पर्दैन र ? अवश्य पर्छ । अहिले आधुनिक राष्ट्रको विकास भएको अवस्था, राष्ट्र–राष्ट्रबीच सम्बन्धको आवश्यकता, अन्तर्राष्ट्रिय संस्थाको विकास भएको अवस्था हो । यस्तो अवस्थामा सहकार्य र समन्वयका साथै, अन्तनिर्भरतामा आफ्नो योगदान र भूमिका महत्त्वपूर्ण हुन्छ । यसो गर्न नसक्दा विकासमा पछि रहेका मुलुकमा हरेक क्षेत्रमा शक्तिशाली दाता वा सहयोगी राष्ट्रको प्रभाव र दबदबा बढ्न सक्छ । यस्तो भइरहेको पनि छ ।
नेपालमा योजनाबद्ध विकासको प्रयास करिब सात दशकअघि प्रारम्भ भएको हो । यसलाई पञ्चवर्षीय योजना भन्ने गरिएको छ । कूटनीतिक क्षेत्रमा भएका प्रयासस्वरूप धेरै मुलुकसँग दौत्यसम्बन्ध विकास भएको छ । यहाँको प्रकृतिको संरक्षण र त्यसबाट लाभ प्राप्त गर्ने उद्देश्यले प्रकृति संरक्षण कोष स्थापना भएको छ र यथोचित रूपमा क्रियाशील छ । वित्तीय क्षेत्रका लागि वित्त आयोग छ । ठूलो जनसङ्ख्यालाई प्रभाव पार्ने राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम अघि बढाइएको छ । शिक्षाको क्षेत्रमा पनि हामी अगाडि बढिरहेका छौँ । यसको लागि विश्वविद्यालय, कलेज, विद्यापीठ, विद्यालय, चिकित्साशास्त्र पढ्ने मेडिकल कलेज, कानुन, अर्थशास्त्र, इतिहास, विज्ञान, अनेकौँ भाषा पढाइ हुने शिक्षालय स्थापित तथा सञ्चालित छन् । धार्मिक आस्था, विश्वासका स्थल मन्दिर, मस्जिद, गुम्बाका लागि कोष तथा विकास समिति बनेका छन् । यस्ता अन्य अनेकौँ क्षेत्रमा ध्यान पुगेको छ । थप धेरै गर्नुपर्ने होला, ध्यान पुगेकै देखिन्छ । ललितकला, सङ्गीत, नाट्य, अभिनयका विषय प्रतिष्ठानको माध्यमबाट गतिशील छन् । खेल क्षेत्र पनि सन्तोषजनक रूपमा अघि बढ्दो छ । सूचना तथा सञ्चारको क्षेत्रमा हामी अगाडि बढिरहेको अवस्था छ । पूर्वाधार विकासका क्षेत्रका विकासको गति तीव्र छ । सोचेजति र सोचेजस्तै नभइसक्दाका असन्तुष्टि रहनुलाई अन्यथा लिनपर्ने भएन ।
अधिकार क्षेत्र, पछि पारिएका क्षेत्र समुदाय, अल्पसङ्ख्यक आदिका क्षेत्रमा गरिएको संवैधानिक व्यवस्थाको कार्यान्वयनको अवस्था राम्रो छ । यिनका निम्ति यहाँ ठुल्ठूला राजनीतिक आन्दोलन भए । अहिलेको व्यवस्था र शासन प्रणाली जहानियाँ होइन र निर्दलीय पनि होइन । मताधिकारको माध्यमबाट सबै नागरिक शासनको नेतृत्व निर्माण गर्नमा सहभागी भएको व्यवस्था हो । तर, यसलाई सही ढङ्गले बुझाउन र बुझ्न नसक्दा यसलाई विरोध गर्न पाइने व्यवस्थामात्र झैँ हरेक कुराको विरोध गर्ने, सडक र समाजिक सञ्जालबाटै सबै कुराको छिनोफानो लाउनेजस्तो गतिविधि पनि देखिएका छन् । कहिलेकाहीँ भड्काउमा देखिए पनि जनसचेतना र खबरदारी उल्लेखनीय छ । यी सबै लोकतन्त्र र गणतन्त्रमा फस्टाएका उपलब्धि हुन् ।
तर पनि सबै क्षेत्रमा मौलिकताको खोजी भएको छ त ? प्रश्न उठ्छ । हाम्रो देशका दूरदर्शी नेता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सम्बोधनमा भन्नुहुन्छ, ‘यो देश सारा संसार अन्धकारमा हुँदा तमसो मा ज्योतिर्गमयको सन्देश दिन्थ्यो, ऋषिमुनिले जीवन समृद्ध पार्थे, कुनै हालतमा निम्छरो हुनै नहुने !’...आदि । उहाँको नेतृत्वमा राष्ट्रिय सङ्कल्प छ, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ यी विषयले हामीलाई उत्साहित पार्न सक्छन् । विकास गर्दा हामीले ‘इतिहास झल्कने र आधुनिकता टल्कने’ गरी गर्नुपर्छ । यी भनाइहरू वेदका ऋचाजस्तै सारगर्भित छन् ।
