logo
२०८१ मंसिर ८ शनिवार



सुशासन र नैतिक आचरण

सुशासनको प्रारम्भ कानुनको मर्यादा र कानुनी शासनबाट मात्र सम्भव छ

विचार/दृष्टिकोण |




डा. सुरेश आचार्य
एउटा बैङ्कमा चेक साट्ने पालो कुरेर स्टिलका सिटहरू भएको बेञ्चमा बसिरहेको थिएँ । कोभिड १९ का कारण सामाजिक सुरक्षा कायम गर्न बीचको एक सिटमा क्रस चिह्नसहित ‘यहाँ नबसी दिनुहोला’ लेखिएको थियो । म एक छेउमा बसेँ । अर्का ग्राहक अर्को छेउमा थिए । एक युवती आएर मलाई बीचमा सर्न आग्रह गरिन् । मैले सङ्केत गरेर लेखिएको कुरा हेर्न भनेँ । उनले पढिन् र पछाडि गएर उभिइन् । अर्का एक प्रौढ व्यक्ति बस्न खोजे । उनले धमिलो चस्माले लेखिएका अक्षर नियाले र बस्ने चेष्टा नगरी अर्कातिर लागे । तेस्रोपटक एक युवक सरासर आयो, लेखिएका अक्षरहरू पढ्यो र आराम फर्माउँदै बस्यो ।
उसले नहेरी र नपढी बसेको भए मैले उसलाई पनि ती युवतीलाई जस्तै हेर्न र पढ्न भन्थेँ होला । तर जब ऊ जानीबुझी त्यहाँ बस्यो, मैले उसको अनुशासनहीनतामा बोल्नु दुर्वाच्य निम्त्याउनु हो भन्ने ठानेँ र आफू अर्कोतिर फर्किएँ । बेला बेला उसलाई नियाल्दै उसले कति असहज महसुस गरेको छ भन्ने अनुमान गर्न खोजेँ । उसमा कुनै हीनताभाव थिएन । आरामसँग बसेर मोबाइलमा गेम खेल्नमा मस्त थियो । उसका लागि अरू दुनियाँसँग कुनै सरोकार नै थिएन । केहीबेरमा अर्कातिरको ग्राहक आफ्नो पालो आएर काउण्टरमा गए । त्यो युवक अर्को सिटमा स¥यो । लगत्तै अर्को ‘सुटेड बुटेड’ जवान ग्राहक नोटको बिटोे लिएर फेरि बीचको सीटमा बस्यो र धमाधम नोट गन्न लाग्यो ।
अर्को एक दिन नेपाल नर्सिङ काउन्सिलका लागि रकम जम्मा गरेर भौचर ल्याउनुपर्ने थियो । हरेक दिन सयौँ जना (सम्भवत ः हजारौँ) ले रकम बुझाउने यो कार्यालयमा कुनै बैङ्कको काउण्टर थिएन । यो कार्यालयले झण्डै एक किलोमिटरको दुरीमा रहेको बैङ्कमा रकम दाखिला गर्नुपर्ने व्यवस्था गरेको रहेछ । बैङ्कमा पुग्दा सुरक्षाकर्मीले भित्र जाने अनुमति दिइनन् । बाहिरै उभिएर भौचर भर्ने उर्दी गरिन् । बैङ्कको पालो पर्खने कुपन भने उनले काटेर राखेकी रहिछिन्, हातमा थमाइदिइन् । बाहिर बसेर भौचर भर्नका लागि न कलम थियो, न उभिएर लेख्ने कुनै ठाउँ नै । पातलो भौचरका तीन प्रति, त्यसमा कार्बन हाल्नपर्ने अनि घुँडामा राखेर लेख्नुपर्ने । दोष सुरक्षाकर्मीको थिएन । भित्र भीड थियो र एउटा काउण्टरबाट मात्रै रकम झिक्ने र राख्ने कारोबार चलिरहेको थियो । म आफैँ ६५ जनाको पालोपछिको टोकन लिएर उभिएको थिएँ ।
