logo
२०८१ बैशाख ४ मंगलवार

  दृश्य समाचार  



‘फुटबललाई सिस्टममा चलाउने प्रयास गरेको छु’

भिडियो |


‘फुटबललाई सिस्टममा चलाउने प्रयास गरेको  छु’


भिडियोः मनोजरत्न शाही र केशव गुरुङ्ग

काठमाडौँ, चैत २३ गते। विश्वकै लोकप्रिय खेल हो फुटबल। नेपालमा पनि फुटबलको क्रेज अन्य खेलको तुलनामा धेरै माथि छ। सिंगो खेलकुदको प्रतिनिधित्व फुटबलले गरेको छ भन्दा फरक पर्दैन। विश्वभर फुटबल खेलको नेतृत्वमा पुग्न राजा महाराजादेखि सरकारको उपल्लो ओहोदामा रहेका ब्यक्तिको समेत विशेष चासो रहन्छ। फुटबल सङ्घको नेतृत्व लिन हरेक देशमा ठूलै होडबाजी चल्छ।

नेपाल पनि यस प्रक्रियाबाट अछुतो छैन। फुटबल संघको नेतृत्वमा पुग्नु र यसको कार्यभार सही रुपमा सम्पन्न गर्नु पनि कम चुनौती छैन। नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पछिल्लो चार वर्षदेखि कर्माछिरिङ शेर्पा नेतृत्वमा हुनुहुन्छ। कर्मा २०७५ वैशाख २२ गते भएको एन्फाको निर्वाचनमा दुई तिहाईभन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो।

दुई दशक नेपाली फुटबलको नेतृत्वमा रहेका (हाल फिफाबाट प्रतिबन्धित) गणेश थापा पक्षधरलाई हराएर फुटबल सङ्घको नेतृत्वमा आउनुभएका शेर्पा आफ्नो कार्यकालमा नेपाली फुटबलले उल्लेख्य सफलता हात पारेको दाबी गर्नुहुन्छ।

एन्फा सनकको भरमा चल्थ्यो
चार वर्षे कार्यकाल पूरा गरी अर्को निर्वाचनको संघारमा पुगेको एन्फालाई सिस्टममा चलाउन आफूले पहिलो प्रयास गरेकोे शेर्पाले बताउनुभयो। ‘हामी आउनुभन्दा अघि एन्फा एक व्यक्तिको सनकको भरमा चल्थ्यो। एन्फालाई विस्तारै सिस्टममा ल्याउन हामीले मेहनत गरेका छौँ। सुशासन, पारदर्शिता र सामूहिक नेतृत्वको नारा लगाएर नेतृत्वमा पुगेको हामी केही हदसम्म यसको कार्यान्वयनमा सफल भयौँ भन्ने लाग्छ।

एन्फाको कर्मचारी व्यवस्थापनका लागि नियमावली तयार, भौतिक संरचना, फुटबल एकेडेमीको निर्माण र विस्तार, लिग फुटबलको सञ्चालन, ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लबको अनुदानमा वृद्धि, एएफसी क्लब लाइसेनिङ, प्रशिक्षक र रेफ्रीको क्षमता अभिवृद्धि, नेपालमै ‘ए’ ‘बी’ र ‘सी’ प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन एनएसएल लिग आयोजना जस्ता महत्वपूर्ण काम भएको छ,’ कर्माले भन्नुभयो।

कर्माका अनुसार नेपाली फुटबल नतिजाको हिसाबले पनि आफ्नो कार्यकाल स्मरणीय भएको छ। नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको छ। साफ च्याम्पियनसिपमा इतिहासमै पहिलो पटक फाइनलमा पुगेको छ। त्रिदेशीय फुटबलको उपाधि जित्नुदेखि एएफसी एसिया कप छनोट खेल्नु नेपालका लागि सुखद क्षण हो।

फुटबलमा तत्काल नतिजा आउँदैन
फुटबलमा सोचे जस्तो तत्काल नतिजा नआउने पनि कर्माले बताउनुभयो। ‘हामीले भौतिक संरचना निर्माणमा पनि उल्लेख्य काम गरिहरेका छौँ। कास्कीमा एकेडेमी बनाउने कामको थालनी भएको छ। रौतहटमा महिला एकेडेमी निर्माण भएको छ। विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को निर्देशन अनुसार हरेक काम पारदर्शी रुपमा भइरहेको छ। ग्रास रुट फुटबलको विकासमा धेरै काम भएका छन्। देशभरबाट जुनियर खेलाडी उत्पादन गरिएको छ। एन्फाको सबै कामलाई ‘इ–बिडिङ’ का आधारमा गरिएको छ,’ कर्माले भन्नुभयो।
उहाँले एन्फाको लेखा प्रणालीलाई पनि चुस्त पारिएको बताउनुभयो। ‘महिला र पुरुष खेलाडीको तलब भत्ता समान बनाइएको छ। महिला लिग सुचारु भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागितामा समेत उल्लेख्य वृद्धि भएको छ। कोरोनाका कारण हामीले दुई वर्ष खासै काम गर्न पाएनौँ, ‘उहाँले भन्नुभयो–‘तर कोरोनाको कहरमा पनि हामीले फुटबललाई चलायमान राख्न सफल भयौँ।’

काम र टिमले जित्ने हो चुनाव
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चार वर्षे कार्यकाल सकिएसँगै नयाँ निर्वाचन आगामी असार ६ गतेका लागि तय भएको छ। तर, कर्माले अर्को कार्यकालका लागि आफूले उम्मेद्वारी घोषणा गरिनसकेको बताउनुभयो।

‘उम्मेदवारी घोषणा गर्न हतार छैन। साथीहरुको सल्लाह लिँदैछु। के कति काम गर्न सक्यौँ भनेर समीक्षा भइरहेको छ। राम्रो काम गर्‍यो भने चुनावका लागि मरिहत्ते गर्नु आवश्यक छैन। काम र टिमले जित्ने हो चुनाव। काम गर्दै गए, राम्रो फल पाइनेमा आशावादी छु,’ कर्माले भन्नुभयो।

नेपाली फुटबलको भविष्य उज्जल रहेको बताउँदै कर्माले नेपाली सर्मथक र सरकारले फुटबललाई धेरै माया गरेको बताउनुभयो। ‘नेपालमा राम्रो काम गर्नेको खुट्टा तान्ने पुरानै रोग हो। फुटबलमा फिफा र एएफसीको अनुदान रकम ठूलो छ। एन्फाभित्रै काम गर्ने र गर्न नदिनेको होड छ। तर, म विचलित भएको छैन। नेपाली फुटबललाई प्रदेश सरकार र स्थानीय सरकारबाट पनि ठूलो सहयोग भइरहेको छ। अहिले फिफा र एएफसीले नेपाललाई हेर्ने दृष्टि सकारात्मक भएको छ।’

‘मलाई लाग्छ हामीले फुटबलमा सत्कर्म नै गरेका छौँ। कोरोनाबीचमा पनि फुटबलले सफलता पाउनु कर्मकै फल हो’, कर्मा भन्नुहुन्छ, ‘तर, एन्फाले चाहेर पनि फुटबलको स्टेडियम बनाउन सक्दैन। यसका लागि सरकारी सहयोगको खाँचो छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?