सिराज खान
नेपालगञ्ज, जेठ १९ गते । भारतबाट फर्केका नेपालीलाई लिएर सल्यानतर्फ हिँडेको यात्रुबाहक फोर्स गााडी बिग्रेर राेकिराखेकाे ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, मा आइतबार राति फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो । दुर्घटनामा परी घाइते भएका २२ जनामध्ये गम्भीर रहेका एक जनाको भेरी अस्पतालमा सोमबार बिहान मृत्यु भएपछि मृतक सङ्ख्या १२ पुगेको अस्पतालले जनाएको छ ।
नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगञ्जकाे बिचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबाङ्ले बताउनुभयो ।
गएराति सवा १२.०० बजेतिर भएको दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुमसमेतका नागरिक र चालक र सहचालक गरी उक्त बसमा ३३ जना सवार रहेको जानकारी पनि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले दिनुभयो ।
उहाँले मृतकहरूको सनाखत गर्ने कार्य भेरहेको पनि बताउनुभएको छ ।
घाइते २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।