logo
२०८१ बैशाख ११ मंगलवार



रंगशालामा विमलले ल्याएको खुशी

फुटबल |
खेलकुद |


रंगशालामा विमलले ल्याएको खुशी


 

काठमाडौँ, माघ १५ गते । अनुशासनको कारबाही र घुँडाको चोटका कारण तीनबर्ष मैदान बाहिर रहेका विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमनसँगै निर्णायक गोल गरेपछि मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले अफ्रिकी टोली मोरिससलाई १–० गोलले हरायो । नेपालको जितमा विमलले ५५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । विमलले अन्जन विष्टको पासमा उत्कृष्ट गोल गर्दै नेपालको खुशी ल्याउनुभएको हो । विमलले यसअघि सन् २०१९ मा साफ च्याम्पियनसिपमा ढाकामा बंगलादेशविरुद्ध गोल गर्नुभएको थियो । त्यसपछि उहाँले नेपालका लागि अन्तिम पटक सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्ध खेल्नुभएको थियो ।

खेलमा नेपालको दुई वटा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अन्जन विष्टको दुईवटै प्रहार क्रसबारमा लागेर फर्किएको हो । पहिलो हाफमा औसत प्रदर्शन गरेको मोरिसस दोस्रो हाफमा कमजोर बनेको थियो । दोस्रो हाफको सुरुमै मोरिससका फर्नान्डो ज्याक्सनको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।

विमलको गोलसँगै नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकालेको यो पहिलो पटक हो । संयोगबस नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पनि दशरथ रंगशालामा पहिलो जित हो । नेपाले ११ बर्षअघि पोखरामा भएको मैत्रीपूर्ण खेलमा भुटानलाई पराजित गरेको थियो । निर्णायक गोल गर्न सफल विमल ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले ७५ हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार कूल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई रंगशाला प्रवेश दिईएको थियो ।

मोरिसससँगको खेलसँगै मिडफिल्डर जगजित श्रेष्ठ र देवेन्द्र तामाङले पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको छ । अस्ट्रेलिया बस्दै आउनुभएका जगजित यसअघि सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध खेलेपछि राष्ट्रिय टोली बाहिर हुनुहुन्थो । देवेन्द्रले सन् २०१९ पछि राष्ट्रिय टोलीमा खेल्नुभएको हो । यसैगरी मोरिसससँगको खेलमा सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको छ । नेपालले मोरिसससँगको दोस्रो खेल मंगलबार खेल्नेछ ।

नेपालको ध्यान एसिएन कप छनोटमा : अल्मुताइरी

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलको अबको ध्यान एसियन कप छनोटमा हुने बताउनुभएको छ । ‘मोरिसससँगको जितले खुशी तुल्याएको छ । हामीले मैत्री खेलमा बटुलेको अनुभबले एसिएन कप छनोटमा राम्रो गर्नुपर्छ । यसले वरियतामा पनि सुधार गर्न सहयोग पुग्छ । आज विमलले मात्र होइन, सबै खेलाडीले मनैबाट खेले । मोरिसस शारिरिक रुपमा बलियो थियो । दोस्रो हाफमा हामीले राम्रो खेल्यौँ । केही मौकापनि गुमायौँ । अर्को खेलमा थप राम्रो गर्नेछौँ,’ अल्मुताइरीले भन्नुभयो ।

मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रयाङ्क्वेसले नेपालले राम्रो खेलेको बताउनुभयो । ‘हामीले साँढे दुई बर्षपछि यस्तो खेल खेलेका हौँ । ४५ दिनको तयारी गरेर खेल्दा खेलाडीले ठिकै खेले । मौका पाएको पनि हो । अर्को खेलमा गल्ती सुधार गर्नेछौँ,’ टोनीले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?