logo
२०७९ श्रावण २५ बुधवार



गोरखापत्रप्रतिको विश्वास र भरोसा

युगअनुकूल रूपान्तरणको जमर्काे गरेको छ गोरखापत्रले

विचार/दृष्टिकोण |


गोरखापत्रप्रतिको विश्वास र भरोसा


शिवकुमार भट्टराई

कुनै बेला अखबार भन्नु नै गोरखापत्र थियो, गोरखापत्र भन्नु नै अखबार । अर्थात्, अखबारको पर्याय गोरखापत्र । अझै पनि गाउँघरमा सबै अखबारलाई गोरखापत्र भनेर सम्बोधन गर्नेहरू मनग्ये भेट्टिन्छन् । आजभन्दा १२१ वर्षअघि राणा प्रधानमन्त्री देवशमशेर राणाले प्रकाशन आरम्भ गरेको गोरखापत्रको साख अझै पनि उँचो छ । परिस्थिति र परिवेश फेरिएको छ तर गोरखापत्रको साख उस्तै छ । प्रविधि र पहुँचले पत्रकारिताको परिभाषा बदलिएको होला तर नागरिक तहमा गोरखापत्रप्रतिको विश्वास र भरोसा उस्तै छ ।

सयौँको सङ्ख्यामा दैनिक अखबार प्रकाशित भइरहेका छन् । रेडियो र टेलिभिजनको क्रेज बढेको छ । अझ न्यू मिडियाको आक्रमक र प्रभावशाली उपस्थितिले धेरै विषय र सन्दर्भ बदलिएको छ । आमजनतामा भने गोरखापत्रप्रतिको विश्वास र आस्था अझै चुलिएको छ । अन्यत्र जेसुकै समाचार आओस् तर जबसम्म गोरखापत्रले त्यो विषयमा लेख्दैन नागरिकले भरोसा गर्दैनन् । अरू सबै सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भए पनि गोरखापत्रमा आएपछि मात्रै विश्वासिलो मानिने आमविश्वासले गोरखापत्रको उपस्थिति अझै सान्दर्भिक बनेको छ । गोरखापत्रका लागि यो नै सबैभन्दा ठूलो पुँजी र सम्पत्ति हो ।

देशमा ठूल्ठूला परिवर्तन भए तर गोरखापत्र आफ्नो अलग पहिचानका साथ सतिसाल जस्तो उभिएको छ । इतिहासका हरेक कालखण्डको जिउँदो साक्षीका रूपमा रहेको गोरखापत्रले आजको युगअनुकूल आफूलाई रूपान्तरणको जमर्काे गरेको छ । राणा शासनका बेला स्थापित गोरखापत्रले ००७ सालको प्रजातन्त्र, २०१७ सालको पञ्चायत प्रणाली,२०४७ सालको प्रजातन्त्र पुनस्र्थापना हँुदै २०६३ सालको राजनीतिक परिवर्तनलगायत हरेक कालखण्डको साङ्गोपाङ्गो अनुभूति सगर्व गरेको छ । इतिहासको जुनसुकै कालखण्डमा गोरखापत्रले आफूलाई विश्वसनीय अखबारको पहिचान कायमै राखेको छ । आज अखबार त धेरै छन् तर नागरिकको भरोसा गोरखापत्रप्रति अधिक भएकाले यसको पहिचान सुरक्षित राख्न हामीले अझै मिहिनेत र परिश्रम गर्नुछ । गोरखापत्रले पत्रकारिताको धर्मलाई मूलमन्त्र बनाएकैले यो विश्वास र भरोसा आर्जन गरेको हो ।

गोरखापत्रप्रतिको यही विश्वास र भरोसालाई नयाँ उचाइमा लगेर आमनागरिक तहसम्म पु-याउन गएको साता एउटा इँटा थपिएको छ । पश्चिम नेपालको कोहलपुर प्रादेशिक प्रकाशनमार्फत गोरखापत्र देशको कुना कन्दरा पुग्ने अभियानले तीव्रता पाएको छ । कोहलपुरस्थित प्रादेशिक प्रकाशनको नियमित प्रकाशन सुरु भएको छ । यसले पश्चिम नेपालको तीन प्रदेशका ३१ जिल्लालाई सोझै जोड्ने विश्वास र अपेक्षा गरिएको छ । गोरखापत्र भनेको हरेक नेपालीको भावना बोक्ने अखबार हो । त्यसैले त हामी देशका हरेक ठाउँमा पुग्न चाहन्छौँ ।

