logo
२०८१ बैशाख १७ सोमवार



लोकेश्वर चित्र तथा मूर्ति प्रदर्शनी

कला |


लोकेश्वर चित्र तथा मूर्ति प्रदर्शनी


काठमाडौँ, फागुन २१ गते । पुल्चोकस्थित बोधिसत्त्व आर्ट ग्यालरी यतिबेला लोकेश्वर (करुणामय)का विविध मुद्राका चित्र र मूर्तिले सजिएको छ । उपत्यकाको संरक्षणको उद्देश्यले स्थापित चार प्रसिद्ध लोकेश्वरलगायत नेपालमा पूजा तथा जात्रा गरिने सबै लोकेश्वरका मूर्ति तथा चित्र सङ्कलन गरी प्रदर्शनीमा राखिएका छन् ।

लेखक मुनीन्द्ररत्न वज्राचार्यले लेख्नुभएको, नेपालमा प्रसिद्ध चार करुणामय लोकेश्वर नामक पुस्तकमा लोकेश्वरलाई करुणाको प्रतीकका रूपमा मानेर करुणामयको नामले पुकारिने पनि उल्लेख गरिएको छ ।
क्यूआर कोड स्क्यान गरी त्यहाँ राखिएका हरेक चित्रकला र मूर्तिकलासम्बन्धी प्रचलित ऐतिहासिक तथ्य र व्यावहारिक पक्षबारे जानकारी सुन्दै ग्यालरीमा राखिएका लोकेश्वरको अवलोकन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

उक्त ग्यालरी सञ्चालक अन्जना शाक्यले आफ्ना परिवारको मूर्तिकलाको पुस्तैनी व्यवसायलाई आधुनिक प्रविधिको संयोजनसहित संवद्र्धन गर्ने लक्ष्यले बोधिसत्त्व ग्यालरीलाई प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका पति स्व. मूर्तिकार पूर्णमान शाक्यले मूर्तिले बोकेको सन्देश, इतिहास र महत्त्वलाई समेत उजागर गर्ने गरी बोधिसत्त्व ग्यालरीको परिकल्पना गर्नुभएको थियो । छोराहरू कलाकार प्रज्वलमान र सिद्धार्थमान शाक्यले पिताको सपनालाई सार्थक बनाउन लागिपरेको सञ्चालक शाक्यले बताउनुभयो ।


प्रज्वलमानलाई मूर्तिकलाको विशेष ज्ञान छ भने सिद्धार्थमानलाई सङ्ग्रहालयबारे नै अध्ययन गरेकोले ग्यालरीको प्राविधिक पक्ष राम्रो बनाउने सीप छ । परिवार नै कला, सम्पदाको प्रवद्र्धनमा संलग्न छौँ, सञ्चालक अन्जना शाक्यको भनाइ छ ।
शाक्य परिवारले वर्षौं समय लगाएर विभिन्न विधामा पारङ्गत कलाकारको सहयोगमा तयार पारिएका मूर्ति, मिनियचर र चित्रकला प्रदर्शनीमा राखिएका छन् ।

साथै पछिल्लो पिँढीलाई कलाको महत्त्वबारे बुझाउन डिजिटलाइजेसनसमेत गरेर ग्यालरीको भित्तामा चर्या नृत्य र विविध कला हेर्न सकिने वातावरण मिलाइएको कलाकार एवं ग्यालरीका निर्देशक प्रज्वलमान शाक्यले बताउनुभयो । मूर्तिकलाको सुरुवाती चरणदेखि मूर्तिले पूर्णता पाउँदासम्मको प्रक्रियासमेत बुझ्न र हेर्न पाइने यस प्रदर्शनीमा २९ जना कलाकारको सीप तथा ज्ञानलाई प्रविधिको संयोजनसहित स्थान दिइएको शाक्यले बताउनुभयो ।
साथै नेपाली अमूर्त तथा जीवन्त कलामा नाथ जोड्ने परम्परा आयातित हो भन्ने तथ्य पनि खोजिएको छ ।

आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बोधिसत्त्व, अमोघपास लोकेश्वर, पद्मपाणि लोकेश्वर, आनन्दादि लोकेश्वर, सृष्टिकान्त लोकेश्वरलगायत बाह्रै महिना (१२) पूजा गरिने लोकेश्वरको मूर्ति तथा चित्रकलाको समग्र जानकारी लिन पाइन्छ ।
रातो मच्छिन्द्रनाथ र सेतो मच्छिन्द्रनाथको रथको चित्रले लोकेश्वर (करुणामय)को तथ्यपूर्ण जानकारीसहित कला प्रदर्शनीलाई पूर्णता दिइएको छ ।
लोकेश्वरबारे अध्ययन, अनुसन्धान तथा जानकारी हासिल गर्न चाहने कला पारखी र अध्येताका लागि बोधिसत्त्व ग्यालरी पुग्न जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?