हो, अब हामीले हाम्रा अन्य कामका क्षेत्रमा जस्तै संस्कृतिको क्षेत्रमा पनि जोडदार कदम चाल्न आवश्यक छ । अरू विषय अन्यत्रबाट लिएर काम चलाउँदा पनि हुन्छ तर इतिहास र संस्कृति आफ्नै हुनुपर्छ । इतिहास र संस्कृति मौलिक हुन्छ ।
हामीले हाम्रो आफ्नै भूगोलको माटो, पानी र जनजीवन, आफ्नै पुर्खाको इतिहास, संस्कृतिका राम्रा पक्षहरू खोज्ने र लागू गर्ने हो भने रूपान्तरण सम्भव छ । हाम्रो संस्कृतिले हामीलाई आफ्ना पुर्खाप्रति कृतज्ञ हुन सिकाउँछ, इतिहासको सम्मान गर्न सिकाउँछ । हामीले गर्ने श्राद्ध, अग्रजको जन्मदिन, राष्ट्र र समाजका लागि योगदान गरेकाप्रति मरणोपरान्त पनि श्रद्धापूर्वक स्मरण गर्छौं । यस्तो गरेर हामी राम्रै गरेका छौँ, किनकि हामीले उहाँहरूबाट केही प्राप्त गरेका छौँ । वास्तवमा अहिले हामीसँग भएका धेरै विशेषता पुर्खाको विरासतबाट प्राप्त भएका हुन् । यी हाम्रा मौलिक संस्कृति हुन् ।
इतिहास भनेको राजा महाराजाहरूले सत्ता प्राप्त गर्न गरेका लडाइँ, झगडामात्र होइन र संस्कृति भनेको रङ्गरमाइलो र आजापूजामा मात्र होइन । हाम्रो इतिहासको ठूलो भाग संस्कृतिमा समाहित छ । हामीले हाम्रो मौलिकता झल्काउँदा संस्कृति भल्किन्छ । संस्कृति बहुआयामिक विषय हो । संस्कृतिलाई कतिपयले धर्मका रूपमा बुझिरहेको पाइन्छ भने कतिले यसलाई नाचगानसँग सम्बन्धित विषय ठान्छन् । वास्तवमा संस्कृति भनेको जीवनको त्यो रसधारा हो, जो युगौँदेखि परम्परामा सञ्चित रहँदै आएको छ । शब्दको अर्थले संस्कृति भनेको विकृति नभएको सामाजिक गुण हो, यो परम्पराको परिष्कार हो । यसमा इतिहास, परम्परा, सोच, विचार, मूल्य–मान्यता, रहनसहन, कला, कौशल, जुक्ति, बुद्धि, सीप, खाद्य, पहिरन, विश्वास, गीत–संगीत, नृत्य, अभिनय, स्तुति, प्रार्थना आदि अनेकौँ विषय समष्टि
समाश्रित छ ।
संस्कृतिप्रति हाम्रो दुईवटा दायित्व छन्, पहिलो जोगाउनु अर्को विकास गर्नु । जोगाउनु भनेको यिनको संरक्षण गर्नु हो भने विकास गर्नु भनेको सङ्गतिपूर्ण परिवर्तन वा रूपान्तरण गर्नु हो । संस्कृतिका क्षेत्रमा एकसाथ दुई विपरीत कार्य गर्नुपर्नेछ । संरक्षण गर्दा नफेरिने, रूपान्तरण नहुने र विकास गर्दा, फेर्दा संरक्षण नहुने । कतिपय मानिस यसैमा अलमलिएको देखिन्छ । तर, यसमा अल्मलिन पर्दैन ।
इतिहास, संस्कृति, पहिचानका आधार हुन् र पहिचानका शिखर पनि हुन् । यस विषयमा वेद, पुराणका विषयहरू सोही सिद्धान्तमा आधारित भई उत्खनन गर्न आवश्यक छ । भौतिक उत्खननबाट पुराना भौतिक संरचनाका अवशेष भेटिन्छन् भने संस्कृतिका आधारको उत्खननबाट मनोवैज्ञानिक संरचनाका अवशेष भेट्न सकिनेछ । यति साह्रो महत्त्वको विषयमा अध्ययन, विश्लेषण हुन आवश्यक छ । यसका लागि कार्य गर्न भरपर्दो, गतिलो राष्ट्रियस्तरको संरचना आवश्यक देखिन्छ ।
इतिहास र संस्कृति के हो, कस्तो हो, कहाँ छ भन्ने बुझ्ने बुझाउने काम गरेरमात्र झल्काउने पक्षलाई बलियो बनाउन सकिनेछ । अबको नीति, कार्यक्रम र बजेटमा देशको संविधानमा व्यवस्था भएको नेपालमा सनातनदेखि चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न उपयुक्त नीति, कार्यक्रम, योजना र बजेटसहितको राष्ट्रियस्तरको संरचना निर्माणमा सम्बन्धितको ध्यान पुग्नेछ ।
(लेखक संस्कृति अध्येता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?