logo
२०८१ बैशाख १३ बिहीवार



रोकियोस् गालीमा तालीकोे राजनीति

अहिले युद्ध छेडेर होइन, बुद्ध बनेर परिवर्तन गर्नेहरूको खाँचो छ

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल

प्रतिनिधि सभाको विघटन तथा आगामी वैशाखमा निर्वाचनको मिति तय भएपछि राजनीतिक परिवृत्तमा थरिथरिका विश्लेषण चल्दैछन् । फरक हिसाबले सर्जित परिस्थितिको पक्ष र विपक्षमा एकअर्कालाई दोषारोपण गर्नमा व्यस्त रहनेहरूको लामै फेहरिस्त छ । यद्यपि विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीनसमेत रहेकाले कुनै पनि प्रकारका भावना तथा अभिव्यक्ति त्यति शोभनीय सन्दर्भ होइन । मुद्दाको छिनोफानो नलागुन्जेल यो विषयमाथि सार्वजनिक खुसामद संवैधानिकरूपमा नै प्रतिबन्धितसमेत छ ।
तर, अहिलेको अवस्था आउनुको मुख्य कारण भन्दै एकअर्कामाथि अपनाइएका विरोधका शैली र प्रतिशैलीहरू भने घोर निराशाजनक छन् । सरकारको विरोध गर्ने नाममा व्यक्तिगत हिसाबले गालीगलौज तथा निजी जीवनका नितान्त भिन्न अवस्थामाथि समेत प्रहार हुनु निकै खेदजनक विषय हो । कसैले त्यस्तो माध्यम प्रयोग गरेपछि आरोपित पक्षले समेत बाध्य भएर त्यसको खण्डन गर्नुपर्दा समान तवरको प्रक्रिया अवलम्बन हुनपुग्ने अवस्था आउँछ । संविधानतः बिना हातहतियार भेला भई आफ्ना विचारहरू सम्प्रेषण गर्न पाउनु सबै राजनीतिक दलको अधिकार हो । नेतृत्वले भद्र विचारभन्दा अभ्रद शैली तथा तरिकाहरूबाट उत्सर्जन हुनसक्ने निराशाको निरूपणमा सचेत हुनु सबैका लागि हितकर हुन्छ । क्षणिक आवेगमा आएर यसरी गालीको साहाराले ताली खोज्ने राजनीतिक अभ्यास गर्दा विवेक भने गम्भीर रूपमा ऋणात्मक रहेको देखिन सक्छ । राजनीतिमाथि समेत अनन्त वितृष्णा पैदा हुन्छ ।
प्राचीन पूर्वीय दार्शनिक अरस्तु राजनीतिलाई विज्ञानकी रानी भन्नुहुन्थ्यो । पछि अन्य दार्शनिकले ‘फोहोरी खेल’ समेत भने । विरोधका नाममा हुने पछिल्ला केही गालीगलौजले यहाँको राजनीतिलाई दोस्रो उपमाको नजिक लैजाँदैछ । यसरी देशको प्रगति अनि नेतृत्व र राजनीतिमाथि नागरिक विश्वासको बढोत्तरी हँुदैन । दुर्घन्ध अनि कहालीमात्र पैmलन्छ । चुलेसीमाथि फर्सी अथवा फर्सीमाथि चुलेसी जे खसे पनि आखिर फर्सी नै काटिन्छ । यस्ता खालका गतिविधिले राजनीतिमाथि नैराश्य तथा नेतृत्वमाथि समेत घोर निराशाको सागर निर्माण गर्छ ।
गालीगलौजको वर्षाले राजनीतिलाई अनुत्पादकसँगै प्रत्युत्पादक पनि बनाउँछ । दलहरू अरूलाई त्राहीमाम होइन, सुरक्षित गराउनतिर लाग्नुपर्छ, आफ्ना कार्यकर्तालाई सोही प्रशिक्षण दिनुपर्छ । कसैलाई अपमानित गरे रिसाउँछ तर माया गरे जवाफमा माया नै गर्न बाध्य हुन्छ । अरूको सहयोग खोज्नेले यो शाश्वत सत्य बिर्सनु हुँदैन । राजनीतिमा ज्यान लिएर, मांशाहारी आन्दोलन गरेर र घृणा दिएर होइन, विचार तथा कार्यक्रम दिएर आफ्नो सिद्धान्त स्थापित गर्नुपर्छ । अझै, कटाक्षभन्दा सबैले देशप्रतिको प्रधान आवश्यकतालाई आत्मसात् गर्नुपर्छ । राजनीतिको बाटो र कार्यविधि बदल्नुपर्छ ।
तर वर्तमान राजनीतिको टकरावले नागरिकका आशा र लक्ष्य हराएको छ । यसलाई पहिल्याउँदै समुन्नत देश निर्माणमा होस्टेमा हैंसे गर्नुपर्छ । एकपटक सबैले आफ्नो भूिमकाको आत्मसमीक्षा गर्दै विचलित लक्ष्यलाई पुनर्जीवित गर्ने उद्देश्यमा समाहित हुनुपर्छ ।

