logo
२०८१ पुष ११ बिहीवार



कालुङ्खोला किनारमा उर्लिएको छाल

विचार/दृष्टिकोण |


कालुङ्खोला किनारमा उर्लिएको छाल


रमाकान्त शर्मा

आज धेरै वर्षपछि कालुङ्खोला किनारको एउटा ढुङ्गामा बस्न पुगेँ । खोला किनारको च्याप्टो परेर सुतेकोे ढुङ्गा खोज्यो मनले । आमाले तामाको ताउलोमा खरानीको बाहानमा पकाएका कपडाहरू पछारी पछारी धुने त्यही ढुङ्गा थियो । त्यतिबेला साबुनले धुने कपडा त निकै कम थिए, बा र हजुबाका ढाकाटोपी अनि हाम्रा दुई–चरावटा ट्यार्लिङका कपडा मात्र । हामी केटाकेटीलाई आमाको नजिक–नजिक पुगेर खोलामा खेल्न निकै रमाइलो हुन्थ्यो । जहाँ आमा, मायाकी खानी त्यहीँ हामी । खोलाको किनारमा विभिन्न रङ र आकारका ढुङ्गाहरू, पानी तालिएको ठाउँमा खुट्टा राख्दा खुट्टा नै ठुग्न आउने विभिन्न आकारका माछा । माछाका भुरा पनि हामीसँग खेल्न रमाएका हुन् कि ? कति बेला कति बेला पानीमाथि माछाका भुरा उम्लिन्थे त कति बेला पेटको चम्किलो सेतो भाग आकाशतर्फ फर्काइदिन्थे । ताउलामा कपडा धोएर सकिएपछि पिँधमा कपडासँगै खरानीमा पाकेका पिँडालुका गाना खान मन पथ्र्यो । कपडा नसकिएसम्म ति पिँडालु झिक्न मिल्दैनथ्यो ।

त्यही च्याप्टो ढुङ्गा त हो आमाले हामीलाई बसाएर नुहाइदिने । कपडा धोएर सकिएपछि हाम्रो नुहाउने पालो आउँथ्यो । कपडा धुने साबुन कडा र सुकेका हुन्थे, घोट्दा घोट्दा गाँज आउँदै नआउने । साबुन लगाउँदा कलिलो छालामा बिरालाले केतरेजस्तो दुख्थ्यो, आँखा अचक्ली पिरो हुन्थ्यो । नुहाउनु ठूलै सजाय भोग्नुसरह थियो । यही कालुङ्खोलासँग जोडिएको छ जीवन हामी धेरै कालुङ्खोलेको । हुन त पानी नभए जीवन कहाँ सम्भव छ र ? चन्द्रमा र मङ्गलग्रहमा पानी छैन, जीवन छैन । पृथ्वीमा पानी छ, जीवन छ । खोला पानीको मुहान हो । खोलाले मान्छे मात्र हो र अनेक जीव, जनावर, पन्छी र रुखबिरुवासमेतलाई जीवन दिएको छ । यही कालुङ्खोलाले विगतमा कहिले लडायो, कहिले बगायो, कहिले हँसायो, कहिले हौसायो, कहिले कुरायो, कहिले रुवायो र कहिले झगडा निम्त्यायो । 
खोला यही हो तर नाम भने बग्ने ठाउँअनुसार फरक फरक । यही खोलालाई अलि टाढाबाट देख्ने कालीपारे र अरूहरूले कालुङ्खोला भने । कसैले ठूलो खोला, कसैले ठेउले खोला । सपाउदे, खाल्टे, गोस्तीलगायतका साना खोला र खोल्साहरू मिसिने र अरू खोलाभन्दा ठूलो हुनाले लाम्सु, लावर, देवलधारा, विजुवा, टाउका, ध्युर, समलबारी, मुलाबारी, पीपलारुख बस्नेहरूले ठूलो खोला भनेर नाम दिए होलान् । खोला वारिपारि गर्दा ठेउले गाउँको नजिकमा पुगेर यस खोलालाई तर्नुपर्ने हुनाले मादी, पैँयू, सर्कुवा, विराउनीका बासिन्दाले ठेउले खोला नाम राखे होलान् । खोलाको दुवैतर्फ रुखबिरुवा र हरियाली भएको, खोलाले जङ्गलबाट पातसमेत बगाएर ल्याउने, पहिरा पहिरी यसैमा समाहित हुने, वर्षात्मा कालै भएर बग्ने हुनाले होला, सायद यस खोलालाई दमेक, विरौनी, एकराते, मग्लास, कुश्मि शेरा, फलेबास, ज्ञादी, बाच्छा बस्नेहरूले टाडाबाट हेर्दा कोलो देखे होलान् र भने होलान् कालुङ्खोला ।

