logo
२०८१ बैशाख ६ बिहीवार



त्रिदेशीय टी–२० सिरिजमा नेपाल च्याम्पियन

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० सिरिजमा नेपाल च्याम्पियन



काठमाडौँ, चैत २१ गते । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालका लागि सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । यससँगै नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिजमा खेपेको हारको बदला समेत लिएको छ ।

यसअघि भएको दुई खेलको एकदिवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । जितका लागि एकसय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेटको क्षतिमा ११८ रनमा समेटियो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाउनुभयो । चाल्स अमिनीले १५ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ह्याट्रिक सहित चार विकेट लिनुभयो । अलराउन्डर दीपेन्द्र टी–२० मा नेपालका लागि सर्वाधिक हजार रन बनाउने खेलाडी समेत बन्नुभएको छ । उहाँले ३९ खेलमा एक शतक र चार अर्धशतकसहित एक हजार रन पूरा गर्नुभएको हो । उहाँपछि पूर्वकप्तान पारस खड्काको नाममा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित सात सय ९९ रन छ । यसैगरी करण केसीले ह्याट्रिक विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले दुई विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा पाँच चौकाको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो ।

करण केसीले अविजित ३३, ओपनरद्वय आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउनुभयो । आदिल अन्सारीले १५ रन जोड्नुभयो । रोहित पौडेलले दुई तथा आरिफ शेख र दिलीपनाथ शून्य रनमा आउट हुनुभयो । बलिङमा पीएनजीका सेमो कामेअले तीन, कवुअ मोरेया, रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिनुभयो ।

पीएनजीविरुद्ध नेपालको प्लेइङ : ११

सन्दीप लामिछाने (कप्तान), दिलीपनाथ (विकेट किपर) कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?