डा. अतीन्द्र दाहाल
गएको हप्ता सिन्धुपाल्चोक जिल्लालगायत देशका विभिन्न भागमा भीषण वर्षासहित बाढीपहिरोको प्रकोप आइप-यो । कोरोना कहालीसँग जुधिरहेको देशमाथि यो अर्को विपत्ति यति कठोर थियो कि सायदै त्यसबाट पीडा महसुस नहुने कोही थिएनन् । रौद्र रूपमा नदीले हेलम्बू बजारलाई बगर मात्र बनाएन कि बाढीको सम्भावनाको सूचना दिने रेडियोको कार्यालयसमेत बाढीको शिकार बन्यो । देशका अन्य भागमा पनि यस्ता दुर्घटना र विपत्तिको अवस्था आयो । मनाङको चामे, लमजुङ, नवलपरासी लगायत देशका झन्डै २० ठाउँमा विध्वंसात्मक बाढीपहिरो आएको समाचार सम्प्रेषण भइरहेको थियो । देशभरको सडक सञ्जालमा सानाठूला गरेर ४० बढी अवरोधसँगै केही ठाउँमा विद्युत् तथा सञ्चार सम्बन्धसमेत विच्छेद हुन पुग्यो ।
यद्यपि विभिन्न ठाँउमा विपत्तिको त्रूmरताले आम मानिसलाई गाँजिरहँदा केही थान विश्लेषणहरूले यसरी पनि स्थान पाए कि जसले पीडामा परेकाहरूलाई झन् गिज्याइरहेको थियो । विपत्ति भोगिरहेकाहरूलाई दोषी करार गर्न उद्धत देखिन्थ्यो । ती विश्लेषकहरू भन्दै थिए ‘मेलम्ची खोला बस्तीमा पसेको होइन कि मानिसहरू चाहिँ खोलामा बसेका हुन् । खोला त सदैव त्यहीँ छ, उक्त क्षेत्र मानिसहरूले अतिक्रमण गरेका हुन् । तसर्थ दोष उनीहरूकै हो ।’ तर यसरी बहस गर्न रमाउनेहरूले प्राकृतिक विपत्तिको शाश्वत् सत्यमात्र पूरै बिर्सिएका होइनन् कि आफ्नो बौद्धिकताको चरम दुरुपयोग गर्दै विश्लेषणका नाममा ज्ञान र प्राज्ञिक सभ्यताको भयङ्कर दुर्घटनासमेत गराएको देखियो ।
विपत्तिको शाश्वत सत्य
अठारौँ शताब्दीका विख्यात लेखक थोमस रोबर्ट माल्थसको सन् १७९८ मा प्रकाशति प्रसिद्ध अवधारणा ‘द प्रिन्सिपल अफ पपुलेसन’ ले प्राकृतिक विपत्तिलाई एउटा आवधिक नियमितता मान्छ । मानवले नचाहेर पनि सामान्यतया २५ वर्षको चक्रिय हिसाबमा सबै क्षेत्रमा कुनै न कुनै विपत्ति भोग्नुपर्ने दाबा गरेको छ । सबै प्रकारका भू–बनावटमा छुट्टाछुट्टै खालका विपत्तिको जोखिम रहन्छ । नदीतट तथा समतल क्षेत्रमा बाढी, पहाडमा पहिरो तथा भूक्षय, हिमालमा हिमपात विश्वव्यापी चरित्र हुन् ।
जलवायु परिवर्तन अहिलेको मुख्य चुनौती हो । सामरिक शक्तिका उच्च नेतृत्वहरूको संलग्नतामा जलवायु परिवर्तन र यसका असर न्यूनीनकरणको बाटो तय गर्ने अभिप्रायले अन्तर्राष्ट्रिय सम्मलेनसमेत नियमित रूपमा हुन्छ । सन् २०१५ मा १९६ देशबाट अनुमोदित ‘पेरिस सम्झौता (कोप २१)’ चर्चित विषय पनि बनिरहेकै छ । तापमानमा निरन्तर वृद्धि, बढ्दो कार्बन उत्र्सजन, समुद्र सतहको बढ्दो उचाइ, ऋतुसँग असङ्गतिपूर्ण मौसम र हावापानी अनि विभिन्न खालका विपद्हरूले विश्वलाई नयाँ चुनौती थप्दैछ । यस्ता विपत्तिका शृङ्खला आवृत्तिको समय छोटिंदैछ ।