 नहराओस् लक्ष्य
संविधान निर्माणपछि देशमा राजनीतिक, सामाजिक, आर्थिक प्रगतिको आशा थियो । तर अहिलेको असहजता हेर्दा संशय र शङ्का नकार्न सकिँदैन । संविधानको कार्यान्वयन तथा प्रगतिको गति अनि स्थायित्वको सुरुवाती अभ्यासमा उत्पन्न भएका आपसी असहमति र गैरइमानदारीले विरक्त प्रधानमन्त्रीले सार्वभौम नागरिकसँग परीक्षणका लागि जाने निर्णय गर्नुभयो । अब सबैले सघन स्वरले त्यसको स्वागत गर्दै निर्वाचनको तयारीचाहिँ सबैभन्दा प्रजातान्त्रिक कदम हुन्छ । आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो । तर निर्वाचन छाडेर विरोधको बहाव ल्याउने भन्दै हौसिँदा त्यसले जानी नजानी गाली बेइजतीको अशोभनीय अभ्यास मौलाउँदैछ ।
दलहरू आफूलाई सुधार्दै नागरिक विश्वास आर्जन गर्नेभन्दा अरूको हुर्मत लिने अभ्यासमा रमाउँदा राजनीतिक संस्कार नै ध्वस्त हुन्छ । विख्यात नवर्माक्सवादी लेखक नोम चोम्स्की नेपालको राजनीतिमा देखिएको ‘वंशवाद अनि गालीमोह’ लाई खेदजन्य भन्नुहुन्छ । यसले राजनीतिलाई दिन÷प्रतिदिन जीर्ण र क्षीण बनाउँदैछ । कसैलाई प्रधान शत्रु तोक्दै सङ्घर्ष गर्ने नभई आफैँलाई सुधार्दै जनताका लागि राम्रा कार्यक्रम ल्याउनु आजको आवश्यकता हो ।
अहिले नेता÷नेताबीच भएको टकरावसँगै नागरिकको तहमा उक्त तुष र पूर्वाग्रह बिस्फोट भए एक÷अर्काप्रतिको सद्भाव, सामीप्यता हराउन सक्छ । दीर्घकालीन घृणा र हेय बढ्न सक्छ । उहाँहरूले भन्नुभएको आन्दोलन कुनै मोडमा पुगेर रोकिँदाचाहिँ सामाजिक आत्मीयतासमेत रोकिन सक्छ । त्यसको व्यवस्थापन आन्दोलनको आयोजना गर्ने नेताहरूको कौशलले नभ्याउन सक्छ । देशमा राजतन्त्र हुँदा भारतले अहिलेका दलहरू उपयोग गरेर आफ्नो अभीष्ट पूरा ग¥यो । अहिले सरकारले भारतसँग स्वाभिमानपूर्वक देशहितको कुरासहित उसको स्वार्थलाई नस्वीकार्दा अन्तरविरोधी समूहलाई प्रभावमा पारेको भन्ने विश्लेषणहरू पनि छन् । यदि आन्दोलनको दुहाई दिने नेताहरू त्यस्तो विलासी स्वार्थबाट प्रायोजित रहनुभएको भए उहाँहरू जनताबाट बढारिनुपर्छ । अनि देशहितकोे स्वार्थ विरुद्धमा लागेको ग्लानि अनुभव गर्दै नागरिकका लागि कर्तव्यनिष्ठ र देशप्रेमी रहन खोजे भारतले नराम्ररी चेप्ट्याउँछ । यसकारण आन्दोलनको सोचलाई तत्काल रचनात्मक विश्राम दिँदै नयाँ शैलीको राजनीति नगरे अन्ततोगत्वा आन्दोलन यसैको नेतृत्व पङ्क्तिलाई महँगो दुस्साहास बन्नेछ । अब सबै शक्तिबिना सर्त चुनावमा आउनुपर्छ । विकसित र समुन्नत राष्ट्रका सफल राजनीतिहरूबाट दीक्षित बन्दै विरोधको राजनीतिक संस्कार बदल्नुपर्छ ।

