logo
२०८१ माघ ९ बुधवार



मातृशक्तिप्रति सम्मान !

विचार/दृष्टिकोण |




घनश्याम कोइराला
संस्कृतिको अर्थ निरन्तर भइरहने सकारात्मक परिवर्तन हो । तर, यदाकदा हाम्रो समाजमा संस्कृतिलाई प्राचीनताको यथावत् निरन्तरताका रूपमा बुझ्ने कमजोरी देखिने गर्छ । जस्ताको तस्तै दोहोरिने संस्कृति होइन, त्यस्तो त परम्परा हो । देश, काल तथा वस्तुस्थिति सापेक्ष ढङ्गले बुझ्न सकिएन भने परम्परा संस्कृतिमा रूपान्तरण हुँदैन र यथास्थितिवादी अन्धविश्वास बन्छ । त्यसैले, संस्कृति र परम्पराका आधारलाई सही ढङ्गले बुझ्न आवश्यक हुन्छ ।
पूजा संस्कृति सम्मान र कृतज्ञताको संस्कृति हो । यस्तो संस्कृतिले कुनै व्यक्तिप्रति अकारण गरिने भक्तिभाव वा चाप्लुसी भन्नेमात्र बुझियो भने सही हुने छैन । कुनै विचार, विषयप्रतिको निष्ठा पनि एकप्रकारको भक्तिभाव हो । कुनै व्यक्तिको उपकारबापत कृतज्ञता व्यक्त गर्नु एकप्रकारको पूजा हो । भक्तिभाव र पूजाका फरकफरक सन्दर्भलाई सही ढङ्गले बुझिएन भने अर्थको अनर्थ हुन्छ । यस्तो हुँदा सम्मान पाउनुपर्नेले अपमान र निष्ठाको विषय स्वार्थको साधन बन्न सक्छ ।
अहिले प्राचीनता र संस्कृतिको विषय आउनासाथ विभेदका प्रश्न उभिने गरेको देखिन्छ । खासगरी, महिलाप्रतिको विभेद र असमानताका कारण मूल कारण भएको आरोप सनातन संस्कृतिमाथि लगाउने गरिएको सन्दर्भमा हामी सरस्वती पूजाको विषयमा चर्चा गरिरहेका छौँ । सनातन संस्कृति रूचि र क्षमतामा आधारित कार्यविभाजनको संस्कृति हो । सनातन संस्कृतिमा हरेक शक्तिशाली व्यक्तित्वको कार्यविभाजन गरिएको पाइन्छ । यसरी गरिने कार्यविभाजनअनुसार सम्बन्धित कार्यको मुख्य जिम्मेवारलाई अधिष्ठाता÷अधिष्ठात्री भन्ने गरिन्छ ।
सनातन संस्कृतिका अनुयायी अनेकौँ देवीदेवताको पूजा गर्छन् । पूजा गर्नु भनेको पुज्यको उच्चतम सम्मान गर्नु हो । अहिले हामी देवी सरस्वतीको पूजाको उत्सव सरस्वती पुजनोत्सव मनाइरहेका छौँ । उपरोक्त कार्यविभाजनअनुसार देवी सरस्वती विद्याकी अधिष्ठात्री–मुख्य नियामक हुन् ।
देवी सरस्वती नारी व्यक्तित्व अर्थात् मातृशक्ति हुन् । सनातन संस्कृतिको आधार ग्रन्थ वेदमा सरस्वतीका विषयमा लेखिएका निम्नमन्त्रले सरस्वतीका रूपमा मातृशक्तिप्रतिको अपेक्षा र सम्मान अभिव्यक्त गर्छन् ः
पावका नः सरस्वती वाजेभिर्वाजिनीवती । यज्ञं वष्टु धियावसुः । चोदयित्री सूनृतानां चेतन्ती सुमतीनाम् । यज्ञं दधे सरस्वती । अर्थात्, सरस्वतीले पवित्र बनाउँछिन्, पोषण दिन्छिन् र उनी बुद्धिमत्तापूर्वक ऐश्वर्यदान गर्छिन् । उनै देवी सरस्वतीले ज्ञान र कर्मद्वारा हाम्रो यज्ञ सफल गराइदिऊन् । सत्य र प्रिय वचन बोल्न सिकाउने र मेधावीलाई यज्ञका लागि प्रेरणा दिने सरस्वती देवीले हाम्रो यो यज्ञ स्वीकार गरून् र हामीलाई खोजेकोजस्तै वैभव दिऊन् । (ऋग्वेद, १।३।१० र ११) सरस्वती नः सुभगा मयस्करत् । शौभाग्यशालिनी सरस्वतीले हामीलाई सुख दिऊन् । ऋग्वेद १।८९।३ यी मन्त्रको आसय सही ढङ्गले बुझ्ने प्रयास गर्न आवश्यक छ ।
माथिका मन्त्रमा यज्ञको कुरा उल्लेख छ । यज्ञ भनेको उत्पादनका लागि गरिने सामूहिक पराक्रम हो । यसलाई अभियानका रूपमा पनि बुझ्न सकिन्छ । युद्ध र समारोह पनि यज्ञ नै हुन् । यज्ञ एकैप्रकारको हुँदैन, उद्देश्यअनुसार यज्ञका धेरै अर्थ लाग्छ । यहाँ जीवनका धेरै विषयका लागि सरस्वतीलाई सम्बोधन
गरेको देखिन्छ ।
सारमा सरस्वती पूजाको अन्तर्वस्तु बुझ्ने प्रयास नै नगरी रूप पक्षलाई मात्र लिएर निष्कर्षमा पुग्नु स्वयम्मा अन्धविश्वास हो । खासमा सरस्वती पूजाको विज्ञान–मनोविज्ञान माथि उल्लेख गरिएका वेदका मन्त्रले स्पष्ट पार्छन् ।