सायद सिन्धुपाल्चोकको भू–बनावट पनि केही कमजोर अथवा दुर्घटना तथा विपत्तिमैत्री भने हुनसक्छ । विगतका केही वर्षमा यो क्षेत्रले निरन्तर प्राकृतिक विपत्तिको कुनै न कुनै शृङ्खला भोग्नुप¥यो । भूकम्पको केन्द्रबिन्दु परेका कारण पनि त्यस्तो हुनपुगेको भूगर्भशास्त्रीहरूले बताउने गरेका छन् । केही वर्ष पहिले जुरे, त्यसपछि बाह्रबिसे हुँदै अहिले मेलम्चीमा समान प्रकृतिका विपत्तिले रौद्र रूप देखाएको छ । मानवका तर्पmबाट भएको खोला क्षेत्रको अतिक्रमणसमेत एउटा कारक भने होला । तर प्रमुख कारणहरू भने माथि उल्लेखित अन्य समस्या हुन् अनि यी कुनै पनि कारणको निर्माणमा त्यहाँका बासिन्दाको केही दोष अथवा सहभागिता छैन । यस्तो बेला उनीहरूलाई मात्र जबर्जस्त दोषी देखाउने अफवाहपूर्ण विश्लेषणको दृष्टिभ्रममा रमाउनेहरूको व्यवहारले पीडितलाई पीडामाथि पीडा मात्र भएन कि स्वयं उनीहरूकै बौद्धिकतासमेत धज्जी उड्ने गरी दुर्घटनामा पर्दैछ ।
बौद्धिकताको दुर्घटना
खोलाका छेउमा बस्ती बस्ने कुरा सभ्यताको अभिप्राय पनि हो । ईसापूर्व १२ औंदेखि नवौँसम्मको ग्रिक सभ्यता र विकास, ईसापूर्व २७ बाट सन् ४७६ सम्मको प्रसिद्ध रोमन सभ्यता लगायत पछि आएका इजिप्सियन, मेसोपोटामिया, ह्वाङ्गो उपत्यका लगायत सिन्धुघाटी सभ्यता तथा विकासहरू नदी अनि समुद्र तटका क्षेत्रहरूबाट सुरुवात भएको इतिहास लेखिएको छ । समुद्र छेउमा बस्दा उत्पादन राम्रो हुने, बस्तु ढुवानी तथा विनिमय सहज बन्ने, जलशक्तिबाट सञ्चालित औजार तथा उपकरणको प्रयोगका कारण जीवन सरल बन्ने हुन्थ्यो । क्रिस्टोफर स्मलको अनुसन्धान ‘अ ग्लोबल एनालिसिस् अफ ह्युमन सेटलमेन्ट इन कोएस्टल जोन’ र वाईन ब्लेडसोइको पुस्तक ‘द अडभेन्ट अफ सिभिलाईजेसन’ले यस तथ्यलाई प्रष्ट पारेको छ । नाइल सभ्यताको बारेमा त हामी सबैसँग थोरबहुत अध्ययन छ । त्यही भएर नदीतटको बस्ती चाहिँ सदैव अदूरदर्शी र अवैज्ञानिक मात्र हो भन्ने तर्कसमेत आग्रहपूर्ण फलेसी (सुन्दा सही जस्तो लाग्ने प्रष्ट भ्रम) पनि हो ।
त्यस्तै, कसैको पनि पीडामा हर्ष प्रदर्शन अनुचित मात्र होइन कि मानवीय अपराध नै हो । विपत्ति आइसकेपछिको समयमा कारण खोज्नुभन्दा तत्काल उद्धार, राहत तथा व्यवस्थापन पहिलो प्राथमिकता एवं मुख्य कार्यभार हुन् । बहस पछि पनि गर्न सकिन्छ, नीतिका छलफल पछिल्ला पक्ष हुन् । अचानक आइपरेको अपार पीडाले त्यहाँका बासिन्दाको सर्वस्व गुमेको छ । करोडौँको सम्पत्ति क्षणभरमा शून्यमा पुगेको छ । केही मिनेट पहिलेसम्म सम्पन्न गनिएकाहरू एकाएक फिल्मी शैलीभन्दा पनि उच्च रफ्तारमा सुकुम्बासीमा परिणत हुँदैछन् । जिन्दगीभरि कमाएको धनदौलत निमेशभरमा स्वाहा भएको छ । परिवारका सदस्य बेपत्ता भएका छन्, आँखै अगाडि कसैको मृत्युसमेत भएको छ । एक मिनेटमा सबै टाट पल्टिएको छ, बेसहारा बनेका छन् । मानसिक रूपमा समेत विक्षिप्त तथा भविष्यप्रति अनविज्ञ छन् । परिस्थिति त्रासदीपूर्ण तथा घोर अन्योलउन्मुख छ ।
यस्तो अवस्थामा तत्कालमा त राहत हुने काम गर्नुप-यो, कम्तीमा मानवीय सहानुभूति त देखाउनुप-यो । नबुझेर नजानेर बसोवासको क्षेत्र छनोटमा गल्ती भयो होला । विगतमा सरकारलाई त्यस्तो बस्ती निर्माण गर्न नदिने वा त्यहाँका मानिसलाई जनचेतना जगाउनेचाहिँ ती बौद्धिकहरूको दायित्व थिएन र ? बौद्धिकता केवल प्रतिक्रियात्मक मात्र हुनुपर्ने हो त ? बिना युट््युबहरूको भीडभाड र सतही प्रचारबाजीमा कत्ति पनि लालयित नभई