logo
२०८१ बैशाख ८ शनिवार



नवौँ राष्ट्रिय खेलकुद अन्योलमा, मारमा खेलाडी

खेलकुद |


नवौँ राष्ट्रिय खेलकुद अन्योलमा, मारमा खेलाडी
फाइल तस्बिर



काठमाडौँ, माघ १७ गते । पोखरामा फागुन महिनामा पोखरामा आयोजना हुने भनिएको नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा परेको छ । एक वर्षअघि २०७७ फागुन २१ देखि २८ सम्म आयोजना हुने तय भएको राष्ट्रिय खेलकुद कोभिड–१९ (कोरोना महामारी) का कारण यस वर्षलाई सारिएको थियो । तर कोरोनाको महामारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव बिहीन बन्दा राष्ट्रिय खेलकुद पुनः अन्योलमा परेको हो ।
कोरोनासँगै खेलकुदमा मौलाएको अस्वस्थ राजनीतिले नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित भएको राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले बताउनुभयो । ‘यतिखेर राष्ट्रिय खेलकुदको ‘काउन्ट डाउन’ हुनुपर्ने थियो । पूर्वाधार, बजेटको व्यवस्था, समावेस खेल, खेलाडी छनोटलगायत धैरै तयारी अगाडि बढाउनुपर्दथ्यो । अहिलेसम्म के कसरी गर्ने भन्ने कुनै योजनानै बनाउन सकिएको छैन । प्रतियोगिताको नयाँ मिति समेत घोषणा हुन नसक्दा समग्र खेलकुद क्षेत्र नै अन्योलमा परेको छ । सरकारले निर्वाचनको घोषणा गरेको खण्डमा राष्ट्रिय प्रतियोगिता हुने सम्भावना झनै रहन्न,’ बस्नेतले भन्नुभयो ।

राखेपको कार्यकारी पदाधिकारी सदस्य सचिवको बर्खास्ती र नियुक्ती प्रक्रियाले पनि अहिले खेलकुदलाई ठूलो अफ्ठेरोमा पारेको बस्नेतले बताउनुभयो । ‘सदस्य सचिव नियुक्तीको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । रिटको टुङ्गो नलाग्दा खेलकुदको सम्पूर्ण गतिविधि ठप्प छ । खेलकुदका कर्मचारी र प्रशिक्षकले मङ्सिरदेखि तलब पाउन सकेका छैनन् । यसैबीच चीनमा आयोजना हुने एसियाली खेलकुदको तयारी रोकिएको छ । सबै खाले प्रतियोगिता आयोजना र सहभागिता शून्य अवस्थामा छ,’ बस्नेतले भन्नुभयो ।

अहिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मात्र राष्ट्रिय टिमलाई चलायमान गराउन पहल गरेका छन् । अन्य खेलकुद सङ्घ कोरोनालाई कारण देखाउँदै गतिहिन छन् ।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद हालसम्म आइपुग्दा आठौँ संस्करणमात्र सम्पन्न भएको छ । आठौँ संस्करण २०७५ सालमा नेपालगन्जमा भएको थियो ।

मुख्य मारमा खेलाडी 
राष्ट्रिय प्रतियोगिता समयमै नहुँदा त्यसको मुख्य मार खेलाडीमा परेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो ।
‘राष्ट्रिय खेलकुद भनेको खेलाडी उत्पादनको मुख्य थलो हो । खेलकुद प्रतियोगिता समयमा नहुँदा भएका खेलाडीको तयारी रोकिएको छ । खेलकुदमा लाग्छु भन्ने नयाँ प्रतिभालाई निराश बनाएको छ । यसले खेलाडीको खेल जीवनमा दीर्घकालीन असर पर्छ,’ श्रेष्ठले भन्नुभयो,‘ खेलकुद ठप्प हुँदा उमेर समुहको खेलाडीले उमेरकै कारण खेल गुमाउँछन् । भएका खेलाडीले पनि अभ्यास र तयारीमा अल्छी गर्छन् ।’

खेलाडी पलायनको त्रास
राष्ट्रिय प्रतियोगिता नहुँदा भएका खेलाडी समेत पलायन हुने क्रम सुरु भएको नेपालका चर्चित एथलेटिक्स धावक राजेन्द्र भण्डारीले बताउनुभयो ।
‘खेल्न पाइने लोभले विभागीय टोलीमा खेलाडीको आकर्षण बढेको हो । तर नियमित प्रतियोगिता नहुँदा खेलाडी विदेश जान लालायित छन् । विभागबाट खेलिरहेको खेलाडी विदेशमा गएर सामान्य काम गरेपनि राम्रो कमाइ गर्छ । प्रतियोगिता भएनै आकर्षण बढ्ने र खेलाडी खेलमा भुल्ने हो,’ त्रिभुवन आर्मी क्लबका भण्डारीले भन्नुभयो ।
भण्डारीका अनुसार घरेलु खेलकुदलाई चलायमान गराउने सबैभन्दा महत्वपूर्ण माध्यम नै राष्ट्रिय खेलकुद प्रतियोगिता हो । विश्वका हरेक देशले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रुपमा राष्ट्रिय खेलकुद आयोजना गर्छन् । खेलकुद प्रतिभाहरू देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नै यस्तो प्रतियोगिता आयोजना गरिन्छ ।
तर प्रतियोगिता नियमित नहुँदा जिल्ला र प्रदेशबाट खेलाडी छनोट हुने क्रम रोकिन्छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्षमतावान खेलाडीको उत्पादनमै धक्का पुग्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?