यो त भयो नामको कुरा । नाम जेसुकै भए पनि यस खोलाको पहुँचमा रहेकालाई जीवन धान्न पु-याएको सहयोग अवर्णनीय छ । दहको धुरीदेखि कालापातल, नाम्दु, डाँडाखानी, हाडिकोट, ब्याजथला, माइकाथानको धुरीसम्मको पानी यसै खोलामा मिसिन आउँछ । यी धुरीहरूले बनाएको वृत्तभित्र बस्ने बासिन्दाको नालीको पानी यही खोलामा समाहित हुन्छ । यसै खोलाको पानीले सिञ्चेर फलाएका अन्नबाली यसै क्षेत्रका बासिन्दाको भकारीमा पुग्छन् । ढुङ्गै ढुङ्गाका बगर, ढाँड मिलाएर बनाएका गराहरूलाई जङ्गलको मल, बलौटे माटो भरी मलिलो र उर्वर बनाइदिने यही खोला । एकसरो रोपेको धानलाई मुठीभरीको गाँज बनाइदिने, बाला झुलाइदिने यही खोला । गहुँ, मकै, आलुलगायतका बालीलाई सिञ्चित गरी किसानलाई मख्ख पारिदिने यही खोला । 
यसै खोलमा पाइने असला माछाको स्वाद धेरैको जिम्रोमा झुण्डिन्छ । वर्षात्मा जाल, बल्छी, हिउँदमा ढडिया र खुँवाको माध्यमबाट पौरखीले खोलाका माछा भान्छामा पु-याउँछन् । यही खोलाको पानीले किसानले धान रोप्न दिनभर खेतमा माटो हिलो पार्दछन्, हिलोमा लत्पतिन्छन्, हिलोसँगै रमाएर धान रोप्छन् र बेलुकी यसै खोलामा पुगेर शरीरको हिलो बगाउँछन् । भनौँ, काम गर्दा धुलो, हिलो मैलो भएकालाई यसै खोलाले सुकिलो मुकिलो बनाउँछ । हिउँदमा जम्मा भएको फोहोर वर्षात्मा यसै खोलाले बगाउँछ । फोहोरलाई मान्छेले बोकेर डम्पिङ साइडमा लैजान पर्दैन, यसै खोलाले गाउँघर वरपर सफा गरिदिन्छ । गर्मीले धपक्कै परेकालाई प्यास मेटाउन पेटभर पानी पिउन मात्र होइन, चोपलिएर शरीर भिजाउन र पौडी खेल्नसमेत मौका दिन्छ । कसलाई के दिएन र ? पिउन चिसो पानी खोज्नेलाई किनारमा हुने जरुवाबाट चिसो पानी, पुस–माघको शरीर कपाउने जाडोमा यिनै जरुवाबाट नुहाउनलाई बाफ पुत्पुताउने तातो पानी ।

रजस्वला भएका महिला नुवाइधुवाई गर्न होस् कि मन मिलेका युवायुवती गाउँलेका आँखा छल्दै माया लगाउन यही खोलाको किनार रोज्छन् । बच्चा जन्मँदा सालनाल गर्न होस् कि मान्छे मर्दा सद्गत, यही खोलो चाहिन्छ । अकालमा बितेका कलिला बालबालिकाको शव दफनाउन यही खोलाको किनार । काखको नानी गुमाएका वैँशालु आमाहरूले आँसु बगाउन यही खोलाको किनार । आफन्तको मृत्यु भएर जलेको मनलाई शान्त पार्न यही खोलाको किनार । किनारको ढुङ्गामा बसेर निरन्तर बगिरहने कञ्चन पानीमा ध्यान दिँदा जलेको मन शीतल हुने, गुम्सिएको मनलाई निकास दिने, निराश मनलाई आश दिने, सर्जक मनलाई नयाँ सिर्जनाको जन्म दिने । 