सेनालगायतका सुरक्षा निकायले आफ्नो ज्यान बाजीमा लगाएर विचल्लीमा फसेकाहरूको उद्धार गरे । के त्यो पनि आवश्यक थिएन त ? समाज सेवाका नाममा पीडितमाथि भद्धा मजाक गर्नेहरूको आगामी दृश्य त सायद आउनै बाँकी होला । तर पीडितहरूको विचलित मनोविज्ञान अनि स्वाभाविक छटपटाहट कम्ती हृदयविदारक थिएन । सकेकाले सहयोग गरिरहेका थिए, तत्काल कुनै सहयोग गर्ने क्षमता अथवा सहजता नभएकाहरू समेत दुःख महसुस गर्दै थिए, निराश थिए, विचरा भनिरहेका थिए, पीडा साट्न खोज्दै थिए । उक्त चरमपीडा महसुस गरेर उनीहरूको आँतमा सकेको मल्हम लगाउने, रोदनमा सहानुभूति देखाउने कामको सट्टा उनीहरूको उठीबास तथा सर्वनासमाथि हसीमजाक गर्ने कुरा कुनै पक्षबाट पनि शोभनीय थिएन ।
त्यस समयमा त कसरी उनीहरूको जीवन बचाउने, मानवीय तथा भौतिक क्षतिलाई रोक्ने सम्भावना अवलम्बन गर्ने, क्षतिको न्यूनीकरण गर्ने उपाय के हुने भन्ने सरसल्लाह तथा सुझाव चाहिँ परिस्थितिको माग हुन्थ्यो । उनीहरूलाई ढाडस दिँदै विपत्ति तथा विनासका बावजुद बाँकी समाज साथमा रहेको र आगामी जीवन सहज बन्ने कुरामा सहयोग प्राप्त हुने आशा जगाउनु पथ्र्यो । सकारात्मक केही गर्न सकिने थिएन भने पनि उनीहरूको असहजतामाथि हासिमजाक गर्ने र उनीहरूको मनोबल गिराउने कुरा कुनै हालतमा स्वीकार्य थिएन । तर केही बौद्धिकहरू जानीनजानी त्यसतर्पm उन्मुख भएको देखियो ।
बौद्धिकता त सकारात्मक हुनुपर्छ, समाजको निर्माणका लागि हुनुपर्छ, आम मानिसलाई आशा विजारोपण गर्ने अस्त्र बन्नुपर्छ । आपत्मा परेका मानिसलाई अझ हतोत्साही बनाउने, उनीहरूलाई खुच्चिङ भन्ने जस्ता आशयका अभिव्यक्ति दिने, सायद उनीहरूले कुनै जघन्य अपराधकर्म गरेकाले त्यसको कसुर भोग्नुपरेको जस्तोगरी अहंकारी अभिव्यक्ति दिने र असहाय बनेको अनि विपत्तमा परेको समूहलाई दोषी करार गर्ने विश्लेषणको आत्मरतिमा रमाउने कुरा बौद्धिकताको नाममा अतिरञ्जित बुद्धिविलास र असभ्य कुण्ठाबाहेक केही हुन सक्दैन । यस्तो बौद्धिकता सम्पूर्ण रूपमा बिटुलिएको हुन्छ, तत्कालको परिस्थिति तथा माहोलमा स्वीकार्य तथा शोभनीय दुवै हँुदैन ।
उक्त ठाउँ बस्ती निर्माणका लागि उपयुक्त थिएन होला, भू योजना तथा सहरी विकासका हिसाबले अध्ययन गरिएको थिएन होला तर अहिले अर्ती छाँट्ने र उपदेशको आपूर्ति गर्ने बेला होइन । पहिले विपत्तिमा परेकाहरूलाई मल्हम लगाउने, उनीहरूलाई सामान्य जीवनमा फर्काउने अनि त्यसपछिको समयमा यसका कारण खोज्ने तथा सम्भावित समाधानका उपाय लगाउने हो । आदरणीय बौद्धिक वृत्तका स्वनामधन्य महानुभावहरू ! बहस पछि गरौँला, अहिले सहयोगको व्यवहार देखाऔँ । अर्ती पछि दिउँला, अहिले सकेसम्म आपसी हातेमालो गरेर विपद्मा परेकाहरूको उद्धार गरौँ । जीवन सहज बनाइदिनेतिर लागौँ । मृत्युमा उत्सव र पीडामा हसीमजाक कुनै पनि बहानामा क्षम्य तथा स्वीकार्य हुँदैन । उच्च मानवको दर्जा खोज्ने भुलभुलैयामा यसरी विश्लेषणको धज्जीसमेत नउडाऔँ कि त्यसभित्र सामान्य मानवीयताको पनि गम्भीर खडेरी परेको होस् ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)