logo
२०७९ जेष्ठ १४ शनिवार



विद्यार्थीप्रतिको कर्तव्य

विचार/दृष्टिकोण |


विद्यार्थीप्रतिको कर्तव्य


रमाकान्त शर्मा

विश्वमा भएका नयाँ–नयाँ आविस्कार कुनै न कुनै व्यक्ति तथा व्यक्तिको समूहले गरेका सिर्जनात्मक तथा रचनात्मक कार्यका परिणाम हुन् । व्यक्तिका सिर्जनात्मक तथा रचनात्मक कार्यले गर्दा समाजलाई सभ्यतातर्फको यात्रामा अगाडि बढाउन मद्दत गरेका छन् । सिर्जनात्मक सोचलाई निश्चित संरचनाबाहिरको सोचाइ, सीमाभन्दा बाहिर गएर गरिएका विचार तथा प्रचलित मान्यतालाई चुनौती दिने कार्य पनि भन्ने गरिन्छ । कुनै पनि नयाँ वस्तु सिर्जना गर्न व्यक्तिमा जिज्ञासा तथा कल्पनाको आवश्यकता हुन्छ । कल्पना गर्न पनि व्यवस्थित सोचाइको आवश्यकता पर्छ । सिर्जनात्मक सोचाइले प्राप्त तथ्यको विश्लेषण गर्न, परिकल्पना निर्माण गर्न, नयाँ कुरा पत्ता लगाउन, समस्याको समाधान गर्न, कुनै वस्तु निर्माण गर्न, नयाँ तरिका र फरक किसिमले प्रस्तुत तथा प्रचार गर्न सहयोग पु¥याउँछ ।

व्यक्तिमा हुने सिर्जनात्मक क्षमता विकासमा जन्मजातभन्दा जन्मपश्चात्को वातावरण र परिवेशबाट प्राप्त हुने सिकाइ, भोगाइको प्रभाव बढी रहन्छ । सिर्जनात्मक सोच निर्माणको जग पनि बालबालिकादेखि नै बस्ने हो । भनाइको अर्थ बालबालिकालाई उपयुक्त वातावरण निर्माण गरिदिन सकेमा तथा सिक्ने मौका दिएमा हरेक क्षेत्रमा सिर्जनात्मक सीप, क्षमता विकासगर्न सक्दछ ।
दबाब, भय, त्रासमा सिर्जनात्मक सोचाइ तथा रचनात्मक क्षमता निर्माण र विकास गर्न सम्भव हुँदैन । हाम्रो समाजका धेरै परिवारमा बालबालिकाका जिज्ञासा, प्रश्न, उत्सुकतालाई मार्ने काम गरिन्छ । किन चाहियो यस्तो फुच्चेलाई यस्तो कुरा ? धेरै कचकच गर्छ, यस्तो कुरा भगवान्लाई थाहा होला, नचाहिएका कुरा मात्र गर्छ भन्ने गरिन्छ । सम्झाउँदा पनि असत्य, झुटा कुरा गरेर सम्झाउने गरिन्छ । बालबालिकाले धेरै जिज्ञासा राखेमा अज्ञात कुराको भय, भूतप्रेतको हाउगुजी देखाउने गरिन्छ । अहिलेको भर्चुयल संसारका कारणले पनि बालबालिकाले प्रख्यात सङ्गीतकार, गायक, चित्रकार, खेलाडी सुनिरहेका, देखिरहेका र सोचाइलाई फराकिलो पारिरहेका हुन्छन् । प्रतिभाका बारेमा कुरा गर्दा परिवारका सदस्य तथा बालबालिकाले पत्याउने व्यक्तिले ईश्वरले दिएको अशीर्वादले, भाग्यले तथा जन्मजात क्षमताले गर्दा त्यस्तो प्रख्यात व्यक्ति हुन सकेको हो भन्नेसमेत गरिन्छ । ऊ पनि समान्य बालबालिका भएको, लगातारको मेहनत, प्रयास, समर्पण, त्यागले गर्दा विशिष्ठ क्षमता निर्माण तथा प्रतिभा विकास सम्भव भएको हो भन्ने सत्य कुरा बालबालिकालाई सुनाइँदैन । सफल व्यक्तिले पनि मेरो लगनशीलता, मेहनतले गर्दा सफलता मिलेको नभनेर भाग्यले गर्दा सफल हुन सकेँ भन्ने विचार सार्वजनिक रूपमा व्यक्त गर्ने गरेको सुनिन्छ ।

