डा. सुरेश आचार्य
सत्ता छाड्नु भनेको आफूलाई जन्म दिने बाबुआमाको मृत्युभन्दा पीडादायक हुने रहेछ । पछिल्लो समय सत्ताबाट बाहिर आएपछिका नेताहरूका अभिव्यक्तिले यो आभाष गराएको छ । प्रधानमन्त्रीबाट बाहिरिनुभएका केपी शर्मा ओलीले कति इमानको राजनीति गर्नुभयो र दुईतिहाइ नजिकको बहुमत के कारणले गुम्यो ? यसको विश्लेषण हरेक कोण र हरेक खालका मानिसबाट भइसकेको छ । तर सरकार गठनसम्बन्धी संविधानका हरेक धारा मेरा लागि लेखिएका हुन् र अर्को व्यक्तिलाई कुनै हालतमा आउन दिइँदैन भन्ने अन्तिम प्रयास उहाँले गर्नुभयो । तर संविधानको व्याख्या राजनीतिक दल वा उसका नेताले गरेको मात्र सत्य हुने रहेनछ । अन्ततः संविधानको कार्यान्वयन गर्ने हैसियतमा रहेको व्यक्तिले निर्लज्ज ढङ्गमा आफैँले संविधान मिचेको ठहर अदालतले ग¥यो र उहाँ प्रधानमन्त्रीबाट हटाइनु भयो । बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर अभिव्यक्त हुन थालेको यो पीडा विस्तारै कम हुन थालेको छ । यद्यपि, प्रतिशोधको राजनीतिक भावबाट उहाँ मुक्त हुन सक्नुभएको छैन भन्ने आभाष संसद्मा बोल्दै गर्दाका अभिव्यक्तिले दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारबाट हट्दै गर्दा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेलमा यस्तै पीडा देखापरेको छ । वैशाख १९ पछि उहाँको सरकारको वैधानिकता कहाँ थियो ? यो प्रश्नको राम्रो विश्लेषण गर्न सक्ने हैसियत शङ्कर पोखरेल आफैँमा छ । उहाँले अविश्वासको प्रस्तावको सामना कहिल्यै गर्नुभएन । दुवै पटक अविश्वासको प्रस्तावको सामना नगरी मतदान हुने दिन राजीनामा दिएर उहाँले राजनीतिक संस्कार देखाउने हिम्मत गर्नुभएन । उहाँले विद्यार्थी राजनीति गर्दै गर्दा निरङ्कुश र निर्दलीय पञ्चायतकालका प्रधानमन्त्री सूर्यबहादुर थापाले २०४० सालमा देखाउनु भए जति राजनीतिक चरित्र पनि देखाउन सक्नुभएन । सूर्यबहादुर थापालाई राजीनामा दिन राजा वीरेन्द्रबाट दबाब आएको थियो । तर उहाँले राजीनामा दिनु सट्टा अविश्वासको प्रस्ताव सामना गर्ने आँट गर्नुभयो । राष्ट्रिय पञ्चायतका १२५ सदस्यमध्ये १७ मत मात्र उहाँलाई प्राप्त भयो । तर उहाँले त्यही सत्र भाइका नाममा पञ्चायतको राजनीति गरिरहनुभयो ।
एमाले नेता शङ्कर पोखरेल एउटा राजनीतिक कर्मबाट माथि आएको मात्र होइन, राजनीतिक भविष्यसमेत भएको नेता हो । एमालेमा ओलीको वर्चस्व रहँदै गर्दा पोखरेललाई उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएको छ । तर जुन शैलीमा उहाँले मुख्यमन्त्रीमा टिक्ने तिकडम गरिरहनु भयो, चरित्रगत रूपमा पनि ओलीको खास उत्तराधिकारीमा उहाँ नै प्रस्तुत हुनुभयो । संविधानको धारा १६८ (१) को एकल बहुमत रहेको दलको सरकार गठन गर्नुभएका पोखरेलको एमाले र माओवादी विभाजनपछिको स्थितिमा परिवर्तन आयो र अविश्वासको प्रस्ताव दर्ता भयो । उहाँले अविश्वासको प्रस्तावको सामना गर्नुभएन, राजीनामा गर्नुभयो । तर लगत्तै त्यही दिन अविश्वासको पक्षमा रहेका जनता समाजवादी पार्टीका केही सदस्यको साथ लिएर सरकार गठन गर्नुभयो । यो सरकार एकल बहुमतको सरकार थिएन । तर यसलाई १६८(१) को नाम दिन लगाइयो र यसका लागि प्रदेश प्रमुखलाई गलत ढङ्गमा प्रयोग गरियो । प्रदेश प्रमुखले आफ्नो मर्यादा बिर्सेर मुख्यमन्त्रीको कार्यालयमा पुगेर शपथ ग्रहण गराउनु भयो ।
