logo
२०८१ बैशाख ८ शनिवार



रैथाने क्लबका फिरन्ते खेलाडी

खेलकुद |


रैथाने क्लबका फिरन्ते खेलाडी


काठमाडौँ, १९ फागुन। नेपाली फुटबल विकासको आधार मानिएको शहिद स्मारक ‘ए’ डिभिजन लिग भर्खर सकिएको छ। काठमाडौँको रैथाले क्लब मच्छिन्द्रलाई लगातार दोस्रो वर्ष च्याम्पियन बनाउँदै लिगले विश्राम पाएको थियो।

लिग सकेर क्लबहरु आफ्ना खेलाडीको निखारता प्रदर्शन गर्न मोफसलमा आयोजना हुने गोल्डकपको तयारीमा थिए। अधिकांश क्लबले अनुबन्ध गरेका खेलाडीको साथमा मोफसलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने सोच बनाएका थिए।

तर, लिगको विजयी उत्सव मनाउँदै मोफसलको नकआउट फुटबलमा रम्न चाहेका ‘ए’ डिभिजनका क्लब अहिले आन्दोलनको तयारीमा जुटेका छन्। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले मान्यता दिएको नेपाल सुपर लिग (एनएसएल) मा ‘ए’ डिभिजन क्लबकै खेलाडी धमाधम अनुबन्ध गरिएपछि क्लब आन्दोलनमा होमिएका हुन्।

‘ए’ डिभिजनमा रहेका १२ क्लबमध्ये आठवटा क्लबले दुई दुई पटक विज्ञप्ति सार्वजनिक गर्दै मोफसलको प्रतियोगिता खेल्नु पर्ने भएकोले आफ्ना खेलाडीलाई क्लबको अनुमतिबिना अन्य क्लबमा अनुबन्ध नगर्न नगराउन आग्रहसमेत गरेका छन्। एनएसएलले भने क्लबको आग्रहलाई वेवास्था गर्दै धमाधम ‘ए’ डिभिजन क्लबका रोजाईका खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरिरहेको छ।

एनएसएल र क्लबबीच खेलाडी तानातान
एनएसएलमा सहभागी साविक विजेता काठमाडौँ रेजर्सले बिहीबार मात्र टोलीको मार्की खेलाडीको रुपमा विकेश कुथुलाई अनुबन्ध गरेको छ। तर, कुथुले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट रिलिज भएको पत्र पाइसक्नुभएको छैन।

मनाङ एवं राष्ट्रिय टोलीको रोजाईका अर्का स्ट्राइकर अन्जन विष्टलाई दुई दिनअघि मात्र झापा एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो। यी त प्रतिनिधि उदाहरण मात्र हुन्। आयोजक एनएसएलले शुक्रबारनै दुई सय ४० खेलाडीलाई बोल कबोल (अक्सन) का आधारमा अनुबन्ध गर्न लागेको छ। जसमा अधिकांश खेलाडी ‘ए’ डिभिजनकै छन्।

फुटबलमा शित युद्ध
नेपाली फुटबलका क्बलले वर्षभर खेलाडीलाई अनुबन्ध गर्न नसक्नु र फ्रेन्चाइज लिग आयोजना गर्न चाहने व्यापारी घरानाले फुटबलको संरचनाबिनै लिग आयोजना गर्न खोजेपछि फुटबलमा शीतयुद्ध सुरु भएको छ। ५० वर्ष पार गरेका उपत्यकाका रैथाने क्लबले वर्षभर खेलाडीलाई अनुबन्ध गरेर राख्न नसक्नु पनि समस्याको अर्को जड बनेको छ।

अहिले एन्फालाई समेत हार गुहार गर्दै एनएसएलको विरोधमा उत्रने क्लबमा लिग च्याम्पियन मच्छिन्द्र, एनआरटी, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, थ्रीस्टार क्लब, संकटा, जावलाखेल युथ र फ्रेन्ड्स क्लब रहेका छन्।

विज्ञानराज शर्माको दोहोरो भूमिका
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं एन्फा लिग आयोजक समितिका संयोजक विज्ञानराज शर्मा एनएसएल फ्रेन्चाइज टोली काठमाडौँ रेजर्सका निर्देशक हुनुहुन्छ। उता एन्फाको ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको प्रमुख जिम्मेवारीमा रहेको व्यक्तिले फ्रेन्चाइज लिगमा सहभागिता जनाउने र क्लबमा अनुबन्ध भएका खेलाडीलाई तान्ने काम गरेपछि उहाँमाथि ‘ए’ डिभिजन क्लब खनिएका छन्।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षसमेत रहनुभएका शर्माले भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमै समस्या समाधानको बाटो तय नगर्दा अफ्ठेरो भएको बताउनुभयो। ‘फुटबल विकासको लागि म जुनकुनै भूमिका निर्वाह गर्न चाहन्छु। एनएसएल पनि फुटबल विकासकै पाटो हो। एन्फाले बेलैमा क्लब, एन्फा र एनएसएल आयोजकसँग बसेर समाधानको उपाय नलिकाल्दा समस्या उब्जिएको हो,’ शर्माले भन्नुभयो। क्लबले खेलाडी रिलिज नगरे आफूले एनएसएलमा नखेलाउने शर्माले बताउनुभयो।

एनएसएलको साविक विजेता काठमाडौँ रेजर्सले बिहीबार मात्र आर्मी क्लबका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडी र बालगोपाल मर्हजनलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ। सम्झौता कार्यक्रममा कुथुले आर्मीले अनुमति नदिए आफूले एनएसएल नखेल्ने बताउनुभयो। तर, काठमाडौँ रेजर्ससँग अनुबन्धको हस्ताक्षर गर्नुभएका कुथुले आर्मीबाट छुटेको रिलिज पत्र भने देखाउनुभएको छैन।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले ‘ए’ डिभिजनका क्लबले रिलिज गरेका खेलाडीलाई मात्र एन्फाले एनएसएलमा अनुबन्ध गर्न दिने बताउनुभयो। ‘एन्फाले क्लबको सहमतिमा मात्र खेलाडी अन्य क्लबमा अनुबन्ध गर्न दिने हो। क्लबको लगानीलाई एन्फाले वेवास्था गर्न मिल्दैन। एनएसएलमा खेल्न चाहने खेलाडीले क्लबबाट छुटकारा (रिलिज) भएको हुनुपर्नेछ। अझ विदेशी खेलाडीको श्रम स्वीकृति लगायत सबै कागजी प्रक्रिया क्लबले पूरा गरेर अनुबन्ध गरेका छन्। उनीहरुलाई क्लबको बिना अनुमिति खेलाउनु अर्को झमेला हुन्छ,’ तुलाधरले भन्नुभयो।

तुलाधरले क्लबहरुले चैतसम्मका लागि खेलाडी अनुबन्ध गरेकोले एनएसएल केही पर सारेर आयोजना गर्नसक्ने बताउनुभयो। तुलाधर एनएसएलको विरोधमा रहेको संकटा क्लबको अध्यक्ष हुनुहुन्छ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पा भने क्लबको आन्दोलनमा सहभागी छैन। कोरोना महामारीका कारण गतवर्ष ‘ए’ डिभिजन लिगलगायत फुटबलका अन्य गतिविधि नभएकोले महामारीकैबीच दर्शकबिनै पहिलो संस्करणको एनएसएल सम्पन्न भएको थियो। एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौँ र पोखरामा सञ्चालन हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?