logo
२०८१ बैशाख १७ सोमवार



मादल घन्केपछि देउसिरे भाका

मुख्य समाचार |


मादल घन्केपछि देउसिरे भाका


शिवा तामाङ

काठमाडौँ, कात्तिक १८ गते । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।
नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी भइसक्यो ।
आज मादल बजेको किन
गाउँघर दुनियाँ ब्यूँझाउन
मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ । मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अझ देउसी, भैलोमा मादलको ताल अनिवार्यजस्तै हुन्छ ।
भूकम्प र कोरोना महामारीले मादल व्यवसायमा मन्दी आएको भए पनि यस पटक व्यापारमा केही सुधार भएको अनुभव मादल व्यवसायीको छ । वसन्तपुरकी मादल व्यवसायी कुलुले भन्नुभयो, “यस पटक मादल व्यापार अलि बढेको छ ।” मादल बनाउनु, बेच्नु कुलुको पुख्र्यौली पेसा हो । बाजे, बराजुको पालादेखि गरिआएको यस पेसालाई जमुनाको परिवारले समेत व्यावसायिक रूपमा नै धान्दै आएको छ । मादलको व्यापार सदावहार नै चल्ने भए पनि भूूकम्पपछि यसको व्यापार खस्केको कुलुको अनुभव छ ।
देउसीमा बलीराजाको महिमा गाइन्छ । मादलको तालमा लोक लयमा देउसी गाउने शैलीले युवापुस्तालाई समेत आकर्षित गरिरहेको छ । मादल घन्केपछि देउसिरे भट्याउन उत्साहित हुन्छन् ।
लोकबाजा सङ्ग्रहालयका रामप्रसाद कँडेलले भन्नुभयो, “देउसी लोकगायन हो । लोकशैली हो । त्यसको साथमा लोकबाजा मादल अनिवार्य नै हुन्छ । यसको तालले युवालाई समेत आकर्षित गर्छ ।”
उहाँका अनुसार जस्तोसुकै गीतमा पनि विभिन्न ताल काट्न मिल्ने मादलको माग अन्य बेलाको तुलनामा तिहारमा अत्यधिक हुने गरेको छ । नेपाली लोकभाकामा झ्याउरे र ख्याली बढी प्रचलित छन् ।
मादलबाट ३६ वटा ताल, बोल सिर्जना हुने कँडेल बताउनुहुन्छ । मादल ताला बाजा हो । विशेष गरी मगर समुदायमा यस बाजाको ३६ वटा ताल, बोल रहेको पाइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?