हाम्रोमा माघ शुक्ल पञ्चमीको दिन सरस्वती पूजा गर्ने र शिशुलाई अक्षरारम्भ गराउने प्रचलन छ । यस दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ र यस दिन वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ । यस दिनसँग जोडिएका अन्य प्रसङ्ग भए पनि सरस्वतीको पूजा गर्ने, शिशुलाई अक्षरारम्भ गराउने परम्परा छ । विद्यालयमा र सरस्वती मन्दिरमा विद्यार्थीले सरस्वती पूजा गरी विद्या प्राप्तिको कामना गरिरहेका हुन्छन् ।
सरस्वती पूजाको दिन प्रायः विद्यार्थीलाई आँखा चिम्लेर सरस्वतीको मूर्ति वा तस्बिरसामु हात जोडेर उभिन या बस्न लगाई यो श्लोक भन्न लगाइन्छ ः सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी । हंशवाहन संयुक्ता विद्यादानं करोतु मे । यसको भावार्थ हो, हातमा वीणा र पुस्तक लिएकी, वाहनका रूपमा रहेको हाँससँगै रहेकी, जुन सरस्वती देवीलाई म देखिरहेको छु, उनले मलाई विद्या दिऊन् । यसरी मन्त्र भन्दै सरस्वतीको स्तुति गरिरहेको देखिन्छ । तर, सरस्वतीको यस्तो वन्दना गरिरहँदा पनि सरस्वती शब्दको अर्थ, सरस्वतीका नामको रूपमा व्यक्त भएका सामथ्र्यलाई बुझ्ने प्रयत्न गरेको देखिँदैन ।
अलि विस्तारमा बुझ्ने हो भने सरस्वतीका १२ नाम प्रचलनमा छन् । सरस्वतीका यिनै नामको स्तुति गर्ने र गराउनेले पनि यी नाम सरस्वतीका गुण, विशेषता र सामथ्र्य हुन्, सरस्वतीका उपाशक
(विद्यार्थी)ले प्राप्त गर्ने अभीष्ट हो भन्ने हेक्का राखेका हुँदैनन् । यसरी अर्थविना जपिने नामले, गरिने पूजाले परम्परामात्र वहन गरेको छ र अन्धविश्वास बढाउन मद्दत गरिरहेको छ । विद्यार्थीलाई नै अन्धविश्वासको भारी बोकाएर विश्वासको विद्याको अपेक्षा गर्न सकिन्छ र ?
सरस्वतीको पहिलो नाम भारती हो । अनि क्रमशः सरस्वती, शारदादेवी, हंशवाहिनी, जगन्माता , वागीश्वरी, कौमारी, वरदायिनी, सिद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र बाह्रौँ नाम भुवनेश्वरी हो ।
यी शब्द–शब्दमात्र सुन्दा नामका रूपमा मात्र बुझिन्छ । तर, यसको अर्थ खोतल्दा यी सामथ्र्यका रूपमा देखिन्छन् । यो मन्त्रको माध्यमबाट विद्या प्राप्त गरेको व्यक्तिमा विकास हुने, हुनुपर्ने विशिष्ट क्षमताको हुन् भन्ने स्पष्ट हुन्छ ।
सरस्वतीका नाम भन्नु नै सरस्वतीका सामथ्र्य हो र सरस्वतीको पूजा गर्नु भनेको विद्या–शिक्षाको माध्यमबाट यिनै सामथ्र्य आर्जन गर्ने प्रेरणा र प्रतिबद्धता हो । सरस्वतीका १२ नामको सधैँ स्मरण गर्नु, सम्झनु या जप्नु भनेको माथि उल्लेख गरिएका सामथ्र्य कहिल्यै नबिर्सौं भनिएको हो ।
उज्यालोको पक्षपाती हुनु, रसिलो हुनु, सफा–स्वच्छ हुनु, गुण र दोष छुट्ट्याउन सक्ने हुनु, सिर्जनशील हुनु, बोलीमा नियन्त्रण गर्नु, शुद्ध र निर्मल हुनु, अरूका काममा सहयोगी हुनु, सफलताको बाटोमा अघि बढिरहनु, जगत्बारे सोचविचार गर्नु, समयको स्वर बुझ्नु, संसार आफ्नै हो भन्ने सोच्नु र यी सबैअनुसार व्यवहार गर्न सक्ने हुनु, बन्नु, बनाउनु सरस्वतीका उपाशकको कर्तव्य हो । यिनै क्षमताको समष्टिलाई सरस्वतीका १२ नाम दिइएको हो । यो कुनै धार्मिक कृत्य होइन ।
तर, अहिलेका प्रायः पूजा पाखण्ड र अन्धविश्वासका माध्यम बनेका छन् । पाखण्ड र अन्धविश्वास जतिसुकै राम्रो आवरणमा भए पनि त्याज्य नै हुन्छ ।
सकारात्मक दिशातर्फको गतिशील यात्राका लागि हामी शिक्षालाई ज्ञान, सीप र क्षमताको माध्यम मान्दै आइरहेका छौँ । शिक्षालाई विद्यामा र विद्यालाई ज्ञानमा विकास गर्न विद्यार्थीले सरस्वती, यिनका १२ नाम र नामको अर्थसँग जोडिएका सामथ्र्यमा ध्यान दिन आवश्यक छ ।
(लेखक संस्कृति अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?