बालबालिकादेखि नै सिर्जनात्मक क्षमता विकास गराउन घरपरिवारको निकै महìवपूर्ण भूमिका हुन्छ । घरपरिवारमा पहिलो पुस्ता सङ्गीतकार भए परिवारका दोस्रो पुस्ता पनि सङ्गीतकार, गायक भए गायक, कलाकार भए कलाकार, खेलाडी भए खेलाडी भएको त हामीले देखेकै छौँ । त्यसको कारण बालबालिकादेखि नै त्यस क्षेत्रका बारेमा जानकारी प्राप्त गर्नु, जिज्ञासा जगाउनु, पहिलो पुस्ताले गरेको मेहनत देख्नु, उक्त क्षेत्रमा लाग्न प्रोत्साहित हुनुजस्ता कुराले गर्दा सम्भव भएको हो, न कि जन्मँदा नै त्यस क्षेत्रको खुवी लिएर जन्मेको हुनाले ।
सबै परिवारमा कुनै क्षेत्रमा सक्षम, प्रख्यात, सफल सिर्जनात्मक व्यक्ति हुन्छ भन्ने छैन । परिवारमा पहिलो पुस्तामा सिर्जनात्मक सोच र क्षमता भएको व्यक्ति नभएमा दोस्रो पुस्तामा सिर्जनात्मक क्षमता भएको, कुनै क्षेत्रमा विशिष्ठ क्षमता देखाउन सक्ने व्यक्ति उत्पादन हुन सक्दैन भन्ने पनि होइन । सिर्जनात्मक क्षमता विकास गर्ने कुरा धनी तथा सम्पन्न परिवारमा मात्र सम्भव छ भन्ने ठानियो भने त्यो पनि गलत हुन्छ । विश्वका धेरै विशिष्ठ प्रतिभा सामान्य परिवारमा जन्मेका छन् । परिवारले आफ्नो बालबालिकामा पनि सिर्जनात्मक क्षमताको विकास होस्, कुनै क्षेत्रमा राम्रो प्रतिभा देखाउन सकोस् भन्ने चाहने हो भने सिर्जनात्मक प्रतिभा मौलाउने वातावरण निर्माण गर्न प्रयास गर्नुपर्छ । सबै व्यक्तिलाई सबै मौका सम्भव छैन । सहरबजार र सम्पन्न परिवारमा जन्मेका बालबालिकाले पाउने वातावरण गाउँका बालबालिकाले पाउँदैन तर गाउँमा बस्ने बालबालिकाले पाउने प्राकृतिसँगको सामीप्यता, दुःख सुखका कथा, आवश्यकता, छरछिमेकमा हुने सरसहयोग, आत्मीयता सहरका बालबालिकाले पाउन सम्भव छैन । मेरो परिवारमा तथा बालबालिकामा सिर्जनात्मक क्षमता विकास हुँदैन कि भन्ने चिन्ताभन्दा कसरी बालबालिकामा सिर्जनात्मक क्षमता विकास गराउने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।

त्यसो भए परिवारले के गर्ने त ? बालबालिकाले राखेका जिज्ञासा सकेसम्म समाधान गर्न प्रयास गर्ने । गर्न खोजेका कार्यमा सक्दो सहयोग गर्ने । खेल, चित्रकला, सङ्गीत, मूर्तिकलाजस्ता कला सिक्न र निखार ल्याउन आवश्यक सामग्री व्यवस्था गरिदिने । बालबालिकाले रुचाएका साहित्य, कला र विभिन्न क्षेत्रका पुस्तक पढ्ने व्यवस्था मिलाइदिनुपर्छ । प्रश्न, जिज्ञासामा जानेको उत्तर दिने, गलत उत्तर नदिने यदि जानाकारी छैन भने यस कुराको मलाई जानकारी छैन, यस विषयमा पछि तिमीले नै खोज्नुपर्छ भन्नुपर्छ । बालबालिकाले आफ्नो विचार राख्दा राम्रो विचार भनेर प्रोत्साहन गर्ने, नमिल्दो र स्थापित मान्यताभन्दा विपरीत कुरा गरेमा अहिलेसम्म मानिएको मान्यता, सत्य तथा तथ्य यो भनेर भन्ने गर्नुपर्दछ । आफ्ना कुरामा बाध्य पार्नुले सिर्जनात्क सोचाइ मौलाउन सक्दैन ।

