डा. सुरेश आचार्य
कोरोनाको दोस्रो लहरको चपेटामा मुलुक परेको छ । हरेक दिन ५० भन्दा बढी नागरिकको मृत्यु र दैनिक आठ–नौ हजारभन्दा माथि सङ्क्रमित हुँदै गएका छन् । अस्पतालले बिरामी धान्न नसक्ने अवस्था सिर्जना भएको छ । आईसीयू मात्रै होइन, सामान्य शøयासमेत सबै भरिएका छन् । अक्सिजनको अभावमा बिरामीहरू मृत्युवरण गरिरहेका छन् । सक्नेले खर्च गरेर प्रयोग गर्ने औषधि बजारबाट गायव भएका छन् । घर घरमा मानिस आईसोलेसनमा बसेका छन् । भनेका बेला एम्बुलेन्स नपाइने अवस्था छ । घाटमा लास जलाउन पालो कुर्नुपर्ने स्थिति छ । हरेक मानिसका अगाडि मृत्यु एउटा त्रास बनेर खडा भएको छ । कोरोनाको पहिलो भन्दा दोस्रो लहर थप भयङ्कर बनेर आयो । सरकार मुलुकभरजसो निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थामा पुगेको छ ।
आज यो पीडा एउटा नागरिक, एउटा देशले मात्रै भोग्नु परेको होइन । सम्पूर्ण विश्व सन्त्रासमा बाँचेको छ । एक अर्कालाई निषेध गरेर सुरक्षित हुनुपर्ने अवस्था आएको छ । नेपालमा सबैभन्दा सुरुमा दोस्रो लहर देखा परेको र अहिले सबैभन्दा बढी प्रभावित भएको नेपालगञ्ज क्षेत्रका चिकित्सक र नर्सहरू आफू सङ्क्रमित भएर पनि बिरामीको सेवामा अहोरात्र खटेका छन् । आफू सुरक्षित रहने पहिलो प्राथमिकता हुने नै भयो । आफू सुरक्षित रहेर एकले अर्कालाई कसरी सहयोग गर्ने र बचाउने भन्नेमा नागरिक समुदाय लागिपरेको छ । पीडितलाई सहयोग गर्न स्वतस्फूर्त रूपमा विभिन्न समूह देशभर नै क्रियाशील छन् । कसैले अक्सिजन सिलिन्डरको प्रबन्ध गरेका छन्, कसैले अक्सिजन उत्पादनकर्तालाई प्रेरित गरेका छन् । कसैले बिरामीलाई भोजनको व्यवस्था मिलाएका छन् । मानवीय संवेदना प्रवल हँुदै गएको छ । सरकारको मुख मात्र नताकी आम नागरिकका तहमा सेवाभावका साथ हरसम्भव उपाय गरिंदै आएका छन् ।
मानिसको बाँच्ने प्रयासका बीच अर्काथरिमा भने अपराधभाव प्रकट भएको छ । अक्सिजनका सिलिन्डर लुकाएर कालो बजारी गरिएको छ । अक्सिजन नपाएर मानिस मरिरहेको समाचारले उनीहरूको संवेदनालाई छोएको छैन । अभावका बेला लुट गर्न पाउनुलाई उनीहरूले अवसर मानेका छन्, मानौँ आफैँ बिरामी भएर अक्सिजन नपाएर छटपटाउनु पर्ने अवस्थाको पीडाबोध उनीहरूमा भएकै छैन । रेमडिसिभिरका लागि सामाजिक सञ्जालमा अनुनय विनय भइरहँदा पाँच हजार रुपियाँ पर्ने औषधि डेढ लाखसम्म लिएर बेच्नेहरू ग्राहकको खोजीमा छन् । यो औषधिको डिलरसीप पाएको कम्पनी आफैँ कालोबजारीमा उत्रिएको छ । यो महामारीलाई करोडौँ आम्दानी गर्ने अवसर देखेको छ । मानौँ उसको लास कुनै दिन दाउरा वा विद्युतीय शवदाहबाट विसर्जन नभएर नोटका बिटाले गरिनेछ । मानिसमाथि परेको यो सङ्कटका घडीमा मैले लुट होइन, सके छुट दिएर सेवा गर्नुपर्छ भन्ने भाव उसमा रत्तिभर छैन ।