गोरखापत्रले कोहलपुरबाट यसअघि पनि प्रकाशनको थालनी गरेको हो, २०७६ फागुन ७ गते । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कोहलपुरस्थित एउटा पाँचतारे होटेलमा कोहलपुर संस्करणको शुभारम्भ गर्नुभएको थियो तर भाडाको प्रेसमा । कोभिड सङ्क्रमण पैmलिएपछि ०७७ वैशाखबाट प्रकाशन बन्द भयो । त्यसपछि लामो समय यो भेगमा गोरखापत्रको उपस्थिति नै रहेन । ०७८ साउनमा गोरखापत्रको नेतृत्व फेरिएपछि मात्र राजधानीबाटै गोरखापत्रका प्रकाशन त्यस भेगमा जान थाले । अर्थात् झन्डै चार महिनाको अवधिमा आधा नेपालमा गोरखापत्रको कुनै उपस्थिति नै रहेन । त्यही परिवेशमा नयाँ व्यवस्थापनले गोरखापत्रलाई यो भेगमा दिगो र भरोसायोग्य तुल्याउन आफ्नै भवन र प्रेस स्थापना गरेको छ । गएको साता अर्थात्, फागुन ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ भवन र प्रेसको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुभयो । अब आफ्नै भवन र प्रेसबाट प्रकाशन हुन थालेपछि पश्चिम नेपालमा गोरखापत्रले भाषिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ फराकिलो र मजबुत बनाउने छ ।

गोरखापत्रले समुच्च मुलुकलाई एकताको सूत्रमा आबद्ध गर्ने विश्वास लिइएको छ । विगत १२१ वर्षदेखि निरन्तर प्रकाशनमा रहेको गोरखापत्र अखबार मात्र नभई राजनीतिक, आर्थिक र सामाजिक उन्नति र प्रगतिको जीवित इतिहास पनि हो ।यस अवधिमा गोरखापत्रले धेरैखाले आरोह÷अवरोह बेहोरेको छ तर गोरखापत्र भने सधैँ आफ्नो मिसनमा अविचलित रह्यो । आधिकारिकता र विश्वसनीयताको धरोहरका रूपमा रहेको गोरखापत्रले आगामी दिनमा त्यो विश्वासलाई पश्चिम भेगमा अझ दरिलो बनाउने अपेक्षा गरिएको छ । पत्रकारिताको वास्तविक मूल्यमान्यतालाई यस भेगका पाठकमा समेत स्थापित गर्ने अभियानलाई गोरखापत्रले बल पु-याउनेछ ।

गोरखापत्रका सहप्रकाशनहरूको अवस्था पनि गर्व गर्न लायक छन् । अङ्ग्रेजी भाषा साहित्य र कूटनीतिक सम्बन्ध विस्तारका लागि दी राइजिङ नेपालले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । झन्डै छ दशक अवधि यो अखबारले पार गरिसकेको छ । यस्तै नेपाली भाषा, साहित्य र वाङ्मयको उन्नयनका लागि मधुपर्क मासिकले निर्वाह गरेको भूमिका सबैका लागि स्तुत्य छ ।