 विश्व राजनीतिको शिक्षा
मार्गारेट थ्याचरले बन्दुक बोक्नुभएन । आफ्ना कार्यक्रमलाई अरूका विरूद्ध लक्षित गर्नेभन्दा नागरिक जीवन निर्वाहलाई सहयोग गर्ने दिशामा लगाउनुभयो । रोनाल्ड रेगनले कसैलाई शत्रु ठान्नुभएन । जनतालाई राम्रा सुधारका कार्यक्रम दिनुभयो, देश उहाँको पक्षमा रह्यो । सम्पूर्ण विपक्षीहरू उहाँका समयभर कमजोर रहे । राजनीतिलाई लड्ने÷भिड्ने र मारकाटको कित्तामा प्रयोग गरिएन । जनतालाई शान्ति सुरक्षा दिन, अमनचयन कायम राख्नसँगै सुशासन, समृद्धि, आर्थिक विकास, सामाजिक न्याय उन्नयन श्रृवृद्धिको प्रतिस्पर्धामा प्रयोग गरियो । राम्रा कार्यक्रम दिए कुनै पनि दलका विरोधी शक्तिहरूलाई जनताले नै परास्त गर्छन् । राजनीतिक तहमा खोचे थाप्नै पर्दैन् । एउटा शक्तिले अर्को शक्तिविरूद्ध नेतृत्व तहमा सङ्घर्ष गर्ने होइन, जनताको आदेश र अनुमोदनमात्र माग्नुपर्छ अनि चुनाव सामना गर्नुपर्र्छ ।
समाजको अग्रगामी रूपान्तरण गराएका सबै नेता अरूको विरोध होइन, आफ्नो क्षमता, सामथ्र्य वृद्धिमा तत्पर हुनुहुन्थ्यो । विड्रो विल्सन, विस्टन चर्चिल, नेल्सन मन्डेला, जोनएफ केनेडीजस्ता युगान्तकारी नेताहरूले सहजै आफ्ना विपक्षीहरूलाई निस्तेज गर्नुभयो । रूसमा भ्लादिमीर पुटिन लगातार राष्ट्रपति र प्रधानमन्त्री बन्नुभएको छ । फ्रान्कलीन डी रूजभेल्ट नियम नै परिवर्तन गर्नुपर्ने गरी जनताबाट चार÷चार पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभयो । ली क्वान, महाथिर वीन मोहम्मदले उठाएका जस्तासुकै कदमलाई नागरिकले सहर्ष स्वीकारे र सहयोग गरे । केही वर्ष अघिसम्म नेपालजस्तै अल्पविकसित देश गनिने मलेसिया अहिले विकासोन्मुख छ र सन् २०२५ मा विकसित देशमा गनिनेछ ।
रहस्य यही हो कि, नेतृत्वले अरूको विरोध गर्नुभन्दा नागरिकलाई परिवर्तनका कार्यक्रमहरू मार्फत आफ्नो पक्षमा राख्यो । नागरिक जीवन स्तरोन्नति, समाजको व्यापक पुनर्निर्माण अनि अधिकांश जनताले आत्मसन्तुष्टि महसुस गर्ने कार्यक्रम दियो । नागरिक सम्मान कमाउन दलहरूले आमविकास, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रष्टाचार निर्मूलीकरण, दमन र हिंसाको अन्त्य, बेरोजगारी व्यवस्थापनजस्ता अहम् मुद्दाहरूको पक्षमा ठोस कार्ययोजना तय गर्नुपर्छ । ती कुरा कार्यान्वयन गर्न सरकार बनाउन प्रयास गर्ने भनेर जनतालाई बुझाउँदै चुनाव स्वीकार्नुपर्छ ।
सेनाले युद्ध, विद्यार्थीले परीक्षा तथा राजनीतिक दलले चुनाव जुनसुकै बेला हुनसक्ने भन्दै सदैव तयार रहनुपर्छ । जनताबाट कुनै विषयको अन्तिम छिनोफानो गर्न नचाहनु अनि जबर्जस्त मुढेबल देखाउनु लोकतान्त्रिक संस्कार होइन । जसले सरकार बनाए पनि देशको विकासलाई निरन्तर साथ दिनुपर्छ । ‘कन्सेन्सस् डेमोक्रेसी’ भनिने यस्तो अभ्यासले राजनीतिलाई सुसंस्कृत बनाउँछ । स्वीजरल्याण्ड, जर्मनी, डेनमार्क, स्वीडेनमा यसलाई राष्ट्रिय राजनीतिको मुख्य विशेषता भनिन्छ । ए लिजपर्टको पुस्तक ‘प्याट्रन अफ डेमोक्रेसी’ मा यसलाई प्रजातान्त्रिक व्यवस्थाको अलौकिक उदाहरण मानिएको छ । यस्तो हँुदा विकासका गतिविधिहरूले गति लिन्छन् । सरकार फेरिए पनि नीति र कार्यक्रम निरन्तर रहन्छन् । राजनीतिक स्थिरतासँगै आर्थिक प्रगतिको पथ मुख्य सूचीमा पर्छ । नागरिकले परिवर्तनको महसुस गर्छन् ।
अहिले युद्ध छेडेर हैन, बुद्ध बनेर परिवर्तन गर्नेहरूको खाँचो छ । गान्धी बन्न सक्नुपर्छ, अन्ना हजारेको नजिरलई हेर्नुपर्छ, नेल्सन मण्डेलालाई खोज्नुपर्छ । गालीमा ताली साट्ने राजनीति अन्त्य हुनुपर्छ । अर्काको अनावश्यक विरोधभन्दा नागरिकलाई प्रिय कार्यक्रम पस्कने प्रतिस्पर्धा भए राजनीतिको कुष्ठरोग आफैँ निको हुन्छ । दलहरूको स्तर त ती कार्यक्रम र त्यसलाई व्यवहारमा लैजाने सामथ्र्यको आधारमा नागरिकले नै कायम गरिदिनेछन् । आफूलाई राम्रो देखाउन अरूलाई गाली गरिरहनु पर्दैन, सहर्ष चुनावमा
गए पुगिहाल्छ ।
(लेखक प्रध्यापन गर्नुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?