logo
२०८१ बैशाख २८ शुक्रवार



कोरोनाविरुद्धको खोप महाअभियान

विचार/दृष्टिकोण |




डा. प्रकाश बुढाथोकी

कोरोनाको महामारीलाई नेपाललगायत विश्वव्यापीमै गम्भीररूपमा हेरिएको छ । विगत एक वर्षदेखि धेरै गतिविधि ठप्प भएकाले खोपलाई विश्वले अँध्यारो गुफाको एक छेउँमा देखिएको उज्यालोको रूपमा हेरेको छ । अमेरिकाको सय दिनमा १० करोड खोप महìवाकाङ्क्षी अभियान पद सम्हालेको पहिलो दिनमै अमेरिकी राष्ट्रपति बाइडेनले अघि सार्दै सङ्कटलाई जैविक आतङ्कवादको रूपमा लिन बताउनुभएको छ । भारतले नेपाललाई २०७७ माघ ८ गते अनुदानमा १० लाख मात्रा एजेडडी १२२२–कोभिसिल्ड दिने भन्यो, जसलाई औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान ग¥यो ।
माघ १४ गते बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोभिडविद्धको खोप अभियानको शुभारम्भ भएको छ । जसमा सात वटै प्रदेशमा रहेका अस्पताल र काठमाडौँका प्रमुख अस्पतालहरू भर्चुअलरूपमा जोडिएका थिए । देशभर ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप लगाउन थालिएको थियो । माघ १८ गतेपछि मात्र ७७ जिल्लाका तीनसय खोप केन्द्रबाट सञ्चालन हुँदैछन् । प्रथम चरणमा १० दिनसम्म चारलाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य छ । प्रदेश १ मा ९६ हजार, २ मा ३४ हजार, बागमतीमा ७६ हजार, गण्डकीमा ४० हजार, लुम्बिनीमा ८८ हजार, कर्णालीमा १२ हजार र सुदूरपश्चिममा १६ हजार मात्रा खोप भण्डारणमा पुगेको छ ।
पहिलो चरणमा ३५ हजार पाँचसय ७६ जना, २ मा ३३ हजार ६ सय स्वास्थ्यकर्मी र एकहजार २०४ सरसफाइकर्मी, बागमतीमा ६६ हजार ४८१, गण्डकीमा १७ हजार ३९६, लुम्बिनीमा ३९ हजार ४९५, कर्णालीमा ११ हजार ७८०, सुदूरपश्चिममा १६ हजार २९३ जना अग्रपङ्क्तिकालाई खोप लगाइँदैछ । खोप सञ्चालन गर्न ६२ करोड रुपियाँ विनियोजन भएको छ, जस्मा शीर्षकसहित ३७ करोड प्रदेशहरूमा पठाइसकिएको छ । हालसम्म ५५ हजारभन्दा बढी जनाले खोप लिइसकेका छन् । नेपालमा २०७६ माघ ९ मा पहिलो कोरोना पुष्टि र माघ १४ मा पीसीआर परीक्षण सुुरु भएको थियो ।
खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले वैशाखभित्र सबै नेपालीले कोरोना खोप पाउने र खोपलाई व्यापार र नाफाको विषय नबनाउन बताउनुभएको छ । यो खोपमा सार्क राष्ट्रमा भारतपछि नेपाल दोस्रो भएको छ । युरोपमा खोप नपाएपछि अभियान स्थगन गर्नुपरे पनि नेपालमा त्यसो नहुने देखिएको छ । डिजिटल शुभारम्भ र सम्बोधनपछि प्रधानमन्त्री ओलीद्वारा शिक्षण, प्रहरी, सैनिक, प्रसूति र पाटन अस्पताल पुगेर खोप कार्यक्रम निरीक्षण भएको थियो । प्रदेश २ को जनकपुर अस्पतालमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवबाहेक सबै स्थानमा मापदण्डबमोजिम नै स्वास्थ्यकर्मीलाई खोप लगाई शुभारम्भ गरिएको थियो ।

 नेपालमा ल्याइएको खोप
अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर निर्माण गरेको एजेडडी १२२२ नामक खोप ९० प्रतिशत बढी प्रभावकारी एडिनो भाइरसमा आधारित खोप हो । भाइरसको स्पाइक प्रोटिन र जीनलाई अर्काे भाइरसमा थपेर एडिनो भाइरस निर्माण गरिन्छ । एडिनो भाइरस सामान्य भाइरस हो र फ्लुजस्ता लक्षण देखाउँछ । एस्ट्राजेनेकाले चिम्पान्जीमा रहेको एडिनो भाइरसको आधारमा कोभिड खोप बनाएको हो । स्पाइक प्रोटिनमा आधारित भए पनि भाइरसको आरएनएमा नभई डीएनएमा आधारित खोप हो । हाल ६० भन्दा बढी देशमा यसको वितरण भइरहेको छ । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा पहिलो परीक्षण सुरु गरेको थियो । खोपले १५ दिनपछि मात्र कोरोना विरुद्ध प्रतिरोधी क्षमता विकास हुन सुरु हुन्छ र दुई महिनापछिसम्म काम गरेको खोजले देखाए पनि कति लामो समय भन्नेमा यकिन छैन । कोभिसिल्डको दोस्रो मात्रा प्राप्त गरेको ४ सातापछि सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुनसक्ने बताइएको छ । मांसपेशीमार्फत ०.५ एमएल, २ डोज पहिलो लगाएको चारदेखि १२ हप्तामा दोस्रो मात्रा दिनुपर्ने र यो खोप भण्डारण र परिवहन गर्दा दुईदेखि आठ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । यस्तो तापक्रममा खोप नखोलिकन छ महिनासम्म राख्न सकिन्छ । मल्टिडोज भएको खोपको सिसी खोलेपछि लगाउने क्रममा दुईदेखि २५ डिग्री सेन्टिग्रेडमा राख्न सकिन्छ तर सिसी खोलेको छ घण्टाभित्र लगाइसक्नुपर्छ ।