अस्पतालमा शøयाहरू खाली छैनन् । कतिपय सङ्घ संस्थाले परोपकारी भावका साथ आईसोलेसन आफैँ बनाइरहेका छन् । कतिपयले आफ्ना खाली ठाउँमा आईसोलेसन बनाउन राज्यलाई आग्रह गरिरहेका छन् । नेपाली काँग्रेसले सरकारलाई आईसोलेसन बनाउने ठाउँ छैन भने पार्टी कार्यालय प्रयोग गर भनेको छ । तर अस्पताल सञ्चालकहरूलाई यही बेला लुट्ने अवसर हो भन्ने लागेको छ । सामान्य अवस्थामा दुई हजारमा नबिक्ने शøयालाई दैनिक २० हजारदेखि ५० हजारमा उपलब्ध गराउने विज्ञापन गरिरहेका छन् । एउटा सामान्य अस्पतालले एउटा बिरामीबाट दैनिक ४० हजार रुपियाँ असुल्ने गरेका छन् । नाम चलेका र सामान्य अवस्थामा समेत राम्रो आम्दानी गरेका काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल र ह्याम्स जस्ता अस्पतालले यो बेला नागरिकलाई सर्वसुलभ उपचार उपलब्ध गराउनु पर्ने बेला हो । यो उनीहरूको सामाजिक दायित्व पनि हो । सहज अवस्थामा कुनै ठाउँमा केही हजार खर्च गरेर स्वास्थ्य शिविर चलाउनु मात्रै सामाजिक दायित्व हुन सक्दैन । राज्यले थेग्न नसक्ने अवस्था आई पर्दा वा आम नागरिकहरू महामारीको चपेटामा पर्दा निःशुल्क वा न्यूनतम शुल्कमा उपचार गर्नु चाहिँ सामाजिक दायित्व हो । तर उनीहरू नै यस्तो अवस्थामा एउटा सामान्य बिरामीबाट लाखौँ आर्जन गर्ने ध्याउन्नमा लागेका छन् ।
अक्सिजन लुकाउनेले मात्र कालोबजारी गरेका होइनन् । औषधिको चर्को मूल्य मात्र पनि कालोबजारी होइन । अस्पतालको न्यूततम शुल्कलाई आफूखुसी बढाएर खुलेआम प्रचार गर्ने काम झन् ठूलो कालोबजारी हो । सरकारले कालोबजारी गर्नेलाई कारबाही गर्ने भनेको छ । कारबाही पनि थालेको छ । अहिलेको कालोबजारी अरू समयको जस्तो कालोबजारी होइन, मानव जीवनको मूल्यमाथि गरिएको कालोबजारी हो । यो नागरिक हत्या सरहको अपराध हो । नेपालको कानुनले कालो बजारीलाई केही हजार रुपियाँमा उन्मुक्ति दिन्छ । करोडौँको कालो बजारियालाई केही हजार वा दुई चार लाखै रुपियाँको कारबाही अपराधीलाई निरुत्साहित गर्ने होइन, उल्टो प्रेरित गर्ने खालको छ । केही जरिवाना तिर्ने र करोडौँ आम्दानी गर्ने प्रवृत्तिलाई यसले दुरुत्साहन नै गर्छ ।
कोरोनाले जीवनका हरेक पक्षलाई प्रभावित गरेको छ । गरिब मात्रै प्रभावित छैनन्, सम्पन्नहरू पनि छन् । व्यापारी मात्र प्रभावित छैनन्, साना किसान पनि प्रभावित छन् । बरु सामाजिक दूरी कायम गरेर उद्योग चलेका होलान् तर तरकारी उत्पादन गर्ने किसानले बजारमा सामान पु¥याउन नपाउने अवस्था छ । कार्य क्षेत्रमा उत्रिएका सुरक्षाकर्मी र पत्रकार पनि