कहाँ बसेर कसरी भौचर भर्ने ? यो प्रश्न गर्ना साथ ती सुरक्षाकर्मीले भित्र उभिएर लेख्ने सद्भाव देखाइन् । भित्र बस्ने ठाउँ नभएको मात्र होइन, जो बसेका थिए, त्यहाँ सामाजिक दुरीको कुनै मतलव नै थिएन । बैङ्क व्यवस्थापनले त्यस्तो कुनै प्रबन्ध नै गरेको थिएन । एउटा चेक साट्न पाँच मिनेटभन्दा बढी समय लागिरहेको थियो । दिनभर त्यहाँ कुर्दा पनि भौचर जम्मा गराउने सम्भावना नदेखेपछि शाखा प्रबन्धकसँग भेट्न इच्छा जागृत भएको थियो । उनको कार्यकक्षको आधा उघ्रिएको ढोकाबाट देखिएको उनको अनुहारमा उन्मुक्त मुस्कान देखिन्थ्यो । उनी बैङ्कमा ग्राहकले भोगेको मर्काको शायद मनमनै मजाक उडाइरहेका थिए । जब काउन्सिलका लागि भौचर बुझाउनेहरूको टोकनको पालो आउँदै गयो, कारोबारको गति अलि बढ्यो । झण्डै दुई घण्टाको पर्खाइपछि मेरो पनि पालो आयो । घाम र हावा सिधँै नछिर्ने कोठामा दुई घण्टाको पर्खाईपछि बैङ्क सेवा लिएर निस्केँ ।
यी दुईटा प्रतिनिधि घटनाले नेपाली समाजको दुई विकृत पक्षलाई प्रतिनिधित्व गरेका छन् । पहिलो घटनामा नयाँ पुस्तामा बढ्दो नैतिक ह्रास प्रष्ट प्रतिविम्बित हुन्छ । ऊ पढे लेखेको नवयुवक हो । ऊ हामीले भन्दै आएको भविष्यको कर्णधार हो । भलै, आजका नवयुवकलाई देशमा बस्ने चाहना कति हुन्छ, त्यो हरेक अभिभावकले राम्रै बुझेका छन् । तथापि, विश्वको जुनसुकै भूगोलमा पुगे पनि नियम, कानुन, शिष्टता, मर्यादा हरेक समाजमा हुन्छन् । शायद कानुन, नियम र निर्देशनको अवज्ञा गर्नुलाई ‘हिरोइज्म’ ठान्ने प्रतिनिधि पात्रका रूपमा उसले आफ्नो मनोविज्ञान तयार गरेको छ । त्यसैले उसले यो अवज्ञालाई आफ्नो विजय ठान्यो । कार्यालयको कानुन काइदा सिकाउन त्यहाँ सुरक्षाकर्मी थिए । बैङ्क कर्मचारी थिए । तर उसलाई त्यसो गरिरहँदा गलत गरिस् भनिदिने कोही थिएन । उसले स्वाभाविक रूपमा आफूलाई विजेता भावमा बुझ्यो । कानुन वा नियम बनाउनेले पालनाका लागि प्रेरित वा बाध्य नगरिदिँदाको परिणाम उसलाई अशिष्ट हुन प्रेरणा मिल्यो । शायद यही मनोवृत्तिबाट अराजकहरूको समाज बन्दै जान्छ र राज्य निःसहाय देखा पर्न थाल्छ ।
दोस्रो घटनाको प्रवृत्ति सेवामुखी कार्यालयको ग्राहकप्रतिको अभद्रताको उदाहरण हो । कार्यालयको भित्तामा ‘ग्राहक भगवान् हुन्’ लेखेर स्टिकर टाँसेर मात्र हु्ँदैन । बैङ्कमा सेवा लिन आउने व्यक्ति
नहुने हो भने कुनै बैङ्कको भविष्य नै रहँदैन । कल्पना गर्नुहोस्, कुनै बैङ्कको भव्य उद्घाटन भयो तर कुनै ग्राहक रकम जम्मा गर्न वा ऋण लिन गएनन् । के त्यो बैङ्क चल्न सक्छ ? कुनै सरकारी अड्डामा जस्तो सेवाग्राही आए वा नआए पनि, सेवा ठीक ढङ्गमा दिए वा नदिए पनि, कर्मचारीले तलब पाई राख्न वा बैङ्क सञ्चालन भइरहन सम्भव छ ? छैन । तर कुनै कार्यालयले त्यही बैङ्कमा कारोबार गर्न बाध्य गरिदिएका हुन्छन्, जसका कारण मानिसहरू त्यही जानुपर्ने हुन्छ । त्यस्तो बाध्यताले आउने व्यक्ति सधैँ आउँदैन । त्यसैले उसलाई सामान्य व्यवहार पनि नगरे हुन्छ भन्ने बुझाइ हुने गर्छ । अन्यथा ग्राहकको चापअनुसार सुविधा उपलब्ध गराउनु त्यो बैङ्कको सामान्य कर्तव्य होइन ? सयौँ जना सेवाग्राही लाइनमा भएपछि पनि एउटा मात्र काउण्टर खोलेर बस्ने म्यानेजर किन चाहियो ? त्यो बैङ्कमा अरू बचतकर्ता वा ऋणीहरू जाँदैनन् भन्ने पक्कै होइन होला । उनीहरूले भोग्ने व्यवहार पनि शायद सधैँ यस्तै हो । जुन प्रवृत्ति त्यहाँ देखियो, यसले सेवाग्राही प्रतिको दुर्भावनालाई राम्रैसँग इङ्गित गरेको छ ।
