राजाराम श्रेष्ठ
धिधितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार सङ्गठित संस्थाले जारी गरेको सेयर, स्टक, बण्ड, डिबेञ्चर, डिबेञ्चर स्टक, सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा सङ्गठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड नै धितोपत्र हो । कम्पनीले जारी गरेको सेयर, बण्ड, डिबेञ्चर वा ऋणपत्र, धरौटीसम्बन्धी भरपाइ तथा धितोपत्रसम्बन्धी हक र अधिकारपत्रसमेत धितोपत्र हो भनी कम्पनी ऐन २०६३ ले परिभाषित गरेको छ । सर्वसाधारणले सजिलो भाषामा यी सबैलाई सेयर भनी बुझ्ने गरेका छन् । पब्लिक कम्पनीले आफ्नो पुँजीको आधारमा सर्वसाधारणमा सेयरको सार्वजनिक निष्कासन गर्नुपर्छ । यो साधारण सेयर, बोनस सेयर, हकप्रद सेयर र अग्राधिकार सेयरको नामले परिचित छ । सेयर मूल्य, सेयर बाँडफाँट, सेयर कारोबार आदिको बारेमा कम्पनी ऐनमा व्यवस्था गरिएको छ । नेपालमा २०५० साल पौष २९ गते बजारमा सेयरको पहिलो कारोबार सुरु गरेको थियो । यो कारोबार वि.सं. २०४९ मा नेपाल स्टक एक्सचेञ्जको स्थापना भएपछि सुरु भएको हो ।
कम्पनी ऐनमा सेयर प्रमाणपत्र जारी गर्र्नुपर्ने कानुनी व्यवस्था रहेको छ । अहिले सेयर अभौतिकीकरण गर्नुपर्ने नियम पनि कार्यान्वयनमा छ । अहिले सेयर कारोबार कागजविहीन भइसकेको छ । यसले गर्दा सेयर खरिद बिक्रीको सम्पूर्ण तथ्याङ्क कम्प्युटर प्रणालीमा आधारित हुने गरेको छ । सेयर कारोबार र त्यसका लागि हुने रकम स्थानान्तरणको सम्पूर्ण कार्य अनलाइन हुने गरेको छ । अहिले एकतीस लाखभन्दा बढी व्यक्तिले सेयरमा लगानी गर्ने उद्देश्यले हितग्राही खाता खोलिसकेका छन् । सेयरमा लगानीकर्ताहरू बढेसँगै बजारको आकार पनि बढ्न थालिसकेको छ । यसले देशको अर्थतन्त्रमा राम्रो प्रभाव पारिरहेको छ । देशको विकासका लागि आवश्यक पुँजी परिचालन गर्न यसले सहज बनाएको छ ।
नेपाली सेयर बजारमा सेयर निष्कासन गर्ने गरी बैङ्क तथा वित्तीय संस्था, बीमा, जलविद्युत् कम्पनी, होटेल, विभिन्न लगानीसम्बन्धी कम्पनी, उत्पादनमूलक कम्पनीले सर्वसाधारण लगानीकर्ता माझ सेयर जारी गरी बजारमा आफ्नो उपस्थिति देखाएका छन् । यसले पनि साबित हुन्छ कि यो कुनै जुवा होइन । यो त बजारमा खरिद र बिक्री बीच सन्तुलन कायम गरी लगानीको आधारमा प्रतिफल (लाभ वा फाइदा) पाउने कला हो । यो कलाको प्रयोग गर्न जान्ने लगानीकर्ताले बजारबाट उचित प्रतिफल पाउन सक्छन् । यसका लागि लगानीकर्ता बजारमा हुने अनावश्यक चलखेल प्रति सचेत हुनुपर्छ । लगानी गर्ने कम्पनीको व्यावसायिक अवस्था, बजारमा सेयरको माग र आपूर्ति, सेयर खरिद बिक्रीमा भएको मूल्यको अवस्था आदिको बारेमा बुझेर मात्र लगानी गर्नुपर्छ । साथै लगानीकर्ताले सेयर सम्बन्धमा नेपाल सरकारले समय समयमा जारी गरेका नीति, नियम, निर्देशिका समेतको ख्याल गरी लगानी गर्नु बुद्धिमानी हुनेछ ।
नेपालमा पुँजी बजारको विकास गरी सेयर लगानीकर्ताको हित संरक्षण गर्न र सेयरको निष्कासन, खरिद बिक्रीलाई व्यवस्थित बनाउन धितोपत्रसम्बन्धी ऐन, २०६३ र सोअन्तर्गत बनेका नियमावली प्रचलनमा रहेका छन् । सेयर बजारमा संलग्न व्यक्तिहरूको काम कारबाहीलाई नियमित एवम् व्यवस्थित गर्ने उद्देश्यका साथ ऐन आएको हो । यस ऐनको परिच्छेद ९ मा सेयरसम्बन्धी कसुरको बारेमा उल्लेख गरी सजायसमेतको व्यवस्था गरेको छ । कसैले पनि पुँजी बजारमा भित्री कारोबार गर्नु हुँदैन । सार्वजनिक नभएको धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना चुहाउनु हुँदैन । त्यस्तो सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरे वा अरूलाई गर्न लगाएमा भित्री कारोबार गरेको मानिन्छ । आफूलाई थाहा भएको सूचना वा जानकारी अरू कसैलाई दिएमा भित्री कारोबारको कसुर मानिन्छ । त्यस्तो कारोबारमा सङ्गठित संस्थाको सञ्चालकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको हुन्छ । भित्री सूचना चुहाउनेमा कर्मचारी, सेयरवाला तथा त्यस्तो व्यक्तिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा रहने व्यक्तिहरूले सेयर कारोबारमा अनावश्यक चलखेल गरिरहने हुँदा त्यस्तो भित्री कारोबार गर्ने व्यक्तिलाई बिगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरेको छ ।
सेयर बजारमा कसैले पनि झुठो वा जालसाजीयुक्त कारोबारगरी मूल्यमा उतार चढाव हुने कार्य गर्नु हुँदैन । सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि कार्य गरेमा, झुठो विवरण दिएमा, लिखत, विवरण आदि नष्ट गरेमा वा लुकाएमा समेत सेयरसम्बन्धी कसुर गरेको मानिन्छ । त्यस्तै वास्तविक स्वामित्वमा फरक नपर्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेयर खरिद बिक्री गर्नु हुँदैन । सेयर खरिद बिक्रीको प्रस्तावित मूल्य थाहा पाई सोहीसँग मिल्दोजुल्दो हुने गरी खरिद बिक्री गर्ने प्रस्ताव गर्नु हुँदैन । त्यस किसिमको झुठो कारोबार गरी, गराई सेयर मूल्य स्थिर गराएमा, मूल्य घटाएमा, बढाएमा वा परिवर्तन गराएमा सेयरसम्बन्धी कसुर गरेको ठहरिन्छ । कानुन विपरीत सेयरसम्बन्धी कसुर गर्नेलाई पचास हजारदेखि एकलाख पचासहजार रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । यदि त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएमा कसुरदारबाट सोसमेत भराई दिनुपर्छ ।
बद्नियतका साथ तथ्य वा जानकारी लुकाउने, प्रकाशित गर्ने कार्य गर्नु हुँदैन । कसैसँग सेयर खरिद, बिक्री वा विनिमय गर्ने उद्देश्य लिई झुक्याउन प्रविधि प्रयोग गर्न, योजना बनाउन, झुक्यानमा पारी कुनै काममा लगाउन हुँदैन । कानुनले निषेध गरेका त्यस्ता कार्य गरी सेयरको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा सेयरसम्बन्धी कसुर गरेको ठहरिन्छ । यस्तो कसुरमा एकलाखदेखि तीनलाख रुपियाँसम्म जरिवाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । कसुर गर्नेले हानि नोक्सानीसमेत भराई दिनुपर्छ । सेयर बजार सम्बन्धमा नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड हो । बोर्डले अनुगमन एवं निरीक्षणको क्रममा तथा मुद्दा तहकिकातको क्रममा अनुसन्धान अधिकृतले मागेको लिखत, विवरण, अभिलेख आदि लुकाएमा, नष्ट गरेमा, झुठो बनाउन लगाएमा समेत सोही सजाय हुन्छ । साथै कसैले पनि जानीजानी यस ऐन वा यसअन्तर्गत बनेका नियम, विनियम, आदेश, निर्देशन वा सर्तहरूको पालना नगरेमा समेत न्यूनतम पचीसहजारदेखि एकलाख पचासहजार रुपियाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।
सेयर बजारलाई प्रतिकूल प्रभाव पार्ने वा भित्री कारोबारसम्बन्धी कसुरलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्बद्ध कसुर मानी अनुसूचीमा समावेश गरेको छ । यस किसिमको कसुर गरी आर्जन गरेको सम्पत्तिको स्रोत, स्वामित्व लुकाउने, छल्ने, बदल्ने, त्यस्तो सम्पत्ति प्रयोग गर्ने वा कुनै प्रकारले रूपान्तरण वा हस्तान्तरण गरेमा सम्पत्ति शुद्धीकरण गरेको मानिन्छ । त्यसैले सेयरसम्बन्धी कसुरलाई आर्थिक अपराधको एक पाटोको रूपमा लिन सकिन्छ । á
(लेखक अधिवक्ता हुनुहुन्छ) ।