 न्यायपूर्ण वितरण
पहिलो स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ता जुन तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीनसय ४२ छन् । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगीहरू १२.२९ प्रतिशत जना छन् भने क्रमशः तेस्रो ४० देखि ५४ वर्षका दीर्घरोगी ३.६८ प्रतिशत,चौथो बरियताका माइग्रेन्ट वर्कर ( विस्थापित कामदार) हरू एक प्रतिशत, पाँचौँमा ४० देखि ५४ वर्ष उमेर समूहका ९.५५ प्रतिशत छन् । छैठौँमा १५ देखि ३९ वर्ष उमेर समूहका ४२.५५ प्रतिशत परेका छन् ।

 साइड इफेक्ट
खोपपछि शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय भई एन्टिबडी उत्पादन सुरु हुँदा ज्वरो, पखाला, खोप लगाएको ठाउँमा दुख्ने कारण थकान, कमजोरी महसुस हुनसक्छ । यस्ता स्वास्थ्य समस्या खोपले काम गर्न थालेको प्रमाण हो र केही समयको अन्तरालमा आफैँ ठीक हुन्छन् । तथापि सिटामोल खान सकिने सल्लाह छ । कडा प्रतिकूल घटना दुई प्रतिशत कममा देखिनसक्ने प्रक्षेपण छ । भारतमा ०.१८ प्रतिशतमा कडा प्रतिकूल प्रभाव देखिएको छ ।
खोप लगाएका १० मध्ये एक जनामा सामान्य प्रतिकूल असर देखिनसक्छ । वाक्वाकी, खोप लगाएको ठाउँमा दुख्ने, सुनिने, ज्वरो र कमजोरी अनुभव भई चक्कर लाग्ने स्थितिबाहेक अन्य प्रतिकूल असर नेपालमा देखिएको छैन । खोपको प्रतिकूल प्रतिक्रियामा सुई लगाएको स्थानमा संवेदनशील, पीडादायक–६० प्रतिशत, लगाएको ठाउँमा दुखाई, टाउको दुख्ने र थकान–५० प्रतिशत, मांसपेसी दुखाइ–४० प्रतिशत, हल्का ज्वरो– ३० प्रतिशत र हाडजोर्नी दुख्ने, बान्ता हुने –२० प्रतिशतमा देखिएको छ । अधिकांश हल्कादेखि मध्यम खालका प्रतिक्रिया केही दिनमै सञ्चो भएका थिए । ६५ वर्ष वा बढी उमेरकामा हल्का प्रतिक्रिया र परीक्षणकालमा भाग लिएका ३५.६५ प्रतिशत पहिलेदेखि नै मुटु, श्वासप्रश्वास, मधुमेह लगायतका भएकाले उनीहरूलाई पनि दिन सकिन्छ । तर १८ वर्षमुनिका व्यक्ति, गर्भवतीमा प्रभावकारिता र सुरक्षा सम्बन्धमा यथेष्ट प्रमाण छैनन् ।
कोरोना खोप महामारी रोक्न आपत्कालीन प्रयोग भएकाले खोप लगाउँदा मृत्यु भएमा न सरकारले न त उत्पादन कम्पनीले नै क्षतिपूर्ति नदिने र मुद्दा नलाग्ने भएको छ । तथापि उपचार भने सरकारले निःशुल्क गर्ने बताएको छ । स्वेच्छाले लगाउने खोप हो । ६५ देखि ९१ प्रतिशत प्रभावकारिता भएको कोभिसिल्ड बेलायत, मेक्सिको, बङ्गलादेश र भारतमा आपत्कालीन प्रयोगका अनुमति पाएको तथा भारत, बङ्गलादेश, म्यानमार, माल्दिभ्स र भुटानमा प्रयोग भएको छ । साइड इफेक्ट (अन्य असर) व्यवस्थापन गर्न नै खोपकेन्द्र अस्पतालमै राखिएको छ । खोप लगाएकालाई कम्तीमा १५ मिनेट निगरानीमा राख्न र स साना कुराले एलर्जी हुने इतिहास भएका व्यक्तिलाई ३० मिनेटसम्म निगरानी गर्न भनिएको छ । एलर्जी, ज्वरो, रगतसम्बन्धी रोग, पहिला कोरोनासम्बन्धी कुनै खोप लिएका, १८ वर्षमुनिको उमेर, गर्भधारणको योजना बनाएका, स्तनपान गराइरहेका, रगत पातलो बनाउन औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका तथा गर्भवतीले कोभिसिल्ड खोप लगाउन हँुदैन । पहिलो मात्रा लगाएपछि समस्या देखिए दोस्रो मात्रा लगाउन हँुदैन ।
नेपाल सरकारले उपलब्ध गराएको खोपको पूर्ण सदुपयोग गर्न नागरिकलगायत सम्बद्ध पक्षको सहयोग र समन्वय हुन जरुरी भएकाले सबैले आ–आफ्ना स्थान र तहबाट सहयोग गर्नुपर्छ । खोप आउनु, पाउनु वा लाउनुलाई रामवाण वा सञ्जिवनी बुटी नठानेर स्वास्थ्य सुरक्षाका विधि, तरिका अपनाएर मात्र सुरक्षित हुन सकिने सत्यलाई बिर्सनु हँुदैन ।
(लेखक नेपाल चिकित्सक सङ्घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?