कालुङ्खोलाले विगतमा आफ्ना अनेक रूप देखायो । वर्षात्मा कहिले बहुलाए जसरी गड्गडायो । दिउँसो काम गर्दा भोकाएका पेटलाई शान्त पार्न पु¥याउनै लागेको अर्नी बगायो, काम गर्नेहरूको दिनभर पेट खाली बनायो । कहिले वारिका वारि र पारिका पारि घरमा नै पुग्न नसकेर अर्काको गोठ खोजेर बस्नुपर्नेे पनि बनायो । कति किसानका गोरु बगायो, कतिका हलोजुवा बगायोे । कुनै कुनै वर्ष यही खोलाले देखाएको रौद्र रूपले किसानलाई उभिएकै स्थानमा थचक्कै बसेर टाउको समाउने बनायो । बिहान उठेर आफ्नो खेत हेर्दा हिजोसम्म हरियाली, हराभरा गहिरी खेतमा खोलो हिँडेको छ । कसैको दुई–चार मुरी, कसैको बीसाँै मुरी धान हुने खेत बगर बनेको छ । वर्षभरि भकारी रित्तै हुने, के खाने ? भनेर सोच्दासोच्दै बेहोस हुने बनाएको छ, कसैलाई बहुलाउने बनायो । कहिले मान्छे नै बगाएर धेरै परिवारमा रुवाबास बनायो ।

कहिले खोला शान्त शौम्य बन्यो । कहिले निकै सानो भएर अस्तित्व नै छैन कि जस्तो बन्यो । आकाशबाट वर्षा कम भयो, हिउँद लाग्यो, यही खोलाको पानी कुलाहरूमा यता र उता लैजाँदा खोला नै सुकेजस्तो । खोला सुक्दा पनि किसानका निद्रा भाग्ने, पसिना छुट्ने । खोलामा पानी कम छ, कुलामा पानी छैन कसरी खेत भिजाउने चिन्ताले धेरैको टाउकै दुखायो । 
यही खोलाले साना बालबालिकालाई विभिन्न आकारका ढुङ्गा, पानीमा पाइने माछा, चेपागाँडा, पाहा, गँगटाजस्ता प्राणी देख्ने, चिन्ने, धरै कुरा सिक्ने मौका पनि दियो । जाँगर हुनेहरूले यही खोलाले बगाएर ल्याएका काठ र ठुटा बटुलेर वर्षभरिलाई दाउराको जोहो गरे । उद्यमीले यही खोलाको पानीलाई फर्काएर किनारमा घट्ट बनाए । पानीघट्ट चल्दा घरकाजी महिलालाई रातिराति जाँतोमा पिसिनुपर्ने अवस्थाबाट केही फुर्सद दिलायो । 
समयसँगै जब यही खोलाको पानीबाट धान कुट्ने, पिठो पिस्ने, तोरी पेल्ने मिल चल्यो, कालुङ्खोलेको जीवनमा एक किसिमको क्रान्ति नै ल्यायो । रातारात ढिकिजाँतो गर्नुपर्ने, बल लगाएर कोलडाँडामा भएको कोल घुमाउनु पर्नेहरू बोरामा धान, मकै, गहुँ र तोरी बोकेर ओरालो झरे । सजिलै कुटान, पिसान र तेल पेलेर घर–घर फर्कंदा कति सजिलो । महिलालाई मात्र ठेकिएका कुटान पिसानका काम पुरुषको जिम्मामा पनि पुगे । महिलाले पानी पँधेरोमा भेट हुँदा दिदीबहिनीका दुःखसुखका गफ गरेजस्तै पुरुषहरूलाई पनि वारिपारिका गाउँका आफन्त, साथीभाइ भेट भएर गफ चुट्ने र पालो पर्खने मौका दियो पानी मिलले । साना जलविद्युत् आयोजना खोलामा पुगेपछि त कालुङ््खोला ऊर्जा खोला र उज्यालो खोलामा परिवर्तित भयो । बिजुलीको आविष्कारले मानव जीवनमा ल्याएको क्रान्ति कालुङ््खोलाले वारिपारिका गाउँहरूमा पु-यायो । 

दुःख परे यही खोलाको किनार, मृत्यु भयो कपडा जलाउन, कपाल खौरन, नुहाउन, किरियापुत्री चोखो हुन यही खोला । खुसी भए भोजभतेर गर्न, विवाह भयो जन्तेबाख्रो खान यही खोलाको किनार । यसै खोलाको किनारमा, ढुङ्गाको छेल पारेर कति युवायुवतीले मनका कुरा पोखे होलान् ? मायापीरति जोडे होलान्, त्यसको त के लेखाजोखा ? हो, आज फेरि खोलाप्रति उरालिएको छ मन, भावुक भएको छ मन ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?