उहाँको राजीनामापछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नु पर्र्दैनथ्यो ? एकल बहुमतको सरकारले राजीनामा दिएपछि १६८(२) को सरकार गठन हुनुपर्ने होइन ? ‘म त झुक्किएँछु, बहुमत त मेरै रहेछ’, भन्न पाइने हो ? सोही दलको सरकार बन्ने भए पनि संसदीय दलको नेता परिवर्तन हुनुपर्ने होइन ? २०५८ सालमा गिरिजाप्रसाद कोइरालाले काँग्रेसको बहुमत हुँदाहँुदै आन्तरिक कारण राजीनामा दिनुभयो तर राजीनामापछि पनि फेरि म नै प्रधानमन्त्री हुन्छु भन्नु भएन । संसदीय दलमा नेताका लागि फेरि निर्वाचन भयो र सुशील कोइरालालाई हराएर शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । एमालेले संसदीय अभ्यास सिक्दै गर्दा शङ्कर पोखरेल यही राजनीतिमा हुनुहुन्थ्यो, होइन र ? दुई दलको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था शङ्कर पोखरेलका नाममा छुट कसरी हुनसक्यो ? किन दुई दलको सरकारलाई प्रदेश प्रमुखले एकल बहुमतको मान्यता दिनुभयो ? के मुख्यमन्त्री र प्रदेश प्रमुखको राजनीतिक स्वार्थ मिलेपछि संविधान आफैँ निष्क्रिय हुन्छ ? उहाँले १६८(२) को सरकार गठन गरेर विश्वासको मत लिनुभएको भए कम्तीमा एक वर्ष उहाँका विरुद्ध अविश्वासको प्रस्ताव आउने त थिएन । कागजस्तै बाठो हुँदै गर्दा शङ्कर पोखरेलले पनि प्रदेश सभामा सामान्य बहुमतसमेत गुमाउन भयो र यस पटकको राजीनामामा छलछामको गुञ्जायश रहेन । भएको यत्ति मात्रै हो ।
राजनीतिक संस्कार भएकाहरू एउटा निर्वाचनमा हार्छन् वा सत्ताबाट हटाइन्छन् र पनि फेरि राजनीतिमा स्थापित हुन्छन् । राजनीतिक संस्कार र चरित्र नभएकाहरूको राजनीति भने आफैँ समाप्त भएर जान्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले पनि शङ्कर पोखरेलको सिको गर्न नखोज्नु भएको होइन । सांसद लुकाउने, दबाब दिने र विवेक प्रयोग गर्न नदिने दुष्प्रयास त्यहाँ पनि गरियो । लुम्बिनीमा सांसद लुकाउने र जबर्जस्ती वक्तव्यबाजी गराउने पछिल्लो घटना त राजनीतिक कुसंस्कारको चरम रूप थियो । पदमुक्त हुने संविधानको व्यवस्था कायम रहन नसकेपछि सत्ता छाडेर प्रतिपक्षी भूमिका गर्नु गुरुङको राजनीतिक संस्कार हो । तर शङ्कर पोखरेलको पीडा र प्रवृत्तिले भने उहाँका बारेमा आममानिसले बनाएको धारणामाथि आफैँबाट प्रहार भएको छ । लुम्बिनी प्रदेशमा सरकार फेरिएको भोलिपल्ट तत्कालीन सरकारका प्रवक्ता अर्को अर्थमा शङ्कर पोखरेलका प्रवक्ता बैजनाथ चौधरीले अत्यन्त अराजनीतिक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिनुभयो । आफू रहेको सरकार वैशाख १९ पछि कसरी टिकेको थियो भन्ने बिर्सेर चौधरीले प्रयोग गर्नुभएको भाषा यस्तो थियो– ‘‘अनेकौँ प्रलोभन देखाएर सत्तामा जानु र सत्ता टिकाउन खोज्नु यो सरकारको अनैतिक र आपराधिक कार्य हो । यस्तो अनैतिक र आपराधिक मानसिकताबाट बनेको यो सरकार धेरै दिन टिक्न सक्दैन । अनेकौँ तिकडम, जालझेल, षड्यन्त्र गरेर सरकार बनाउनु कुनै ठूलो कुरा होइन ।’’ यो हिजो आफूले गरेका कर्मप्रतिको व्यङ्ग थियो वा सत्ताबाट हट्नुपर्दाको पीडा ? संसदीय अभ्यासमा प्रतिपक्ष भएपछि राख्नुपर्ने मर्यादा के यही हो ? यस्तै हो ?