घरमा गीत गाउन जान्ने, चित्र बनाउन जान्ने, कुनै वस्तु निर्माण गर्ने सीप भएका व्यक्ति भएमा त्यस्तो ज्ञान, सीप प्रयोग गरेर बालबालिकालाई देखाउने र आफैँ गर्न उत्पे्ररित गर्ने गर्नुपर्छ । सिर्जनात्मक क्षमता जुनसुकै क्षेत्रमा पनि हुनसक्छ । कथा, कविता, अभिनय, सङ्गीत, गायन, नृत्य, चित्रकला, मूर्तिकला, साहित्यिक लेखनजस्ता क्षेत्रमा विज्ञव्यक्ति समाजमा भएमा उनीहरूसँग साक्षात्कार हुने, उनले गरेका अभ्यास हेर्ने मौका दिने गर्न पनि सकिन्छ । तरकारी, फलपूmल उत्पादन, सरसफाइजस्ता कार्यमा पनि सिर्जनात्मक क्षमता विकास गर्न सकिन्छ । रुचिबिनाका कार्यमा तथा बाध्यताले सिकिने र गरिने कार्यमा सिर्जनात्मक क्षमता विकास हुन सम्भव हुँदैन । विशेष प्रतिभा निर्माण गर्न अवश्य थप मेहनत, प्रयास र त्याग आवश्यक पर्छ ।

विद्यालयले विद्यार्थीमा सिर्जनात्मक क्षमता विकास गराउने, विद्यार्थीका क्रियाकलाप अवलोकन गर्ने, विभिन्न परीक्षण गर्ने, गरेर सिक्ने तथा र गल्तीबाट सिक्ने मौका दिनुपर्छ । विभिन्न खालका सिर्जनात्मक कार्यलाई उत्प्रेरित गर्ने सामग्री, पुस्तक, पत्रपत्रिका, चार्ट, डकुमेन्ट्री, चलचित्र आदिको व्यवस्था गर्नुपर्छ । बालबालिकाले मनपराउने चिज, वस्तु, वनस्पति, जनावरका बारेमा पुस्तकमा खोज्न लगाउने, पुस्तकमा वर्णन भएका तथा चित्रण गरिएका कुरालाई वरिपरिको वास्तविक परिवेशमा खोज्न लगाउने गर्न सकिन्छ । सहर बजारका विद्यालयमा पढ्ने बालबालिका वास्तविक संसारबाट धेरै टाढा हुँदैछन् । गाउँका बालबालिका प्रकृतिका नजिक हुँदाहुँदै पनि प्रकृतिबाट सिक्नुपर्ने सीप सिक्न सकेका छैनन् ।

यो अवस्थाको अन्त्य गर्न विद्यालयले बालबालिकाको पढाइलाई पुस्तकमा सीमित नगरी स्थलगत भ्रमण गराउने, प्रकृति, वास्तविक वस्तु, परिवेश, समाजबाट सिक्ने मौका दिलाउने कार्य गर्न सकिन्छ । बालबालिकामा खोजी गर्ने, कुनै कार्यमा केन्द्रित भएर घोत्लिने, आफैँ उत्प्रेरित भएर सिक्ने बानी बसाल्न सकियो भने त्योभन्दा ठूलो सिकाइ अरू केही हुन सक्दैन । विद्यालयको वरिपरि समाजमा उपलब्ध हुने विभिन्न क्षेत्रमा सफलता प्राप्त व्यक्ति विद्यालयमा निमन्त्रणा गर्ने, त्यस्ता व्यक्तिलाई विद्यार्थी बीचमा छलफल, अन्तत्र्रिmया गर्ने, प्रस्तुति गर्ने मौका दिने कार्यले पनि बालबालिकालाई सिर्जनात्मक क्षमताको विकास गराउन मद्दत पुग्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?