यस्तै, युवाका भावना र चाहनालाई सम्बोधन गर्न युवामञ्च मासिक क्रियाशील छ । बालबालिकाका मनमुटुमा बस्न सफल भएको छ मुना मासिक । मुना बालबालिकाका लागि आवश्यक सबैखाले खुराक पस्कने एक मात्र बालपत्रिकाका रूपमा स्थापित छ । यसले पनि ३१ वर्षको वय पूरा गरेको छ । पछिल्लो पुस्ताको प्रतिनिधिका रूपमा गोरखापत्र अनलाइन संस्करणले आम पाठकको रुचि र चाहनालाई सम्बोधन गर्न थालेको छ । अनलाइन संस्करण त दैनिक झन्डै सात लाख पाठकको नजरमा पर्ने गरेको छ । यो भनेको गोरखापत्रप्रतिको सम्मान र विश्वास हो । त्यसैले गोरखापत्रको भविष्य अझै उज्ज्वल छ । जबसम्म छापा माध्यमको अस्तित्व रहन्छ तबसम्म गोरखापत्रले नेपाली पत्रकारिकताको नेतृत्व गर्नेछ । यसका लागि गोरखापत्रले आफूप्रतिको विश्वास र भरोसा भने कायम राख्नैपर्छ ।

गोरखापत्र दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्छ । १९५८ वैशाख २४ गते प्रकाशन आरम्भ हुँदा साप्ताहिक थियो । संवत् १९९१ वैशाख ८ बाट हप्ताको दुई दिन प्रकाशन हुन थाल्यो । यस्तै २०१७ साल फागुन ७ गतेदेखि मात्र गोरखापत्र दैनिक रूपमा प्रकाशन हुन थालेको हो । प्रारम्भमा गोर्खापत्र भनेर प्रकाशन हुने गरेको यो अखबार १९८३ जेठ ४ गतेदेखि गोरखापत्रका रूपमा आउन थालेको हो । २०६१ सालमा फेरि गोरखापत्रको नाम फेरियो गोर्खापत्र भनेर । तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाएका बेला यो काम भएको थियो । शाही सत्ता अन्त्य भएसँगै २०६३ वैशाखबाट फेरि गोरखापत्रकै नाममा प्रकाशन सुरु भएको हो ।

अर्को महìवपूर्ण पक्ष गोरखापत्रले नेपालमा फोटो पत्रकारिताको अभ्यासको थालनी गरेको श्रेय पाएको छ । नेपाली अखबारमा सबैभन्दा पहिलो तस्बिर प्रकाशनको इतिहाससमेत गोरखापत्रले निर्माण गरेको छ । १९८४ वैशाख १३ गते गोरखापत्रले पहिलो पटक सर्वसाधारणको तस्बिर प्रकाशन गरेको थियो । वीरगञ्जस्थित श्रीचन्द्र कामधेनु चर्खामा धागो कातिरहेकी एक बालिकाको तस्बिर प्रकाशन भएको थियो । त्यसैलाई सम्मान गर्दै हरेक वर्ष वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा ल्याएको गिद्धे प्रेसबाट नै यसको प्रकाशन थालिएको हो । उक्त प्रेस हातबाट चल्थ्यो । समय क्रममा १९६९ सालमा गोरखापत्र बिजुलीबाट चल्ने प्रेसमा छापिन थाल्यो । लामो समय श्यामस्वेत कलेवरमा प्रकाशित गोरखापत्र २०५९ असार १० बाट रङ्गीन भयो । अहिले आधुनिक प्रेसबाट यसका प्रकाशन हुने गरेको छ । अहिले गोरखापत्र देशका तीन स्थानबाट एकैसाथ प्रकाशन हुन थालेको छ । राजधानी काठमाडौँलगायत पूर्वी नेपालको विराटनगरबाट यसअघि नै नियमित प्रकाशन भइरहेको हो । कोहलपुर संस्करण पछिल्लो प्रयास हो ।

गोरखापत्रको यात्रा यतिमै सीमित रहने छैन । क्रमशः प्रत्येक प्रदेशबाट अलग प्रकाशन थाल्ने सोच र कार्ययोजना वर्तमान व्यवस्थापनले तय गरेको छ । देशका ३८ भाषाभाषीलाई प्रत्यक्ष जोडेको गोरखापत्रलाई भविष्यमा हरेक नेपालीको मनमुटुमा रहने विश्वास र भरोसा प्राप्त गर्नुपर्ने चुनौती छ । यसका लागि सत्य, तथ्य र विश्वसनीय समाचार एवं सामग्री प्रकाशन गर्न प्रतिबद्ध हुनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?