ओलीदेखि पोखरेलसम्मले सरकार छाड्नुपर्ने कारण केवल राजनीतिक हो । नेकपाको राजनीतिलाई ठीक ढङ्गमा सञ्चालन नगरेको दोष जसले बोक्नुपर्ने हो, उहाँहरूलाई सत्ताच्युत गराउने कारक पनि त्यही व्यक्ति र प्रवृत्ति हो । यो सत्यलाई स्वीकार गर्न नसकेका कारण अहिले एमाले विभाजनउन्मुख भएको छ । अब माओवादीका अध्यक्ष प्रचण्डलाई गाली गरेर मुखको तीतो पखाल्न सकिन्छ, तर एमालेको राजनीति त्यो ढङ्गमा सङ्लिन सक्दैन । आज शङ्कर पोखरेललाई प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको भन्ने लागेको छ । हिजो उनै प्रचण्डलाई केपी ओलीले शेरबहादुर देउवाको ढाडमा टेकेर काँग्रेसको टाउकोमा हान्न लगाएको होइन । हिजो अरूलाई हान्दा आनन्द मान्नेले आज त्यसैलाई पीडा मान्न
मिल्छ ? राजनीतिमा कहिले सासूको पालो, कहिले बुहारीको पालो । यो त देखिँदै र भोगिदै आएको होइन र ? यतिबेलाको प्रश्न यो पनि होइन । नेपाली काँग्रेस कम्तीमा पाँच वर्षका लागि प्रतिपक्षमा बस्न तयार भएकै हो । आफैँले गराएको चुनावमा आएको यो परिणामलाई देउवाले सहर्ष स्वीकार गरेर त्यहीअनुसारको भूमिकामा रहनुभएको पनि हो ।
ओलीको हथौडा समाएर प्रचण्डले टाउकोमा प्रहार गर्दा देउवाले कुनै अराजनीतिक प्रतिक्रिया दिनुभएको पनि होइन । अझ नेकपा भएका ओली र प्रचण्डले अब पचास वर्ष काँग्रेसले सत्तामा फर्केर नहेरे हुन्छ पनि भन्नु भएकै हो । अब दुई पाइलटले जेट विमान हाक्छन् भन्दै गरेको पनि सबैले सुनेकै हुन् । तर अर्को पाइलटलाई चाहिँ यहीँबाट खसाली दिन्छु भन्दा विमान दुर्घटनामा पर्छ भनेर सोच्न नसकेका कारण यो परिणाम आएको होइन ? त्यसैले अहिलेको मूलप्रश्न राजनीतिक चरित्रको हो । राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन भनेर त नेपालका कम्युनिस्टहरूले नै धेरै भन्दै आएका हुन् । केवल राजनीतिक चरित्र देखाउनसक्नु नै सफलताको सबैभन्दा ठूलो मन्त्र हो भन्ने यी घटनाले पुष्टि गरेको छ ।