logo
२०८१ फाल्गुन २२ बिहीवार

  बझाङ पहिरो अपेडट  



चार जनाको शव फेला प-यो, उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा

प्रदेश |


चार जनाको शव फेला प-यो, उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा
तस्बिर साैजन्यः अम्मर जेठारा


शैलेन्द्र रोकाया
बझाङ, असार २० गते । जिल्लाको केदारस्यूँ गाउँपालिका-८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । शव फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठारा, उहाँकी सात वषीैया छोरी अस्मिता जेठारा, ११ वर्षीय छोरा प्रयाग जेठारा र ८० वर्षीय दले जेठारा रहेको घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले जानकारी दिनुभएको छ। घटनामा १८ घर पहिरोले बगाएको छ ।

गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो झरेपछि घटना भएको हो । सदरमुकामबाट चार घण्टाको पैदल दूरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अवस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अवस्थामा राखिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल राजभण्डारीले बताउनुभयो ।

राति एक बजेतिर माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको थियो । पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता हुनेमा वर्ष ४४ की राम देवी जेठारा, उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षिया छोरा प्रयाग जेठारा रहेका थिए भने नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र ८० वर्षीय दले जेठारा रहेका थिए । बेपत्तामध्ये अस्मिता र प्रयागको शव फेला परेको छ ।

स्थानीय अम्मर जेठाराले घटनाबारे भन्नुभयो, 'सबैभन्दा माथि मेरो घर भएकाले पहिरो आएको थाहा पाएपछि गाउँमा सबैलाई डाँको लगाएर भाग्न भनेपछि सबै भागे थिए तर बेपत्ता भएका चार परिवारको घर गाउँको सबैभन्दा तल भएकाले घरबाट भागदौड गर्दा पहिरोले बगाएको हाेला ।' 
अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँको वरिपरि दुई वटा खोलामा पानी बढी भएकाले प्रहरीसमेत जान सकेको छैन । प्रहरी नायब उपरीक्षक गणेश बमका सहित सदरमुकाम चैनपुरबाट प्रहरीसहित सशस्त्र प्रहरीको टोलीसमेत त्यस क्षेत्रमा गएको छ । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैँसी, गोरुलगायत १८ परिवारको धन सम्पतिसमेत सबै बगाएर लगेको स्थानीय नरेश जेठाराले जानकारी दिनुभयो । क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ ।

याे पनि पढ्नुहाेस्

 पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?