सङ्क्रमित मात्र छैनन्, ज्यानसमेत गुमाइसकेका छन् । पीडा कसको छैन ? चिकित्सक र नर्सहरूले तलव पाएका होलान् तर उनीहरूले जीवनलाई नै जोखिममा हालेका छन् । यद्यपि उनीहरूको पेसा पनि यही हो । आज अस्पतालबाट मासिक दस हजार रुपियाँ तलव पाउने एउटा नर्सले सङ्क्रमण भएको खण्डमा दैनिक बीस हजार अस्पताललाई बुझाउनु पर्नेछ । कुन धैर्यले उनीहरू काम गरिरहेका होलान् ? सरकारले कोभिड उपचारमा संलग्नहरूलाई ५० प्रतिशत थप पारिश्रमिक दिने भनेको छ । निजी क्षेत्रमा यो रकम पाइने हो वा होइन, थाहा छैन । कोभिडका नाममा शøयाको मूल्य बढाइरहेका अस्पतालले पनि थप पारिश्रमिक दिएछन् भने नै पनि सरकारी निर्धारणभन्दा बढी पाउने छैनन् ।
मानवीय संवेदना गुमाएर गर्ने अपराध प्रवृत्तिविरुद्ध राज्यले गर्ने कारबाही हदैसम्मको हुनुपर्छ । औषधि झिकाएर कालो बजारी गर्नेलाई कानुनले गर्ने दण्डबाहेक आगामी दिनमा कुनै पनि पेसा गर्ने लाइसेन्स दिन हुँदैन । आज औषधिजस्तो संवेदनशील वस्तुमा कालोबजारी गर्छ भने ऊ भोलि अर्को व्यवसायमा इमानदार रहन्छ भनेर कसरी विश्वास गर्ने ? अस्पताल बन्द गरेर यतिबेला कसैलाई फाइदा नपुग्ला, तर त्यस्ता अस्पताललाई राज्यले हरेक समय कठोर निगरानीमा राख्नुपर्छ । सकेसम्म यस्ता अस्पतालले दिने उपचारका विकल्पमा राज्यले अरू अस्पताललाई प्रोत्साहन गर्नुपर्छ । त्यो अस्पताल लुटेराहरूको हो । त्यो साहु महाजन कालोबजारी हो । त्यो कम्पनीले झिकाउने वा उत्पादन गर्ने कुनै मालसामान नकिन, यसले तपाईंलाई लुट्छ् भनेर सार्वजनिक रूपमा उनीहरूबारे नागरिक सचेतना फैलाउन पर्छ । यस्ता प्रवृत्तिलाई आम नागरिकले पनि सामाजिक बहिष्कार गर्नुपर्छ ।
नेपाली समाज प्रतिक्रियाहीन छ । सङ्कटका बेला आफूमाथि गरिएका दुव्र्यवहारलाई भोलिका दिनमा बिर्सिदिन्छ वा सजिलै क्षमा गरिदिन्छ । तपाईंलाई कसैले ठगिरहेको छ भने तपाईं दोहो¥याएर उसकहाँ किन गइरहने ? आफू मात्रै होइन, समाजका अरू नागरिकलाई पनि यो ठग हो भनेर किन नभन्ने ? हाम्रो मुलुकमा सबै कुराको विकल्प सहजै फेला नपर्ला तर निर्विकल्प केही पनि हँुदैन । देशमा राजनीतिक प्रणालीको विकल्प आयो । राजनीतिक दलका नेताहरूमा विकल्प फेला परिरहेका छन् । तर समाजका लुटेराहरूको विकल्प छैन भनेर हामी कतिञ्जेल निरीह बनिरहने ? समस्या वा पीडा सधैँ त्यही रूपमा मात्रै रहँदैन, त्यसले नयाँ अवसर पनि दिन्छ । त्यसैले पीडाको यो घडीमा लुटेराहरूलाई चिनौँ र सामाजिक बहिष्कारको अभियान चलाऔँ । देशव्यापी रूपमा यो अभियानलाई जगाऔँ । आज दुःख होला, भोलिका पीडितहरूले पक्कै दुःख पाउने छैनन् ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुनुहुन्छ ।)