नेपाल नर्सिङ काउन्सिल आफैँमा सुध्रेको संस्था हुन्थ्यो भने यस्तो गलत व्यवहार गर्ने बैङ्कमा कारोबार गर्न पक्कै जाने थिएन । त्यही बैङ्कमा कारोबार गरिरहँदा पनि सयौँ मानिसले दैनिक धाउनुपर्ने बैङ्कको डिपोजिट काउण्टर कार्यालय परिसरमा नै खोल्न लगाउन सकिन्थ्यो । नेपालमा राम्रै लगानी गरेर पढ्ने तर अत्यन्त न्यून पारिश्रमिकमा काम गर्नुपर्ने पेसा शायद नर्सिङ नै हो । एउटा स्टाफ नर्सलाई महिनाको दस हजार पनि नदिई काम लगाउने थुप्रै अस्पताल मुलुकको राजधानीभित्रै चल्न पाइरहेका छन् । अनुगमन गर्ने निकाय छैन वा मौन छ ।
त्यस्ता अस्पताल सञ्चालन गर्ने डाक्टर वा नर्सहरू मेडिकल एसोसिएसन र नर्सिङ एसोसिएसनको नेता बन्छन् । ती अस्पतालमा श्रम ऐनले झ्यालबाट पनि चियाउन पाएको छैन । तर उनीहरूलाई काम गर्ने लाइसेन्स दिने संस्था नर्सिङ काउन्सिलले गर्ने शोषण भयङ्कर चर्को छ । उदाहरणका लागि ‘जो जससँग सम्बन्धित छ’ भनेर लेटर हेड भएको सेतो कागजमा टाइप गरेर दिने पत्रको मूल्य दुई हजार पाँच सय पर्छ । यो पत्र लिन एक दिनमा सम्भव छैन । कम्तीमा एक वा दुई दिनपछि मात्रै फेरि लिन जानुपर्छ ।
त्यो कुनै विशेष पत्र होइन, जसलाई कार्यालयले मिहिनेतपूर्वक तयार गर्नु परोस् । यो केवल ‘रेडिमेड’ पत्र हो, जहाँ नाम र लाइसेन्स नम्बर फेरिदिए पुग्छ । सेवाग्राहीलाई समस्या परेमा रजिष्ट्रारलाई भेट्न अनुमति छैन । उहाँको कार्यकक्षको ढोका सधैँ बन्द रहन्छ र लेखिएको छ – समय लिएर मात्र भेट्न आउनुहोला । मानौँ, उहाँ सेवाका लागि बस्नु भएको होइन, उहाँले दिने सेवा सामान्य नागरिकका लागि होइन ।
हामी सुशासनको अभियानमा छौँ । सुशासनको प्रारम्भ कानुनको मर्यादा र कानुनी शासनबाट मात्र सम्भव छ । एउटा भनाइ छ– कानुन थाहा थिएन भनेर कानुन विपरीत काम गर्ने छुट हुँदैन, त्यो अपराध मानिन्छ । तर कानुन र नियमलाई आँखा अगाडि ल्याइदिँदा पनि पालन गरिंदैन वा उल्लङ्घन गर्न प्रेरित भइन्छ भने त्यो कानुनको अवज्ञा त हँुदै हो, नैतिक चरित्र पतनको परिचायक पनि हो । त्यस्ता व्यक्तिलाई समाजले बहिष्कार वा अवहेलना गर्ने संस्कार विकास नभएसम्म त्यही प्रवृत्तिका मानिसको समाजमा बोलवाला रहिरहन्छ ।
सुशासन डण्डा लगाएर कायम गरिने विषय होइन । मनभित्रै देखि इमानदारी र नैतिक दायित्व बोधका साथ पालना गरिने कर्तव्य हो । नागरिकलाई दिने सेवा कसरी छिटो छरितो र सहज हुन्छ भन्ने भाव भन्दा कसरी हाकिम देखिने जसका कारण अरू झुकिरहून् र दुःख पाइरहून् भन्ने प्रवृत्ति हावी भइरहेसम्म नागरिकले कतै सुशासनको अनुभूति गर्न सक्दैन । सुशासन केवल नारा लगाउने विषय होइन, नागरिकले दैनिक व्यवहारमा अनुभूत गर्ने कुरा हो । सुशासनमा देखापर्ने यी समस्या कहाँबाट सुधार गर्ने ? कसलाई कसरी जिम्मेवार बनाउने ?
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?